हिन्दुहरू मध्य एसियाबाट आएका हुन् ? « Khabarhub
Logo
१० माघ २०७८, सोमबार

हिन्दुहरू मध्य एसियाबाट आएका हुन् ?



हिमालयात् समारभ्य यावत इन्दु सरोवरम् ।

तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।

(हिमालयदेखि इन्दु सरोवर (हिन्द महासागर) सम्मको यो देवहरूद्वारा निर्मित देश हिन्दुहरूको वासस्थान हो ।)

‘हिन्दु’ शब्दको उत्पत्तिबारे दुई वटा मत छन् । केही विद्वानहरू यसको उत्पत्ति सिन्धु घाँटीको बसोबासबाट सभ्यताको विकास भएकोले ‘सिन्धु’ शब्द अपभ्रंश भएर ‘हिन्दु’ बनेको दाबी गर्छन् । केही चाहिँ हिमालयको पहिले अक्षर ‘हि’ र इन्दु (सरोवर) को अक्षर ‘न्दु’ मिलाएर ‘हिन्दु’ शब्द अस्तित्वमा आएको व्याख्या गर्छन् । संस्कृत भाषामा ‘सिन्धु’ शब्दको अर्थ समुद्र पनि हुन्छ ।

नेपालको संविधानमा उल्लिखित धर्मनिरपेक्षता विवादास्पद बन्दै गएको छ । आम जनताले उठान नगरेको तथा सुझाव सङ्कलनको क्रममा संशोधन हुनुपर्ने व्यापक माग भएको भए पनि संविधानमा षड्यन्त्रपूर्वक प्रविष्ट गराइएको थियो । ‘प्रतिनिधिसभाको घोषणा’ मा अचानक प्रविष्टि दिएर अन्तरिम संविधानमा पनि पारिएको थियो ।

हाल यसबारे जनमत सङ्ग्रहमार्फत निराकरण हुनुपर्ने प्रस्ताव हुन थालेको छ । कतिपयको बुझाइमा अग्रगमनकारी देखिन धर्मनिरपेक्षताको पक्षपाती हुनैपर्छ, हिन्दुत्व समर्थक भएमा प्रतिगमन ठहरिनेछ ।

हुन त आफ्नै पुर्खाहरूबाट प्राप्त ज्ञानलाई अन्यथा मान्नु रोचकमात्र नभई उत्तर आधुनिकताको परिचायक पनि हो । यस क्रममा हिन्दूहरूको उद्गम र क्रमिक विस्तार तथा प्रवासबारे पनि चर्चा गरिएको पाइन्छ । तथ्यको अभावमा सतही विश्लेषण गरेर निकालिएका निष्कर्षहरू अपरिपक्व र अनर्गल प्रचार प्रसारको विषयवस्तु बनाइएका छन । हिन्दु कताबाट आए र कसरी विकसित भए भन्नेबारे तथ्यगत विश्लेषण जरुरी छ ।

हिन्दु प्रवास र आर्य सभ्यताको विस्तारबारे सबभन्दा बढी प्रचारित विश्लेषण ‘आर्यन इन्भेजन थ्योरी र ‘आर्यन माइग्रेसन थ्योरी’ मानिन्छन् । तथाकथित इन्डोलेजिस्टहरूका अनुसार आर्य मध्य एशिया र युरोप लगायतका गन्तव्यहरूबाट आएका थिए । कुनै पनि विश्लेषकले यसबारे सटिक उत्पत्तिको व्याख्या गर्न सकेका छैनन् ।

हिन्दु संस्कृतिद्वारा स्थापित विज्ञान, प्रौद्योगिकी, प्रबन्धन, अर्थशास्त्र, पर्यावरण संरक्षण र शिक्षा प्रणालीहरूको प्रामाणिकताबारे विश्वका अनेकानेक वैज्ञानिक, पुरातत्वविद्, भूविज्ञानी र जीवविज्ञानीले प्रष्ट पारिसकेका भए पनि मोर्टिमर ह्वीलर, मैक्स म्यूलर र थोमस मैकुले जस्ता विद्वानले सम्भवतः पश्चिमी उपनिवेशवादको श्रेष्ठता देखाउने प्रयोजनका लागि हिन्दुत्व लोकाचार, आस्था र विश्वासप्रति नकारात्मक आख्यानहरू सिर्जित गरे ।

मैक्स म्युलर लगायतका पश्चिमा विद्वानहरूले प्रस्तुत गरेको तर्कमा कतिपय प्रश्न अनुत्तरित छन् । यदि आर्य मध्य एसियाबाट आएका थिए भने उनीहरूद्वारा रचित विश्वको प्राचीनतम साहित्य ‘वेद’ अथवा त्यसै प्रकारका अन्य रचनाहरूको प्रतिलिपि वा कुनै चिह्न त्यहाँ हुनुपर्थ्यो; वेद, पुराण वा उपनिषदहरूमा त्यस भूभागबारे केही उल्लेख गरिएको हुन्थ्यो होला ।

यसैगरी, आर्यहरूले प्रयोग गर्ने भनिएको ‘संस्कृत’ का शब्दहरूको दक्षिण एसियाका भाषाहरूमा व्यापक प्रयोग पाइन्छ तर युरोपेली भाषाहरूसँग मुस्किलले जोडिन्छ । यस अतिरिक्त आर्यद्वारा रचित ‘रामायण’ अथवा ‘महाभारत’ लगायतका महाकाव्यहरूमा मध्य एशियाली भूगोलको कुनै वर्णन पाइँदैन । साथै, सिन्धु घाँटी क्षेत्रको उत्खनन गर्दा प्राप्त मूर्तिहरू पश्चिमी जगतले स्वीकारेको कुनै पनि देवी–देवताका छैनन् ।

यस्ता अनेक जिज्ञासाहरूको कुनै जवाफ दिइएको देखिँदैन ।

वर्तमानमा विज्ञानसम्मत विभिन्न शोध कार्य र प्रौद्योगिकी तकनीकहरूको उपयोगद्वारा आर्यहरूको उत्पत्ति यसै भूभागमा हुनुका साथै सम्पूर्ण उपमहाद्वीपमा बसोबास गर्नेहरू एउटै पूर्वजका वंशज भएको प्रमाणित हुन्छ । यसका लागि जीन हैप्लो सामूहिक मानचित्रण, उपग्रह इमेजरी, भूवैज्ञानिक अध्ययन, पुरातात्विक साक्ष्य, भाषागत र शास्त्रसम्बन्धी साक्ष्य, खगोलीय साक्ष्य र डीएनए अध्ययन गरिएको थियो ।

इस्टोनिया स्थित ‘तारतू’ विश्वविद्यालयमा कैम्ब्रिजका प्रोफेसर किविसिल्डको नेतृत्वमा डीएनए परीक्षणका लागि सङ्कलित १३ हजार नमुनाबाट गरिएको जाँचमा पनि यस क्षेत्रका बासिन्दाहरूको एउटै पुर्खा रहेको पाइयो ।

उक्त परीक्षणका लागि एकत्रित नमुनाहरू अनेकानेक जाति, उपजाति तथा समुदाय रहेको नेपाल, भारत, पाकिस्तान, बाङ्ग्लादेश र श्रीलंका लगायतका देशको विभिन्न भागबाट सङ्कलन गरिएका थिए । यस अर्थमा, एउटै पुर्खाहरूबाट जन्मिने सन्तानहरूबीचको जातीय अवधारणा पनि अप्रासङ्गिक भएको अथवा षडयन्त्रपूर्वक समावेश गराइएको भन्न सकिन्छ ।

समाजलाई व्यक्तिगत गुणको आधारमा पहिचान दिने प्रयासलाई वंशाणुगत बनाई जातिगत विभेदको सूत्रपात इस्लामिक आक्रमणबाट शुरू भएको पाइन्छ, यसलाई ब्रिटिस उपनिवेशवादले मलजल गर्‍यो ।

यसैगरी, भारतीय र अमेरिकी वैज्ञानिकहरूको संयुक्त टोलीले हार्वर्ड विश्वविद्यालयमा गरेको अध्ययनले पनि हिमालयदेखि समुद्र किनारसम्म बसोबास गर्नेहरू एउटै समुदायका उत्पत्ति रहेको देखाएको छ । यी वैज्ञानिकहरूले ‘आर्यन इन्भेजन थ्योरी’ लाई चुनौती दिँदै प्रस्तुत गरेको हडप्पाकालीन वैज्ञानिक प्रमाणले मध्य एसिया अथवा युरोपबाट भारतीय उपमहाद्वीपतर्फ त्यस प्रकारको विशाल अप्रवासनको सम्भावना अस्वीकार गर्छ ।

विश्व स्तरीय पत्रिकाहरूमा प्रकाशित उक्त शोधपत्रले दक्षिणपूर्व एसियामै बसोबास गर्ने र सामूहिक रूपमा शिकार गर्दै आएकाहरूलाई नै हडप्पन सभ्यता तथा सामुदायिक कृषि प्रणालीका स्वामी स्वीकार गरेको छ ।

यसका लागि भारतको हरियाणा राज्यमा हिसार नजिक रहेको राखीगढ़ीमा भेट्टाइएको कार्बन डेटिङअनुसार चार–पाँच हजार वर्ष पुरानो एउटा महिलाको कङ्कालबाट प्राप्त डीएनए परीक्षण गर्दा उक्त तथ्य प्रमाणित भएको बताइन्छ ।

अनेकानेक वैज्ञानिक प्रामाणिकताको आधारमा भन्न सकिन्छ कि हिन्दु वा आर्यहरू पश्चिम युरोपबाट आएका आप्रवासी नभई यस भूभागका मौलिक बासिन्दा हुन् जसको विस्तार पूर्वीएसियादेखि उत्तरपश्चिम एसिया र हिमालयदेखि हिन्द महासागर भएको थियो ।

शोधकर्ताहरूले उक्त परीक्षणलाई विश्वसनीय बनाउन विश्वका ११ अन्य स्थानबाट प्राप्त नमुनासँग तुलनात्मक अध्ययन गरेर निष्कर्ष दिएका थिए । सिन्धु घाँटीको सभ्यताले इरान (तत्कालीन पर्सिया) बाट सिकेको कृषि विकास अथवा युरोप वा मध्य एशियाई अप्रवासनको सिद्धान्त पूर्णतः खारेज गरिएको देखिन्छ ।

राखीगढीबाट प्राप्त डीएनए नमुनामा इरानी वंशका जिनको छाप भए पनि त्यसको पुरातनता एघार–बाह्र हजार वर्ष पहिलेको थियो । ईसापूर्व ७ हजार वर्षदेखि दक्षिण एसियालीको जिन कुनै मध्य एशियाईसँग मेल खाएको प्रमाण छैन ।

यसैगरी, वैदिक संस्कृति पनि दक्षिण एसियाका मौलिक बसोबासीहरूले विकास गरेको दाबी पनि शोधपत्रमा छ । साथै, कृषितर्फको ज्ञान पनि उनको आफ्नै मौलिकता रहेको बताउदै प्रागैतिहासिक सामूहिक शिकारहरूले खेतीपाती सिकिसकेका दाबीसमेत गरेका छन् ।

राखीगढीबाट प्राप्त महिला कङ्कालको डीएनए प्राचीन इरान र तुर्कमेनिस्तानीहरूको नमुनासँग मेल खाएको थियो । अर्थात हडप्पाकालीन सभ्यताको विस्तार पश्चिम र उत्तर पश्चिम एसियासम्म भएको हुनुपर्दछ । ईसा पूर्व २६०० देखि १९०० सम्म आफ्नो उत्कर्षमा रहेको सिन्धु घाँटी सभ्यता विश्वको पहिलो ठूलो शहरी सामाजिक बसोबास भएको मानिन्छ ।

सिन्धु र सरस्वती नदी किनारामा विकसित भएकोले ‘सिन्धु–सरस्वती’ सभ्यता पनि भनिन्छ । ठूलठूला भूकम्पहरूका कारण भौगर्भिक परिवर्तन हुँदा हाल सरस्वती नदीको धार थोरै मात्रामा यमुनाको रूपमा छ भने अधिकांश विलुप्त भइसकेछ ।

कतिपयले ‘हिन्दु’ नामकरण इरानीहरू (तत्कालीन पर्सियाली) ले दिएको तर्क प्रस्तुत गरेका छन् । यसको व्याख्या गर्दै पर्सियन भाषा ‘अवेस्तन’ मा ‘स’ अक्षरलाई ‘ह’ भन्ने गरिएकोले सिन्धुको अपभ्रंश भई हिन्दु बनेको भन्ने बहस गर्छन् ।

यो तर्क स्वीकार गर्ने हो भने पाकिस्तानस्थित सिन्ध प्रान्तको नाम हिन्ध र संस्कृत भाषालाई हंस्कृत भनेको हुनुपर्थ्यो । प्रष्ट देखिन्छ, यो तर्क प्रामाणिक छैन तथापि यस सम्पूर्ण भूभागमा व्यापक अप्रवासन भएको सत्य हो ।

राखीगढी प्रमाणअनुसार एउटै वंशज रहेका सिन्धु सभ्यता र पर्सियनहरू बीचको एकरूपता स्वाभाविक थियो ।

तत्कालीन अप्रवासन इरानबाट सिन्धु घाटीतर्फ नभई त्यसको उल्टो यताबाट उतातर्फ भएको पाइन्छ । ईसापूर्व सात सय वर्ष पहिला आर्यहरूको एउटा शाखाद्वारा प्रवद्धित तथा ऋषि अत्रि कुलमा जन्मेका पैगम्बर जरथुस्त्रद्वारा सङ्गठित पारसी धर्म आफूभन्दा हजारौँ वर्ष पहिलेदेखि स्थापित हिन्दु धर्मको प्रवर्तक हुन सक्दैन ।

संस्कृत व्याकरणले एउटै प्रकारको अर्थबोध दिने शब्दलाई पर्यायवाची शब्द भनेको छ, अमरकोश पढ्नेले बुझेकै छन् । यस्तै पर्यायवाची शब्द बनेको ‘हिन्दु’ लाई नै वेदको रचनाकार भएकोले ‘वैदिक’, प्राचीनतम कालदेखि निरन्तर रहेकोले ‘सनातन’ र श्रेष्ठ जीवन दर्शनमा आधारित भएको हुँदा ‘आर्य’ लगायतको नामकरण गरेको देखिन्छ ।

अर्थात, अनेकानेक वैज्ञानिक प्रामाणिकताको आधारमा भन्न सकिन्छ कि हिन्दु वा आर्यहरू पश्चिम युरोपबाट आएका आप्रवासी नभई यस भूभागका मौलिक बासिन्दा हुन् जसको विस्तार पूर्वीएसियादेखि उत्तरपश्चिम एसिया र हिमालयदेखि हिन्द महासागर भएको थियो ।


भर्खर

0