बालुवाटार भर्सेज खुमलटार ‘टग अफ वार’ र जसपा | Khabarhub Khabarhub

बालुवाटार भर्सेज खुमलटार ‘टग अफ वार’ र जसपा



काठमाडौँ- अंग्रेजीमा ‘टग अफ वार’ भनेर खेलिने ‘डोरी तानातान’ नेपालमा पनि खेलिन्छ । नेपालको सत्ता राजनीतिमा दुई प्रतिस्पर्धीले तान्ने डोरी भएको छ जनता समाजवादी पार्टी (जसपा) ।

स्वागतमा कहिले बालुवाटर मेजमान बन्छ त कहिले बुढानीलकण्ठ र खुमलटार । तर जसपाका नेताहरू टसमस भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेका हुन् भन्नेमा जसपा नेताहरूमा एक मत छ । दुई मत छ त केवल मौजुदा बालुवाटारको निरन्तरता कि क्रम भङ्ग भन्नेमा ।

साँचो अर्थमा यो टग अफ वार बालुवाटार भर्सेज बुढानीलकण्ठ नभई बालुवाटार भर्सेज खुमलटार हो ।

मेजमानको यो तानातानमा जसपा नामको डोरी चुँडिने हो कि भन्ने अनुमान पनि बलियो हुँदै गएको छ । जसपा नेताहरू जति सजिलै ‘पार्टीमा छलफल गरेर निर्णय गर्छौं’ भन्छन् त्यति नै कठिन देखिँदैछ एकमना निर्णय ।

माओवादी केन्द्रको बलमा मुख्य विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको समीकरण बनाउन शुक्रबार विपक्षी तीन दलको बैठक राख्यो । सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन नेकपा (माओवादी केन्द्र) र जसपा नेतासँग प्रस्ताव राखे । माओवादी केन्द्रका नेताहरूले स्वागत गरे । जसपा नेताहरू ‘पार्टीमा छलफल गरेर निर्णय गर्छौं’ भनेर उम्किए ।

बुढानीलकण्ठ पुग्नुअघि जसपा नेताहरू एक चरण आन्तरिक छलफलमा बसेका थिए । जसपामा नयाँ सत्ता समीकरणबारे दुई धार बगेका छन् । एकजना अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका केही नेताहरू संविधान संशोधन, जेलमा रहेका नेताकार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ता लगायतका माग पूरा गर्न जो तयार हुन्छ उसैसँग सत्ता समीकरण बनाउने पक्षमा छन् ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका केही नेताहरू ओलीलाई प्रधानमन्त्री पदबाट अपदस्थ गर्नुपर्ने अडानमा छन् । डा. भट्टराईले त ओलीलाई ‘भष्मासुर’ उपमा दिने गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘नयाँ सत्ता समीकरणका विषयमा औपचारिकरूपमा बसेको पहिलो बैठकपछि हार्दिकतापूर्वक मनोवैज्ञानिक एकताको वातावरण बनेको’ भने पनि जसपा नेताहरूले एक मतले कांग्रेसलाई निर्णय दिने सम्भावना निकै कम देखिन्छ ।

नयाँ सत्ता समीकरणको चर्चा चलेको दुई महिना हुन लाग्यो, आखिर जसपा किन अनिर्णित छ ?

जसपाका एक अध्यक्ष यादवले भने, ‘कांग्रेसले सरकार बनाउन पहिलोपटक औपचारिक रूपले प्रस्ताव गरेको हो, त्यसैले छलफल गर्छौं भनेका हौँ ।’

यादव प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्य गर्न चाहने नेताहरूलाई नभड्काउने नीतिमा देखिएका छन् । उनले भने, ‘हाम्रा केही नेताहरूले केपी ओलीसँग वार्ता गरिरहेका छन् मुद्दा फिर्ता गराउने, रिहा गराउने विषयमा । वार्ता सकारात्मक छ भनेर हाम्रा साथीहरूले भनेका छन् ।’

अध्यक्ष यादव ओली सरकारले गर्न सक्ने निर्णय आफ्नै नेतृत्वमा हुने अवस्था आएमा बढी फलदायी हुने देख्छन् । उनले भने, ‘कांग्रेसले केपी ओलीले गर्न सक्छन् भने सरकार बनाएर हामी नै गरौँ भनेको छ । कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएका छन् । त्यसैले पार्टीमा बसेर छलफल गर्छौं भनेका हौँ ।’

यादवलाई प्रधानमन्त्री ओलीले वचन दिए पनि उनले काम गर्छन् भन्ने विश्वास छैन । उनी भन्छन्, ‘केपी ओलीले गर्छु भनेको काम गर्ने वा नगर्ने ठेगान छैन । त्यही काम आफ्नै सरकार बनाएर गर्न सकिने हो भने किन नगर्ने भन्ने प्रश्न गम्भीर हो ।’

वचन दिएर काम नगरेकै कारण आफू ओली सरकारबाट बाहिरिएको पनि उनले भन्ने गरेका छन् । संविधान संशोधन गर्ने सहमतिमा यादव करिब १९ महिना ओली सरकारमा उपप्रधानमन्त्री रहेका थिए ।

यादव प्रधानमन्त्री ओलीसँगै सहकार्य गर्ने कि कांग्रेससँग भन्ने विषयमा आफ्नो पार्टीमा समस्या छैन भन्छन् । उनले भने, ‘ओली सरकारले गर्छु भनेका कामलाई सकारात्मक रूपमा लिएका छौँ । अहिले कोसँग सहकार्य गर्ने भन्ने विषयमा कुनै समस्या आएको छैन । समस्या आयो भने छलफल गर्छौं ।’

उनले यसो भने पनि कांग्रेस र माओवादी केन्द्रका नेताहरू भने आन्तरिक मतभेदका कारण जसपा अनिर्णित भएकैले ओली सरकार विस्थापित हुन नसकेको ठान्छन् ।

जसपाका अर्का नेता महतो प्रधानमन्त्री ओलीले मुद्दा फिर्ता लिने प्रक्रिया शुरू गरेकाले उनको काम हेरेर आवश्यक निर्णय लिने पक्षमा छन् । उनले भने, ‘हाम्रा कार्यकर्ताहरूलाई लगाइएको झुटा मुद्दाहरूका विषयमा सरकारसँग कुरा गरिरहेका छौँ । हामीले केपी ओली सरकारलाई दुईचार जनाको फाइल पनि बुझाएका छौँ । प्रक्रिया अघि बढिसकेकाले हामी केपी ओलीसँग छलफल गरिरहेका छौँ ।’

महतोका अनुसार प्रधानमन्त्री ओलीसँगको सकारात्मक वातावरणकै कारण कांग्रेसलाई ‘पार्टीमा छलफल गरेर निर्णय गर्छौं’ भन्नु परेको हो । कांग्रेससँग सत्ता समीकरणको निर्णय गर्न तत्कालै पार्टीको बैठक नहुने उनले संकेत गरे ।

महतोले भने, ‘हेर्नुपर्‍यो नि पहिला ! केपी ओलीले माग पूरा गर्छु भनिसकेका छन्, माग सम्बोधन हाम्रो पहिलो एजेन्डा हो । पार्टीमा निर्णय हुँदा कुनै विवाद हुँदैन । समयअनुसार बैठक बस्छ, अहिले त हामी मुद्दा मामिलाको विषयमा लागिरहेका छौँ ।’

कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार बनाउन तयार रहेकाले जसपा सत्ताको साँचो बनेको छ । यही साँचो हात पार्ने क्रममा जसपा बालुवाटार भर्सेज खुमलटार-बुढानीलकण्ठ टग अफ वारको डोरी बनेको हो ।

जसपा नेताहरू चुँडिनबाट जोगिन सचेत देखिएका छन् । त्यसैले त उनीहरू निकै तौलिएर बोल्दैछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : १५ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन