दसैँघर एवं पूजाकोठामा भित्र्याइयो फूलपाती | Khabarhub Khabarhub

दसैँघर एवं पूजाकोठामा भित्र्याइयो फूलपाती


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहेका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको छ । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको कार्यालय प्रमुख खनालले बताए ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष भने कोरोनाका कारण मन्त्री, सचिवलगायत उपस्थित भएनन् ।

औपचारिक कार्यक्रममा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत उपस्थित भएको कार्यालय प्रमुख खनालले जानकारी दिए । हनुमानढोकामा भित्र्याउन आज बिहान ८ः२५ बजेको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँअर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्य सामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : २५ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