मानिसको मनमा तनाव छ र यसको समाधान पनि छ « Khabarhub
Logo
१६ श्रावण २०७८, शनिबार

मानिसको मनमा तनाव छ र यसको समाधान पनि छ



हरेक व्यक्ति कुनै न कुनै तनावमा परेको हुन्छ । तनाव छ र यसको समाधान पनि छ । मानिसको ‘इमोसनल वेलबिङ’ ले तनाव कम गर्छ भन्छिन् निभा प्रधान माथेमा । निभा ‘आर्ट अफ लिभिङ फाउन्डेसन’ अन्तर्गत अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । अमेरिकामा पन्ध्र वर्ष बैङ्किङ क्षेत्रमा काम गरिन्, क्रेडिट एन्ड लोन उनको कार्य क्षेत्र थियो, यसमै तालिम पनि दिनुपर्थ्यो । मनमा कामको तनाव हुन्थ्यो । यही समयमा उनले तनाव व्यवस्थापनको तालिम लिन पाइन् । अन्ततः उनी अन्तर्राष्ट्रिय प्रशिक्षक बनिन् । उनै निभासँग खबरहबले मानिसमा हुने तनाव व्यवस्थापनबारे संवाद गरेको छ ।

तपाईंहरू इमोसनल वेलबिङभन्नुहुन्छ, खासमा इमोसनल वेलबिङ भनेको के हो ?

मानिसको आफ्नो भावना हुन्छ । मानिस कहिले शरीर र मनले चङ्गा भएको हुन्छ, यस्तो समयमा सकारात्मक विचार उत्पन्न हुन्छ । शरीर र मन चङ्गा छैन, आफूलाई भद्दा वा आलस्य अनुभव भएको छ भने विचार पनि त्यस्तै हुन्छ, नकारात्मक धारणा बन्छ ।

मानिसमा सकारात्मक विचार विकास गर्न र आफ्नो अगाडिका समस्या र चुनौती सहजरूपमा सामना गर्न इमोसनल वेलबिङ आवश्यक पर्छ । समस्याहरूबाट भाग्नु नकारात्मक भावना हो । अहिले कोभिडको समयमा र यस्ता अरू संकटको समयमा मानिसहरूमा इमोसनल वेलबिङ आवश्यक पर्छ । आफ्नो इमोसन अर्थात भावना स्थिर रहेको मानिसले आफ्नो आगाडिका समस्याहरू सजिलो तरिकाले समाधान गर्छ ।

मानिस भावनात्मकरूपमा बलियो हुनुपर्छ । मानिसको भावना आफ्नो वशमा हुनुपर्छ । यस्तो मानिसको आत्मबल पनि धरै हुन्छ, ऊर्जा पनि हुन्छ । यस्तो मानिसले कोभिडको यो संकट पनि सहज सामना गर्छ, मलाईमात्रै होइन, संसारलाई हो भन्ने सोच्छ र आत्मबल बढाउँछ ।

युनिसेफले गरेको एक अध्ययनअनुसार नेपाली युवाहरूमा डिप्रेसिभ इन्डेक्स ४० प्रतिशतले बढेको देखिएको छ । यो पनि महिलाहरूमा बढी छ । मानिसहरूमा निराशा बढेको छ । आत्महत्या बढेको रिपोर्ट छ ।

इमोसनल वेलबिङले मानिसलाई निराशाबाट जोगाउँछ ।

अहिलेको कोभिडको समयमा इमोसनल वेलबिङ सबैभन्दा बढी कसलाई आवश्यक परेको देख्नुहुन्छ ?

