कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू « Khabarhub
Logo
९ माघ २०७८, आइतबार

कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू



हाम्रो शरीर एउटा जीवन्त ईकाई हो । यसले  आफूलाई जीवन्त कायम राख्ने क्रममा दैनिक अनेकौँ जीव एवं सुष्म जीवहरूको आक्रमण सहन गर्नु पर्दछ । सुष्म जीवहरूको आक्रमणसंग लड्नकालागि हाम्रो शरीरमा छुटै प्रणाली छ, जसलाई हामी प्रतिरक्षा प्रणाली भन्दछौँ ।

प्रतिरक्षा प्रणालीले हाम्रो शरीरलाई ब्याक्टेरीया, भाईरस, ढूशी एवं परजीवीहरूबाट हुने आक्रमणबाट बचाउँदछ । शरीरमा सुष्म जीवको आक्रमण हुँदा प्रत्याक्रमण गर्नका लागि हाम्रो शरीरमा पनि सेता रक्तकोष नामक सुष्म रक्तकोष छन् । यी रक्तकोषहरूले किटाणुहरूलाई प्रत्यक्ष लडेर वा परोक्ष रूपमा किटाणुहरू मार्ने इम्यूनोग्लोबुलिन नामक रसयनहरू बनाएर नष्ट गर्ने गर्दछन । यसर्थ प्रतिरक्षा प्रणली भनेको हाम्रो त्यो प्राथमिक सुरक्षा कवच हो जसले सुष्म जीवहरूको आक्रमणबाट हामीलाई सदैव रक्षा गर्दछ । अतः प्रतिरक्षा प्रणाली मजबुत भएमा हामीलाई बाह्य किटाणुहरूले आक्रमण गरेर रोगी बनाउन सक्दैन । तर, प्रतिरक्षा प्रणाली कमजोर भएमा किटाणुहरूको आक्रमणले हामी तारन्तर विरामी भइरहन्छौँ र रोगका किटाणुले जितेको खण्डमा हाम्रो मृत्यु पनि हुन सक्छ ।

आज पूरै विश्व कोभिड–१९ बाट आक्रान्त छ । हालसम्म कुनै खास औषधि र खोप तयार भइनसकेको यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने प्रश्न बाँकी नै छ । तर, जसको प्रतिरक्षा प्रणाली शसक्त छ उसलाई यो रोगले त्यत्तिवबिघ्न ग्रसित बनाउन सक्दैन । हत्तपत्त ज्यान गई हाल्दैन । यसको ठिक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले ज्यादा भन्दा ज्यादा ग्रस्तपार्ने एवं ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ । यसर्थ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुको विकल्प छैन । प्रतिरक्षा प्रणाली भोजन, ब्यायाम र विश्राम, विचार एवं व्यवहारको सन्तुलीत एवं समुचित उपयोगले सवल बन्दछ । यस परीप्रेक्षमा आज म तपाइँहरूलाई प्रतिरक्षा प्रणली सबल बनाउने खानेकुराका विषयमा बताउन गइरहेको छु ।

मजबुत प्रतिरक्षा प्रणालीका लागि खानैपर्ने खानेकुराहरूः

१. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलपूmल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा विद्यमान कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । यसका अलावा मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाइन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन मद्यत गर्दछ ।

२. दहीः प्रतिरक्षा प्रणालीको वृद्धि एवं विकासका लागि भिटामिन ‘डी’ को महत्वपूर्ण भूमिका हुन्छ । दही भिटामिन डी को राम्रो स्रोत हो । विभिन्न अनुसन्धान रिपोर्टहरूअनुसार भिटामिन डी कम हुनेहरूमा प्रतिरक्षा प्रणाली पनि कमजोर भएको  पाईएको छ । भिटामिन डी का अतिरिक्त दहीमा ल्याक्टो–ब्यासिलस नामक राम्रा प्रोबायोटिक ब्याक्टेरियाहरू पाईन्छन् । यी ब्याक्टेरियाहरूले पेटका हानीकारक सुष्म जीवहरूसंग लड्नुका अलावा प्रतिरक्षा तन्त्रका लागि आवश्यक अनेकौँ जीव रसायनहरूको उत्सर्जन गर्ने गर्दछन् ।

३. ब्रोकाउलीः ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा भिटामिन सी पाईने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

४. बदामः बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

५. पालुङ्गोः पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवणहरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो स्रोत पनि हो । यी द्रब्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछन् । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्ट हुने खालका भएकाले यसलाई पकाउदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

६. स्याऊः स्याउलाई फलहरूको राजा त्यसै भनेको होईन । स्याऊमा अनेकौँ प्रकारका सुष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्याऊमा घुलनशील रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ । स्याऊमा पाईने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टिेरियाहरूलाई पोषण प्रदान गर्दछ । जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा मद्दत पुर्‍याउदछ।

७. फर्सीको बियाः  फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन । हामीले फर्सी खान जानेका छौँ तर फर्सीको बियाँ खान जानेका छौनौँ । वास्तवमा फर्सीभन्दा फर्सीको बियाँ कयौँ गुणा पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा-६ याट्टी अम्ल, भिटामिन ई, जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउदछ ।

८. जडिबुटी चियाः तुलसी चिया, रोजमेरी चिया, अर्जुन चिया, विजयसालको चिया वा हरियो चियाको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउदछ । जडिबुटी चियामा प्रशस्त मात्रामा फ्लेभेनोइडस   पाईन्छ । फ्लेभेनोइडसले एण्टि–अक्सिडेण्टको काम गर्दछ । यसका अलावा जडिबुटी चियामा एपि–ग्यालो–क्याटाचिन–ग्यालेट नामक द्रव्य पाईन्छ । यी दुबै  द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन ।

९. अमिला फलफूलः कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी, चिसोको एलर्जी, झाडापखाला, निमोनिया, औलो ज्वरोजस्ता रोगहरूलाई चाडो ठीक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।

 १०. रातो भेडे खोर्सानीः हामी सबैले अमिला फलपूmललाइ भिटामिन सी को राम्रो स्रोतको रूपमा बुझेका छौँ । तर, अमिला फलफूलभन्दा रातो भेडे खोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो स्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न मद्दत गर्दछ ।

११. अदुवाः घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउदा अदुवाको प्रयोग शदिऔँदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालीन पीडा कम गर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ । अनुशन्धानहरुले जनाए अनुसार अदुवाले अति सक्रिय प्रतिरक्षा प्रणालीलाई कम गर्न र निष्क्रिय प्रतिरक्षा प्रणालीलाई सक्रिय गर्ने काम गर्दछ ।

१२ लसूनः लसुनको औषधीय एवं रोग प्रतिरोधक गुणलाई महसुस गरेर नै हाम्रा पिता पुर्खाहरूले लसुनलाई औषधि एवं  मसलाको रूपमा युगौँदेखि प्रयोग गर्दै आएका हुन् । यस वनस्पतिलाई रोग प्रतिरोधक औषधिका रूपमा सबैले स्वीकारी सकेका छन् । रूघा मर्की लाग्दा, चिसोले सताउदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाईन्छ । यसरी औषधीय गुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाइन्छन । यी सल्फर कम्पाउण्डहरूले सुष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुने खालका भएकाले काचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कम गर्न, क्लोस्टेरोल सन्तुलीत राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्दछ ।

लेखक भरतपुर महानगरपालिका १ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।


भर्खर

0