समृद्धिका लागि अपरिहार्य एमाले–कांग्रेस गठबन्धन | Khabarhub Khabarhub

समृद्धिका लागि अपरिहार्य एमाले–कांग्रेस गठबन्धन



प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगभग वर्ष दिनअघि प्रधानमन्त्रीको हैसियतमा राष्ट्रियसभाको रोस्टमबाट सोधेका थिए, ‘यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’

ओलीको यस्तो प्रश्न अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान परियोजनाको विरोध गरिरहेका तत्कालीन नेकपाका नेतातर्फ लक्षित थियो । माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा फुट्यो । एमाले पनि फुटेर दुई टुक्रा भइसक्यो, नेकपा (एकीकृत समाजवादी) भयो । यस्तो घटनाक्रम विकासको मुख्य भूमिकामा रहे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डको पछि लागे । प्रचण्ड र माधव अलग अलग पार्टीमा भए पनि दुवै जना सँगै छन् ।

ओलीको नेतृत्वमा विकास र समृद्धिको यात्राले लय समात्दै गर्दा प्रचण्ड र माधवकै असहयोगले यात्रा अधुरोमात्र रहेन दुई तिहाई बहुमतको पार्टी चिराचिरा भयो । ओलीको यात्रामा बरु त्यतिखेरको प्रतिपक्ष नेपाली कांग्रेसले आँखा चिम्लेर साथ दिएको थियो । ओलीकालको विकास यात्रामा तगारो बनेका प्रचण्ड र माधव नै हुन्, कांग्रेस होइन ।

अहिले बृहत् विकाससँग जोडिएको एमसीसी फेरि चर्चामा छ । विद्युत र सडक पूर्वाधारमा कायापलट गर्ने ५० करोड अमेरिकी डलरको अनुदान सहायता सम्झौता स्वीकार गर्ने कि नगर्ने भन्ने बहस चलिरहेको छ । एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छ र अमेरिका सेना आउँछ भन्ने भ्रम छरेर विवादमा पार्ने र रोक्ने प्रयास भएको छ ।

एमसीसीले नेपाल सरकारको चासोबारे स्पष्ट पारिसकेको छ । तैपनि दलका नेताहरूले एमसीसीलाई राष्ट्रवादको भर्‍याङ बनाउँदै लगेका छन् । यति हुँदाहुँदै पनि एमसीसीमा नेपाली कांग्रेस र नेकपा एमाले नजिक हुने सम्भावना बढेको छ । नेपालको हित र विकासका लागि यो सम्भावना साकार पार्नु अहिलेको आवश्यकता हो ।

विगततिर हेर्दा कांग्रेस र एमालेको सहकार्य भएको समयमा गरेका निकै ठूला चुनौती पार लागाउन पनि नेताहरू सफल भएका छन् । ठूला परिवर्तनहरू भएका छन् । चाहे त्यो पहिलो र दोस्रो जनआन्दोलन होस् वा संविधान निर्माण नै किन नहोस् ।

अर्कोतिर नेपालमा समस्या निम्त्याउने, संस्कृति मास्ने र राष्ट्र कमजोर बनाउने काम माओवादीको नेतृत्वमा भएको छ । देशलाई अस्थिर बनाउने र भुमरीमा पार्ने काम माआवादीबाटै भएको छ ।

विगतमा सुखद परिणाम दिएको कांग्रेस–एमाले गठबन्धन नेपालको विकास समृद्धिका लागि फेरि आवश्यक परेको छ । परिवर्तनबाट नयाँ शासन पद्धतिमा अघि बढिरहेको नेपाल अब समृद्धिको यात्रातिर लम्कनु पर्छ । सधैँ आन्दोलन र परिवर्तनको कुरा गरेरमात्रै हुँदैन । आन्दोलनबाट परिवर्तन आइसकेको छ । यो परिर्वतनको संरक्षण र सुदृढीकरण गर्दै विकास र समृद्धि नेपाली जनताको चाहना हो ।

नेपालीलाई बाटोघाटो र बिजुली चाहिएको छ । सुलभ स्वास्थ्य सेवा र शिक्षा चाहिएको छ । गरिखाने रोजगारी चाहिएको छ । यी कुरासँग एमसीसी पनि जोडिन आएको छ । एमसीसी सम्झौताले भनेकै कुरा हो अनुदानबाट नेपालको सडक र विद्युत विकास गरिदिने । यो कुनै ऋण होइन । भोलि ऋणमा डुबाएर देश कब्जा गर्ला भन्ने विषय पनि होइन ।

विकासको यो बहुप्रतीक्षित परियोजनालाई विवादमा तान्ने काम गरेका छन् प्रचण्ड र सिङ्गो माओवादीले । अहिले यो अभियानमा मिसिएका छन् माधव नेपाल र उपेन्द्र यादव ।

ओलीले भनेजस्तै प्रचण्ड–माधव–उपेन्द्रले विकास हुन नदिने, चीनको दबाबमा परियोजना रोक्ने दाउ गरेका छन् र राष्ट्रवादको भर्‍याङ एमसीसीलाई बनाउन खोजेका छन् । एमसीसी रोक्न खोजे पनि सत्तारूढ गठबन्धनको प्रमुख पार्टी नेपाली कांग्रेस भने अगाडि बढाउने रणनीतिमा छ । एमाले अध्यक्ष ओली पनि एमसीसी अगाडि बढाउन तत्पर छन् ।

यहाँनेर विकास परियोजना, सुखी नेपाली, समृद्ध नेपालको एजेन्डामा कांग्रेस र एमालेको लाइन मिलेको छ । सत्ता गठबन्धनकै नेताहरू प्रचण्ड–माधव–उपेन्द्र विपक्षमा छन् । यस हिसाबले पनि अब वर्तमान सत्ता गठबन्धन भत्किनुपर्छ । कांग्रेस र एमाले सहकार्य अपरिहार्य छ । एजेन्डा नै मिल्दैन भने गठबन्धनको औचित्य हुँदैन । विगतले कांग्रेस–एमाले गठबन्धन सफल देखाइसकेको छ ।

पाँच दलको वर्तमान सत्ता गठबन्धन भत्किनुपर्छ । देशका लागि कांग्रेस–एमाले सहकार्य अपरिहार्य छ । एजेन्डा नै नमिल्ने गठबन्धनको औचित्य हुँदैन । विगतमा कांग्रेस–एमाले सत्ता गठबन्धन सफल भएको हो, अबको आवश्यकता पनि यही हो ।

गठबन्धनसँगै एकछिन एमसीसी र बीआरआई हेरौँ । नेपालले अमेरिकासँग एमसीसी सम्झौता र चिनियाँ बीआरआई परियोजनामा सहभागी भएको छ । दुबै परियोजनाबाट नेपालले लाभ लिनुपर्छ । यसमा दुइमत छैन तर बीआरआईमा नेपाललाई आबद्ध गराएको चीनको दबाबमा एमसीसी रोक्नु सर्वथा गलत हुनेछ, त्यो पनि राष्ट्रवादसँग जोडेर ।

एमसीसीले त अनुदान दिएको हो । चीनको बीआरआई परियोजना ऋणमा हो । यसको भिन्नता नै नबुझेर एमसीसीमाथि अनावश्यक शंका गर्नेलाई र विकासविरोधीलाई तह लगाउनैपर्छ ।

अब देशमा स्थायित्व र समृद्धिका लागि कांग्रेस–एमाले गठबन्धन बन्नुपर्छ । भारत र अमेरिका मिलेर नेपालको विकासमा सघाउन खोज्दैछन् । बीआरआईका नाममा ऋण परियोजना फालेको चीनले नेपाललाई ऋणमा डुबाएर आफ्नो कब्जामा पार्न एजेन्टहरू खटाएको छ । यसमा कांग्रेस र एमालेसहित विकासप्रेमी नागरिक सचेत हुनुपर्छ ।

एमसीसी परियोजना अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनकै प्रचण्ड–माधव–उपेन्द्रबाट साथ नपाएपछि आफ्ना प्रतिनिधि बालकोट पठाएर देउवाले सहयोग मागेका छन् । ओलीले पनि ग्रीन सिग्नल दिएका छन् ।

ओलीको ग्रीन सिग्नलले सत्ता गठबन्धनभित्र फाटो आएको देखिएको छ । यसको संकेत त प्रचण्डले नै दिइसकेका छन् । उनले एमसीसीलाई लिएर सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको सार्वजनिकरूपमै बोलेका छन् ।

एमालेको समर्थनमा देउवाले एमसीसी अघि बढाउन सक्ने देखिएपछि प्रचण्डको यो अभिव्यक्ति आएको हो । गठबन्धनभित्र यसरी फुटको भय मडारिएका बेला प्रधानमन्त्री देउवाले भित्रभित्रै गठबन्धनको कसरत पनि थालेका छन् ।

महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू अहिले देउवा र ओली दुबैसँग संवादमा छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ५५ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको