कोरोना भाइरस : परीक्षण र संक्रमण दर दुवै घट्दै, जोखिम उस्तै | Khabarhub Khabarhub

कोरोना भाइरस : परीक्षण र संक्रमण दर दुवै घट्दै, जोखिम उस्तै



काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ । भदौ १९ गतेदेखि २७ गतेसम्म ९ दिनको विवरणमा थोरै घटबढ देखिए पनि समग्रमा घट्दै गएको छ ।

पीसीआर परीक्षण पनि घट्दो क्रममा रहेको छ । संक्रमण उच्च रहँदा अधिकतम दैनिक २० हजारसम्म पीसीआर परीक्षण हुने गरकोमा हाल यसको आधा पनि हुँदैन ।

गत १९ गतेको पीसीआर परीक्षणमा १५ दशमलव १७ प्रतिशत संक्रमण दर देखिएकोमा त्यसको नवौँ दिन २७ गते १० दशमलव ७० प्रतिशत रहेको छ । आइतबार सात हजार ८३८ जनाको पीसीआर परीक्षण भएकोमा ८३८ जनामा संक्रमण देखियो ।

२० गते १८ दशमवल ८७ प्रतिशत देखिएको संक्रमण दर २१ गते ह्वात्तै १२ दशमलव ८१ प्रतिशत झर्‍यो । भोलिपल्ट २२ गते १२ दशमलव ८० प्रतिशत रहेको संक्रमण दर २३ गते थोरै बढेर १३ दशमलव ८० प्रतिशत पुग्यो ।

यसै गरी २४ गते ११ दशमलव ९० प्रतिशत, २५ गते ११ दशमवल २४ प्रतिशत र २६ गते थोरै बढेर १२ दशमवल ६६ प्रतिशत संक्रमण दर देखियो ।

नौ दिनमा कुल ७५ हजार ८२५ जनाको पीसीआर परीक्षण भएको छ । यो संख्या सरदर दैनिक ८ हजार ४२५ हो । यसैगरी नौ दिनमा कुल ९ हजार ८९२ जना संक्रमित भए । यो संख्या दैनिक एक हजार ९९ हो । नौ दिनको दैनिक सरदर पीसीआर परीक्षणमा दैनिक सरदर संक्रमण दर १३ दशमलव ०४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेटअनुसार कोरोना संक्रमणका कारण नौ दिनमा १४० जनाको ज्यान गएको छ । यो संख्या दैनिक सरदर १५ दशमलव ५५ जना हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । सघन उपचार कक्षमा संख्या ४५४ जना र भेन्टिलेटरमा १४० जना छन् ।

मन्त्रालयका अनुसार २५ हजार १७१ जना संक्रमितहरू होम आइसोलेसनमा, एक हजार ५८६ जना संस्थागत आइसोलेसनमा र ३२१ जना क्वारेन्टिनमा छन् ।

हाल १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमितको संख्या सबैभन्दा बढी रहेको जिल्ला काठमाडौँ हो र प्रदेश बाग्मती हो ।

त्यस्तै २० भन्दा बढी जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ५७ लाख ७३ हजार ६१२ रहेको छ, ५१ लाख ६६ हजार ६८९ जनाको खोप पूरा भएको छ ।

संक्रमण घटे पनि जोखिम उस्तै

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार तत्काल कोरोना संक्रमण दर बढ्ने सम्भावना कम देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा डेल्टा भाइरसकै संक्रमण चलिरहेको छ । डा. पुनले खबरहबसँग भने, ‘डेल्टा भाइरस धेरै मानिसको शरीरमा प्रवेश गरिसक्यो, यसले पटक पटक दुःख दिने सम्भावना अहिले कम छ ।

उनका अनुसार दोस्रो लहरको शुरूमा डेल्टा भाइरसले जति हाहाकार मच्चायो फेरि यही भेरिएन्टले चाँडै संक्रमण बढाउने सम्भावना कम छ । योभन्दा कडा भेरिएन्ट प्रवेश गरेमा संक्रमितको संख्या बढ्न सक्ने उनले बताए ।

कोरोना विरुद्धको खोप अभियान जारी रहेकाले पनि संक्रमण दर घट्दो क्रममा रहेको डा. पुनको भनाइ छ । संक्रमण दरमा केही कमी आए पनि जोखिम कायमै रहेको उनले बताए ।

‘नयाँ भेरिएन्ट कति बेला आउँछ भन्ने थाहा हुँदैन, जति बेला पनि देखिन सक्छ,’ डा. पुनले भने, ‘सधैँ सजग रहन आवश्यक छ ।’ नेपालीका ठूला चाड नजिकै आएकोले आवतजावत र भिडभाड बढ्ने भएकाले पनि संक्रमण बढ्न सक्ने उनको अनुमान छ ।

संक्रमण बढ्न नदिन, सही तरिकाले मास्क लगाउने, साबुनपानीले हात धुने र दूरी कायम राख्ने काम नछोड्न पनि डा. पुनको सुझाब छ ।

सरकारले सबै क्षेत्र खुला गरेको छ । विद्यालयबारे निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएपछि भौतिक उपस्थितिमा पढाइ पनि हुन थालेको छ । खोप लगाउनेको संख्या बढ्दै जाँदा संक्रणम अझ कम हुँदै जाने अनुमान छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०