हरि रोकाको ‘आक्षेप’, कनकमणिको ‘प्रतिवाद’ र डा. भट्टराईको अन्डरलाइन « Khabarhub
Logo
२ असार २०७८, बुधबार

हरि रोकाको ‘आक्षेप’, कनकमणिको ‘प्रतिवाद’ र डा. भट्टराईको अन्डरलाइन



काठमाडौँ– यही जेठ २० गते हरि रोकाले कान्तिपुर दैनिकमा ‘राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात’ शीर्षकमा पत्रकार कनकमणि दीक्षितलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सर्वसत्तावादी आकांक्षालाई’ सहयोग गर्न ‘बीस पेजको रणनीतिक दस्तावेज मोदीसँग नजिकको सम्बन्ध भएका नीति आयोगका उपाध्यक्ष राजीव कुमारमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेको’ आरोप लगाएर एउटा लेख लेखे ।

त्यसको सातौँ दिन २६ गते दीक्षितले रोकाले लगाएका आरोपहरू खण्डन गर्दै ‘हरि रोकाको आक्षेपप्रति मेरो प्रतिवाद’ शीषर्कमा लेखे ।

रोकाले आफ्नो लेखमा दीक्षितबारे लेखेका छन्–
नोभेम्बर २०१९ मा भारतले नयाँ नक्सा जारी गर्‍यो र लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रमाथि दाबी गर्‍यो । नेपालको अभिन्न अङ्ग रहेको यो क्षेत्र सन् १९६२ पछि भारतले मिचेको थियो र सत्तास्वार्थका लागि राजा महेन्द्रले आँखा चिम्लिएका थिए । उक्त दाबीपछि ओलीले यसलाई आफ्नो स्थायी रणनीतिसँग गाँस्न खोजे । त्यसका लागि उनलाई एउटा यस्तो उपयुक्त व्यक्ति चाहिन्थ्यो, जोसँग भाषा होस्, सम्बन्ध राख्न सिपालु होस् र उनको सर्वसत्तावादी आकांक्षालाई सहयोग गर्न हरतरहले तयार होस् । त्यो चरित्र उनले कनकमणि दीक्षितमा देखे, जो दशकौँदेखि माओवादीविरोधी थिए, माओवादीले मानवअधिकार थिचोमिचो गरेकामा उनी नाखुस थिए र ‘एलिट’ हरूको अधिकार कटौती गरेर सर्वसाधारणलाई राजनीतिमा समावेश गराइएकामा आक्रोशित थिए । नेकपा बनेको त उनलाई फिटिक्कै मन परेको थिएन । ‘होमवर्क’ सुरु भयो । प्रधानमन्त्रीबाटै रणनीतिक प्रस्तावको योजना सुन्नासाथ उनी काममा जुटिहाले । बीस पेजको रणनीतिक दस्तावेज तयार भएपछि आपसी विमर्शपश्चात् उनी फेब्रुअरी २०२० मा दिल्ली रवाना भए । मोदीसँग नजिकको सम्बन्ध भएका र भारतीय क्याबिनेट मन्त्रीको हैसियतमा रहेका नीति आयोगका उपाध्यक्ष राजीव कुमारमार्फत दस्तावेज हस्तान्तरण सहज भयो । मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई त्यो ‘परखने’ कार्यभार सुम्पिए । यससम्बन्धी थप विवरण आवश्यक परेका खण्डमा जानकारहरूबाट सार्वजनिक हुने नै छ ।

प्रतिवादमा दीक्षितले एक ठाउँमा लेखेका छन्–
भारतको नेपालमाथि गुप्तचरीको क्रियाकलापविरुद्ध मैले लेख्न थालेको करिब दुई दशक भयो। हिन्दुस्तान टाइम्सले ‘नेपालमा भएका भारतीय एसेटहरू परिचालन गर, नेपालमाथि भूमिगत र भूमिउपरका सबै हतकण्डा प्रयोग गर’ भनेर लेख छापोस् वा द्वन्द्वकालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अनुनय–विनय गर्दै भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र, यस्ता विषयमा सधैँ नेपाली र अन्तर्राष्ट्रिय मिडियामा भारतीय खुफिया एजेन्सीको क्रियाकलापविरुद्ध आवाज उठाएको छु।

पूर्वमाओवादी नेता डा. भट्टराईले दीक्षितको उक्त अभिव्यक्तिको ‘द्वन्द्वकालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अनुनय–विनय गर्दै भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’ पदावलीलाई अधोडिक (अन्डरलाइन) गरेर ट्वीट गर्दै आक्रोश प्रकट गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्–
हरि रोकाले पोल खोलेपछि आगो भएका कनकले प्रचण्ड र बाबुराममाथि विष ओकल्दै ‘भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’ को हावा कुरा गरेछन्न् ! त्यस्तो कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राखे भैहाल्यो ! भारतीय सत्तापक्षलाई उसको ‘दुइखम्बे नीति’ छोड्न बाध्य पार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस ?

डा. भट्टराईले ‘हावा कुरा’ भनेको पत्रको प्रसङ्ग भारतीय लेखक प्रा. एसडी मुनिको पुस्तक ‘नेपाल इन ट्रान्जिसन’ बाट सार्वजनिक भएको थियो ।

प्रा. मुनिले लेखेअनुसार माओवादी नेताद्वय प्रचण्ड र डा. भट्टराईले सशस्त्र द्वन्द्व चर्किंदै गएको समयमा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई ‘भारतको हितमा कुनै पनि असर नपुर्‍याउने’ आशयको पत्र लेखेका हुन् । उक्त पत्र प्रा. मुनि हुँदै प्रधानमन्त्री वाजपेयीका राष्ट्रिय सुरक्षा सल्लाहकार व्रजेश मिश्रमार्फत हस्तान्तरण भएको थियो ।

प्रा. मुनिको उक्त पुस्तक सार्वजनिक भएपछि माओवादी शीर्ष नेताद्वयले लेखेको भनिएको पत्रका बारे खुब चर्चा भएको थियो । उक्त पत्रपछि भारतीय भूमिमा प्रचण्ड, डा. भट्टराई र उनीहरू पक्षका माओवादी नेताहरू सुरिक्षत रहेको भन्ने चर्चा पनि भएको हो ।

दीक्षितले प्रचण्ड र दाहाललाई ‘अपराधवाद’ सँग पनि जोडेका छन् । उनले लेखेका छन्, ‘देश, काल, परिस्थिति अमिल्दो माओवाद नेपालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले भित्र्याए, यो उनीहरूको ‘अपराधवाद’ को उपज हो ।’

कैयौँ कार्यकर्ता र लडाकु भने सच्चा दिल लिएर होमिएका हुन् भन्ने आफ्नो बुझाइ रहेको पनि उनले स्पष्ट पारेका छन् ।

दीक्षितले आफ्नो लेखमा रोकाले लगाएका आरोपहरूको ‘खण्डन र प्रतिवाद’ मात्रै गरेका छैनन्, ‘तथ्यहीन, भ्रमात्मक र मानमर्दन गर्ने लेखको सम्बन्धित अंश कान्तिपुरले आफ्नो विचार पृष्ठमा छापेकोमा स्तब्ध छु’ पनि भनेका छन् ।

उनले २०२० फेब्रुअरीमा आफू भारत त के काडमाडौँबाहिर पनि नगएको जिकिर गरेका छन् ।

दीक्षितले आफू माओवादी नेतृत्वको विरोधी रहेको कुरा लेखमा स्वीकार गरेका छन् । उनले लेखेका छन्–
रोकाको लेखमा थप दुई कुरा बिलकुल सही छन् । पहिलो, म कारणवश माओवादी नेतृत्वको विरोध गर्छु नै । मुलुकलाई १० वर्षको द्वन्द्व र बाँकी १० वर्ष संक्रमणमा धकेलेर लोकतन्त्रलाई जरा गाड्न नदिएको, अर्थतन्त्रलाई दुई दशक पछाडि पारेकोलगायत धेरै कुराको मूल दोषी म माओवादी नेतृत्वलाई नै ठान्छु । यस्तै, खुला राजनीतिमा आएपछि भ्रष्टाचार मौलाउन सघाएको, राजकाजलाई सक्दो बिथोलेर अस्थिरता निम्त्याउने काममा पनि माओवादी शीर्षस्थको मुख्य हात रहेको देख्छु ।

दीक्षितले संविधान लेखनपश्चात् नेपाल नयाँ लोकतान्त्रिक युगमा प्रवेश गर्दा संक्रमणकालीन न्यायको प्रक्रिया पूरा नहुँदासम्म दाहाल र भट्टराई दुवै प्रधानमन्त्री हुनु हुँदैन आफ्नो भनाइ आजपर्यन्त कायम रहेको पनि प्रष्ट पारेका छन् ।

दीक्षितले ‘यससम्बन्धी थप विवरण आवश्यक परेका खण्डमा जानकारहरूबाट सार्वजनिक हुने नै छ’ भन्ने रोकाको अभिव्यक्तिमा सबैभन्दा चर्को असहमति प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘लौ प्रमाण आवश्यक पर्‍यो रे पाठकलाई। अब ती ‘जानकारहरू’ कहाँ छन्, को हुन्, कसले भनिदिने?’


भर्खर

0