टोकियो ओलम्पिक : अमेरिका नै विश्व खेल शक्ति | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : अमेरिका नै विश्व खेल शक्ति


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका कुनै पनि पुरुष एथलेटले ट्र्याकमा व्यक्तिगत स्वर्ण पदक जितेनन् । यो ओलम्पिक खेलकुदमै एउटा रेकर्ड हो । पदक तालिकामा धेरै दिन चीनको अग्रता कायम थियो । अमेरिकालाई चीनभन्दा अघि बढ्न अन्तिम दिनसम्म कुर्नु पर्‍यो । एथ्लेटिक्सको कमजोर प्रदर्शनले नै अमेरिका पछि परेको थियो ।

यस पटक टोकियो ओलम्पिक विगतको भन्दा धेरै अर्थमा फरक रह्यो । पहिलो पटक पाँच वर्षको अन्तर ओलम्पिक भएको थियो । कोरोना महामारीका कारण गत वर्षको नियमित समयमा नभएर यो वर्ष ओलम्पिक भयो ।

यो खेल नै जापानी नागरिकमा कतै महामारीले भयावह रूप लिने हो कि भन्ने चिन्ता थियो । ओलम्पिक खेल्न टोकियो पुगेका धेरै खेलाडीले कोरोना संक्रमणको कारण सहभागिताको अवसर गुमाए । यस ओलम्पिकको अर्को प्रमुख पाटो थियो यही थियो । पहिलो पटक दर्शकविहीन रङ्गशालामा खेल भयो ।

ट्र्याकमा अमेरिकी पुरुष खेलाडीको कमजोर प्रदर्शन यस ओलम्पिकको सबैभन्दा चर्चाको विषय बनेको छ । बोल्ट युगदेखि कम प्रभावी रहेको अमेरिकाको यस पटक प्रभावी देखिने अनुमान गरिएको थियो ।

ओलम्पिक शुरू हुनुभन्दा अघि पुरुषको सय देखि ८ सय मिटरसम्म वर्षको उत्कृष्ट समय अमेरिकी खेलाडीको नाममा थियो । अझ सयदेखि ४ सय मिटर सयसम्म त उत्कृष्ट खेलाडीको होडमा उनीहरूकै प्रतिस्पर्धा थियो ।

परिणाममा भने अर्कै देखियो । सय मिटरमा रजत, २ सय मिटरमा रजत र कास्य जितेको अमेरिकाले ४ सय मिटरमा त पदक नै जित्न सकेन ।

यसै ओलम्पिकमा इटालीले गरेको प्रदर्शन इतिहासमा सम्झन लायक रहने छ । सय मिटर र चार गुणा सय मिटर रिलेमा इटालीले स्वर्ण पदक जित्ने कुरा धेरैको कल्पना बाहिरको थियो ।

महिलाको सय मिटरमा जमैकाकी एलेन थोम्सन हेराथले स्वर्ण पदक जित्नु त सामान्य थियो । पुरुषमा इटालीका मार्सेल ज्याकोब्सको स्वर्ण पदक त यो ओलम्पिक अघि कसैको पनि कल्पनामा थिएन । यो वर्ष सबैभन्दा छिटो समयमा दौड पूरा गरेका ट्राभेन ब्रोमेल फाइनल प्रवेश गर्न नै असफल रहनु धेरेका लागि आश्चर्यको कुरा भयो ।

महिला जिम्न्यास्टिकमा अमेरिकाले ५ या ६ स्वर्ण पदक जित्ने लक्ष्य राखेको थियो तर २ स्वर्णमा सीमित भयो । टिम अलराउन्डमा अमेरिकी टोलीको हार त कल्पना गरिएकै थिएन । सिमोन वाइल्सले मेन्टल हेल्थ इस्युको कारण खेलमात्र त्यागिनन्, रुसी ओलम्पिक कमिटीको टोलीले अपेक्षा गरिएभन्दा धेरै माथिल्लो तहको प्रदर्शन गरेपछि अमेरिका रजत पदकमा सीमित भएको थियो ।

हमोङ अमेरिकी समूहकी सुनी लीले यस ओलम्पिकमा स्वर्ण, रजत र कास्य पदक जितिन् । अलराउन्डमा उनले जितेको स्वर्ण मात्र होइन, एथ्लेटिक्समै सुडानी आप्रवासी आमाबाबुकी छोरी एथिङ मुले जितेको स्वर्णको भिन्न महत्व रहेको छ ।

पुरुष ४ सय मिटर हर्डल्समा नर्वेका कास्टर्न ओभरहोल्म र अमेरिकाका बेन्जामिन राईको स्पर्धा इतिहासकै सम्झन लायक रहेको छ । महिलातर्फ दुई अमेरिकी सिड्नी म्याकगलन र डालिया मुहमुदको प्रतिस्पर्धा पनि बेजोड रहेको थियो । शायद यी दुई नै रेस अफ द टोकियो ओलम्पिकको रूपमा रहनेछन् । यी हर्डल्समा वोभरहोलभ र म्याकगलनले जित हात पारे ।

चार गुण ४ सय मिटर रिलेमा स्वर्ण तथा व्यक्तिगत कास्य पदक जित्दै ३६ वर्षीय अमेरिकी एलिसन फेलिक्सले कार्ल लुइसलाई पछि पार्दै ओलम्पिकमा सबैभन्दा धेरै, ११ पदक, जित्ने अमेरिकी धावकको कीर्तिमान कायम गरिन् ।

अमेरिकी पौडीबाज केलेब ड्रेसेलले यस ओलम्पिकमा पाँच स्वर्ण पदक जिते । उनले जितेको पाँच स्वर्ण पदकमा दुई विश्व कीर्तिमानसमेत समावेश रहेको थियो । सय मिटर फ्रिस्टाइलमा आफ्नो नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै उनले नयाँ विश्व कीर्तिमान कायम गरे भने पुरुष मेड्ली रिलेमा अमेरिकाले २००८ मा फ्लेप्स युगको विश्व कीर्तिमान भङ्ग गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेको हो ।

यस पटक पाँच स्वर्ण पदक जित्ने ड्रेसेललाई यो उत्कृष्ट स्वरूप दिने गाटर्स स्वीम क्लब पूर्ण रूपमा सफल रह्यो । अमेरिका विगतको भन्दा कमजोर देखिएको पौडीको स्पर्धाका गाटर्सका तीन खेलाडीले भने उत्कृष्ट प्रदर्शन गरे ।

रोबर्ट फीन्केले ८ सय र १५ सय मिटरमा स्वर्ण पदक जिते । आठ सय मिटर पहिलो पटक समावेश स्पर्धा थियो भने १५ सय मिटरमा अमेरिकाले १९८४ पछि स्वर्ण पदक जितेको हो । यसै गाटर्सका करेन स्मिथले ४ सय मिटरमा कास्य पदक जिते ।

स्केट बोर्डिङमा १२ वर्षे जापानीहरूको पदक यो ओलम्पिकको अर्को कीर्तिमान बनेको छ ।

पहिलो पटक जापान पदक तालिकामा तेस्रो स्थानमा रहन सफल भयो । परम्परागत खेल जुडोको पकड र आफ्ना अनुकूल केही खेल समावेश गरेका कारण जापानलाई यो सफलता पाउन सहज भएको थियो । चीनको हकमा लन्डन र रियो ओलम्पिक भन्दा स्वर्ण पदक सङ्ख्यामा केही वृद्धि गरेको देखियो ।

पौडीमा झाग युझीको उदयसहित चीनले तीन स्वर्ण पदक जितेको थियो । यसमा ४ गुणा २ सय मिटरको रिलेको स्वर्ण महत्वपूर्ण मानियो । चीनसहित, अमेरिका र अस्ट्रेलिया तीन वटै टोलीले पुरानो विश्व कीर्तिमान भन्दा कम समयमा दूरी तय गरे पनि यो स्वर्ण पदकसहित नयाँ विश्व कीर्तिमान पनि चीनकै नाममा रहेको छ ।

यसपटक उत्तर कोरियाको अनुपस्थितिले चीनलाई भरपूर फाइदासमेत भएको छ । उत्तर कोरियाको अनुपस्थितिमा चिनियाँ टोलीले भारोत्तोलनमा एक पक्षीय फाइदा लिएको थियो । चीनको एकल पकड रहेको टेबल टेनिसमा एक स्वर्ण पदक गुमायो । साथमा अन्य टोलीले प्रतिस्पर्धा गर्न सक्ने सम्भावना पनि देखिएको छ ।

लामो समयको कोरोना महामारी, लकडाउन, निराशा पछिको एकै पटकका प्रतियोगिता । यसकारण धेरेमा मानसिक रूपमा आफूलाई तयार गर्न पनि कठिन देखिएको थियो ।

यो एक वर्षको अन्तरालमा अस्ट्रेलियाका दिदी बहिनी केलि म्याककोन र अम्मा म्याककोनले अर्को सनसनी फैलाए । यो एक वर्षमा आफूलाई यी दिदी बहिनीले पूर्ण तयार गर्दै अधिकतम सफलता पाए ।

बहिनी केलिले ब्याकस्ट्रोकको सय र २ सय मिटर मिटरमा स्वर्ण पदक जितिन् । दिदी अम्माले ओलम्पिक कीर्तिमान सहित ५० र सय मिटरको फ्री स्टाइल उपाधि साथमा चार गुण सय रिलेमा विश्व कीर्तिमान सहित स्वर्ण, सय मिटर बटरफ्लाइमा कास्य र ४ गुणा २ सय मिटरमा कास्य जितिन् ।

महिला मेड्ली रिलेको स्वर्ण विजेता टोलीमा यी दिदी बहिनी नै समावेश थिए । एक वर्ष अघि स्टार हुने अपेक्षा गरिएकी अमेरिकी पौडी वाज रेगन स्मिथले भने यसबीचमा लय गुमाइन् । यस पटक उनले कुनै पनि स्वर्ण पदक जित्न सकिनन् ।

थुप्रै सफलता र अप्रत्याशित परिणामसहित सकिएको टोकियो ओलम्पिकसँगै थुप्रै अनपेक्षित परिणाम र प्रतिकूल समयका बाबजुद अमेरिका नै खेलकुदको मुख्य शक्ति हो भन्ने पुष्टि गरेको छ ।

एक वर्षअघि निर्धारित ओलम्पिक खेल कोरोना महामारीको कारण एक वर्ष पछि सरेर सम्पन्न भएको छ । आइतबार अपराह्न समापन सामारोह आयोजना गरिएको थियो । दर्शकको प्रवेश रोकेर, खेलाडी ‘ओलम्पिक भिलेज’ बाहिर जान नदिई खेलहरू खेलाइएका थिए ।  –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : २५ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज