महालक्ष्मीको वास र उपासनाको परम्परा « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

महालक्ष्मीको वास र उपासनाको परम्परा



वैदिक सनातनीहरूले परम्परादेखि मान्दै आएको महालक्ष्मीको विशेष उपासना गरिने पर्व यही भदौ २८ गते शुरू हुँदैछ । भाद्र शुक्ल सप्तमीदेखि लगातार १५ दिन मनाइने यो पर्व यो वर्ष असोज १२ गते सप्तमीमा समापन हुनेछ ।

महालक्ष्मीको उपासना गर्नेहरू दुर्घटना, महामारी, उल्कापात जस्ता घटनाबाट बच्ने र घर, परिवार, समाज धनधान्यले पूर्ण हुने शास्त्रीय मान्यता रहेको छ । कुवेरको धन प्राप्त गर्न चाहनेले यो व्रत निष्ठाका साथ पूरा गर्ने गर्छन् । परिश्रमी हात, सीप र कामको दक्षता तथा आर्थिक समृद्धिका लागि लक्ष्मीको पूजाआजा गर्ने चलन छ ।

अघि वनवास, गुप्तवासमा भएका बखत पाण्डवहरूले पनि यो व्रत गरेर राज्य सुख प्राप्त गरेका थिए । आद्य गुरु शंकराचार्य, स्वामी विवेकानन्द सबैले लक्ष्मीको आराधना गरेका थिए । हाल पनि सबैलाई समृद्धिको चाहना छ ।

अघिपछि पनि सूर्योदय अघि बिहान हरेक दिन आफ्ना दुवै हात अँजुलीलाई दर्शन गर्दै तलको मन्त्र पाठ गर्नाले घरमा स्थिर लक्ष्मीको बास हुन्छ ।

करागे्र बसते लक्ष्मी कर मध्ये सरस्वती करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम् ।

अर्थात् हातको अगडि भागमा लक्ष्मी, हातका बीच भागमा लक्ष्मीकै अर्को रूप सरस्वती, हातकै मूल भागमा ब्रह्मा रहेका हुछन् । ऊर्जा भनौँ महाकालीको निवास पनि हातैमा हुन्छ ।

संसारको सृष्टि, पालना र संहारका काममा ब्रह्मा, विष्णु र रुद्रलाई क्षमतावान् बनाउने यी तीन देवीको उपासनाले मानवलाई पूर्ण शक्ति मिल्छ । हामीले हरेक दिन हातको दर्शन गर्नुपर्छ, जसले हाम्रा हरेक दिन सुखी र शान्त, सिपयक्त हुन्छ, श्रमशील हातले गरेको मिहिनेत खेर जाँदैन ।

महालक्ष्मीको व्रतीले नक्त भोजन अर्थात् एक छाक मात्र अन्न खाने, नुन पनि एक छाक मात्र खाने र खाटमा नसुत्ने गर्छन् । बिहान, दिउँसो र बेलुका लक्ष्मीको विशेष पूजा, वन्दना, आरती गर्ने गर्छन् । अक्षता चढाउँछन् । सोह्रसूते बत्ती १६ जोरको आरती गर्छन् । नटुक्रिएको, राम्ररी केलाएको सग्लो चामलको खाना मात्र खान्छन् ।

लक्ष्मीलाई दाखको खीर, समय अनुसारका ऋतुफल, दूध, पञ्चामृत, राम्रा फूलका माला मन पर्छ । नैवेद्य, नरिवल, कपुर अगरुले लक्ष्मीको उपासना गर्दै विशेष शृङ्गार र गरगहनाले सजाइन्छ ।

सोह्र वर्ष लगातार गरिने यो उपासना समापन गर्दा दम्पतीको पूजासहित सक्नेले शैया दान गर्छन् । महालक्ष्मीको कथा सुन्ने, उनको स्तुति वन्दना लक्ष्मी लहरी सुन्ने र महालक्ष्म्यष्टक स्तोत्र पाठ गर्नाले मानव जीवन धन्य हुने युगौँसम्म निरोगी, धनीमानी र सर्वसम्पन्न हुने शास्त्रीय मत रहेको छ ।

लक्ष्मीको बास चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वभाव, अप्रमाद र उद्योगमा हुन्छ; धन, पदार्थ र तत्वज्ञानको सदुपयोगमा हुन्छ; लज्जा, त्याग र शिष्टतामा हुन्छ । लक्ष्मीका साधकहरू सज्जन, शान्त, धीर र वीर हुन जरुरी छ ।

लक्ष्मीको चर्चा गर्दा यिनको स्वरूप बुझ्नु पर्ने हुन्छ । यिनका मुख्य दुई रूप छन् । एउटा हो भौतिकरूप, अर्को हो आध्यात्मिक वा दैवीस्वरूप । भौतिक रूपमा हेर्दा लक्ष्मी केवल भोगकी साधन बन्न पुग्छिन् । दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन् । उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन लाटोकोसेरो मात्र बन्न पुग्छ । उपयोगको रूपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन् ।

जहाँ लक्ष्मीको सेवा हुन्छ त्यहाँ नारायणको सेवा हुनु जरुरी छ । नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ । धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन् ।

मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुबै पाउँदैन । नारायणको अर्को नाम यश र कीर्ति पनि हो । त्यसैले यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्नदेऊ भनी नीतिकारहरूले भनेका छन् ।

लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ । उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन् । पूजाले मात्रभन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा, सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटाघाटा, मठ मन्दिर, असहाय, दीनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ ।

आम्दानीको १० प्रतिशतमा आफ्नो हकभोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नुपर्ने विषयमा पूर्वीय चिन्तनले यत्रतत्र व्याख्या गरेको छ । आनन्द प्राप्तिको लागि लक्ष्मीको आध्यात्मिक एवं दैवीस्वरूपलाई बुझनुपर्ने हुन्छ ।

चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ । धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्वज्ञानको सदुपयोग, लज्जा, त्याग र शिष्टतामा लक्ष्मीको बास हुन्छ । लक्ष्मीका साधकहरू सज्जन, शान्त, धीर, वीर हुन जरुरी छ ।

सन्त, साधुहरूको सेवामा पनि लक्ष्मी रहने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । भनिन्छ, लक्ष्मीका धेरै पाउमध्ये एक पाउ उत्पादनमा, उब्जनीमा रहेको छ । पृथ्वीको प्राकृतिक स्रोतसाधनमा लक्ष्मीको एक पाउ छ । लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादि तत्वमा छ जसले शुद्ध तत्वलाई सिँचाइ गरी पोषण दिन्छ ।

जलमा रहेकी लक्ष्मीलाई विज्ञानले विद्युतीकरण गरेर हराभरा बनाएको छ । यसले उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्रसाधन समेत सजिलो बनेको छ । वृक्ष, वनस्पतिको हरियालीका लागि लटरम्म फलफूलको सिर्जनामा सहायकसिद्ध लक्ष्मीको अर्को पाउ तापशक्ति अग्निमा रहेको छ ।

वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ । बाहिर देखिएको ताप शक्ति, सौर्य ऊर्जादेखि मानव हृदयभित्रको जठराग्नि समेतमा रहेर आफ्नै शक्तिद्वारा पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले सञ्चालन गरिरहेकी हुन्छिन् ।

लक्ष्मीको अर्को पाउ बसेको छ साधुका हृदयमा, सत्यवादितामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्यबोलीमा, आचरणमा, मनको शुद्धता र सात्विक आहारविहारमा ।

यसर्थ, तपस्वी, साधुसन्त केवल भेषको कारण होइन, आचरण पवित्रतामा हुनुपर्छ । तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति र बुद्धिका साथै विवेक, संयम, आत्मसंयमी आदि व्यक्तिमा यस्ती लक्ष्मीको वास रहेको हुन्छ ।

महाभारत भीष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको चर्चा भएको पाइन्छ । वेदले लक्ष्मीको वन्दना गरेको छ ।

लक्ष्मीको व्रत उपासनाको क्रममा पर्छ अर्को पर्व अनन्त चतुर्दशी । भगवान अनन्तको कहिल्यै अन्त्य छैन । उनैका नामले प्रसिद्धि पाएको अनन्त चतुर्दशीमा अनन्तको पूजा र कथाश्रवण पूर्वीय दर्शनको मान्यता रहेको छ । वैदिक सनातनीहरूले यसै दिन वेदको मन्त्र लिने र गुरुको अर्तीउपदेश सुन्ने गर्छन् । सोह्र वटा विशेष गाँठो बनाई विधिपूर्वक मन्त्र जपेर विशेष पूजा गरिएको अनन्त धागो आफ्नो पाखुरामा बाँध्नाले जीवन सधैँ सुरक्षित हुने शास्त्रीय मान्यता रहेको छ ।

सबैले यो व्रत उपासना गर्ने चलन छ । ऋषितर्पणी अर्थात जनै पूर्णिमाका दिन कुनै कारणले जनै लाउन छुटेकाले विशेष रुद्री पाठ गरी यज्ञोपवित अर्थात् जनै विधि पूर्वक मन्त्रेर लाउने चलन छ । यसपालिको यो पर्व यही असोज तीन गते परेको छ ।

यसै दिन काठमाडौँ पश्चिम–उत्तर दहचोक डाँडास्थित इन्द्रदहमा विशेष स्नान गर्ने चलन छ । यस दिन काष्ठमण्डमा जिउँदो देवी कुमारीको विशेष रथ यात्रा गर्ने चलन छ । इन्द्र जात्राको नामले ख्याति पाएको इन्द्र ध्वजोत्सव मनाउने प्रथा छ ।


भर्खर

0