मुख्यमन्त्री गुरुङ पदमुक्त, नयाँ सरकार गठनको बाटो खुल्यो | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङ पदमुक्त, नयाँ सरकार गठनको बाटो खुल्यो



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले विहीबार प्रदेशसभाको आठौं अधिवेशनको सातौं बैठकमा विश्वासको मत मागेका थिए ।

उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका हुन् ।

विहीबार गुरुङको प्रस्तावमाथि गरिएको मत विभाजनका क्रममा पक्षमा २७ मत मात्रै पर्‍यो। प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । ६० सदस्य रहेको प्रदेशसभाको विहीबारको बैठकमा एक जना अनुपस्थित भए भने एक जना तटस्थ रहे ।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री गुरुङले राखेको प्रस्तावमा बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

६० सदस्य रहेको गण्डकी प्रदेशमा विश्वासको मतका लागि ३१ मत आवश्यक थियो ।

अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ उपधारा ५ मा उल्लेख छ ।

अब प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।

मनाङे अनुपस्थित, जनमोर्चाका थापा तटस्थ

गण्डकी प्रदेशका सरकारका खेलकुद मन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) प्रदेशसभाको विहीबारमहत्वपूर्ण बैठकमा अनुपस्थित रहे भने राष्ट्रिय जनमोर्चाका एक सांसद तटस्थ रहे ।

यसअघि नै आफ्नो पक्षमा पार्न भन्दै खेलकुद मन्त्री बनाइएका स्वतन्त्र सांसद मनाङेले बुधबार मात्रै एमालेले बहुुमत हासिल गर्न नसक्ने हुँदा विपक्षी गठबन्धनलाई मत दिएर प्रदेशसभाको रक्षा गर्ने बताएका थिए ।

यसअघि पार्टी निर्णयविपरित गुरुङलाई सहयोग गरेको भन्दै थापालाई जनमार्चाले एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै सांसद पद खारेज गरेको थियो । सर्वोच्चले पद थमौति गरेपछिको आठौं अधिवेशनको सातौं बैठकमा सहभागी भएका थापा भने पार्टी निर्णय विपरित तटस्थ बसे ।

जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गुरुङले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पनि सांसद पियारी थापाले आफ्ना पार्टी विपक्षमा रहेको र कुनै पनि सांसदलाई तटस्थ नबस्न ह्वीप जारी गरेको बताएकी थिइन् ।

२७ प्र्रदेश सभा सदस्य रहेको एमालेमा बाग्लुङका सांसद इन्द्र्रलाल सापकोटा माधव नेपाल पक्षका हुन् । सापकोटाले पनि विश्वासको मतको पक्षमा मतदान गरे ।

सांसदहरुलाई कोरोनाको चिन्ता

मतविभाजन अघि प्रस्ताव पेश गर्दै गुरुङले कोभिड १९ बाट नेपाल अछुतो नरहेको तथा पीडा र शोकले आक्रान्त भएको असहज अवस्थामा पनि आफू सरकारको बचाउ र विश्वासको मत माग्न विवस भएको गुरुङले उल्लेख गरेका थिए ।

आफू संविधानअनुसार नै हामी अघि बढ्ने प्रतिवद्धता जनाउँदै मुख्यमन्त्री गुरुङले प्रदेशको गरिमालाई बढाउनका लागि मिलेर जान पनि प्र्रस्ताव गरे ।

विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरुले तीन वर्षअघि दिएको विश्वासअनुसार सरकारले काम गर्न नसकेको उल्लेख गरे ।

लोकतन्त्रको हुर्मत लिने गरी दुई दुई पटक संविधानलाई कुल्चिएर हिडिरहेका साथीहरुलाई समर्थन गर्न नसकिने बताएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनताको न्यूनतम समस्या पनि यो सरकारले पूरा गर्न नसकेको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद हरीबहादुर चुमानले बैकल्पिक सरकारका लागि आफूहरु छलफल गर्न चाहेको भए पनि विश्वासको मत दिन नसकिने प्रष्ट पारे ।

सांसद अपहरणदेखि लिएर सबै हतकण्डा अपनाउन पछि नपर्ने, रातारात राजनीतिक नैतिकतालाई बेच्दै नेपाली राजनीतिलाई धुमिल बनाएर जनतामाथि कुठाराघात गर्ने काम गण्डकी प्रदेश सरकारले गरेको जनता समाजवादी पार्टीका सांसद हरीशरण आचार्यले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले तीन वर्षअघि दिएको विश्वासको मतअनुसार काम गर्न सरकार असफल भएको बताइन् ।

सत्तारुढ एमालेकोतर्फबाट सांसद मायानाथ अधिकारीले भाग लिँदै कोरोना संक्रमणका बेला सरकार ढाल्ने खेलमा लागेको भन्दै विपक्षी दलहरुको आलोचना गरेका थिए ।

छलफलमा भाग लिएका सबैजसो सांसदहरुले कोरोना महामारीका विषयमा चिन्ता ब्यक्त गरे । उनीहरुले यस्तो बेलामा जनताप्र्रति जिम्मेवार नभई संघदेखि प्र्रदेशसम्म नै सरकार परिवर्तनमा लाग्नु परेको गुनासो पनि गरेका थिए ।

विपक्षीको अघिल्लो प्रयास पनि असफल

अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कांग्रेससहितको विपक्षी गठबन्धन चैतको अन्तिमबाटै कस्सिएको थियो ।

यसअघि अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी गठबन्धन राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण असफल भएको थियो ।

वैशाख १३ गतेदेखि शुरु भएको विशेष अधिवेशनको मतदान हुनेबेलामा जनमोर्चाका सांसद शाही एकाएक वेपत्ता भएपछि वैठक स्थगित गरिएको थियो । बेपत्ता सांसद शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेललाई प्र्रमुख नियुक्त गरिएको थियो ।

अविश्वास प्रस्तावमाथि पुनः वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिए । गुरुङको राजीनामापछि पुनः जनमोर्चाका अर्का सांसद कृष्ण थापाले पार्टी निर्णय अस्वीकार गर्दै साथ नदिएकाले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने विपक्षी गठबन्धनको दोस्रो प्रयास पनि असफल भएको थियो ।

विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : २७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको