राजधानीमा बढ्न थाले हत्या घटना : एक वर्षमा एकै प्रकृतिका तीन हत्या | Khabarhub Khabarhub

राजधानीमा बढ्न थाले हत्या घटना : एक वर्षमा एकै प्रकृतिका तीन हत्या

टोखामा श्रीमान श्रीमती नै मृत फेला



काठमाडौँ – एउटा शव खाटमा अनि अर्को झुण्डिएको अवस्थामा । शुक्रबार राति करिव ९ बजे प्रहरी पुग्दा काठमाडौँको टोखास्थित ग्राण्डी भिलामा श्रीमान–श्रीमतीको शव भेटियो ।

भिलामा शव भेटिएको खबर हुनासाथ प्रहरीको टोली पुग्दा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरीको शव भेटेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

डीएसपी विष्टले खबरहबसँग भने, ‘घटना कसरी घट्यो भन्ने नखुले पनि श्रीमान–श्रीमतीबीचको विवादले यो घटना निम्तिएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि हामीले घटनाबारे थप अनुसन्धान जारी राखेका छौँ ।’

प्रहरीका अनुसार उमेशको शीरमा चोटपटक देखिएको छ । घटनास्थल नजिकै रगत लागेको ढुँगा समेत प्रहरीले बरामद गरेको छ । डीएसपी विष्टले भने, ‘अहिले शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पठाएको छ । विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टबाट खुल्छ ।’

प्रहरीका अनुसार उमेश तीन महीना अघिमात्र अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्य्राण्डी भिलामा भाडामा बस्थे । उनका सहोदर दाजु हिमेश केसीका अनुसार उनी १४ पुसमा अमेरिका फर्कँने तयारीमा थिए । यसका लागि उनको टिकट समेत भइसकेको थियो ।

काठमाडौँ उपत्यकामा पछिल्लो एक वर्षमा मात्र झण्डै यस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । गत भदौ २६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको थियो ।

प्रहरीका अनुसार एकै घरका ३६ वर्षीय सुदिप अधिकारी उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा घरको छुट्टा–छुट्टै तलामा मृत अवस्थामा भेटिएका थिए । पछि प्रहरीको अनुसन्धानबाट सुदीपले श्रीमती र छोराको हत्या गरी आफू पनि विष सेवन गरेर आत्महत्या गरेको खुलेको थियो ।

त्यस्तै २०७६ माघमा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ललिपतुरस्थित उनकै निवासमा हत्या भएको थियो । हत्यापछि उनको शवसँगै घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

घरमा भएको सीसीक्यामेरा तथा अन्य प्रमाणको आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनै विजय चौधरीले मुनाको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

जानकारहरुका अनुसार भक्तपुरको घटना र अहिले टोखामा देखिएको घटना झण्डै उस्तै प्रकृतिका देखिएका छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले भने, ‘भक्तपुर, लतिलपुर र काठमाडौँको तीनवटै घटना एउटै प्रकृतिका देखिएका छन् । भक्तपुरको घटनामा एक जनाले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको खुलेको थियो भने ललितलपुरको घटना पनि उस्तै प्रकृतिको देखियो । पहिलो हत्या अनि आत्महत्या ।’

मल्लका अनुसार अहिलेको घटना पनि उस्तै प्रकृतिको देखिको छ । यद्यपि टोखाको घटना अनुसन्धानको चरणमै रहेकाले घटना कसरी भयो ? एकीन भन्ने अवस्था छैन ।

काठमाडौँ उपत्यकामा महीनामा ५ जनाको हत्या

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र महीनाका सरदर ४ देखि ५ जनाको हत्या हुने गरेको छ ।

तथ्याङ्क अनुसार साउनयता साढे तीन महीनामा काठमाडौँ उपत्यकामा २१ वटा हत्याका घटना भएका छन् । साउनमा ५ वटा, भदौमा ४ वटा, असोजमा ३ वटा, कात्तिक ४ वटा र मंसिरमा ५ वटा हत्याका घटना भए ।

यसअघि तीन आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा १४८ हत्याका घटना भएका थिए ।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ उपत्यकामा खुनडाका तथा कर्तव्य ज्यान गरी ५३ जनाको हत्या भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा यो संख्या बढेर ६० जना पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा भने ३५ वटा हत्याका घटना भएका थिए ।

प्रहरीका अनुसार घटनाको विश्लेषण गर्दा सामान्य विवादमै आफन्त र चिनजानकै व्यक्तिबाट हत्या हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘कतिपय घटना सामान्य विवादमै भएको देखिन्छ । अवैध यौन सम्बन्ध र त्यसलाई लुकाउने प्रयास, सामान्य लेनदेन, झैझगडा र तनावका कारण आवेगमा आएर हत्या हुने गरेको पाइएको छ ।’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार अपराधका घटना संख्याभन्दा पनि मनोविज्ञानसँग जोडिएको हुन्छ ।

‘आम नागरिकले कति सुरक्षित अनुभव गरे भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ मल्ल भन्छन्, ‘नेपालमा भन्दा अमेरिकामा हत्याको तथ्यांक धेरै छ, तर त्यहाँका जनाताले आफू सुरक्षित महसुस गर्छन् । नेपालमा एकजनाको हत्या हुँदा पनि आम नागरिकमा मनोवैज्ञानिक रुपमा ठूलो असर पर्छ ।’

मल्लका अनुसार समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ५९ बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत