अर्को कृति पनि छ कि पण्डितसर ! « Khabarhub
Logo
१ कार्तिक २०७८, सोमबार

अर्को कृति पनि छ कि पण्डितसर !



यसपालि विषय प्रसङ्गले तीन वटा किताब सरसर्ति पढ्ने मौका मिल्यो । पद्मकन्या क्याम्पसका प्राचार्य प्राध्यापक धनप्रसाद पण्डितकृत ‘विचारयात्रा, ‘जेल र जीवन’ र ‘यात्रा–कूटनीति’ मैले पण्डितसरकै हातबाट प्रेमपूर्वक प्राप्त गरेको थिएँ ।

व्यस्त जीवनमा समय निकाल्नु र कुनै साहित्यिक कृति धैर्य गरेर पढ्नु सजिलो काम कहाँ हो र ! एउटा वाक्यले अर्को वाक्य, एउटा अनुच्छेदले अर्को अनुच्छेद र एउटा पृष्ठले अर्को पृष्ठतिर तान्दै लग्यो भने नपढी सुख्खै छैन, किताबले आफैँ पढाउँछ । अभिव्यक्तिकलाका हिसाबले मेरा लागि यस्तै पुस्तक सबैभन्दा गतिलो हो, प्रभावकारी हो । त्यसको भाव, दर्शन र ज्ञान मेरा लागि दोस्रो प्राथमिकताको कुरा हो ।

मैले यस्ता केही कृति मेरा लेखक मित्रहरूलाई पढ्न सिफारिस गरेको छु । केहीलाई त किनेर उपहारमै पनि दिएको छु र भनेको छु– तिमी साँच्चै लेखक, साहित्यकार बन्न चाहन्छौँ भने यो किताब पढ ।

यो आलेखका पाठकका मनमा एउटा प्रश्न उठ्नु स्वाभाविक हुन्छ– त्यसो भए तिमीलाई एकपछि अर्को गरेर तान्दै लैजाने चिज चाहिँ के हो त ?

त्यो हो, अभिव्यक्तिको शैली ।

यहाँ म कुनै समीक्षा लेख्दै छैन । मैले आफ्नो परिवेशअनुकूल नेपाली साहित्यिक कृृतिहरू मनग्य पढेँ, पढ्दैछु तर कहिल्यै पनि समीक्षा लेखिनँ । समीक्षा लेख्ने औकात नै भएन, लेख्न आँटै आएन तर आफूले पढेका केही पुस्तकबारे मेरा अनुभूतिहरू लेखेको छु । केही पाठकले यसैलाई समीक्षा ठानेको पनि पाएको छु तर कुरा त्यसो थिएन ।

‘विचारयात्रा’ को अनलाइनप्रति पढेँ । प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ सालदेखि २०६२ सालसम्म विभिन्न साप्ताहिक र दैनिक पत्रिका तथा स्मारिकामा छापिएका लेखहरूको सँगालो रहेछ । कुल ३७ वटा लेख गनेको जस्तो लाग्छ; समसामयिक राजनीति, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा लगायतका क्षेत्रहरू समेटिएका रहेछन् । नेपाली कांग्रेस पार्टी र कांग्रेस सरकारको ह्वार्ह्वार्ती बस्ना आउने लेखहरूमा त्यही पार्टी र त्यसकै सरकारप्रतिको असन्तुष्टिको उच्छ्वास पनि छरपस्ट फेला पारेँ । गन्ध एउटै हो तर कतै बास्नाजस्तो त कतै दुर्गन्धजस्तो अनुभव हुने ।

त्यो कालखण्डका थुप्रै विस्मृतिहरूलाई स्मृतिमा ल्याइदियो ‘विचारयात्रा’ ले । यस अर्थमा पण्डितसरसँगको पहिलो भेट फलदायी भयो ।

‘यात्रा र कूटनीति’ भ्रमण अनुभवहरूको सँगालो रहेछ । भ्रमण गर्नु एउटा काम हो, भ्रमणलाई शब्दमा उतारेर पाठकका लागि पस्किनु अर्कै काम हो । यो काम सबैले गर्दैनन् । पण्डितसरले ‘यात्रा–कूटनीति’ मा गर्नुभयो ।

लुम्बिनीमा जन्मेका शान्तिका अग्रदूत गौतम बुद्ध एउटै हुन् तर तिनको अनुहार ठाउँठाउँमा किन फरक परेको होला ! यात्राले कति कुरा सिकाउँछ, त्यसको कुनै सीमा छैन । हामीले राजाका शालिकहरू भत्कायौँ, भत्काउन खोज्यौँ । अदालतले नरोकेको भए शहीद गेटबाट राजा त्रिभुवन एक दशकअघि नै अपल भइसकेका हुने थिए ।

कोरियामा राजतन्त्र समाप्त भएको सय वर्षपछि राष्ट्रपतिले राजाको शालिक अनावरण गरेछन् । यता नेपाली नेताहरूको बुद्धिमात्रै अनावरण भइदिए कति ठूलो काम हुने थियो ! त्यहाँका जस्ता सविधासम्पन्न चर्पी, उमेर समूहअनुसारका खेल्ने ठाउँ, चारैतिर चौडा बाटो, सरसफाइमा तल्लीन राष्ट्रसेवक !

यति सुविधाका लागि नेपालमा त तारे होटल धाउनुपर्छ । तारे होटलमा को पुग्छ, त्यो यहाँ भनिरहनु परोइन । हामीले त आशा गर्नेसम्म हो, चाँडै सबैका लागि हुन् सकोस् ।

चीन, दक्षिण कोरिया, मङ्गोलिया, जापान, अमेरिका लगायतका मुलुकहरूको भ्रमण अनुभवहरू गज्जबका छन्; कतै निकै तितो, कतै निकै मिठो त कतै सामान्य । पाठक आफू नपुगे पनि पुगेजस्तै, अनुभव नगरे पनि गरेजस्तै र नखाए पनि खाएजस्तै; यसकै लागि मैले माथि भनेको नि एकपछि अर्कोले तान्दै लैजानुपर्छ । नताने के पढ्नु ! आँखा झुपझुप हुन्छ ।

यस्ता यात्रा बृत्तान्तहरू धेरै हात पर्छन्, कुनै मेलोमारी पढिन्छन् त कुनै अङ्ग्रेजी भाषाले भन्ने गरेझैँ ‘स्किमथ्रु’ मात्रै गरिन्छन् । व्यापारी र उद्योगपतिका यात्रा, लेखकका यात्रा, नातिनातिना हुर्काउन जानेका यात्रा आदि इत्यादि हात पर्छन् । कति त किनेरै पनि पढेको छु । आफूले पढाउने विश्वविद्यालयको उन्नतिको र कुनै योगदान गर्न सकूँ भन्ने चाहना राख्ने एकजना प्राध्यापकको यात्रा विवरण ‘यात्रा–कूटनीति’ मेलोमारी पढेँ । मज्जा आयो । विकसित मुलुकको विश्वविद्यालय हेरेपछि हाम्रो एउटा प्राध्यापकको मन र मस्तिष्कमा के के उम्लिँदो रहेछ भन्ने पनि थाहा पाएँ । पण्डितसरका तालुकवालाहरूलाई पनि थाहै होला !

पण्डितसरको ‘जेल र जीवन’ तेस्रो कृति हो मैले पढेको । दैनिकी शैलीको यो लेखनमा जेलभित्रको चित्र नियाल्न पाउँदा झन मज्जा आयो । शीर्षक हेर्दा पण्डितसर जेल बसेको कुराजस्तो, भित्र पढ्दा समस्त कैदीको कथा !

कैदीको दिनचर्या, आचरण, जेलभित्रको व्यवस्थापन, खानपिन, गफगाफ, लफडा, मनोरञ्जन, अनपेक्षित भेटहरू, सुरक्षाकर्मी प्रहरीका तरिका आदि इत्यादि थाहा पाउन या त आफैँ जेल बस्नु पर्‍यो या जेल बसेका व्यक्तिले लेखेको पढ्नु पर्‍यो ।

भाग्यले भनूँ कि दुर्भाग्यले म जेल बस्नु परेको छैन । यस्तो अनाडीले पण्डितसरको ‘जेल र जीवन’ पढेर भरपूर लाभ हासिल गर्‍यो । पढ्दापढ्दै पण्डितसरलाई धन्यावद दिएँ । मलाई जबर्जस्ति तानेर पण्डित सरकहाँ पुर्‍याउने मेदिनी भण्डारीलाई पनि धन्यवाद दिएँ ।

पण्डितसरका लागि जीवन नै एक यात्रा हो । यही चिन्तनधारा भेटेँ ‘विचारयात्रा’ र ‘यात्रा–कूटनीति’ मा ।

पुनरुक्ति अलिक दिक्दारलाग्दो हुन्छ मेरा लागि । मैले इमान राखेर पण्डितसरलाई भन्नै पर्छ– पुनरुक्ति फेला फारेँ है सर ! अभिव्यक्तिमा मात्रै होइन, विधागतरूपमा पनि पुनरुक्तिको मिसमास पो छ त । कुन चाहिँ किताब पढ्दैछु हँ जस्तो हुने बेला बेला त ! कुरा यहाँ विधाको मापदण्ड र नियमको होइन, कुन किताब पढ्दैछु भन्ने अनिश्चितताको हो ।

पद सङ्गतिको मामिलामा त मलाई आफ्नो दृष्टि अलिक उग्र किसिमको लाग्छ । नहेर्दा पनि हुने ठाउँमा गएर आँखा टक्क अडिन्छ अनि पठनको ध्यान भङ्ग हुन्छ । अरूको के कुरा आफैँले लेखेको पनि भोलिपल्ट पढ्छु त ! के भन्नु ! दुई दिनअघि एउटा आलेख तयार गर्ने क्रममा ‘हँसिलो उज्ज्वलसरको मुहार…’ देखेछु, देख्नुपर्ने त ‘उज्ज्वलसरको हँसिलो मुहार…’ पो थियो ।

पण्डितसरले चाहिँ जेल बसेका बेला ‘…एउटा दाँत माझ्ने बुरुस’ किन्नुभएछ । ठान्नुभयो होला, अरू सबै दाँत दुखेको छ, नदुखेको एउटा दाँत माझ्नु पर्ला !

अस्पतालका स्वास्थ्यकर्मी पनि उस्तै ! दाँत दुखेर जाँदा ‘तीनचार किसिमका बिजुलीबाट चल्ने पाइपको सहायताले’ दाँत सफा गरिदिएछन् । हुन त आजकाल पनि हामी भारतले कोइलाबाट उत्पादन गरेको बिजुली चलाउँदैछौँ, हाम्रो जलविद्युत छँदैछ ।

एक दिन त सुन तस्करीको अभियोगमा ‘एक जना पास्कल नामको एउटा फ्रान्सेली मान्छे’ पनि जेलमा आएछ ।

‘हामी पनि नाच्नुपर्छ बीच्चबीचमा…’ भन्ने गीतझैँ नेपाली शब्दमै वा त्यसको अङ्ग्रेजी उच्चारण देवनागरी अक्षरमै लेखेको भए पनि हुने ठाउँमा अङ्ग्रेजी अक्षर किन नाच्न आएका होलान् भन्ने जिज्ञासा मनभरि उठेको छ । पण्डितसरसँग भेट हुँदा अवश्य सोध्नेछु ।

कतै कतै चाहिँ सानो कुराले पनि बिझाउने ! पाठकलाई आवश्यक नपर्ने कुराले । जस्तो कि ‘५:३० बजे इन्डो रेस्टुरेन्टमा डिनर खायौँ । त्यसपछि सुपर मार्केटमा पुग्यौँ, सामान किन्यौँ’ भन्ने कुरा त पाठकलाई किन चाहियो र ! ‘हातगोडा धोएँ र एकछिन आराम गरेर सुतेँ । उठेपछि डायरी लेख्न बसेँ’ जस्ता वाक्य पाठकलाई बोझमात्रै हो भन्ने ठान्छु ।

कहिलेकाहीँ त लेखकले पाठकका लागि लेख्ने कि आफ्ना लागि भनेर द्विविधामा पनि पो पर्छु ।

किन ढाँटूँ; अनलाइन भएकाले ‘विचारयात्रा’ मेलोमारी पढ्ने मेसो परेन । ‘स्किमथ्रु’ चाहिँ मज्जाले गरेँ । बाँकी दुई वटा चाहिँ मेलोमारी पढेँ । सुदूरपश्चिमको दुर्गम बझाङमा जन्मेका पण्डितसरका किताब पढ्नुको अर्को मजा त्यतातिरका स्थानीय शब्दहरू पढ्न पाउनुमा रहेछ तर त्यस्ता शब्द धित मर्ने गरी भेटिनँ, किन होला भने उहाँलाई पनि मानक नेपालीको हावाले छोएको हुनुपर्छ ।

अर्काको खोट देख्ने स्वभाव मानवीय प्रवृत्ति नै हो । म चाहिँ यसबाट पृथक हुने कुरै भएन ! दिक्क नमानीकन पढेँ । यो समय उपयोगी भयो । पण्डितसरलाई धन्यवाद । अर्को कृति पनि छ कि पण्डितसर !


भर्खर

0