सूर्यमानको सौर्य « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

सूर्यमानको सौर्य



पैसठ्ठी वर्षअघि, १ अप्रिल १९५६ मा ललितपुर जिल्लाको पाटन नगरीमा एक बालकको जन्म भयो । बुबा पूर्णबहादुर शाक्य र आमा चन्द्रमाया शाक्यको कोखमा जन्म लिएका ती बालक कालान्तरमा नेपालमा वातावरण इन्जिनियरिङ विधाको श्रीगणेश गर्ने नायक बन्लान् भन्ने कुरा शायद विधातालाई मात्र थाहा थियो ।

सृष्टिका सर्जकले बुबाको नाम पूर्ण, आमाको चन्द्र र बालकको नाम सूर्य जुराइदिएका थिए । नेपालको वातावरणसम्बन्धी प्राविधिक कित्तामा ती नायक ‘पूर्णचन्द्र’ भएर उदाए । अनि, आफ्नो नाम चरितार्थ गर्दै ‘कहिले नअस्ताउने सूर्य’ को पदचिह्न र आफ्ना केही महत्वपूर्ण अनुष्ठान तपाईं–हाम्रो जिम्मा लगाएर यही वैशाख २० गते अन्तर्राष्ट्रिय विश्व प्रेस स्वतन्त्रता दिवसका दिन ब्रह्मलीन भए ।

सूर्यमान शाक्यले भारतको पटनाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए, अमेरिकाको न्यु जर्सीबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर । सम्भवतः यो विधामा उच्च शिक्षाको पगरी गुथ्ने उनी पहिलो नेपाली नागरिक थिए ।

सूर्यमान पुराना सामान, त्यसमा पनि पुरानो घडीका अतिशय शौखिन थिए । उनको नाडीमा बजारमा नपाइने पुरानो मोडेलको घडी हुन्थ्यो । उनी कक्षामा विद्यार्थीलाई पढाउँदा यस्ता पुरातात्त्विक महत्त्वका सामानको अगणित मूल्यका बारेमा रोचक दृष्टान्त प्रस्तुत गर्थे । कुनै विद्यार्थीले सूर्यमानको घडी पुरस्कारका रूपमा कक्षा अवधिभर मात्र पनि बाँध्न पायो भने ऊ आफूलाई धन्य ठान्दथ्यो ।

एक पटक सूर्यमान घडी किन्ने सुरले स्वीट्जरल्याण्डको एक पसलमा पुगेछन् । पसल बेलुकी ५ बजे बन्द हुँदो रहेछ । उनी समय सीमाभन्दा केही मिनट अघि मात्र त्यहाँ प्रवेश गरेका रहेछन् । पसलको साहुजीले उनलाई अत्याउने सुर झिकेछ ।

‘पसल बन्द गर्ने बेला भयो । कृपया चाँडै गर्नु होला ।’

‘मैले राम्रो बुझिनँ । के भन्नु भयो रे ?’ ‘मसँग समय छैन । अर्को कुनै दिन आउनु होला ।’

यस्तो सुनेपछि सूर्यमानले आफ्नो देब्रे हातको नाडी साहुलाई देखाउँदै अचम्मको कित्ता सिर्जना गरेछन् ।

‘उदेक लाग्छ ! सयौँको संख्यामा घडी हुनेसँग समय छैन । मेरो साथमा घडी छैन तर घडी किन्ने समय छ ।’

यसरी भइपरी आएको परिस्थितिमा रौनक थपेर दर्शक श्रोतालाई मन्त्रमुग्ध पार्ने आद्वितीय क्षमताका धनी थिए सूर्यमान । उनी विषय प्रसङ्गलाई नाटकीय रूप दिन औधी सिपालु थिए । दर्शक–श्रोतामध्ये कसैलाई मन्चमा निमन्त्रणा गर्दथे र तिनैलाई सहभागी गराएर छानो उडाउने हाँसो सिर्जना गर्दै प्रस्तुतिमा बेजोडको रङ्गरोगन गर्दथे ।

ती दर्शक–श्रोता कक्षा कोठाका विद्यार्थी हुन या कुनै समारोहका सहभागी वा कुनै चिया पसलका ग्राहक, सूर्यको प्रत्युत्पन्न बुद्धिको रापको तापक्रम आकाशिएकै हुन्थ्यो ।

उनी हत्तपत्त ‘फर्सिडिज बेन्ज’ को राज भन्दैनथे । केही किनारका कुराले पृष्ठभूमि बनाएर मात्र यसको नामको अर्थ प्रष्ट्याउँथे । उनी गर्बका साथ सुनाउँथे– ‘फर्सीको मोलमा मर्सिडिजको मजा पाइन्छ । यसैले यो फर्सिडिज बेन्ज भनेको हो ।’

युट्युबमा ‘दि स्टोरीटेलर’ शीर्षकमा नेपालमा ‘वातावरण’ शब्द परिभाषित गर्ने पहिलो व्यक्तिका रूपमा चित्रण गरिएको सूर्यमान शाक्य सम्बन्धित एक सामग्री छ । २०७७ साल वैशाख अन्तिमसम्ममा २७ हजार दर्शकले यो सामग्री हेरिसकेको तथ्यांक सूचकले देखाएको छ ।

सूर्यमानको प्रस्तुतिले यस्तो उल्लेखनीय लोकप्रियता हासिल गर्नुमा उनको मौलिक शैली मुख्य हो । त्यो भीडीओ सामग्रीमा सूर्यमान दर्शक दीर्घाका दुई जना सहभागीलाई स्वयंसेवकका रूपमा मन्चमा बोलाउँछन् । उनीहरु मन्चमा प्रवेश गर्नासाथ दर्शकको ध्यान सुर्यमानतिर केन्द्रित हुन्छ । अबसूर्यमान भन्छन्–

‘तपाईंहरु मेरो बडीगार्ड । मैले बोलेको राम्रो भएन भनेर दर्शकले गोलभेँडा फ्याँके भने समात्ने जिम्मा तपाईंहरुको ।’

त्यतिन्जेल लगभग चकमन्नको स्थितिमा रहेको वातावरणमा एकाएक हाँसोको फोहोरा सिर्जना हुन्छ ।

स्वयंसेवकहरुलाई सूर्यमान एकएक वटा पुराना शब्दकोश दिन्छन् र तिनमा ‘वातावरण’ शब्द खोज्न आदेश दिन्छन् । एउटा शब्दकोशमा त्यो शब्द नै भेटिँदैन । अर्कोमा शब्द त भेटिन्छ तर त्यसमा अहिलेको कालखण्डले बोकेको ‘वातावरण’ शब्दको अर्थ लेखिएको हुँदैन । त्यसपछि माहौल तताउँदै उनी आफ्नो शैक्षिक उपाधि र तत्कालीन श्रमबजारको यसरी व्याख्या गर्छन्–

‘शब्दकोशमा वातावरण शब्दको अर्थ छैन । म वातावरण इन्जिनियरिङको स्नातकोत्तर तहको उपाधि बोकेर उभिएको छु । तपाईंहरु अनुमान गर्न सक्नुहुन्छ त्यस वेला म कति हतोत्साही भएँ हुँला ?’

दर्शकको ताली र हाँसोको आयतनले सभाकक्ष भरिएर छताछुल्ल हुन्छ । यसरी प्रस्तुतिमा मूल्य थपिन्छ । सहभागीहरु मन्त्रमुग्ध मात्र हुँदैनन्, उनीहरुले वातावरण इन्जिनियरिङ कान्छो विधा भएको जानकारी पाउनुका साथै यसलाई मूलधारमा ल्याउन गर्नुपरेको अथक मिहिनेतको बारेमा पनि सटीक जानकारी प्राप्त गर्छन् ।

सूर्यमान प्रत्युत्पन्न बुद्धिका खानी नै थिए । स्वदेशी होओस् कि विदेशी, शिक्षक होओस् या पत्रकार, विमानस्थलमा टिकट जाँच गर्ने कर्मचारी होओस् कि अध्यागमनमा हतियार बोकेर बसेको कमान्डो, पहिलो पटक भेट भएको होओस् या पुरानो घनिष्ट, उनी ती पात्रहरुसँग केही न केही संवाद गर्थे र हँसाएरै छोड्थे ।

उनी रोटरी क्लब अफ पाटन साउथका पूर्वअध्यक्ष थिए । क्लबको डिस्ट्रिक्ट ३२९२ लाई असिस्टेन्ट गभर्नरको पदमा बसेर सेवा गरेका थिए । क्लबकी पूर्वगभर्नर जया शाहको नेतृत्वमा सन् २०१७ मा नेपालका १७० जना रोटरी पदाधिकारीहरु भुवनेश्वर पुगेका थिए । त्यहाँ उनीहरुको सम्मेलन भएको थियो । सूर्यमान पनि त्यो टोलीमा थिए ।

सम्मेलनका केही सत्र नेपाली प्रतिनिधिहरुका लागि मात्र आयोजना गरिएका थिए । एकजना भारतीय स्रोतव्यक्तिले एउटा सत्रमा भित्ताको स्लाइडमा एक सिने कलाकारको तस्विर देखाए । तालिम कक्षमा उपस्थित १५ दर्जन सहभागीहरुलाई उनले सोधे–

‘तपाईंहरुमध्ये कसैले भन्नसक्नु हुन्छ, यो तस्विर कसको हो ?’

सभामा मौनता छायो । जवाफ दिन कोही पनि जुर्मुराएन । रोटरी क्लबमा व्यावसायिक घरानका नाम कहलिएका उद्यमीदेखि पेशागत र वृत्तिविकासको हिसाबमा समाजका अब्बल दर्जाका व्यक्तिहरुसम्मको उपस्थिति थियो । महिलाहरु पनि उल्लेख्य संख्यामा थिए । तस्विरमा देखाइएकी सुन्दरीलाई कसैले चिन्न सकेन अथवा चिने पनि उभिएर नाम भन्ने साहस गरेन ।

स्रोव्यक्तिले प्रश्न फेरि दोहोर्‍याए । फेरि सबै मौन बसे ।

सभामा बादल लागेको आकाशमा एकै साथ मेघ गर्जन र बिजुली चम्केको हिसाबमा गडगडाहट ताली र हाँसोको वर्षा भयो ।
सभाको मर्करी सामान्यतिर झर्न के लागेको थियो उनले फेरि थपे । ‘मेरो प्रस्ताव उनले मानेकी थिइन् तर उनका बाउले खलनायकको भूमिका खेले ।’

अन्त्यमा केही नलागेर स्रोव्यक्तिले ती सुन्दरीको हुलियाको एक अंश बताए । फेरि पनि मौनताको यथास्थितिमा परिवर्तन आएन । स्रोत व्यक्तिले अन्तिम जाल फ्याँके ।

‘म अन्तिम पटक यहाँहरुको ध्यानाकर्षण गर्दैछु । कसैले अन्दाज गर्नु होला यी नारी को हुन् ?’

अब भने रङ्गमन्चमा सूर्यमान उदाए । उनी जुरुक्क उठे, मुठ्ठे जुँगामा ताउ लगाए, अनुहारमा एक कृत्रिम आक्रोश सिर्जना गरे । उनको अनुहारमा सिर्जना भएको यस्तो कालो बादलले घनघोर वर्षा गराउँथ्यो भन्ने उनका अनुयायीहरु धेरैलाई थाहा छ ।

‘एक पटक प्रश्न फेरि दोहोर्‍याउनु होला ।’

सूर्यमानको कुराले श्रोता र वक्ता दुवैलाई गम्भीर बनायो । स्रोतव्यक्तिले प्रश्न दोहोर्‍याए ।

‘तपाईं चिन्ने कुरा गर्नुहुन्छ । मैले त तिनलाई प्रस्ताव राखेको थिएँ ।’

‘क्या बात ! सूर्यमान ! वाह ! क्या जवाफ !’

सभामा बादल लागेको आकाशमा एकै साथ मेघ गर्जन र बिजुली चम्केको हिसाबमा गडगडाहट ताली र हाँसोको वर्षा भयो ।
सभाको मर्करी सामान्यतिर झर्न के लागेको थियो उनले फेरि थपे ।

‘मेरो प्रस्ताव उनले मानेकी थिइन् तर उनका बाउले खलनायकको भूमिका खेले ।’

सभामा फेरि हाँसोको वर्षा भयो ।

तस्विरकी नायिका चर्चित बलिउड कलाकार सत्रुघन सिन्हाकी छोरी सोनाक्षी थिइन् । त्यस वेला उनी रोटरी सद्भावना दूत रहिछन् ।

शास्त्रमा गणेशजीलाई ठूलो महत्त्व दिइएको छ । सबैभन्दा धेरै रूप भएका देवता भनेर पनि गणेशजी मानिन्छन् । कमलादीको आसपास पुग्दा त्यहाँ रहेका सिद्धिविनायकलाई सूर्यमान जहिले पनि दाहिने परिक्रमा गरेर मात्र आफ्नो गन्तव्यमा गएको उनीसँग सहयात्रा गरेका धेरैले स्मरण गर्छन् ।

सूर्यमान सन् १९९२ को मोडेल मारुती कार चढ्थे । उनको कारको नम्बर ७७७७ थियो । उनको गाडी देखेका र चढेका अधिकांशमा यो नम्बरले छाप छोडेको छ । उनी आफ्नो सवारीसाधनलाई धेरै माया गर्थे । यसको मर्मतसम्भार बडो होशियारीसाथ गर्थे । आफ्नो गाडीको नाम ‘फर्सिडिज बेन्ज’ राखेका थिए ।

उनी हत्तपत्त ‘फर्सिडिज बेन्ज’ को राज भन्दैनथे । केही किनारका कुराले पृष्ठभूमि बनाएर मात्र यसको नामको अर्थ प्रष्ट्याउँथे । उनी गर्बका साथ सुनाउँथे–

‘फर्सीको मोलमा मर्सिडिजको मजा पाइन्छ । यसैले यो फर्सिडिज बेन्ज भनेको हो ।’

सूर्यमानको सौर्यको मान सर्वत्र छ । त्यो मानका साक्षी दोलखा र सिन्धुपाल्चोकका झोलुङ्गे पुल, गुहेश्वरीको फोहोरपानी प्रशोधन केन्द्र, सवारीसाधन प्रदूषण सम्बन्धमा नब्बेको दशकमा लागु भएका नीतिनियम, ओखरपौवा फोहोरमैला विसर्जन स्थल र स्किम्स कलेज आदि छन् ।

गणेशजी नेतृत्व कौशलको परिचायकको रूपमा पनि लिइन्छन् । उनका आँखा साना छन् । कान ठूला छन् र पेट पनि ठूलो छ । दूरदृष्टि, अरूका कुरा सुन्ने र आलोचनाको जस्तोसुकै विष पनि पचाउन सक्ने नै असल नेताका विशेषता हुन, जुन गणेशजीमा व्याप्त थिए । विधाताको कृपा हो– शास्त्रका गणेशजीमा पाइने धेरै विशेषताले सूर्यमान शाक्य पनि ओतप्रोत थिए ।

गणेशजीको हातमा लड्डु हुन्छ । मिष्टान्नहरुको वर्णक्रममा लड्डु शीर्ष स्थानमा राखिन्छ । अधिकांश सर्वसाधारणको प्रिय मिठाई हो लड्डु । गणेशजी नेतृत्वको प्रतीक भएकाले उनी विशिष्ट भोजन गर्थे भन्ने कुराको अन्दाज धेरैले गर्दछन् ।

मिष्टान्न र खानाका परिकारको सन्दर्भमा पनि सूर्यमान शाक्यसँग सङ्गत गरेका धेरै सहकर्मी र विद्यार्थीहरुले नौला ज्ञान आर्जन गरेका छन् । तारे होटलमा कार्यक्रम भएका वेला उनी विद्यार्थीहरुलाई कुन परिकार कसरी ग्रहण गर्ने भन्ने कुरा सिकाउँथे ।

फोहोरमैला व्यवस्थापनका अध्येता भएका कारणले पनि यो विषय महत्त्वपूर्ण थियो । जावलाखेलको ‘स्थानीय विकास प्रशिक्षण केन्द्र’ मा विद्यार्थीहरुलाई तालिम दिँदाको एक रोचक प्रसङ्ग छ । उनले विद्यार्थीहरुलाई ‘शून्य फोहोर’ अर्थात ‘जिरो वेस्ट’ का बारेमा पढाएका रहेछन् । एकदिन तालिमको सत्र सकिएपछि प्रशिक्षण केन्द्रको चमेनागृहका सञ्चालकले उनीसमक्ष उजुरी गरेछन् ।

‘भोलिदेखि म तपाईंका प्रशिक्षार्थीलाई खाना खुवाउन सक्दिनँ ।’

‘किन मेरा विद्यार्थीले के गरे र त्यस्तो ?’

‘तपाईंले शून्य फोहोर भनेर पढाउनुभएको रहेछ । तपाईंका विद्यार्थीले टेबुलमा राखेको मात्र होइन, भान्सामा पकाएको पनि सबै सिध्याए ।
सञ्चालक पनि रङ्गी स्वभावका रहेछन् ।

सूर्यमानले ‘शून्य फोहोर’ को ज्ञानबर्द्धक प्रसङ्ग धेरै जनालाई प्रसार गरेका छन् । उनी आफ्ना कक्षामा यस्ता विषयसँग जोडिएका र आफैँले सिर्जना गरेका सामग्री अनौपचारिक पाठ्यवस्तुका रूपमा प्रयोग गर्थे । फोहोरमैला व्यवस्थापनको कक्षा लिने अन्य स्रोतव्यक्तिले पनि सूर्यमानसरका यस्ता दृष्टान्त धेरै ठाउँमा सुनाएका छन् ।

सूर्यमान बडो स्वाद लिएर खान्थे । कुखुराको या खसीको मासुको झोल र धानको भात उनको प्रिय खाना थियो । मौका पर्नासाथ सडक किनाराका पसलको चियाको रसास्वादन गर्थे । तारे होटलको ब्रेकफास्ट लिने उनको आफ्नो शैली थियो । उनी भन्थे–

‘सयौँ परिकार भएका स्थानमा कुन लिने कुन नलिने भन्ने निर्णय गर्न बडो सकस पर्छ । यसकारण म सबैभन्दा पहिला ताजा जुस भएको कुनोमा जान्छु । त्यहाँ उभिएर पहिलो ग्लास जुस पिउँदा पिउँदै म आँखा घुमाउँछु । कति किसिमका परिकार छन्, पाउरोटी सेकाउने टोस्टर कहाँ छ, अण्डाको अम्लेट कहाँ बन्दैछ । दोस्रो ग्लास जुस पनि म उभिएरै पिउँछु र निर्णय लिन्छु– आज म आरम्भमा कुन कुन परिकार लिन्छु त भनेर ।’

यही मे ४ मा रोटरी क्लब अफ पाटन साउथमा भएको श्रद्धाञ्जलि सभामा विनीता शर्माले भावविह्वल हुँदै भनिन्–

‘सूर्यमान शाक्यलाई मैले सरको नाता लगाइनँ, दाइको नाता लगाएँ । मैले यो क्लबमा आएर एक प्रिय दाइ पाएकी थिएँ । मान्छे अजम्बरी हुँदैन । एक दिन सबै जानु छ । स्वर्गमा पनि पक्कै रोटरी क्लबको मिटिङ् हुन्छ होला । म प्रार्थाना गर्छु– हे प्रभु ! सूर्यमान दाइको धन्यवाद मन्तव्य म स्वर्गमा पनि सुन्न पाऊँ ।’

विनीतालाई मात्र होइन, अरू धेरैलाई यस्तो लागेको होला ।

सूर्यमानको सौर्यको मान सर्वत्र छ । त्यो मानका साक्षी दोलखा र सिन्धुपाल्चोकका झोलुङ्गे पुल, गुहेश्वरीको फोहोरपानी प्रशोधन केन्द्र, सवारीसाधन प्रदूषण सम्बन्धमा नब्बेको दशकमा लागु भएका नीतिनियम, ओखरपौवा फोहोरमैला विसर्जन स्थल र स्किम्स कलेज आदि छन् ।

फोहोरमैला व्यवस्थापनको चर्चित ‘नट इन माई ब्याकयार्ड’ अर्थात ‘निम्बी’ शब्दलाई सूर्यमानले ‘यिम्बी’ अर्थात ‘यस इन माई ब्याकयार्ड’ बनाइदिए । यस अर्थमा ‘यिम्बी’ पनि सूर्यको मानको साक्षी छ ।

सूर्यमानको मानका साक्षी तपाईं हामी सबै हौँ, उनी बाँचेको युग हो । वातावरण व्यवस्थापनको क्षेत्रमा र समग्र नेपालको द्रुत आर्थिक विकासका क्षेत्रमा सूर्यमानले चिताएका केही काम बाँकी भए ती पूरा गर्ने जिम्मा अब हाम्रो काँधमा आएको छ ।

हार्दिक श्रद्धाञ्जलि कहिल्यै नअस्ताउने सूर्यलाई !


भर्खर

0