पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो | Khabarhub Khabarhub

पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पुर्‍याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ ।

हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्र्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य रु ५० हजारसम्ममा बिक्री गरेका छन् ।

मासु प्रतिकेजी रु दुई हजारदेखी रु दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन ।

च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दसैँका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दसैँमा च्याङ्ग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् ।

पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दसैँका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए ।

खसीबजारमा भेटिएका उनले भने, ‘विगतका दसैँमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन ।’

पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दसैँमा खसीको माग बढेको बताए । माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उनले जानकारी दिए । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका बिक्री गरिसकिएको बताइन्छ ।

बजारमा आउनेहरुले च्याङ्ग्राको मूल्य बढेकाले खरिद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दसैँमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका बिक्री गर्ने पसल छन् ।

जिउँदो खसी प्रतिकेजी रु ६०० देखि ६४५ सम्ममा यस वर्ष बिक्री गर्ने गरिएको छ । विगतमा भारतीय बजारबाट समेत पोखरामा खसीबोका आयात हुँदै आएकामा गएको एक वर्षदेखि रोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । व्यवसायीले विशेषगरी पाल्पा, नवलपरासी, सुर्खेत, तनहुँ, स्याङ्जा र दाङलगायतका जिल्लाबाट खसी ल्याउने गरेका छन् ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्याङ्ग्राको मूल्य बढेको बताउछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ३५ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे