पतिङ्गर सोहरेर इन्धन र अतिरिक्त आर्जनको जोहो | Khabarhub Khabarhub

पतिङ्गर सोहरेर इन्धन र अतिरिक्त आर्जनको जोहो


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वसन्त ऋतुअघि नयाँ पालुवा फेर्न वन क्षेत्रका रुखले झारेका पुराना पात महोत्तरीका गरीब महिलाका लागि घरको इन्धनको आवश्यकता र अतिरिक्त आम्दानीको जोहो बनेको छ ।

जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वनक्षेत्रमा टाढाटाढाका गरीब महिला पतिङ्गर बटुल्न व्यस्त देखिन्छन् । पतिङ्गर सोहोर्नेको आवागमनले अहिले वनक्षेत्रमा चहलपहल निकै बढेको छ ।

वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोहर्न पुग्नेमा मुसहर, बाँतर जाति समुदायका दलित महिला बढी भेटिन्छन् । बर्दिबास, गौशालाबाहेक जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर, बाँतर जाति समुदायका महिला १५/२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वनक्षेत्र पुग्ने गरेका हुन् ।

वनक्षेत्रको असरल्ल पतिङ्गर खरेटोले बटुलेर थुपार्नु, ठूलठूला टाला र बोरामा हालेर बाँध्नु र ओसार्नु यी महिलाको अहिलेको दैनिकी हो । वनक्षेत्रमा बटुलिएको पतिङ्गर आफ्नै लागि खाना पकाउने इन्धन हुने र किसानले किनिदिँदा अतिरिक्त आर्जनसमेत भएपछि यो काममा गरीब महिलाको आकर्षण बढेको हो ।

उखु, परवल, ओललगायतका नयाँ खेती (भर्खर रोपिएको) मा माटोको चिस्यान नमरोस् भन्न झ्यास र पतिङ्गरले छोप्ने गरिन्छ । यो प्रयोजनका लागि किसानले पतिङ्गर किन्ने भएका हुँदा दलित महिलामा यस कामप्रति लगन र जाँगर बढेको हो । पछिल्ला केही वर्षयता परवल र ओलखेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दै गएपछि मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।

ओल र परवल रोपेपछि माटोको चिस्यान बचाइराख्न पतिङ्गरले छोप्ने गरिएकाले जिल्लामा पतिङ्गर आम्दानीको स्रोत बनेको यो काममा लागेका मुसहर महिला बताउँछन् ।

‘जङ्गलको गिरल पत्ता समेट्क एक ठाम करैछी’ (वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं) पतिङ्गर सोहोर्न बर्दिवास–८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुगेकी भङ्गाहा–४ रामनगरकी भुठ्ठी सादा मुसहरले भनिन्, ‘खेती करवालासब् अही ठाम आ’क ललेइछै’ (किसानले यहीँ आएर लिने गर्छन्) । सोहोरेर थुपारिएको पतिङ्गरबाट राम्रै रकम पाउने गरिएको यस काममा लागेका महिलाको भनाइ छ ।

यी गरीब समुदायका लागि वसन्तऋतु प्रतिक्षा हुन्छ । ‘कहिया पतझड (वसन्त ऋतु) आयत, जे पत्ता सम्ट जङ्गल जाई’, (कहिले वसन्त आउला र वनमा पतिङ्गर बटुल्न जाउँ भन्ने प्रतिक्षा हुन्छ) भुठ्ठीकै छिमेकको बस्ती पलारकी बाँतरदायकी शिलो बाँतरले भनिन् ।

वनको पतिङ्गर थप आम्दानीको स्रोत र आफ्नै घरमा खाना पकाउने इन्धन हुने गरेको छ । किसानले वनमै बोरा र ठूलठूला टालासमेत दिएर पतिङ्गर जम्मा गरी दिएबापत रकम दिन्छन् । बटुलेकै ठाउँमा रकम पाएपछि घर फर्कने बेलामा इन्धनका लागि भने आफैँले बोकेर लाने गरेको गौशाला नपाको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर सोहोरी रहेकी औरही नगरपालिकाको टिम्किया बस्तीकी दियावती सादाले बताइन ।

अहिले खेतीपातीमा धमाधम बेला नभएकाले मुसहर, बाँतर महिलाका लागि फुर्सदको उपयोग गर्दै केही आर्जन गर्न वनजङ्गलमा पतिङ्गर सोहोर्नु खास अवसर भएको छ ।
मुसहर, बाँतर समुदायका महिलाको मुख्य काम कृषि मजदूरी हो । धान, गहुँ काट्ने र रोपाइँका बेलामा यिनलाई गिरहत (जग्गाधनी किसान) को काममा लाग्नुपर्छ । अहिले खेतीको व्यस्त समय नभएको हुँदा घरको इन्धन र अतिरिक्त आर्जनका लागि पतिङ्गर बटुल्नु खास अवसर भएको भङ्गाहा–३ सखरीटोलकी उजरी बाँतरले बताइन ।

‘हजुर, अखैन गिरत सब्के खेतमे कोनो काम नइ अई’ (हजुर अहिले मालिकका खेतमा कुनै काम छैन) उजरीले भनिन्, ‘तही स दु चार ढौवाके जोगारमे लागल छि’ (त्यसैले दुई/चार पैसा आर्जन हुने काममा छौँ) ।

जिल्लाको भङ्गाहा नगरपालिकाका सकरी, बनरा, रामनगर, टिकुलिया, भिमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइलसहितका बस्तीबाट आएका दलित महिलालाई अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङ्गर सोहोर्न भ्याइनभ्याइ छ ।

माघदेखि चैतसम्म वनका रुखका पुराना पात झर्ने र वैशाखमा नयाँ पात फेरिने गर्छ । हिउँदे वर्षा हुँदा वनका असरल्ल पात बटुल्न सजिलो हुने यस काममा लागेका महिलाको भनाइ छ । तर यसपाली हिउँदे वर्षा नभएको हुँदा असरल्ल पातपतिङ्गर बटुल्न बढी समय लाग्ने गरेको छ । अहिले पछिल्लो एकसातायता दैनिकजसो १००/१५० को हाराहारीमा मुसहर र बाँतर महिला वनमा पतिङर सोहोरी रहेका भेटिने गरेका छन् ।

मुसहर, बाँतर महिलाले सोहोरेका पतिङ्गरले आफूहरुलाई निकै सजिलो भएको परबल र ओल खेती गर्ने किसान बताउँछन् । पातपतिङ्गर (सोत्तर) सोहोर्न अन्य घरकामले नभ्याएका बेला यी महिलाले थालेका कामले आफूहरुलाई निक्कै सजिलो भएको बर्दिवास–४ का परबल किसान रामजी पौडेलको भनाइ छ ।

ओल र परवल रोपिएको जग्गा पातपतिङ्गरले छोप्दा चिस्यान रही रहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पतिङ्गरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको उद्यमीको भनाइ छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायलेसमेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य सङघ्का सचिब ज्ञानबहादुर बस्नेतले बताए ।

वनक्षेत्रमा पतिङ्गर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुङ्गी भने भाग्न थालेका छन् । धुम्रपान(बिँडी चुरोट) गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडी, चुरोटको ठुटा र सलाइको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ । यता पतिङ्गर सोहोर्न वनक्षेत्र पुगेका महिलाले भने वनक्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : ४० बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको