इतिहासदेखि वर्तमानसम्म गौरवमय नेपाली सेना  « Khabarhub
Logo
१ बैशाख २०७८, बुधबार

इतिहासदेखि वर्तमानसम्म गौरवमय नेपाली सेना 



काठमाडौँ— मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले हरेक वर्ष शिवरात्रिका अवसरमा सेना दिवस मनाउँदै आएको छ । सेनाले २०४७ सालमा महाशिवरात्रिमा सेना दिवस मनाउन थालेको हो ।

यसकारण शिवरात्रिमा सेना दिवस

भनिन्छ, नेपाली सेना शक्तिको पुजारी हो, राजनीतिक र धार्मिक रूपले पनि । स्थापनाकालदेखि नै नेपाली सेना हिन्दु धर्म र संस्कारअनुसार सामाजिकीकरण भएको हो ।

साङ्गठनिक संरचना र मर्म पनि हिन्दु दर्शनबाट सांकेतिक र सामरिक रूपले परिभाषित र निर्देशित छ ।

हरेक नयाँ सैन्य अधिकृतले आफू भर्ती भएको वर्ष मूलकोतमा गएर देवीदत्त गणको झण्डा (निशान), छोएर दसैँको महानवमीका दिन शपथ लिन्छन् । यस शपथलाई कमान्डरले रगत चोपिएको ‘निसान भगवती’ को छापले प्रमाणित गर्ने अभ्यास रहेको बताइन्छ ।

सेनाले दसैँमा भगवती र कालीको पूजा गर्छ ।  घोडेजात्रा पनि मनाउँछ । दसैँमा सप्तमीका दिन बढाइँ गर्छ ।

सुरक्षा मामिला विज्ञ डा. दीपकप्रकाश भट्टका अनुसार नेपाली सेनाले शिवरात्रिकै दिन ‘सेना दिवस’ मनाउनु संयोगमात्र होइन, यो अर्थपूर्ण पनि छ । ‘शिव’ चेतनाका प्रतीक हुन् र शक्ति पनि । शिव ईश्वर हुन्, ईश्वर भनेको सत्य । शिवमा ध्यान अवस्थामा स्थिर रहने र परेको बेला ध्वंस गर्ने गुण छ । डा. भट्ट भन्छन्, ‘शिवरात्रिमा सैनिक दिवस मनाउनु सत्य र चेतना शक्ति आत्मसात गर्नु हो ।’

नेपाली सेनाका अधिकांश कम्पनी देवीदेवताका नाममा छन् । हरेक ब्यारेकमा देवीको मन्दिर छन् । कम्तीमा दुई जना मूल र सहायक गरी अमलदारदेखि सहसेनानी पदमा पुजारी र पण्डित राखिएका हुन्छन् । उनीहरूले दैनिक पूजा गर्छन् ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालका अनुसार नेपाली सेनाले आवश्यकता र प्रचलित अभ्यासअनुसार प्रत्येक ब्यारेकमा बलि, पूजा सामग्री र भोजका लागि बजेट छुट्याउने गरेको छ ।

इतिहासविद् दिनेशराज पन्तका अनुसार महाशिवरात्रि पर्वका दिन नेपाली सेनाको स्थापना दिवस संयोग मात्र होइन । राजा पृथ्वीनारायण शाहको कमान्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्रिकै दिन बनेको इतिहास साक्षी छ ।

इतिहासविद्हरूको भनाइअनुसार नेपाली सेना स्थापनाको एउटै मिति छैन । विभिन्न मितिमा सङ्गठित भएको हो ।

रुस, चीन, उत्तर कोरिया, भियतनाम जस्ता अधिनायकवादी देशका सैनिक सङ्गठनले आफ्नो स्थापनाको दिनलाई सेना दिवसका रूपमा मनाउँछन् । भारत, पाकिस्तान, रोमानिया जस्ता औपनिवेशिक शासनबाट गुज्रिएका देशले स्वतन्त्रता प्राप्त गरेको दिन सेना दिवस मनाउने गरेका छन् ।

इजरायल र चिलीले स्वतन्त्र भएको भोलिपल्ट विजय उत्सव मनाउँदाको दिनमा सेना दिवस मनाउँछन् । बेलायत, जापान, इटली र इजिप्ट लागायत अधिकांश कमनवेल्थ देशले विश्वयुद्धमा जित भएको दिन वा युद्धमा विशेष व्यक्तिले सहादत प्राप्त गरेको दिनको सम्झनामा सेना दिवस मनाउने गरेका छन् ।

लोगोमा त्रिशूल र डमरु

स्थापनाकालदेखि नै नेपाली सेना हिन्दु परम्परा अनुसार सङ्गठित छ । नेपाली सेनाको प्रतीक चिह्न (लोगो) मा हरियो षटकोणभित्र डमरु र त्रिशूल समायोजनको समेत धार्मिक र दार्शनिक अर्थ छ ।

सारमा त्रिशूल र डमरुले जीवन्त शिवलाई संकेत गर्छन् । हिन्दु दर्शनअनुसार सृष्टिकर्ता, संरक्षणकर्ता र संहारकर्ता शिव नै हुन् ।

सांकेतिक रूपमा हरियोले जीवन्तता; षटकोणले पुरुष–प्रकृति र आगो—पानी; डमरुले सृष्टि, संस्कार, सञ्चार र स्वास्थ्य; त्रिशूलले संहार र उन्मुक्तिको संकेत गर्छ । नेपाली सेनाको लोगो यिनै अवयवहरूको  समायोजन र सन्तुलन हो ।

अर्कोतिर एकीकरणपछि गुठीको आम्दानीले शक्तिपीठहरूको निर्माण, व्यवस्थापन, संरक्षण गरिएको र यसै परम्पराले नेपाल एकीकरण र विजय सम्भव भएको मनोवैज्ञानिक भाव नेपाली सेनामा छ ।

नेपाली सेना आफ्नो सैन्यशक्तिको र सफलताको स्रोत हिन्दु धर्म र शक्तिपीठलाई मान्छ । यसैअनुसार नेपाली सेना धार्मिक अभ्यास र परम्पराप्रति अपनत्व महसुस गर्छ र पालना गर्छ ।

सुरक्षाविद् डा. भट्टका अनुसार नेपाली सेनाको लोगोमा प्रयुक्त चिह्नहरूले शिवलाई संकेत गर्छन् ।

नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यात धार्मिक मान्यताअनुसार नै लोगोमा त्रिशुल र डमरु रहेको बताउँछन् । बस्न्यात भन्छन्, ‘लोगो भन्ने बित्तिकै यसमा एउटा गर्वको कुरा हुन्छ । त्यो हिसाबले हाम्रो संस्कार र परम्पराअनुसार त्रिशूल र डमरु हुनु स्वाभाविक हो ।’

सैनिक प्रवक्ता पौड्याल लोगोमा त्रिशूल र डमरु हुनुलाई इतिहासको निरन्तरता ठान्छन् । उनी भन्छन्, ‘हामीले पहिलेदेखि नै यही लोगो प्रयोग गर्दै आएका छौँ । यसमा विभिन्न संकेतहरू छन् । यसलाई ऐतिहासिक निरन्तरताको रूपमा बुझ्नु पर्दछ ।’

इतिहासमा नेपाली सेना

नेपाली सेना कहिले स्थापना भयो भन्ने निर्विवाद मिति पाइँदैन । सन् १७४४ (वि. सं. १८०१) देखि नेपाली सेनाले मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

सन् १७४४ मा तत्कालीन गोर्खा राज्यले सङ्गठित गरेको सेना मैदानमा उत्रिँदा दक्षिण एशियाका अरू देशमा सैनिक संरचना नै थिएन । त्यसैले नेपाली सेना दक्षिण एशियाकै सबैभन्दा पुरानो सैनिक सङ्गठन मानिन्छ ।

इतिहासविद् पन्तका अनुसार पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई ‘शाही नेपाली सेना’ को रूपमा चिनिन थालेको हो ।

नेपाली सेनाको ब्यारेक संरचना वि. सं. १८१९ फागुन १० गते पोखरामा गोरख गणका रूपमा स्थापित भएको पाइन्छ ।

केही इतिहासविद्हरूले भने नेपाली सेनाको शुरूवात वि. सं. १६१६ मा गोरखा राज्यको स्थापनासँगै भएको दाबी गरेका छन् । यस हिसाबले नेपाली सेनाको इतिहास साढे ४ सय वर्षको भइसकेको छ ।

डा. भट्टका अनुसार करिब दुई सय वर्ष त्यो सेनाले कुनै लडाइ लडेको पाइँदैन । भगीरथ पन्तको कमान्डमा शुरू भएको गोरखा राज्यको सेना नै हालको नेपाली सेना मानिन्छ ।

तत्कालीन ‘शाही सेना’ ‘शाही नेपाली सेना’ हुँदै पृथ्वीनारायण शाहका ११औँ पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै ‘नेपाली सेना’ भएको हो ।

जनआन्दोलनबाट पुनस्र्थापित प्रतिनिधिसभाको २०६३ साल जेठ ४ गतेको घोषणबाट ‘शाही नेपाली सेना’ ‘नेपाली सेना’ मा रूपान्तरण भएको हो ।

त्यसलगत्तै २०६३ मै अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरबारको नियन्त्रण पूर्णरूपमा अन्त्य गरी संसद्को माताहत ल्याएको हो ।

सैनिक प्रवक्ता सहायकरथी पौड्यालका  अनुसार अहिले सेनाको सकल दर्जामा ९६ हजार ५९९ सैनिक छन् ।

संविधानले राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति मानेको छ । सैनिक सङ्गठनको नेतृत्व प्रधानसेनापति महारथीले गर्छन् । महारथीमुनि दुई रथी रहन्छन् । त्यसपछि क्रमशः उपरथी, सहायकरथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उपसेनानी र सहायक सेनानी अधिकृत तहका दर्जा हुन् ।

सैनिक प्रवक्ता पौड्यालका अनुसार अधिकृतमुनि प्रमुख सुवेदार, सुवेदार मेजर, जमदार, हुद्दा, अमल्दार, प्यूठ रहन्छन् ।

 संकटको सहारा

नेपाली सेनाको वीरताका कारण दक्षिण एशियामा नेपाल उपनिवेश हुनबाट जोगिएको इतिहास छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले गौरवपूर्ण काम गर्दै आएको छ ।

जुनसुकै प्राकृतिक प्रकोप वा दुर्घटनामा नेपाली सेना उद्धार, उपचार र पुनस्र्थापनाको काममा खटेको हुन्छ । निर्माण कार्यमा पनि नेपाली सेनाको योगदान रहेको छ । विकट पहरा फोरेर सडक खोल्ने काम सेनाले नै गर्ने गरेको छ ।

राष्ट्रिय गौरवको महत्त्वाकांक्षी आयोजना काठमाडौँ—तराई द्रुतमार्ग निर्माण नेपाली सेनाकै नेतृत्वमा भइरहेको छ ।

सेनाले द्रुतमार्ग निर्माणलाई निकै ठूलो अवसर र चुनौतीका रूपमा लिँदै निर्धारित समयमा पूरा गरेर विकास निर्माणमा कीर्तिमान बनाउने अठोट गरेको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा नेपाली सेनाको सहभागिता निकै पुरानो र सराहनीय छ ।

नेपाली सेनाले थुप्रै पटक आन्तरिक र बाह्य युद्धहरू लडेको छ । पृथ्वीनारायण शाहले वि. सं. १८०० मा पहिलो पटक नगरकोटमा अक्रमण गरी नेपाल एकीकरण अभियान थालेका थिए । पछि उनका छोरानातिका पालासम्म राज्य विस्तारको अभियान पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म पुगेको थियो ।


भर्खर

0