फ्रन्ट लाइन अर्थात सबैभन्दा अगाडि रहेर काम गर्नुपर्नेहरूका लागि सबैभन्दा बढी आवश्यक छ । यसमा सबैभन्दा बढी सबै किसिमका स्वास्थ्यकर्मीहरू पर्छन् । अहिले स्वास्थ्यकर्मीहरूलाई फुर्सद छैन, उनीहरूले आफूलाई बिर्सेर बिरामीका लागि काम गर्नुपरेको छ । उनीहरूलाई अस्पतालबाट घर आउन पनि तनाव छ, कतै घरमा रोग ल्याउँछु कि भन्ने डर छ ।

हामी इमोसनल वेलबिङको तालिममा आफ्नो इमोसन जाँच्न सिकाउँछौँ । हाम्रो तालिमबाट तनाव नलिने वा तनाव घटाउने कुरा सिक्न सकिन्छ ।

एक वर्षदेखि हामी फ्रन्ट लाइन हेल्थ वर्करहरूका लागि इमोसनल वेलबिङको तालिम चलाइरहेका छौँ । यसबाट उहाँहरूमा सकारात्मक प्रभाव परेको छ, हामीलाई धेरै राम्रो भयो भन्नुभएको छ । कोभिडका बिरामीको अवस्थाबाट डाक्टर र नर्सहरू तनावमा छन् । एउटै परिवारका धेरै जना बिरामी भएर आएका छन्, एकले अर्कालाई र आफन्तले बिरामी भेट्न पाउँदैनन् । यसबाट स्वास्थ्यकर्मीहरू नै तनावमा परेका छन् ।

यस्तो अवस्थाका स्वास्थ्यर्मीहरूमा इमोसनल वेलबिङ आवश्यक पर्छ । हामी आर्ट अफ लिभिङ फाउन्डेसनमार्फत इमोसनल वेलबिङका लागि काम गरिरहेका छौँ ।

तपाईंले मानिसमा हुने निराशा र आत्महत्याको कुरा गर्नुभयो । मनोविद र मनोचिकित्सहरूले मेन्टल हेल्थको कुरा गर्छन् अनि डिप्रेसन र आत्महत्यालाई जोडेर हेर्छन् । उनीहरूले भन्ने मेन्टल हेल्थर तपाईंहरूले भन्ने इमोसनल वेलबिङबीच कस्तो सबन्ध हुन्छ ?

इमोसनल वेलबिङ मेन्टल हेल्थको कुराभन्दा पहिलेको कुरा हो । मानिसको भावना स्वस्थ भएन भने इमोसनन वेलबिङ भएन । इमोसनल वेलबिङ भएन र बढ्दै गयो भने मेन्टल हेल्थको कुरा आउँछ । मानिस निराशा अर्थात डिप्रेसनमा पुग्नु अगावै आफूलाई जाँच्ने, आफ्नो इमोसनको अवस्था थाहा पाउने र सजगता बढाउने प्रक्रिया इमोसनल वेलबिङ हो ।

इमोसनल वेलबिङ राम्रो छ भने सास फेराइ धेरै परिवर्तन हुँदैन । सासफेराइ पूर्ण हुन्छ र अनकूल पनि हुन्छ ।

मानिसले आफ्नो मन कता गइरहेको छ भन्ने थाहा पाउन पनि इमोसनल वेलबिङको अवस्था थाहा पाउनुपर्छ । हामी इमोसनल वेलबिङको तालिममा आफ्नो इमोसन जाँच्न सिकाउँछौँ । हाम्रो तालिमबाट तनाव नलिने वा तनाव घटाउने कुरा सिक्न सकिन्छ । तनाव नलिनू भनेरमात्रै हुँदैन, घटाउनुपर्छ भनेर मात्रै हुँदैन, यसको तरिका पनि जान्नुपर्छ । हामी त्यो तरिका सिकाउँछौँ ।

तपाईंहरू श्वासप्रश्वासको कुरा गर्नुहुन्छ, ब्रिदिङ इक्सरसाइज अर्थात श्वासप्रश्वास अभ्यास भन्नुहुन्छ । तनाव व्यवस्थापन र श्वासप्रश्वास बीच के सम्बन्ध छ ?

तनावले हाम्रो भावनामा नकारात्मक परिवर्तन ल्याउँछ । तपाईंको मनमा उत्पन्न भावना अर्थात इमोसन अनुसार सास फेराइ परिवर्तन हुन्छ । हामो श्वास, इमोसन र मन, यी तीनमा नजिकको सम्बन्ध छ । मन खुसी हुँदा, मनमा क्रोध हुँदा, मन डराउँदा, पिर पर्दा वा दुःखी हुँदा सास फेराइ फरकफरक हुन्छ । प्रत्येक व्यक्तिले आफूमा यस्तो फरक सजिलै अनुभव गर्न सक्छ ।

इमोसनल वेलबिङ छैन भने सासफेराइ फरक परिरहन्छ । यस्तो अवस्थाको सास फेराइ पूर्ण हुँदैन र अनुकूल पनि हुँदैन । सास फेराइबाट मानिसको मनको अवस्था थाहा हुन्छ, उसको इमोसन थाहा हुन्छ इमोसनल वेलबिङ राम्रो छ भने सास फेराइ धेरै परिवर्तन हुँदैन । सासफेराइ पूर्ण हुन्छ र अनकूल पनि हुन्छ ।

तपाईंहरू लामो सास लिने र लामै तरिकाले छाड्ने भन्नुहुन्छ । श्वासप्रश्वासको यस्तो अभ्यास तनाव व्यवस्थापनमा कसरी सहयोगी हुन्छ ?

लामो सास फेर्दा फोक्सोमा धेरै अक्सिजन पुग्छ । सामान्य सास फेराइमा फोक्सोले जति अक्सिजन लिने क्षमता हुन्छ, त्यति पुग्दैन, धेरै कम पुग्छ । केही मिनेट लामो सास लिने र छाड्ने गर्दा फोक्सोको क्षमताको ८०–९० प्रतिशतसम्म अक्सिजन पुग्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन फोक्सो बलियो हुनुपर्छ ।

हाम्रो मनमा भएको तनावको ८० प्रतिशत चाहिँ श्वासबाट निस्कँदो रहेछ । लामो सास फेर्दा मनभित्रको तनाव बाहिर निस्किन्छ । मानिसलाई कहिल्यै कसैले पनि सास फेर्ने तरिका सिकाएको छैन । इमोसनल वेलबिङमा हामी सिकाउँछौँ ।

सास फेर्नु भनेको मानिसको जीवनको प्रथम र अन्तिम क्रिया हो । मानिस जन्मिँदा पहिलो सास भित्र जान्छ र जीवनभर यही सास फेर्ने प्रक्रिया चलिरहन्छ । अन्तिम सास फेरेपछि जीवन रहँदैन, सास बाहिर जान्छ ।

खाना नखाएर मानिस ४० दिनसम्म पनि बाँचेको रेकर्ड छ तर सास नफेरेर चार मिनेट पनि बाँच्न सक्दैन । चार मिनेट सास फेरेन भने ‘ब्रेन डेथ’ हुन्छ ।

मानिस विगततिर फर्क्यो भने पछुतो र रिसको भावना हुँदो रहेछ । भविष्यतिर बढी सोच्यो भने मनमा भय, छटपटाहट, तनाव हुँदो रहेछ । यस्तो अवस्थाको मानिसमा सजगता कम हुन्छ । सजगता भएन भने काम बिग्रिन्छ ।

मानिसको मन एक ठाउँमा रहँदैन । जे नगर भन्यो, मनले त्यही गर्न खोज्छ । मैले तपाईंलाई सेतो बाँदर नसम्झिनुस् र्ह भनेँ भने तपाईं त्यही बढी सम्झिनु हुन्छ । हामी मनलाई ‘लेट गो’ गरिदिनु भन्छौँ, अर्थात् मन जता जान्छ त्यतै छोडिदिनु । शरीर र मनको एकाग्रता मिल्दैन । हिँड्ने भनेपछि हाम्रा गोडाले एकपछि अर्को पाइला चाल्छन् तर मन छरिन्छ ।

यस्तो मनलाई श्वासप्रश्वास प्रक्रियाबाट एक ठाउँमा ल्याउन सकिन्छ । भूत, भविष्य र वर्तमानमा छरिएको मनलाई वर्तमानमा ल्याउन सकिन्छ । मन वर्तमानमा भएपछि तनाव कम हुन्छ ।

मनले अनेक बहाना गर्छ । सीमाना देख्छ । खुसी हुने कुरा परपर धकेल्दै लैजान्छ । मन वर्तमानमा अड्याउन नसक्दा यस्तो हुन्छ ।

तपाईंहरू तनाव व्यवस्थापनको कुरा गर्दा कर्पोरेट स्तरमा अर्थात व्यावसायिक स्तरमा बढी जोड दिनुहुन्छ, ‘लिडरसिप इन्ड स्ट्रेस मेनेज्मन्टभन्नुहुन्छ । यो क्षेत्रमा तनाव व्यवस्थापनको महत्व के हुन्छ ?

मनमा तनाव भएको कर्मचारीको कार्यक्षमता घट्छ । उसले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सक्दैन । सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्दैन । नेतृत्वमा रहेको व्यक्तिले तनाव व्यवस्थापन गर्न सकेन भने उसले अनुपयुक्त निर्णय लिन सक्छ । कम्पनीलाई हानी हुनसक्छ ।

मानिस विगततिर फर्क्यो भने पछुतो र रिसको भावना हुँदो रहेछ । भविष्यतिर बढी सोच्यो भने मनमा भय, छटपटाहट, तनाव हुँदो रहेछ । यस्तो अवस्थाको मानिसमा सजगता कम हुन्छ । सजगता भएन भने काम बिग्रिन्छ ।

यही कारणले हामी कर्पोरेट र व्यावसायिक क्षेत्रमा तनाव व्यवस्थापनमा बढी जोड दिन्छौँ र उनीहरूका लागि सामूहिक रूपमा कार्यशाला चलाउँछौँ । हामी प्रवचनमात्रै दिने काम गर्दैनौँ, व्यावहारिक रूपमा तनाव व्यवस्थापन सिकाउँछौँ । हामी दिमागलाई चङ्गा बनाउन मद्दत गर्छौं ।

सामान्यतया मानिसको जीवनमा तीन वटा आयाम हुँदा रहेछन्, व्यक्तिगत अर्थात पारिवारिक जीवन, सामाजिक जीवन र व्यावसायिक जीवन । मानिसले यी तीन वटा आयामको सन्तुलन कसरी मिलाउन सक्छ ?

मानिस तनावबाट मुक्त भएपछि उसको दिमाग प्रष्टता आउँछ । उसमा सजगता आउँछ । दिमागमा कुनै किसिमको अलमल नभएपछि र सजग भएपछि उसले परिवारलाई दिने समय, आफ्नो व्यक्तिगत खुसी, व्यावसायिक जिम्मेवारी र आफ्नो समाज सबैका लागि समयको सन्तुलन मिलाउन सक्छ ।

मनमा तनाव नभएपछि कम्युनिकेसन पावर अर्थात संवादको क्षमता बढ्छ । उसमा कामको क्षमता र सिप पनि बढ्छ । कम्युनिकेसन राम्रो भएपछि मानिसले सबैलाई अनुकूल हुने गरी व्यावहारिक परिस्थिति मिलाउँछ । व्यक्तिले आफ्नो जीवनमा आफ्नो जिम्मेवारीका आयामहरूको सन्तुलन मिलाउन सकेन भने ऊ स्वतः तनावमा पर्छ । त्यसैले सजग रहनुपर्‍यो । तनावमुक्त मानिस सधैँ सजग रहन्छ ।

तपाईंहरूले भन्ने गरेको माइन्डफुलनेसचाहिँ के हो ?

माइन्डफुलनेस भनेकै सजगता हो । बिहान निद्राबाट ब्युँझदा तपाईं दिनभरिको आफ्नो काम र जिम्मेवारी सम्झेर प्रसन्न हुनुहुन्छ र त्यो सम्पन्न गर्ने कुरा सोच्नुहुन्छ भने तपाईं सजग हुनुहुन्छ । तपाईंमा माइन्डफुलनेस छ ।

होइन, यतिका काम कसरी भ्याउने, यो गर्ने कि ऊ गर्ने, यो देश नै ठिक छैन, राजनीति ठिक भए पो सबै ठिक हुन्छ भन्ने सोच्नुहुन्छ भने आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सक्नुहुन्न । दिनभरि तनावमा पर्नुहुन्छ । यस्तो अवस्था चाहिँ माइन्डफुलनेस होइन, सजगताको अवस्था होइन । सजगता भएन भने मानिस अचानक झडङ्ग गर्ने हुन सक्छ । अनि क्षति पुग्छ । उसले पछि पछुतो गर्छ र झन तनावमा पर्छ ।

यसै कारण हामी माइन्डफुलनेस अर्थात सजगतामा जोड दिन्छौँ । कामकै कारणले वा कसैको कुराले आफूलाई अचानक तनाव भयो भने झन बढी माइन्डफुलनेस आवश्यक पर्छ । यति वेला लामो सासले राम्रो काम गर्छ । एकछिन मौन बसेर लामो सास लिनुहोस् र छोड्नुहोस्, दुई–तीन मिनेट । यसो गरेपछि तपाईंमा पूरा सजगता आउँछ, तपाईं वर्तमानमा आउनुहुन्छ ।

यसपछि तपाई शान्त भएर कुनै क्षति नहुने गरी आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ, निर्णय लिन सक्नुपर्छ । अनि तपाईंलाई कुनै पछुतो हुँदैन ।

आर्ट अफ लिभिङ फाउन्डेसनको निकै पुरानो र बृहत अभियान छ, यो आर्ट अफ लिभिङमा चाहिँ के कुरा पर्छ ?

यो भनेको ‘जीवन जिउने कला’ को कुरा हो । मुख्यरूपमा यसमा माइन्डफुलनेस, ध्यानको कुरा पर्छ । श्वासप्रश्वासको तरिका र तनाव व्यवस्थापनको कुरा पर्छ । यसमा योग पनि पर्छ । किशोर उमेरदेखि युवा र वृद्धवृद्धाहरू सबैको लागि छ ।

हाम्रो शरीर, आत्मा र दिमागमा आपसी सम्बन्ध हुन्छ । शरीर रिल्याक्स अर्थात प्रफुल्ल भएपछि मात्रै दिमाग रिल्याक्स हुन्छ । शरीरमा रोग भयो भने दिमाग अशान्त हुन्छ, तनाव हुन्छ ।

तनाव व्यवस्थापन भनेको ‘प्रिभेन्टिङ हेल्थ केयर’ पनि हो । तनाव व्यवस्थापनले उच्चरक्तचाप, मधुमेह, कोलस्टेरल इत्यादि नियन्त्रण गर्न पनि मद्दत पुग्छ । आर्ट अफ लिभिङले शरीरको तहमा र दिमागको तहमा जीवन जिउने कला सिकाउँछ । यसमा जीवनलाई वर्तमानमा कसरी राख्ने र कसरी शान्त रहने भन्ने कुरा पर्छ ।

तपाईंहरूले भन्ने गरेको रिचार्ज एन्ड फोकसचाहिँ के हो ?

चार्ज भनेको ऊर्जा हो । फोन वा ब्याट्री चार्ज गरेपछि त्यसमा ऊर्जा जम्मा हुन्छ र काम गर्छ । हाम्रो शरीरलाई पनि ऊर्जा आवश्यक पर्छ । यसकारण शरीरलाई पनि रिचार्ज आवश्यक पर्छ । तनाव व्यवस्थापन, योग र ध्यानले हामो शरीरलाई रिचार्ज गरेर ऊर्जाशील बनाउँछ ।

फोकस भनेको चाहिँ प्रसन्नताका साथ काममा केन्द्रित हुनु हो । हामी रिचार्ज भएपछि मात्रै काममा फोकस गर्न सक्छौँ । यस अवस्थालाई हामीले ‘रिचार्ज एन्ड फोकस’ भनेका हौँ । यो रिचार्ज एन्ड फोकस मानिसको जीवनका प्रत्येक आयामहरूमा आवश्यक पर्छ ।

रिचार्ज एन्ड फोकसले मानिसलाई वर्तमानमा केन्द्रित गर्छ ।

तपाईं व्यवस्थापन विषयको विद्यार्थी, मास कम्युनिकेसन एन्ड जोर्नलिजम पनि पढ्नुभएको, पेशागत रूपमा बैङ्किङ क्षेत्रको मान्छे, मोटिभेसनल ट्रेनर चाहिँ कसरी हुनुभयो ?

मैले बैङ्किङ क्षेत्रमा ‘क्रेडिट एन्ड लोन’ मा पन्ध्र वर्ष काम गरेँ । पछि मलाई ट्रेनिङ पनि हेर्न भनियो । यस्तो कामको क्रममा नै म तनावमा पर्थें । अफिसको कामको तनाव बोकर घर आउँथेँ । यही समयमा मैले तनाव व्यवस्थानको तालिम लिन पाएँ । यसपछि मैले तनाव बाहिर निकालेर शान्त हुन सिकेँ ।

म नेपाल फर्केपछि बैङ्किङ क्षेत्रका साथीहरूसँग सल्लाह गरेर तनाव व्यवस्थापनको तालिम दिन थालेँ । यस्तो तालिम प्रभावकारी हुँदै गयो, माग बढ्दै गयो । बैङ्किङ क्षेत्रभन्दा बाहिरबाट पनि माग हुन थाल्यो । यसरी म यो तालिमको क्षेत्रमा आएँ ।

हामी यसमा व्यक्तिको नेतृत्व क्षमता विकास गर्न सघाउँछौँ । ‘हाउ टु बि अ गुड इन्स्पिरेसन लिडर, हाउ टु बि अ गुड कम्युनिकेटर, टिम बिल्डिङ’ जस्ता कुरा सिकाउँछौँ ।

आफ्नो समाजलाई केही दिन सकौँ भन्ने सोचेर आफूले जानेको र अनुभव गरेकै काममा म लागेँ । म समाजसेवाका विभिन्न संस्थामा आबद्ध छु । म मेरा बुबाको प्रेरणाले पनि यस काममा लागेँ ।

एउटा व्यक्ति, जो सुकै होओस्, उसले बिहान उठेदेखि राति सुत्दासम्ममा आफ्नो तनाव व्यवस्थापन गर्न ध्यान दिनुपर्ने मुख्य तीन वटा कुरा के के हुन् ?

एक; सबैभन्दा पहिला आफ्नो मनको प्रवृत्ति बुझनुपर्‍यो । मनले आफूलाई कता दौडाइरहेको छ भन्ने थाहा पाएर त्यसलाई सही बटोमा ल्याउनुपर्‍यो  ।

दुई; श्वासप्रश्वासमा ध्यान दिनुपर्‍यो । दिनको दश मिनेट समय निकालेर शान्त ठाउँमा बसेर लामो, गहिरो सास लिँदै छाड्दै गर्ने, यसले मनमा सजगता ल्याउँछ । यसो भएपछि तनाव घट्छ ।

तीन; व्यक्ति, वस्तु र परिस्थिति स्वीकार गरेर अघि बढ्न जान्नुपर्‍यो । यो तीन वटा कामले शरीर र मनमा ‘हार्मोनी’ हुन्छ । मानिसले आफूलाई मात्रै परिवर्तन गर्न सक्छ । आफ्नो वशमा नभएको कुरा परिवर्तन गर्न सक्दैन । यति कुरा बुझ्न सक्दा मनको तनाव घट्छ ।


भर्खर

0