घरेलु कामदारबाट अघि बढेकी एक उद्यमी « Khabarhub
Logo
३१ जेठ २०७८, सोमबार

घरेलु कामदारबाट अघि बढेकी एक उद्यमी



काठमाडौँ— भनिन्छ, श्रीमान्श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । वैवाहिक जीवनका उत्तरचढाव पनि मिलेर सामना गर्छन् ।

तर, जीवनभरका लागि जोडिएको सम्बन्ध बीचमै तोडियो भने ?

विचलित नभई निरन्तर प्रयास गरिरहँदा गन्तव्यमा पुग्न सकिने विश्वास छ काठमाडौँकी लक्ष्मी शर्माको । आत्मविश्वासका साथ अघि बढ्ने एकमात्र ध्येय हुनुपर्छ भन्छिन् लक्ष्मी । हुन पनि उनको जीवन कथा उद्यम गर्न चाहनेका लागि प्रेरणादायी छ ।

कुरा करिब ४५ वर्षअघिको हो । त्यतिबेला उनी २७ वर्षकी थिइन् । तीन वटा छोरी जन्मिसकेका थिए । उनीहरूलाई धेरै पढाउने उनको धोको थियो ।

श्रीमान्ले अर्की श्रीमती ल्याएको खबर एक्कासि कानमा पर्‍यो । लक्ष्मी भावविह्ल बनिन् । आफूमाथि बज्रपात भएजस्तो भयो । आकाश खसेजस्तो भयो । भुइँचालो गएजस्तो भयो । ‘हे भगवान ! तीन छोरीको लालनपालन कसरी गर्ने !’ भन्ने ठानिन् ।

उनले आफूलाई समालिन् । विचलित हुनबाट जोगाइन् । श्रीमान्बाट सम्पत्ति पाउने लोभ पनि राखिनन् ।

श्रीमान्सँग छुट्टिएर बस्ने भएपछि उनी माइती गइन् । आमाको साथमा छोरीहरूलाई राखिन् । आफू काम खोज्न अनेक ठाउँ पुगिन् । रोजेको काम के पाइन्थ्यो र ! घरेलु कामदार बनिन् ।

‘एउटा रसियनको घरमा काम गर्न पुगेँ, त्यहाँ आउने पाहुना प्रायः विदेशी हुन्थे । मैले विस्तारै अंग्रेजी बोल्न सिकेँ’ उनले भनिन्, ‘मेरो आत्मविश्वास बढ्दै गयो ।’

ती रसियाली कूटनीतिज्ञ थिए । त्यहीँको सम्पर्कबाट अमेरिकी दूतावास पुगिन् । घरेलु काम बढ्यो । यसैको कमाइबाट उनले छोरीहरूलाई राम्रो शिक्षा दिइन् ।

पहिलो टेम्पु ड्राइभर

अरूको घरमा काम गर्दागर्दै उनलाई आफैँ केही गर्नुपर्छ भन्ने लाग्यो । त्यो बेला काठमाडौँमा धेरै बस गुड्दैन थिए । निजी बसहरूसँगै साझा बस चल्तीमा थियो । सडकमा टेम्पो पनि देखिन थाले ।

लक्ष्मीलाई पनि टेम्पो व्यवसायी बन्ने विचार आयो । उनले २०३७ सालमा एक जना आफन्तसँग ३६ प्रतिशत व्याजमा ऋण लिइन् । सुरुमा उनी आफैँ टेम्पो चलाउनेभन्दा पनि मालिक बन्ने सोचतिर लागिन् ।

अन्य टेम्पु व्यवसायीसँग पाँच वटा टेम्पो किस्तामा रकम तिर्ने शर्तमा लिइन् । दुई वटा मिटर टेम्पु काठमाडौँ, भक्तपुर र ललितपुरमा गुड्थे । बाँकी तीन वटा रुटमा गुड्थे । टेम्पोको रूट जमलदेखि महाराजगञ्ज थियो ।

टेम्पो व्यवसाय सुरु त गरिन् तर दिनभरि टेम्पो चलाउनेहरू इमानदार देखिएनन् । उनले चालकहरूबाट अपेक्षाअनुसार पैसा पाइनन् । किस्ता तिर्न उनलाई धौधौ पर्‍यो ।

उनी आफैँ टेम्पो चालक बनिन्, नेपालमा टेम्पो चालक पहिलो महिला । उनले आफ्नै ग्यारेज समेत बनाइन् । अब उनलाई काम भ्याई नभ्याई हुन थाल्यो ।

टेम्पु चालक पहिलो महिला हुँदाको अनुभव पनि तितो छ । ‘त्यतिबेला महिलाले टेम्पु चलाउँदा पुरुषहरूको कुदृष्टि पर्थ्यो । कतिपटक त झगडा पनि पर्थ्यो । पुरुषहरूले गिज्याउँथे,’ ती दिन सम्झिँदै लक्ष्मीले भनिन् । उनले ५ वर्ष टेम्पो चलाइन् ।

उद्योग अवलोकन भ्रमण

टेम्पो व्यवसाय गरिरहेकै समयमा कुनै एक गैरसरकारी संस्थाले ८ महिनाका लागि उनी लगायत केही महिलालाई भारतका हस्तकला उद्योगको अवलोकन भ्रमणमा लग्यो । उनी ‘अल इन्डिया टुर’ पनि गइन् । त्यहाँ विभिन्न प्रकारका उद्योगहरू अवलोकन गरिन् ।

लक्ष्मी भन्छिन्, ‘हामीलाई उद्योग अवलोकनका लागि लगिएको थियो । त्यहाँ धेरै उद्यमीसँग भेट भयो । उद्यम गर्ने बारेमा कुरा हुन्थ्यो । त्यही भ्रमण मेरो व्यावसायिक खुट्किलोको लागि पहिलो पाइलो बन्यो ।’

उनले आठ महिनामा भारतका ६५ वटा उद्योग अवलोकन गर्ने अवसर पाइन् । कलकत्तामा जनावरको छालाबाट ब्याग बनाइरहेको देखिन् । आइडिया भए काम त कति हो कति भन्ने सोचका साथ उनी अल इन्डिया भ्रमणबाट फर्किन् ।

लक्ष्मी भन्छिन्, ‘उद्योग अवलोकनले मेरो जीवनमा केही परिवर्तन ल्याउँछ, म केही गर्छु भन्ने सोच लिएर म फर्कें ।’

भ्रमणले जन्माएको उद्योग

लक्ष्मीले २०४३ साल मंसिरमा ह्यान्डीक्राफ्ट उद्योग सुरु गरिन् । करिब ८० हजार रुपैयाँ लगानीमा ‘लक्ष्मी उड क्राफ्ट’ नाम राखेर उद्योग दर्ता गरिन् ।

स्वदेशका काठबाट स्वदेशमै विभिन्न साम्रगी उत्पादन गरी विश्वबजारमा पुर्‍याउने लक्ष्मीको सोच थियो । उनले सबै टेम्पो बेचिन् । बैंकबाट केही ऋण पनि लिइन् । व्यवसाय राम्रो चल्यो । उनको उत्पादन स्वदेशमा भन्दा बढी विदेशमा बिक्री हुन थाल्यो ।

घरेलु कामदार र टेम्पु चालक हुँदै लक्ष्मी उद्योगी बनिन् । आफ्नो उद्योगमा महिलाहरूलाई रोजगारी दिइन् । कामदारको संख्या बढ्दै ५७५ जनासम्म पुग्यो । अहिले उनी उद्योगबाट अलग हुँदै संग्रहालय निर्माणतिर लागेकी छन् ।

उद्योगमा उत्पादन भएका वस्तुमध्ये सबैभन्दा बढी माग लुगामा लगाउने टाँकको हुन्थ्यो । उनको उद्योगमा काठ तथा घरपालुवा जनावरका हाड र सिङबाट सामान उत्पादन हुन्थे ।

लक्ष्मीको उद्योगका उत्पादनहरू अमेरिका, अस्ट्रेलिया, जापान, जर्मनी लगायत विभिन्न मुलुकमा पुगेका छन् । आफ्नो उत्पादन पुगेका देशहरूमा उनी आफू पनि पुगिन् ।

लक्ष्मी सफल उद्यमी बनिन् । संघर्षको फल मिठो हुन्छ भन्ने सन्देशको संवाहक बनिन् ।

महिलाहरूलाई उनको सुझाब छ, ‘पुरुषको साथमा भएका महिलाहरू आश्रित नबन्नुस्, एकल महिलाहरू एक्लै पनि संघर्ष गर्नुस्, थोरै लगानी जुटाउनुभयो र कामप्रति लगनशील हुनुभयो भने अवश्य सफल बन्नुहुनेछ ।’

संस्कार राजपरिवारको

लक्ष्मी २००६ साल मंसिरमा महाराजगञ्ज, काठमाडौँमा जन्मेकी हुन् । अन्तरजातीय बिहेका कारण उनका बाआमा छुट्टिएर बसेका थिए ।

लक्ष्मी मावलीको एउटा गोठमा जन्मेकी हुन् । भन्छिन्, ‘माइती घरमा बच्चा जन्माउन हुँदैन भन्ने प्रचलनका कारण मेरी आमाले मलाई गाई गोठमा जन्माउनुभएछ र लक्ष्मी नाम राख्नुभएछ । म एक्लो सन्तान भएँ ।’

लक्ष्मीले पढ्नेलेख्ने अवसर पाइनन् । उनको घर नजिकै ‘शिवपुरी माध्यमिक विद्यालय भए पनि स्कुल जाने उमेरमा राजपरिवारको काम गर्न पुगिन् । उनले बाल्यकालमै राजा त्रिभुवनकी कान्छी बहिनी बुनु महारानीको घरमा काम ६ वर्ष काम गरिन् ।

राजपरिवारमा पुगेपछि उनको दिनचर्या फेरियो । राजपरिवारको संस्कार सिकिन् । बिहान सबेरै उठेर कोठा सफा गर्ने, फूल टिपेर माला गाँस्ने, भगवानका मूर्तिहरू नुहाइधुहाइ गरेर कपडा फेरिदिने काम गर्थिन् ।

महारानीलाई दिनमा तीन पटक दर्शन गर्नेु पर्थ्यो । हरेक दिन प्रवचन सुनाइन्थ्यो । उनले आफ्नो स्मरण सुनाइन्, ‘राजपरिवारले छोरी मान्छेलाई लक्ष्मीकै अवतार मानेर सम्मान गर्ने गर्थ्यो । मैले पनि त्यस बखत निकै राम्रो संस्कार पाएँ’ ।’

महारानीको निधन भएपछि उनको काम पनि छुट्यो । उनी फेरि आमासँग मावली घरमा बस्न थालिन् । त्यसको दुई वर्षपछि उनको बिहे भयो ।

घरलाई म्युजियम बनाउने सपना

केही वर्षयता लक्ष्मीले एउटै सपना देख्ने गरेकी छिन् । त्यो हो, आफ्नो घरलाई म्युजियम अर्थात संग्रहालय बनाउने ।

उनी ‘दीप लक्ष्मी प्रतिष्ठान’ स्थापनाको योजनाका साथ अघि बढेकी छन् । उनले भनिन्, ‘क्राफ्ट म्युजियम र क्राफ्ट लाइब्रेरी बनाउन सजावटको काम भइरहेको छ ।’

त्यही म्युजियममार्फत उनी आफ्नो काम भावी पुस्तालाई देखाउन चाहन्छिन् ।

 

 


भर्खर

0