घुम्न जाने होइन त नयाँ वर्षमा ! | Khabarhub Khabarhub

घुम्न जाने होइन त नयाँ वर्षमा !


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नयाँ वर्षसँगै नेपालीहरू नयाँ जोश, जाँगर र उमङ्गमा हुन्छन् । एकआपसमा रमाइलो गर्दै शुभकामना आदानप्रदान गर्छन् । यही मौकामा नजिकका रमाइला ठाउँहरू घुम्न जानेहरू पनि धेरै हुन्छन् ।

काठमाडौँ उपत्यकामा बस्नेहरूका लागि छोटो भ्रमणका लागि थुप्रै ठाउँहरू छन् । विशेष गरी युवायुवतीहरू र पारिवारिक भ्रमणका लागि उत्कृष्ट केही गन्तव्यहरूको संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।

घ्याम्पे डाँडामा स्काई साइक्लिङ

उपत्यकाबाट नजिकै रहेको भक्तपुरको स्काई साइक्लिङ एक महिनायता निकै चर्चामा छ । यही चैत १ गते सञ्चालनमा आएको स्काइ साइक्लिङमा २० प्रतिशत छुटका साथ अन्य खेल पनि खेल्न पाइन्छ ।

भक्तपुरको सूर्यविनायबाट दक्षिणतर्फ यात्रापछि घ्याम्पे डाँडा पुगिन्छ । घ्याम्पे डाँडामै छ स्काई जीपलाइन ।

यहाँ १ हजार २०० मिटर लामो स्काई जीप लाइनमा ४० सेकेन्डदेखि ९० सेकेन्डसम्मका खेल खेल्न पाइन्छ । यहाँ क्लासिक, सुपरम्यान फ्लाई, कपल जिपलाइन खेल्न लाइन्छ । खेलअनुसार ३ हजारदेखि साढे ४ हजार रुपैयाँसम्म शुल्क लाग्छ ।

त्यस्तै ४ सय मिटरको छोटो दूरीमा ४० सेकेन्डसम्म खेल्न पाइन्छ । क्लासिकको १ हजार पाँच सय, सुपरम्यान फ्लाई २ हजार, कपल जिपलाइनको २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

स्काई साइक्लिङ र बसेर खेल्ने क्यानोपी साइक्लिङ १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्छ ।

चन्द्रगिरिमा केबलकार सरर

२ हजार ४ सय ७५ मिटर उचाइमा रहेको चन्द्रगिरि काठमाडौँको निकै रमणीय स्थल हो । काठमाडौँको पुरानो बसपार्कबाट सिधै चन्द्रगिरि पुग्ने सार्वजनिक गाडी पाइन्छ ।

चन्द्रगिरिमा केबलकार चल्न थालेपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । नयाँ वर्षमा घुम्न जान यो ठाउँ निकै उपयुक्त हुन सक्छ । केबलकार यात्रा गरेर चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको शहरी क्षेत्र र वरिपरिका पहाड अवलोकन गर्नु निकै आनन्ददायक हुन्छ ।

भालेश्वर महादेव दर्शन, पृथ्वीनारायण शाहको शालिक अवलोकन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिकाका लागि खेल्ने सुविधा, खाना र खाजाका लागि पर्याप्त सुविधा यहाँका विशेषता हुन् ।

धुलिखेलका हजार सिँढी र जीपलाइन

काभ्रेको धुलिखेल काठमाडौँबाट रमाइलो पर्यटकीय स्थल हो । धुलिखेल क्षेत्र पिकनिकका लागि पनि सुपरिचित छ । धुलिखेलका केही त्यस्ता प्रसिद्ध स्थानहरू छन् जहाँ रमाइलो मनोरञ्जनका लागि आन्तरिक र बाह्य पर्यटकहरू पुग्छन् ।

धुलिखेल पुगेपछि हजार सिँढी हिँड्नुको मजा नै अर्को हुन्छ । मुख्य चोक हुँदै धुलिखेलको बजार क्षेत्रतिर अघि बढ्दै जाँदा पुगिन्छ हजार सिँढी । सिँढी उक्लिैँदै टुप्पामा मन्दिर दर्शन गर्न पुगिन्छ । अगाडि रमणीय चौर छ जहाँबाट काभ्रेको पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।

चौरको एक छेउमा रहेको ढुङ्गा फोटो खिचाउने युवायुवीहरूको घुइँचो लाग्छ ।

धुलिखेलमा जीपलाइनको मजा पनि लिन पाइन्छ । थाक्लेडाँडामा रहेको जिपलाइनले आन्तरिक र बाह्य पर्यटक दुवैलाई खुब अकार्षित गरेको छ ।
काठमाडौँबाट ३३ किलोमिटर दूरी छ धुलिखेल । जहाँ सार्वजनिक गाडीबाटै पुग्न सकिन्छ ।

नमोबुद्ध

नमोबुद्ध पनि काभ्रेकै अर्को रमणीय पर्यटकीय स्थल हो । धुलिखेलबाट नजिक पर्छ । काठमाडौँबाट सार्वजनिक गाडीमै पनि पुग्न सकिन्छ । नमोबुद्ध १८ सय मिटर उचाइमा अवस्थित छ । यहाँको मुख्य अवलोकन स्थल नमोबुद्ध गुम्बाको हो । यहाँबाट गौरीशंकर, लाङटाङ लगायतका हिमालहरूको मनोमोहक दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

नगरकोट

काठमाडौँबाट छोटो दूरीमा पुग्न सकिने अर्को रमणीय र पर्यटकीय स्थल हो भक्तपुरको नगरकोट ।

भक्तपुरको सल्लाघारीबाट २० किलोमिटर यात्रामा पुगिन्छ नगरकोट । सूर्योदय अलोकनका लागि प्रसिद्ध छ नगरकोट । समुद्री सतहबाट २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटबाट धौलागिरि र कञ्चनजंघा हिमशृंखलाका मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्सेलगायतका हिमालहरू अवलोकन गर्न सकिन्छ ।

चित्लाङ

मकवानपुरको चित्लाङ अर्को प्रशिद्ध पर्यटकीय स्थल हो । चित्लाङ जान काठमाडौँबाट चार वटा रूटमा गाडी चल्छन् । सबैभन्दा छोटो दूरीमा कलंकीबाट चन्द्रगिरि हुँदै सजिलै पुग्न सकिन्छ चित्लाङ ।

मातातीर्थ—सःखेल हुँदै जाने अर्को रुट छ । केही लामो यात्रा गर्न चाहनेका लागि फर्पिङबाट कुलेखानी हुँदै जाने रूट पनि छ । थानकोटबाट नौविसे—तिस्टुङ चित्लाङ पुग्ने रूट पनि छ । काठमाडौँबाट चित्लाङ पुग्ने सबैभन्दा छोटो रूट करिब २८ किलोमिटरको छ ।

चित्लाङ ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजङ्गलको मनमोहक दृश्यले भरिपूर्ण छ । चित्लाङमा विश्वकै दुर्लभ र एसियामा मात्र पाइने ‘अल्पाका’ जनावर रहेका छन् । तुलसीपछि अक्सिजनमा दोस्रो मानिने ओलिभ (जैतुन) फर्म यहाँको अर्को आकर्षण हो । थुप्रै ऐतिहासिक स्थलमध्येको अशोक चैत्य पनि यही छ । साथमा तालका छेउमा होम स्टेहरू पनि छन् ।

भोटेचौर

सिन्धुपाल्चोकको भोटेचौर गाउँपालिकामा पर्ने चिया बगान ‘मिनी इलाम’ नामले परिचित छ । काठमाडौँबाट ३८ किलोमिटर दूरीमा रहेको भोटेचौर प्राकृतिक सौन्दर्यमा रमाउने र फोटो खिचेर आनन्द लिनेहरूको लागि आकर्षक गन्तव्य बन्न सक्छ ।

कालिञ्चोक, सौराहा र पोखरा

काठमाडौँबाट दुईतीन दिन घुम्न निस्कनेहरूका लागि कालिञ्चोक, सौराहा र पोखार पनि उपयुक्त गन्तव्य हुन् । दोलखा जिल्लामा पर्ने कालिञ्चोक करिब १५० किलोमिटरको दूरीमा छ । कालिञ्चोक भगवतीको मन्दिर यहाँको प्रशिद्ध धार्मिक स्थल हो ।

यो ठाउँ समुद्री सतहबाट ३ हजार ८४२ मिटरको उचाइमा छ ।

कालिञ्चोकबाट रोल्वालिङ हिमशृङ्खला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ । खानाको परिकारका लागि पनि कालिञ्चोक प्रशिद्ध छ ।

नेपालको स्वीट्जरल्यान्ड भनेर चिनिने जिरी पनि दोलखाको अर्को पर्यटकीय गन्तव्य हो । रामेछापका अधिकांश गाउँ तथा बस्तीको अवलोकन गर्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जको अवलोकनका लागि सौराहा जाने पनि धेरै हुन्छन् । गैँडा र बाघ अवलोकन गर्नु सौराहा भ्रमणको मुख्य उद्देश्य हुने गर्छ ।


पोखरा हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलका लागि प्रशिद्ध छ । पोखरामा घुम्नका लागि तालवाराही मन्दिर, महेन्द्र गुफा, डेभिज फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : १५ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले