रोकियो प्रशासनिक भवनको काम | Khabarhub Khabarhub

रोकियो प्रशासनिक भवनको काम


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–ठेकेदार कम्पनीले प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ । ठेकेदार कम्पनी रुज–जगदम्बा–भुवनेश्वरी एन्ड बैभव जेभीका ठेकेदारले निर्माणाधीन प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाले पत्र पठाएर काम रोक्न लगाएको हो ।

ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापरवाही गरेकाले गाउँपालिकाको तर्फबाट गत भदौ–१५ गते औपचारिक रुपमा पत्राचार गरेर निर्माणको काम तथा भुक्तानीलगायतका सम्पूर्ण प्रक्रिया रोकिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । गाउँपालिकाले पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले निर्माणाधीन प्रशासनिक भवनको पहिलो स्ल्याब ढलान गरिसकेका थिए ।

गाउँपालिकाको प्रशासनिक भवनको भूइँतलाको पिलरको गुणस्तर परीक्षणका लागि गत जेठ–२१ गते स्याम्पल (कङ्क्रिट क्युब) सङ्कलन गरिएको थियो । संकलन गरिएका कंक्रिट क्युब परीक्षण गर्न ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ उल्लेख गर्दै असार–२३ गते प्रतिवेदन दिएको थियो । तर, निर्माण कम्पनीले साउन–१० गतेमात्रै गाउँपालिकालाई ल्याबको प्रतिवेदन बुझाएको थियो ।

पहिलो प्रतिवेदन बुझाएको दुई दिनपछि त्रुटि भएको भन्दै अर्को प्रतिवेदन इमेलमार्फत गाउँपालिकामा पठाएको जनाइएको छ । जसमा ‘२३ असारमा परिपत्र भएको क्युब टेस्टको प्रतिवेदन मेसिनमा केही त्रुटि भई गलत भएकाले उक्त प्रतिवेदन फेरि सच्याएर पठाइएको’ उल्लेख छ । तर, भदौ–२७ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पनि गाउँपालिकालाई प्रतिवेदन पठाएको थियो ।

दोस्रो पटक प्रतिवेदन पठाएलगत्तै शंका लागेर अध्ययन गरेपछि मात्रै निर्माण कम्पनीले दिएको ल्याब प्रतिवेदन नक्कली भएको खुलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जनाइन् । ‘प्राविधिक शाखामा पेश भएको ल्याब प्रतिवेदन अध्ययन गर्दा नक्कली र झूटो भएको आशंका भएपछि त्यसको पुष्टि गर्न गाउँपालिकाले केन्द्रलाई पत्राचार गरेको थियो’, उनले भने, ‘केन्द्रले जवाफ पठाएपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरी नक्कली ल्याब प्रतिवेदन तयार गरेको पाइएको छ । यस विषयमा कानूनी कारवाहीको प्रक्रिया अगाढि बढाइएको छ ।’

निर्माण व्यवसायीले उपलब्ध गराएको प्रतिवेदनमा ल्याब इन्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसिएको छ । त्यस्तै, पत्रमा ‘महोदय’, ‘चिठ्ठी’ जस्ता शब्द प्रयोग गरिएका छन् । जसका आधारमा गाउँपालिकाले शङ्का लागेर पुष्टि गर्न खोजेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि गणेश राईले भने, ल्याबको प्रतिवेदन नक्कली नभएको दाबी गरेका छन् । गाउँपालिकाका इन्जिनियर बाबुराम राउतसँग लेनदेनमा कुरा नमिलेपछि ल्याब परीक्षण प्रतिवेदन गलत भनिएको कम्पनीका प्रतिनिधि राईको आरोप छ ।

गाउँपालिकाले एक नं. प्रदेश सरकारको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २०७६ माघ–२६ गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । रु तीन करोड ६९ लाख ८५ हजार ८७३ मा टेन्डर आह्वान गरिएको भवन ठेकेदार कम्पनीले रु दुई करोड ६८ लाख ४३ हजार ३४६ मा कामको जिम्मा लिएको हो ।

निर्माणाधीन प्रशासनिक भवनको ७० प्रतिशत काम बाँकी हुँदा रु ३९ लाख ९० हजार ७५३ भुक्तानी लिइसकेको गाउँपालिकाको कार्यालयले जनाएको छ । भवन निर्माणमा ढिलासुस्ती र लापरवाही हुनुका साथै काम पनि गुणस्तरीय नभएको गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले बताएका छन् ।

विसं २०७७ माघ– १९ गते निर्माण सम्पन्न गर्नुपर्ने १६ कोठा भएको तीनतले सुविधासम्पन्न निर्माणाधीन प्रशासनिक भवनको लागि सम्झौता भएको थियो । समयमा काम नसकिएपछि २०७८ असारसम्म म्याद थपिएको थियो । आरसिसी ढलानसहितको निर्माणाधीन प्रशासनिक भवनको पहिलो तला ढलान गरेर दोस्रो तलाका लागि तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरवाही देखिएसँगै गाउँपालिकाले नै पत्राचार गरेर निर्माण रोकेपछि अहिले उक्त भवन अलपत्र बनेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका