कोरोनाले सिङ्गो दक्षिण एसिया भयाक्रान्त | Khabarhub Khabarhub

कोरोनाले सिङ्गो दक्षिण एसिया भयाक्रान्त


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपालमा कोरोनाको संक्रमण दर ४० प्रतिशतभन्दा बढी भएको धेरै दिन भइसकेको छ । सोमबार ५० प्रतिशत नाघेको छ । पछिल्लो समय नेपालको अवस्था भारतको भन्दा भयावह देखिएको छ ।

स्वास्थ्य संयन्त्रले थेग्न नसकेको, शव दाह गर्ने स्थानमा भिड बढेको, अक्सिजनको अभाव लगायत दुई देशका साझा समाचार बनेका छन् ।

गएको साता १ देखि ७ मेमा भारतका कुल ७४१ जिल्लामध्ये ३०१ जिल्लामा संक्रमण दर २० प्रतिशतभन्दा बढी छ । भारतमा रहेका ३६ मध्ये ३१ राज्यका कुनै न कुनै जिल्लामा संक्रमण दर २० प्रतिशतभन्दा बढी छ, १५ जिल्लामा भने ५० प्रतिशतभन्दा बढी छ ।

यसमा हरियाणामा चार तथा राजस्थान र अरुणाञ्चलमा दुई यस्ता छन् । यो डरलाग्दो संक्रमण दर रहेको जिल्ला भारतका ग्रामीण हुन् । अरुणाञ्चलको चाङलाङ जिल्लामा ९१ दशमलव ५ प्रतिशत संक्रमण दर देखियो । थोरै परीक्षणका कारण यसो भएको हुन सक्ने जनाइएको छ ।

राजस्थानको यनन, अरुणाञ्चलको दिवन उपत्यका र राजस्थानको पालीमा पनि संक्रमण दर उच्च छ । केरलामा धेरै जिल्लामा संक्रमण दर २० प्रतिशतभन्दा बढी छ । त्यहाँका १४ मध्ये १३ जिल्लामा संक्रमण दर २० प्रतिशतभन्दा बढी छ ।

हरियाणाका २२ मध्ये १९, पश्चिम बङ्गालका २३ मध्ये १९ र दिल्लीका ११ मध्ये ९ जिल्लाको अवस्था खराब छ । गोवाका सबै जिल्ला, चण्डीगढको एउटा जिल्ला तथा सिक्किमका चार मध्ये तीन जिल्लाको अवस्था अत्यन्त खराब छ ।

यो त भयो २० प्रतिशतभन्दा बढी संक्रमण दर भएका जिल्लाको कुरा । राज्यको आधारमा हेर्ने हो भने उसल्लखित राज्यका अतिरिक्त महाराष्ट्र, उत्तर प्रदेश र कर्नाटक दोस्रो लहरका हटस्पट बनेका छन् ।

मे ६ मा भारतले तयार गरेको एक हप्ताको तथ्यांकमा १२९ जिल्लामा त्यस अवधिमा ५ हजारभन्दा बढीको दरले संक्रमित फेला परेको जनाएको छ । सोही तथ्यांकअनुसार हरियाणाको गुडगाँउ कोरोनाले सबैभन्दा धेरै प्रभावित छ । प्रति १० लाखमा ११ हजार ६९५ नयाँ संक्रमित एक सातामै देखिनु साँच्चै अत्यासलाग्दो कुरा हो ।

प्रति दश लाखमा कलकत्तामा ९ हजार ४९४, देहरादुनमा ८ हजार ६३४, श्रीनगरमा ८ हजार ३५५, चण्डीगढमा ६ हजार ३२० तथा आसामको आमरुप महानगरमा ६ हजार ३८० नयाँ संक्रमित देखिए ।

पछिल्ला केही दिन भारतमा दैनिक संक्रमण ४ लाखभन्दा बढी र मृत्यु ४ हजारभन्दा बढी छ । भारतमा अहिले म्युटेसन भएको बी१.६१७ भेरिएन्टको भाइरस झन् खतरनाक भएको हुन सक्ने अनुमान छ । यसअघि यूके भेरिएन्ट, ब्राजिलियन भेरिएन्ट र दक्षिण अफ्रिकी भेरिएन्टले संसारलाई सताइरहेको थियो ।

श्रीलंका र बङ्गलादेशमा पनि भारतीय भेरिएन्टको संक्रमण देखिएको छ । बङ्गलादेशमा भारतीय भेरिएन्टका ६ जना संक्रमित देखिएका छन् । भारत भ्रमणबाट फर्केकामा यो संक्रमण देखिएको हो ।

बेलायतमा भारतीय भेरिएन्टको नयाँ संक्रमण पछिल्लो हप्ता सात जनामा देखिएको छ । केन्याको स्वास्थ्य मन्त्रालयले पनि त्यहाँ पनि भारतीय भेरिएन्टका नयाँ संक्रमित रहेको जनाएको छ । केही दिनअघि युगान्डामा पनि यसै खाले भेरिएन्ट देखिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले बी१.६१७.१ र बी१.६१७.२ नामको यो संक्रमण पहिलो पटक गत डिसेम्बरमा देखिएको जनाएको छ । बी१.६१७.३ भने अक्टोबरमै देखिएको थियो ।

सन् २०२१ लाई अझ घातक र भयावह बनाएको यो संक्रमण बेलायत, फ्रान्स, जर्मनी, रोमानिया, स्वीट्जरल्यान्ड र बेल्जियममा फेला परेको यसअघि नै युरोपेली युनियनले जनाइसकेको छ ।

बी१.६१७ का दुई औपचारिक म्युटेसन भएको जनाइन्छ । ई४८४क्यू र एल४५२आर नामक दुई याद गरिएका म्युटेसन हुन् । यसैको दर्जनौँ म्युटेसन भएको जनाइएको छ ।

बी१.६१७.१ भेरिएन्ट एकदमै छिटो सर्ने तथा र बढी खतरनाक मानिएको छ । विश्व स्वास्थ्य सङ्गठन अझै पनि भारतीय भेरिएन्ट कति खतरनाक भनेर पत्ता लगाउन प्रयासरत छ ।

अहिले संसारभर भारतबाट आउनेहरूलाई प्रवेशमा रोक लगाउन थालिएको छ । बेलायत, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया र सिङ्गापुरपछि श्रीलंकाले पनि भारतबाट प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ । भारतमा उच्च बिन्दु पुगेको अनुमान गरिए पनि प्रमाणित हुन बाँकी छ । नेपालमा मृत्युदर पनि बढेको छ ।

यति धेरै समस्या हुँदा पनि भारतमा पूर्ण लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ भाजपा र विपक्षी दलको बीचमा विवाद छ । कांग्रेस आईले सम्पूर्ण स्वास्थ्य संयन्त्र असफल भएकोले पूर्ण लकडाउनको विकल्प नभएको जनाएको थियो ।

कांग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै राज्यले भारतमा सरकारले मानवताविरुद्ध अपराध चलाइरहेको आरोप लगाएका छन् । उनले कसैको ज्यान बचाउन केही पनि गर्न नसक्ने अवस्था आएपछि लकडाउनको विकल्प नभएको जनाएका हुन् ।

भारतमा दोस्रो पटक पूरा देशमा लकडाउनका लागि अहिले विपक्षी दल मात्र होइन व्यापारी र स्वास्थ्य विज्ञहरूले पनि दबाब दिइरहेका छन् । टास्क फोर्सका सदस्यहरूले दुई साता कडा लकडाउन गर्न सुझाव दिएको जनाइएको छ ।

भारत मात्र होइन अन्तर्राष्ट्रिय निकायले पनि भारतमा लकडाउन गर्न सुझाव दिएका छन् । अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्थोनी फाउजीले भारतको अवस्था भयावह रहेकाले तत्काल पूर्ण लकडाउन गरेर भ्याक्सिन दिने काम तीव्र रूपमा हुनु पर्नेमा जोड दिएका छन् ।

अहिले भारतमा केन्द्रीय सरकारले नभई प्रान्तीय सरकारले लकडाउन लगाइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने लगातार लकडाउनलाई अन्तिम विकल्पको रूपमा राख्न सम्भव भएसम्म लकडाउन नगर्न भनी रहेका छन् ।

भारतमा दोस्रो लहर उच्च बिन्दुमा पुगेको थुप्रै लक्षण देखिएको पनि त्यहाँका विज्ञहरूले जनाएका छन् । फेब्रुअरीको मध्यमा दोस्रो लहर शुरू भएपछि गत शुक्रबार पहिलो पटक साताको औसत ग्राफमा हल्का गिरावट देखियो । शुक्रबारको औसत ३ लाख ९० हजार थियो भने आइतबार साताको औसत ३ लाख ९१ हजार ६३ थियो ।

देश दोस्रो लहरको पिकमा पुगेको ठहर गर्न अझ केही साता यसै अवस्था कायम रहनु पर्नेछ । संक्रमण दर भने यथावत रहेको छ  । गत साता दैनिक संक्रमण दर २१ प्रतिशत रहेकोमा एक सातापछि २२ प्रतिशत पुगेको छ ।

महाराष्ट्रमा केही गिरावट आउन थालेको छ । उत्तर प्रदेश, दिल्ली गुजरात र मध्य प्रदेशमा पनि गिरावट आउन थालेको छ । दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले संक्रमण दर कम हुँदै आए पनि लकडाउन कायम राख्ने बताएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३७ लाख पार गरेको छ । आइतबार सम्म कुल संक्रमितको १६ दशमलव ७६ प्रतिशत सक्रिय संक्रमित थिए ।

भारत पिकमा पुगेको अवस्थामा अन्य दक्षिण एसियाली देशहरूमा पनि संक्रमण बढ्दो क्रममा छ । भारतीय भेरिएन्टका कारण दक्षिण एसियाका सबैजसो देश प्रभावित छन् । बङ्गलादेशमा लकडाउन बढाएर १६ मेसम्म कायम गरिएको छ । अप्रिलसम्म भारतीय सीमा बन्द गरेको बङ्गलादेशले सीमित व्यक्तिलाई भने छुट दिएको छ ।

सीमा नाका बन्द गरे सँगै बङ्गलादेशमा केही सुधारका संकेत त देखिए । पाकिस्तानको भने अवस्था खराब भएको छ । त्यहाँको स्वास्थ्य संयन्त्र पूरै असफल त देखिएको छैन तथापि विज्ञहरूले अन्य दक्षिण एसियाली देशकै बाटोमा गएको अनुमान गर्न थालेका छन् ।

पाकिस्तानमा लकडाउन छैन तर सुरक्षा मापदण्डमा कडाइ गरिएको छ । यसमा निगरानी सेनाले गरेको छ । भारत, अफगानिस्तान र इरानसँगका सीमा बन्द गरिएका छन् ।

श्रीलंकाले अप्रिलको मध्यबाट विद्यालय बन्द राखेको छ भने धार्मिक सभासमारोह पनि बन्द गरिएका छन् ।

दक्षिण एसियाको यो अवस्थामा सुस्त गतिमा भएको भ्याक्सिन वितरण एउटा समस्या भएको जनाइएको छ । भारतमा संकट बढेपछि धेरै दक्षिण एसियाली देशले चीनको सिनोफार्मको भ्याक्सिन तथा रुसको स्पुतनिक भी भित्र्याउने प्रयास गरिरहेका छन् ।

भारत अहिले समाचारको प्रमुख विषय बनेको छ । साथमा नेपाल अर्को भयावह अवस्थाको देश बनेको छ । यिनीहरूको तुलनामा अन्य देशको अहिलेको अवस्था त्यति डरलाग्दो देखिएको छैन । समग्र दक्षिण एसिया यो महामारीको सबैभन्दा सङ्गीन अवस्थामा रहेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ०९ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको