विज्ञको सुझाब : खोप लगाएर मात्रै ढुक्क नहोऔँ, स्वास्थ्यका मापदण्ड अपनाऔँ | Khabarhub Khabarhub

विज्ञको सुझाब : खोप लगाएर मात्रै ढुक्क नहोऔँ, स्वास्थ्यका मापदण्ड अपनाऔँ



काठमाडौँ– कोभिड विरुद्ध खोपका दुवै मात्रा लिएकी पत्रकार सरला सुवेदीलाई कोरोना संक्रण भएको छ । अहिले उनी होम आइसोलेसनमा छिन् ।

उनले फागुन २ गते पहिलो र वैशाख १० गते दोस्रो खोप लिएकी थिइन् । दोस्रो खोप लगाएको ६ दिनपछि उनलाई कोरोना पुष्टि भयो ।

‘खोप लगाएपछि पनि स्वास्थ्यका मापदण्ड पालना गरिरहेकी थिएँ भीडभाडमा गएकी थिइनँ’ उनले भनिन्, ‘दोस्रो खोप लगाएको ६ दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आयो ।’

संक्रमित भएको रिपोर्ट आउनुअघि उनलाई सामान्य टाउको दुख्ने, खानाको स्वाद थाहा नहुने, थकान महसुस हुने लक्षण देखिएका थिए । उनको शरीर दुख्ने क्रम बढ्यो । संक्रमण पुष्टि भएको ११ दिनसम्मा लक्षणहरु कम भएको महसुस गरेकी छन् ।

अर्का पत्रकार गोपाल घिमिरेले दुवै डोज खोप लगाए पनि आफू कोरोना संक्रमित भएको भन्दै गत सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे ।

उनको स्ट्याट्स थियो, ‘अनुदानको भ्याक्सिन कस्तो थियो । २ डोज लगाए पनि कोरोनाले छोडेन । अति गाह्रो बनाएको छ । हजुरहरुको सचेतताका लागि राखेँ । निदाउन आँट्यो कल आइरहन्छ । त्यसले आराम गर्न नपाइने रहेछ । कृपया कल नगरिदिनुहोला । गर्नुपर्ने उपचार पद्धति सबै गरेको छु । हजुरहरुको माया र आशिर्वाद पाएको छु, विश्वास छ मलाई ठिक हुन्छ । हजुरहरु सुरक्षित रहनुहोला ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको भन्दै सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘दोस्रो पटक पोजेटिभ ! टेलिफोनमा चासो, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ सोसल प्लेटफर्ममा नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद !’

उनले फागुन २३ मा कोरोना खोप लगाइएको फोटो फेस बुकमा पोस्ट गरेका थिए ।

खोप लिएर पनि संक्रमित भएका यी घटनाहरु थोरै दृष्टान्त मात्र हुन् । अन्य केहीले पनि खोप लिएपछि पनि संक्रमित भएको जानकारी गराएका छन् ।

खोप विज्ञ श्यामराज उप्रेतीका अनुसार विश्वका कुनै पनि भ्याक्सिन शत प्रतिशत प्रभावकारी हुँदैनन् । त्यस्तै हामीले लगाएको एस्ट्राजेनिकाको भ्याक्सिन करिब ७८ प्रतिशत प्रभावकारी देखाएको छ ।

उनकाअनुसार एस्ट्राजेनिकाको खोप परीक्षण गर्ने क्रममा भ्याक्सिन लगाएका समूहमा मृत्यु र सिकिस्तको संख्या शून्य रहेको अध्ययनले देखाएको थियो ।

प्रभावकारिताबारे उप्रेती भन्छन्, ‘कोरोनाको खोप लगाउनुको मुख्य उद्देश्य संक्रमण रोक्न होइन, संक्रमितलाई सिकिस्त हुनबाट बचाउन हो, मृत्यु हुनबाट रोक्नु हो । संक्रमित हुनुले मात्रै यसलाई प्रभावकारी नभएको भन्न मिल्दैन ।’

उनका अनुसार अहिले खोप लगाउने र नलगाउनेमा संक्रमणको असर फरक देखिएको छ । खोप लगाएकालाई संक्रमण हुने सम्भावना न्यून हुन्छ र संक्रमण भइहाले पनि अवस्था सामान्य हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाख १५ गतेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो खोप लगाएका छन् । दुवै डोज खोप लगाउनेको संख्या ३ लाख ६२ हजार पुगेको छ ।

नआत्तिन विशेषज्ञको सुझाव

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि कुनै पनि भ्याक्सिन शत प्रतिशत प्रभावकारी नहुने बताउँछन् । केही अध्ययनहरुले दोस्रो खोप लगाएपछि ८० प्रतिशतसम्म सुरक्षित हुने देखाएका छन् ।

अध्ययनअनुसार खोप लगाएपछि कोरोना संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्छ तर कहिल्यै पनि कोरोना हुँदैन भन्ने होइन ।

खोप लगाएपछि पनि पूर्ववतरूपमा जनसस्वाथ्यका मापदण्ड पालना गर्नुपर्ने डा. पुनको सुझाब छ । उनी भन्छन्, ‘सकेसम्म घरमै बस्ने, निरन्तर साबुन पानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने ।’

आम मानिसले स्वास्थ्यको मापदण्ड पालना गर्न बेवास्ता गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : २५ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय