चैते धान भित्र्याउन किसानलाई चटारो | Khabarhub Khabarhub

चैते धान भित्र्याउन किसानलाई चटारो


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।

फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनुपर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्राउन हतार भएको हो ।

भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेका छन् । उनको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ । ‘‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’’, धमलाले भने, ‘‘खेतमा पानी पसिसकेको छ ।’’ केही वर्षयता चैते धान नै यहाँको मुख्य अन्न बनेको छ ।

अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्र्याउने उत्तिकै हतार छ । उनले १० कठ्ठा जमीनमा अन्न जोहोका लागि लागि चैते धान रोपेका छन् । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उनको भनाइ छ । ‘‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर सङ्कलन गर्न सम्भव छैन’’, धमालाले भने, ‘‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षात्को पानीले धान जोगाउने गरेका छौँ ।’’

उनहरू जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसान अहिले घरमा धान भित्र्याउन हतारमा छन् । चैते धान बर्से धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षात्को समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।

छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्राइरहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् ।

किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन हतार भएको छ । भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्याङ्कमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् ।

कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् । बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर पनि बनेको छ । बगर बनेको जमीनमा किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । –रासस

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  २ : २९ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा