नेपालमा फस्टाएको कम्युनिस्ट दुकानदारी « Khabarhub
Logo
१६ श्रावण २०७८, शनिबार

नेपालमा फस्टाएको कम्युनिस्ट दुकानदारी



राजनीतिक नेताहरू विरोधीबाट केही असजिलो पर्ने बित्तिकै ‘हामी जनताका बीचमा जान्छौँ’ भन्न थाल्छन् । अधिकांश दल र तिनका नेताका मुखबाट निस्कने वाक्य यही हो ।

जनतालाई समस्या पर्दा कहाँ जाने ? अहिलेसम्म नेपालको राजनीतिले यस प्रश्नको उत्तर दिएको छैन । जबसम्म जनतालाई समस्या पर्दा समाधान दिने निकायको खोजी हुनेछैन तबसम्म राजनीति सधैँ अस्थिर रहनेछ ।

जनताको मुख्य आवश्यकता खाना, नाना, बास, उपचार र शिक्षा हो । यसपछि क्रमशः अन्य आवश्यकताहरू अगाडि आउँछन् । खेलकुद र मनोरञ्जन पनि आवश्यकतामै पर्छ । जनताका सवालहरू यिनै विषयका वरिपरि हुन्छन् । जनता जहिल्यै यिनै आवश्यकता परिपूर्तिका लागि अनेक कष्ट झेलिरहेका हुन्छन् । यसमा पीडा हुन्छ ।

जनताले आफ्ना समस्या र पीडा सुनाउने र समाधान दिने अड्डा अहिलेसम्म भेटेका छैनन् । सरकारी अड्डा छन् तर सत्तारूढ दलका कार्यकर्ताको घेराबन्दीमा । अस्पताल छन् तर त्यहाँ व्यापारखेती भइरहेको छ ।

नेपालको राजनीति कम्युनिस्ट जालोमा जेलिएको छ । परिवर्तन ल्याउने र त्यही परिवर्तनको आडमा अराजक गतिविधि गर्नेमा कम्युनिस्टहरू सधैँ अगाडि छन् । यसको मूल कारण हो गैरजिम्मेवार राजनीति ।

स्कुल कलेज छन्, ती पनि राजनीतिका साङ्लाले जेलिएका छन् । नेपालमा जतिजति राजनीति परिवर्तन भयो, उतिउति सरकारी अड्डाहरू जनताको पहुँचबाहिर हुँदै गए । आखिर जनता कहाँ जाने ?

यही प्रश्नको जवाफ खोज्न अब जनता साँच्चै जाग्ने वेला भएको छ । सधैँ एकै रीतका नेताको गोटी र भरिया बन्ने कि स्वाभिमानको बाटो खोज्ने ? जनताले सोच्ने वेला भएको छ । आफूले निर्णय गर्ने मौका आउँदा गम्भीर हुनुपर्ने भएको छ ।

नेपालको राजनीति कम्युनिस्ट जालोमा जेलिएको छ । परिवर्तन ल्याउने र त्यही परिवर्तनको आडमा अराजक गतिविधि गर्नेमा कम्युनिस्टहरू सधैँ अगाडि छन् । यसको मूल कारण हो गैरजिम्मेवार राजनीति ।

परिवर्तन आत्मसात गरेर जिम्मेवारी बहन गर्न सकेको भए कम्युनिस्ट राजनीति संस्थागत हुने थियो । यसो हुन सकेन । नेपालको कम्युनिस्ट राजनीति आफैँ अस्थिर रहँदै आयो । यसले समग्र राजनीतिलाई डाँवाडोल बनाउँदै आयो । देश अहिले त्यसैको चरमोत्कर्षमा छ ।

इमान गुमाएका नेता

सबैजसो देशमा कम्युनिस्टतन्त्र विलीन हुँदै जाँदा पनि चीनमा भने क्रियाशील छ । चीनमा प्रेस र वाक स्वतन्त्रता संकुचनमा छ ।

मानवअधिकारका सवालमा चीन आलोचित छ तर विकास र उत्पादनमा अग्रणी मुलुक बन्दै गएको छ । विकास, उत्पादन, अनुसन्धान र जीवनस्तर सुधारका क्षेत्रमा चीन अब्बल हुँदै गएको छ ।

नेपालका कम्युनिस्ट नेताहरूले जनताका लागि काम गरेनन् । उदार शासन व्यवस्थाको प्रचुर मात्रामा दुरुपयोग गरे । चीनमा बाहेक विश्वका सबै देशहरूमा कम्युनिस्ट शासन असफल भइसकेको छ । नेपालमा कम्युनिस्ट पार्टीका नाममा बहुदलीय प्रणालीमा चुनाव जितेर सत्तामा पुगेका कम्युनिस्टहरू शासनमा असफल भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनका आधारमा हेर्ने हो भने कम्युनिस्ट पार्टीको शासनमा झन् बढी भ्रष्टाचार भएको छ । इमान गुमाएका नेताहरूको सूचीमा कम्युनिस्टहरू नै अगाडि छन् । नेपालका कम्युनिस्टले सर्वहारा वर्गको नाममा नेता र तिनका आसेपासे धनी हुने संस्कार भित्र्याएका छन् ।

परिवर्तनका नाममा लुटधन्दा

नेपालमा राजनीतिका नाममा धनको सिँढी चढिरहेका नेताहरूको सूची निकै लामो छ । उनीहरू राजनीति गरेको भन्छन्, कमाइको देखिने पेसा केही छैन तर धन थुप्रिएको थुप्रियै छ । एकथरी जनता झन् झन् गरिबीको दलदलमा भासिँदै गएका कन् । कसरी ? यो आजको ज्वलन्त प्रश्न हो ।

नेपालमा कम्युनिस्टहरूले पटकपटक सरकार चलाउने अवसर पाएका हुन् । तीन वर्षदेखि लगातार कम्युनिस्ट पार्टीकै सरकार छ । नेपालमा कम्युनिस्टहरूले राजनीतिक परिवर्तनको नारामा आन्दोलन र युद्ध गरेका छन् ।

आन्दोलन र युद्धका नाममा भएको क्षतिको तुलनामा राजनीतिक उपलव्धि भने नगन्य छ । नेपाली जनताको ठूलो हिस्साले कम्युनिस्टलाई विश्वास गरेर सरकारमा पुर्‍याइदियो, सत्ता परिवर्तन भयो, राजनीतिक परिवर्तन भयो तर जनजीवन उस्तै रह्यो ।

नेपालमा राजनीतिक परिवर्तनको सबैभन्दा बढी लाभ कम्युनिस्ट नेताले लिए, आफ्ना आसेपासेलाई लाभ दिए तर राजनीतिक इमानदारी र संस्कार ध्वस्त बनाए । अहिलेको नेपालको परिदृश्य यही हो ।

सरकार र सत्तारूढ कम्युनिस्टलाई समर्थन नगर्नेलाई खोजीखोजी लखेट्ने काम हुन थालेको छ । सबै सरकारी संयन्त्रहरू बिचौलिया र माफियाकरणले गाँजिएका छन् । असुरक्षा बढ्दो छ । 

नेपालमा हालको बेरोजागरी दुई दशक अघिको तुलनामा दुई सय प्रतिशतले वृद्धि हो । जबसम्म जनजीविकाको सवालमा सरकारले उचित ढङ्गले काम गर्न सक्दैन, तबसम्म राजनीतिक परिवर्तनको औचित्य स्थापित हुँदैन ।

पञ्चायतकालमा विकास हुँदै नभएको होइन । ठूला राजमार्ग पञ्चायतकालमै बनेका थिए । विकासको मूल फुटाउने ढोल नै पिटिएको थियो ।

आखिर पञ्चायती व्यवस्था किन पतन भयो ? किनभने, विकासको चर्को नाराअनुसार जनताको जीवनस्तर बढेन, जनजीविकाका समस्याहरू समाधान भएनन् । ‍

समृद्धिको नारा र जनताको जीवनस्तरले पञ्चायतकालको नारा र जीवजनस्तरको झल्को दिएको छ । विकासका नाममा महँगी बढाउने, बेरोजगारलाई काम दिने नाममा आफ्ना कार्यकर्ता पोस्ने र वास्तविक बेरोजगार युवाहरूलाई विदेश धकेल्ने वर्तमान सरकारको नियत देखिन्छ ।

सरकार र सत्तारूढ कम्युनिस्टलाई समर्थन नगर्नेलाई खोजीखोजी लखेट्ने काम हुन थालेको छ । सबै सरकारी संयन्त्रहरू बिचौलिया र माफियाकरणले गाँजिएका छन् । असुरक्षा बढ्दो छ ।

एमालेको वर्तमान कम्युनिस्ट सरकार उत्पादनमा उदासीन र वितरण उदार देखा परेको छ । किसानका उत्पादनमा कम्युनिस्ट सरकारका कार्यकर्ता बिचौलिया बनेका छन् । खाद्यान्न, शिक्षा र स्वास्थ्य साधारण मानिसको पहुँच बाहिर जाँदैछ । सरकार केवल समृद्धिको डम्फु बजाउनमा मस्त छ । कर्मचारीतन्त्रभित्र राजनीति व्याप्त छ । नेपालको परम्परा र पहिचान समाप्त पार्ने खेल कम्युनिस्टकै हो ।

आफूलाई कम्युनिस्ट भन्ने तर मार्गनिर्देशक सिद्धान्त र गन्तव्य नै थाहा नहुने अवस्थामा छन् नेपालका कम्युनिस्ट नामधारी पार्टीहरू । सबैले आफूलाई नै सच्चा कम्युनिस्ट दाबी गर्दै आएका छन् ।

सोहीअनुसार जनता पनि विभाजित छन् । सुन पसलमा कुन छापावाल र कुन तेजाबी हो भनेर ग्राहक झुक्किने गरेझैँ राजनीतिको दुकानमा जनता कुन असली नेता हो र कुन नक्कली भनेर झुक्किने गरेका छन् ।

जनतालाई झुक्यानमा पार्न कम्युनिस्ट दुकानदारहरू सफल हुँदै आएका छन् ।

आफू र आफ्नामात्रै पोषिने यो कम्युनिस्ट दुकानदारी रोकिएन भने आमजनता झन् झन् भ्रममा पर्दै र निरही बन्दै जानेछन् । नेपाली राजनीतिमा कम्युनिस्टले भित्र्याएको चिज अस्थिरता, बेइमानी र भ्रष्टाचार मात्रै हो ।


भर्खर

0