कोरोनाको दोस्रो लहर र संक्रमणको केन्द्रबिन्दु भारत « Khabarhub
Logo
३ जेष्ठ २०७८, सोमबार

कोरोनाको दोस्रो लहर र संक्रमणको केन्द्रबिन्दु भारत



भारत कोभिड–१९ महामारीको विश्वकै केन्द्रबिन्दु भएको छ । नाटकीयरूपमा संक्रमण दर घटेको हप्तौँपछि भारतमा महामारीको दोस्रो लहर शुरू हुँदा दैनिक संक्रमण हुने दरमा भारत हाल विश्वकै अग्र स्थानमा छ ।

भ्याक्सिन उत्पादन भइरहेको विश्वकै एक प्रमुख देशमा यसरी संक्रमण दर तीव्र गतिमा बढ्दा त्यसको असर भारतमा मात्रै होइन अन्यत्र पनि पर्ने देखिन्छ । भारतभित्र संक्रमण दर बढ्दै जाँदा भारतले अन्य देशमा भ्याक्सिन निर्यात गर्ने दर घटाएको छ ।

स्वास्थ्य विशेषज्ञहरूले घना जनसंख्या भएको भारतमा मानिसले कोभिड महामारीबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना नगर्दा अहिलेको अवस्था आएको आरोप लगाएका छन् ।

मास्कको प्रयोगविना नै धेरै मानिस राज्य प्रान्तमा हुँदै गरेको स्थानीय निर्वाचन प्रचारका लागि राजनीतिक र्‍यालीमा सहभागी हुने गरेका छन् । भारतको उत्तरी क्षेत्रमा पर्ने उत्तराखण्ड राज्यमा करिब एक महीनासम्म चल्ने धार्मिक गतिविधिमा सयौँको संख्यामा मानिस सहभागी भएका थिए ।

यस्ता कार्यमा कुनै स्वास्थ्य मापदण्डविना नै मानिसहरू सहभागी हुने गरेका थिए । पारिवारिक र वैवाहिक कार्य पुनः बृहत् हिसाबमा आयोजना हुन थालेका छन् ।

मुम्बईमा कोभिड–१९ को संक्रमणदर उच्च हुनु अघिल्लो दिन त्यहाँका बजार, स्थानीय रेल र सामुद्रिक किनार मानिसले भरिभराउ थिए । भारतको अन्य भागमा जस्तै देशको आर्थिक राजधानी शहरको दैनिक जीवन समान्य हिसाबमा सञ्चालन हुन थालिसकेको थियो । खासगरी जनवरीको अन्त्यसम्ममा संक्रमण दर न्यून हुँदा मानिसहरू सामान्य जीवनमा फर्किसकेका थिए ।

विश्लेषकहरू देशले हाल त्यही गल्तीको मूल्य चुकाएको बताउँछन् । भारतमा फैलिएको कोरोनाको दोस्रो लहरमा पहिलो लहरमा भन्दा संक्रमण तीव्र गतिमा फैलिँदै छ ।

गएको हप्तादेखि संक्रमित हुनेको संख्या दैनिक एक लाखभन्दा बढी हुँदै गएको छ । बुधबार  भारतमा एकै दिन एक लाख १५ हजार ७३६ जना संक्रमित भए । यो संख्या संक्रमण शुरू भएपछि कै उच्च हो ।

‘सामान्य मानिस हुन् वा नीति निर्माता, सबैमा एक किसिमको साझा धारणाको विकास भइसकेको थियो, हामी महामारीको अन्त्यमा आयौँ भन्ने ।

‘ठूलो संख्यामा मानिसले प्रतिरोधात्मक क्षमता विकास गरिसकेकाले आगामी दिनमा भाइरसले भारतमा खासै प्रभाव नपार्ने एक प्रकारको बुझाइ विकसित भइसकेको थियो’, भारतको सार्वजनिक स्वास्थ्य क्षेत्रका निर्देशक श्रीनाथ रेड्डी भन्छन्, ‘यो बुझाइले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा मानिसमा गलत धारणाको विकास गरिदियो ।’

स्वास्थ्य विश्लेषकहरू बेलायत, दक्षिण अफ्रिका र ब्राजिल लगायतका देशबाट आएको नयाँ कोरोना भेरिएन्टले भारतमा संक्रमण दर तीव्रगतिमा बढेको बताउँछन् ।

ठूलो मात्रामा आर्थिक नोक्सानी व्यहोर्नुपर्ने हुँदा भारतले राष्ट्रव्यापी लकडाउनको घोषणा गर्ने सम्भावना कम छ । तैपनि कोरोनाले धेरै प्राभावित क्षेत्रले पुनः निषेधाज्ञा लगाउन थालेका छन् ।

आर्थिक हिसाबमा देशकै विकसित स्थानको रूपमा रहेको महाराष्ट्र प्रान्तको पश्चिमी क्षेत्र पछिल्लो समय महामारीको केन्द्रबिन्दु बनेको छ । रिपोर्टमा जनाइएअनुसार देशका कुल संक्रमितमा ६० प्रतिशत त्यहीँ छन् ।

प्रान्तीय राजधानी मुम्बईले गएको हप्ता आंशिक लकडाउन गर्न आग्रह गरेपछि  पसल, रेस्टुरेन्ट र अन्य गतिविधिमा असर परेको थियो । सप्ताहान्तमा पूरै लकडाउन गरिएको थियो । राजधानी नयाँ दिल्लीमा राति कर्फ्यू लगाउन थालिएको छ ।

समान्य जीवन र आफ्नो काममा फर्किसकेका शहरी क्षेत्रका मानिस विकसित घटनाले चिन्तित छन् । ‘यो पटक कडा लकडाउन हुँदैन भन्ने आशा गरेको छु,’ मुम्बईको धेरै घरमा भान्छेको काम गर्ने कविता काम्ले भन्छिन्, ‘गत वर्ष पुरा ६ महीना हामीसँग कुनै काम नै थिएन । हामी सबै घरमा बसेका थियौँ । त्यो परिस्थिति कसरी झेल्यौँ भन्ने हामीलाई नै थाहा छ ।’

तिव्र गतिमा अघि बढिरहेको सक्रमण दर रोक्न जनवरीमा शुरू भएको भ्याक्सिन कार्यक्रम भारत सरकारले उच्च गतिमा अघि बढाउँदै लगेको छ । ज्येष्ठ नागरिक र स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई भ्याक्सिन लगाएपछि संक्रमण दर उच्च रहेको युवा पुस्तालाई लक्षित गरेको छ ।

स्वास्थ्यमन्त्री हर्ष वर्धनले ट्वीटरमा ‘महामारी अन्त्य नभएकाले शालीनताको कुनै गुञ्जायस नै छैन’ भनेका छन् । उनले भ्याक्सिन लगाउन र कोभिड हुनबाट जोगिन स्वास्थ्य मापदण्डको पूरा पालना गर्न सबैमा आग्रह समेत गरेका छन् ।

कोरोनाबाट धेरै प्रभावित क्षेत्रका राज्य सरकारले संघीय सरकारलाई भ्याक्सिन कार्यक्रम सबै समूहका मानिसमा तीव्र गतिमा अघि बढाउन आग्रह गरेका छन् ।

स्वास्थ्य विशेषज्ञहरूले घना जनसंख्या भएको भारतमा मानिसले कोभिड महामारीबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना नगर्दा अहिलेको अवस्था आएको भन्ने गरेका छन् । उनीहरू देशले हाल त्यही गल्तीको मूल्य चुकाउनु परेको हो भन्छन् ।

संक्रमण दर उच्च रहेका जिल्लामा भ्याक्सिन लगाउने क्रम बढाउने भनिएको छ तर भ्याक्सिन वितरण प्रणाली चुस्त हुनुपर्ने बताउँछन् सार्वजनिक स्वास्थ्य क्षेत्रका निर्देशक रेड्डी । उनी भन्छन्, ‘अहिलेको अवस्थामा जोखिमपूर्ण अवस्थामा रहेका मानिस जोगाउनुलाई हामीले प्राथमिकतामा राखेका छौँ ।’

भ्याक्सिन दिने क्रम बढाउँदै गर्दा विश्वमै धेरै भ्याक्सिन उत्पादन गर्दै आएको भारतले अन्य देशमा भ्याक्सिन निर्यात घटाएको छ ।

विकसशील देशले भारतमा बनेको सुपथ मूल्यमा प्राप्त गर्न सकिने एस्ट्राजेनका भ्याक्सिन लाखौँको संख्यामा प्रयोग गरिरहेका छन् । यसको वितरणमा अस्थायी समस्या आउँदा त्यसले भ्याक्सिन प्रयोगमा असर पुगेको छ ।

‘म वास्तवमा जानेर बुझेर नै यो आशा गर्न चाहन्छु कि भ्याक्सिन वितरणमा ढिलो भएको हो, प्रतिबन्ध लागेको होइन । यदि त्यस्तो भयो भने त्यो विनाशकारी हुन सक्छ,’ अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जोन नेकेगासोङले यो महीनाको शुरूवातमा अदिस अबाबामा एक पत्रकार सम्मेलनमा भने, ‘यस्तो अवस्थामा पूर्वतयारी गरेको समयमा नै भ्याक्सिन लगाएर सक्नु निकै अप्ठ्यारो हुन्छ ।’

आफ्नो निर्णयको प्रतिरक्षा गर्दै भारतले हालसम्म करीब ८० देशमा भ्याक्सिन वितरण गरेको दाबी गर्छ ।

‘हाम्रो आन्तरिक खपतलाई मध्यनजर राख्दै, हामी बाह्य देशमा पनि भ्याक्सिन वितरण गर्न सक्छौँ’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले हालैको एक पत्रकार सम्मेलनमा भनेका छन् । मन्त्रालयले भ्याक्सिनलाई कुनै पनि प्रतिबन्ध नलागेको स्पष्ट पार्दै भनेको छ, ‘यो बेला हाम्रा साझेदार देशहरूले भ्याक्सिन हाम्रो आन्तरिक प्रयोजनका लागि नै धेरै आवश्यक रहेको तथ्य बुझ्छन् भन्ने हामीले विश्वास लिएका छौँ ।’

भारतलाई नै अहिले भ्याक्सिन धेरै मात्रामा चाहिएको छ । हालसम्म करिब ८७ मिलियन मानिसलाई भारतमा उत्पादित भ्याक्सिन लगाइसकेको अवस्थामा भारतमै भने ७ प्रतिशत जनताले मात्रै भ्याक्सिन पाएका पाएका छन् ।

भारतमा कोरोनाको दोस्रो लहर बढ्दै जाँदा त्यसले भारत र दक्षिण एसियाका देशमात्रै प्रभावित हुँदैनन् । धेरैभन्दा धेरै जनतालाई भ्याक्सिन दिन आतुर रहेका अन्य देशलाई पनि यसले प्रभावित गर्नेछ ।

(अञ्जना पसरिचाले भ्वाइस अफ अमेरिकाका लागि नयाँ दिल्लीबाट रिपोर्टिङ गर्छिन् । ७ अप्रिल २०२१ मा द भ्वाइस अफ अमेरिकामा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0