ओली र राजपाको ३६० डिग्रीको फन्को « Khabarhub
Logo
७ असार २०७८, सोमबार

ओली र राजपाको ३६० डिग्रीको फन्को



महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी (सजपा) बीच विधिवत एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको एक वर्ष बित्न नपाउँदै एकीकृत पार्टी व्यावहारिक रूपमा विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने गरी गत वर्ष अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेपछि राजपा र सजपा बीच रातारात एकीकरण भएको थियो ।

त्यतिबेला एकीकरण नभएको भए अध्यादेशका कारण दुवै पार्टी चोइटिने निश्चित थियो । प्रधानमन्त्री ओलीकै कारण जसपा अस्तित्वमा आएको हो । आज तिनै ओलीका कारण जसपा दुई चिरा भएको छ, केवल कानूनले एउटा छ । तिनै ओलीप्रतिको आशक्तिका कारण आज जसपा विभाजित भएको छ ।

प्रधानमन्त्री ओलीको ‘चुनावी सरकार’ मा सहभागी भएकै भरमा जसपाको एक समूह आफूले रणसङ्ग्राम जितेको जस्तो अनुभूति गरिरहेको छ । बद्लामा ओलीको विरोधमा उत्कर्षमा रहेको जसपाको एउटा समूह, एकीकरणअघिको सजपा, ले प्रदेश २ को सरकारबाट एकीकरणअघिको राजपा पक्षीय मन्त्रीहरूलाई अयोग्य र असक्षम भन्दै अपमानजनक तरिकाले बर्खास्त गरेको छ ।

अहिले पार्टीको राष्ट्रिय कार्यकारणीमा ठाकुर पक्षको बहुमत छैन । विधि मान्ने हो भने ठाकुर पक्षले यादवको प्रत्येक निर्णय मान्नुको विकल्प छैन । राष्ट्रियसभाका ४० प्रतिशत सांसदको समर्थन नभएका कारण ठाकुर पक्ष तत्काल नयाँ पार्टी पनि खोल्न सक्ने अवस्थामा छैन ।

गल्ती ठाकुर पक्षीय ती मन्त्रीहरूको पनि छ जसले नैतिकताको आधारमा राजीनामा दिएनन् । जसपाभित्र अहिले जारी रक्तहीन कोतपर्वमा एक पक्षले अर्को पक्षको छिद्रान्वेषण गर्नमा अलिकति पनि कन्जुस्याइँ गरेको छैन । मधेशी शहीदको सपना साकार पार्ने, संविधानमा संशोधन गर्ने, मधेश प्रदेश स्थापना गर्ने र मधेशी युवाहरूको बेरोजगारी अन्त्य गर्ने नारामा मधेशी गठबन्धनले आम निर्वाचनमा आपार जनसमर्थन हासिल गरेको थियो ।

अहिले गठबन्धनका नेताहरूले मतदातासामु अनुहार देखाउन सक्ने अवस्था पनि छैन । झुठ र अनुचित तर्कको सहारामा आफूलाई जतिसुकै चोख्याउने प्रयास गरे पनि मधेशका जनता अब यिनको नाम पनि सुन्न चाहन्नन् । जसपाको कानूनी विभाजन पनि अवश्यम्भावी छ । पार्टी फुटिसकेको छ, केवल विधिवत घोषणा बाँकी छ ।

जसपाको वर्तमान अवस्थाले ‘स्याल र सारस’ को मित्रताको कथा स्मरण गराएको छ ।

जङ्गलमा स्याल र सारस नजिक नजिकै बस्थे । आपसमा राम्रो चिनजान थियो, एकअर्काका साथी जस्ता थिए ।

स्याल स्वभावले नै धूर्त जनावर हो, सारस सिधा । धूर्त स्याल वेलामौकामा सारसलाई उसको लामो चुच्चोका कारण जिस्क्याउने गथ्र्यो । एक दिन स्यालले सारसलाई आफ्नो घरमा पाहुनाको रूपमा बोलाएर अपमानित गर्ने विचार गर्‍यो र भोजको निम्तो दियो ।

साथीको निम्तो स्वीकार गरेर सारस स्यालको घर गयो । धूर्त स्यालले सारसको आगाडि एउटा थालमा मासुको टुक्र पस्किदियो । लामो चुच्चो भएको सारसले थालबाट टिपेर खान सकेन । स्यालले खाना कस्तो छ साथी भने सोध्यो । आफूलाई अपमान गर्न बोलाएको भन्ने सारसले थाहा पायो तर उसले अपमानबोध प्रकट हुन दिएन ।

सारसले खाना त हेर्दै मिठो छ साथी भन्यो र श्याललाई पनि निम्तो दिएर फक्र्यो । अर्को दिन श्याल निम्तो मान्न सारसको घरमा गयो । सारसले लामो घाँटी भएको एउटा घैँटोमा मासुको रस स्यालका अगाडि राखिदियो र आफूले स्यालको घरमा पाएको ‘आतिथ्य’ को प्रशंसा गर्‍यो ।

स्यालले घैँटोबाट खान सकेन । खाना कस्तो छ साथी भनेर सारसले सोध्यो । साह्रै मिठो भनेर स्याल फर्क्यो ।

तपाईं अर्कोसँग जस्तो व्यवहार गर्नुहुन्छ, ऊबाट त्यस्तै व्यवहार पाउनुहुन्छ भन्ने शिक्षा दिन यो नीतिकथा सुनाउने गरिन्छ ।

पार्टी एकीकरण भएको एक वर्षसम्म्म नै नेताहरूले एक अर्कालाई प्रतिपक्षी दलको नेता जस्तै व्यवहार गर्दै आएका थिए । स्याल र सारसले जस्तै एकअर्कालाई अपमान गर्दै आएका थिए ।

विगत एक वर्षमा राजपा पक्षका नेता र सजपा नेताहरूले एक अर्कालाई होच्याउने, अपमानित गर्ने र प्रतिशोध लिने कुनै पनि अवसर फुत्किन दिएनन् ।

आज देशमा कसैले संघीयतालाई नै सबै समस्याको कारण मानिरहेको छ र संघीयता समाप्त गर्ने पक्षमा निर्णय हुन्छ भने जनता संघीयताको किन सडकमा आउने भन्ने प्रश्नको जवाफ मधेशी दलसित छैन ।

हतारमा ठाकुर पक्षले राजेन्द्र महतोलाई जसपाको संसदीय दलको नेता घोषित गर्‍यो, घोषणामा यादव पक्षका सांसदहरू बोलाइएनन् । यादव पक्षले यस अपमानको बदला प्रदेश २ मा लियो । ठाकुर पक्षले यादव पक्षका चार जना संघीय सांसदलाई आफ्नो पक्षमा तानेको थियो । यादव पक्षले ठाकुर पक्षका राष्ट्रिय सभाका दुई सांसदसहित प्रदेश सभाका छ जना सांसदलाई आफनोतिर तान्यो ।

अहिले पार्टीको राष्ट्रिय कार्यकारणीमा ठाकुर पक्षको बहुमत छैन । विधि मान्ने हो भने ठाकुर पक्षले यादवको प्रत्येक निर्णय मान्नुको विकल्प छैन । राष्ट्रियसभाका ४० प्रतिशत सांसदको समर्थन नभएका कारण ठाकुर पक्ष तत्काल नयाँ पार्टी पनि खोल्न सक्ने अवस्थामा छैन ।

कदाचित प्रतिनिधि सभा पुनःस्थापना भयो र यादवको पक्षले किस्ता किस्तामा ठाकुर पक्षका सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो भने ठाकुरको निम्ति अकल्पनीय क्षति हुनेछ । हाल नेकपा एमालेको माधव नेपाल पक्ष र जसपाको ठाकुर पक्षको अवस्था एउटै छ ।

संसदीय व्यवस्था भएका देशहरूमा राजनीतिक दलका सांसदहरूले पार्टी हित विपरीत काम गरे भने कारबाही गर्ने अधिकार सभामुखको हुन्छ । नेपालमा भरसक न्यायपालिकालाई संसदमा पनि हस्तक्षेप गर्ने अधिकार प्राप्त रहेको छ ।

तीन वर्षअघिको आम निर्वाचनमा राजपा र सजपाको गठनबन्धनलाई संघीय संसद र प्रादेशिक संसदमा प्रदेश २ का जनताले अप्रत्यशित समर्थन गरेका थिए । प्रदेश २ मा मधेशी गठबन्धनको सरकार अस्तित्वमा आउनु मधेशी शहीद र पार्टीका नेता कार्यकर्ताहरूको सपना साकार हुनु हो भन्ने मानिएको थियो । रामजनम तिवारी र गजेन्द्र नारायण सिंहको त्याग र समर्पणको पनि सम्मान भएको मानिएको थियो ।

नेपालमा संघीयता किन चाहिएको हो भन्ने प्रश्नको समुचित जवाफ मधेशी गठबन्धनले दिन सक्नुपथ्र्यो । थारु, आदिवासी, दलित, उपेक्षित, गरिब र कमजोर वर्गको निम्ति संघीयता नै सबैभन्दा उत्तम शासन प्रणाली हुनसक्छ भन्ने प्रमाणित गर्न सक्नुपथ्र्यो । जनतालाई विश्वास दिलाउन पनि मधेशी दल र प्रदेश २ को सरकार असफल हुन मिल्दैन थियो ।

संविधानलाई विभेदकारी र संविधान दिवसलाई कालो दिन घोषित गरेर संविधान जलाउने अनि संविधान जारी गरेर दीपावली मनाउनेहरू बीच ‘संविधान जोगाउन’ सत्ता साझेदारी भएको छ, दुवैले आआफ्ना पार्टी विभाजन गरेर ।

परिणाम उल्टो भयो । साढे तीन वर्षमा उनीहरूले प्रदेशको नाम राख्न पनि सकेनन् । प्रदेशको भाषा कुन हो, सरकारी कामकाजको भाष कुन हो, बन्द रहेका उद्योगधन्दा कसरी सञ्चालन गर्ने, युवाहरूलाई बढी रोजगार कसरी गराउने, पादर्शिता र सुशासन कसरी बढाउने, यी पक्षमा केही काम भएन ।

आज देशमा कसैले संघीयतालाई नै सबै समस्याको कारण मानिरहेको छ र संघीयता समाप्त गर्ने पक्षमा निर्णय हुन्छ भने जनता संघीयताको किन सडकमा आउने भन्ने प्रश्नको जवाफ मधेशी दलसित छैन । संसद विघटन भएपछि संविधान संशोधन कार्यदल गठनको कुनै औचित्य हुँदैन र यसले काम गर्न सक्दैन भन्ने कुरा सामान्यजनाई पनि थाहा छ । ठाकुर पक्षका नेता र तिनका समर्थकहरू कार्यदललाई ठूलो उपलब्धि ठानेर प्रधानमन्त्री ओलीको प्रशंसा गर्नमा तल्लीन छन् ।

तिनै मधेशी नेताहरू कुनै दिन ओलीलाई शत्रु ठानिरहेका थिए, उनलाई मधेशमा प्रवेश नै गर्न नदिने धम्की दिइरहेका थिए । ओली तिनै हुन् जो मधेशीलाई बिहारीसरह ठान्थे । आज तिनै मधेशीहरू ओलीका सबैभन्दा नजिकका सहयोगी भएका छन्, आफ्नै पार्टीका शीर्ष सहयात्रीभन्दा पनि नजिक ।

संविधानलाई विभेदकारी र संविधान दिवसलाई कालो दिन घोषित गरेर संविधान जलाउने अनि संविधान जारी गरेर दीपावली मनाउनेहरू बीच ‘संविधान जोगाउन’ सत्ता साझेदारी भएको छ, दुवैले आआफ्ना पार्टी विभाजन गरेर ।

संविधान कार्यान्वयनको साढे पाँच वर्षमा ओली र राजपा नेताहरूले ३६० डिग्रीको फन्को मारेका छन् । रेखा गरिणतमा ३६० डिग्रीले गोलो घेरा (सर्कल) बुझाउँछ ।


भर्खर

0