कांग्रेसको साढे ५ वर्ष : देशको गौरव न पार्टीको ! « Khabarhub
Logo
८ असार २०७८, मंगलबार

कांग्रेसको साढे ५ वर्ष : देशको गौरव न पार्टीको !



विगत ७० वर्षको राजनीतिक इतिहासले स्पष्ट गरेको छ, नेपाली कांग्रेसको सभापति बन्नु भनेको राजनेता बन्ने अवसरको ढोका खुल्नु हो । जनअधिकार प्राप्तिका लागि नेपाली कांग्रेसले जे जति संघर्ष गरेको छ, त्यति संघर्ष नेपालका अन्य कुनै पार्टीले गरेका छैनन् ।

१९९७ सालमा स्थापित नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजापरिषदको निरन्तरताका रूपमा २००३ सालमा नेपाली कांग्रेस गठन भएको थियो । जेलमा रहेका प्रजापरिषदका सभापति टंकप्रसाद आचार्यलाई सभापति (मानार्थ) र वीपी कोइरालालाई कार्यबहाक सभापति बनाएर राष्ट्रिय कांग्रेस गठन गरिएको थियो ।

२००५ सालमा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकीकरणपछि नेपाली कांग्रेस नामकरण गरिएको हो । गणेशमान सिंह, खड्गमान सिंह लगायत प्रजापरिषदका सबैजसो नेता नेपाली कांग्रेसमा सामेल भएका थिए । नेपाली कांग्रेसको इतिहास २००३ सालमा होइन, १९९७ सालमै शुरू भएको मान्नुपर्ने धारणा लौहपुरुष गणेशमान सिंह कुनै बेला राखेका पनि थिए । टंकप्रसाद आचार्य पञ्चायतमा प्रवेश गरेपछि नेपाली कांग्रेसका नेताहरूले प्रजापरिषदको निरन्तरता कायम राख्ने चासो देखाएनन् ।

प्रजातन्त्र कांग्रेससँग एकीकरण नचाहने समूहले डा. डिल्लीरमण रेग्मीको नेतृत्वमा राष्ट्रिय कांग्रेसलाई निरन्तरता दियो । पुष्पलाल श्रेष्ठलगायत राष्ट्रिय कांग्रेसबाट केही नेताहरू फुटेर २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी गठन गरे । यस अर्थमा नेपाल कम्युनिष्ट पार्टीलाई राष्ट्रिय कांग्रेसकै सहउत्पादनका रूपमा लिन सकिन्छ ।

यो कम्युनिष्ट पार्टीले अविछिन्न निरन्तरता पाउन सकेन । कुनै बेला आफूलाई आधिकारिक कम्युनिष्ट पार्टी दाबी गर्ने सङ्गठनहरूको संख्या तीन दर्जनसम्म पुग्यो । अहिले पनि करिब एक दर्जन छन् जो आफूलाई २००६ सालदेखिको आधिकारिक नेपाल कम्युनिष्ट पार्टी दाबी गर्छन् ।

अब बाँकी अवधिमा महाधिवेशन हुन नसके वा अध्यादेश ल्याएर संविधान संशोधन नगरिए नेपाली कांग्रेसको अविछिन्नता टुट्नेछ । यस्तो कलंको टीको आफ्नो निधारमा लाग्न कुनै पनि हालतमा नदिने प्रतिबद्धता सभापति देउवाले व्यक्त गर्दै आएका छन् ।

नेपाली कांग्रेस भने अहिलेसम्म अविछिन्नरूपमा अघि बढेको छ । स्थापनाकालदेखि २०१७ सालसम्मको १४ वर्षमा कांग्रेसले ७ वटा महाधिवेशन र राष्ट्रिय सम्मेलन गर्‍यो । २०१७ सालको ‘कु’ पछि पनि दरबारको धेरै ठूलो षड्यन्त्रका बाबजुद कांग्रेसले आफ्नो अविछिन्नता टुट्न दिएन । वेलावेला निर्वासनमा र स्वदेशमै पनि भूमिगतरूपमा राष्ट्रिय सम्मेलन गरिरह्यो ।

१९९७ सालदेखि गणना गर्दा ८१ वर्ष, २००३ सालदेखि ७५ वर्ष, २००५ सालदेखि ७३ वर्ष नेपाली कांग्रेसले निरन्तरता पाएको छ । विधिविधानको लिकबाट कति पनि नचिप्लिई कांग्रेसले अहिलेसम्म १३ वटा महाधिवेशन सम्पन्न गरेको छ । चौधौँ महाधिवेशनको संघारमा आइपुग्दा भने कांग्रेस आफ्नो विधिविधानबाट चिप्लिसकेको छ । विधिविधान हेर्ने हो भने आफ्नो अविछिन्नताको गौरवशाली इतिहास नेपाली कांग्रेसले टुटाइसकेको छ ।

अब मुलुकको संविधानले दिएको म्याद आगामी भदौ २३ को प्रतिक्षामा नेपाली कांग्रेस छ । त्यतिबेलासम्म पनि महाधिवेशन सम्पन्न गर्न सकेन भने कांग्रेसको अविछिन्नताको इतिहास खण्डित हुनेछ । नयाँ पार्टीका रूपमा दर्ता गरेर फेरि अंक एकदेखि नेपाली कांग्रेसको इतिहास गणना हुनेछ । यस्तो अवस्था आउनु कांग्रेसका लागि धेरै ठूलो दुर्घटना मानिनेछ ।

पार्टी हाँक्ने जिम्मेवारीमा रहेका सभापति शेरबहादुर देउवाका लागि त धेरै ठूलो कलंक सावित हुनेछ ।

विधानले दिएको सामान्य अवधिमा त नेपाली कांग्रेसले चौधौँ महाधिवेशन सम्पन्न गर्न सकेन सकेन, काबु बाहिरको आपतकालीन परिस्थिति भन्दै थप गरिएको एक वर्षमा पनि गर्न सकेन । अब संविधानले दिएको अवधि पनि आगामी भदौ २३ गतेसम्मका लागि मात्रै हो ।

अब बाँकी अवधिमा महाधिवेशन हुन नसके वा अध्यादेश ल्याएर संविधान संशोधन नगरिए नेपाली कांग्रेसको अविछिन्नता टुट्नेछ । यस्तो कलंको टीको आफ्नो निधारमा लाग्न कुनै पनि हालतमा नदिने प्रतिबद्धता सभापति देउवाले व्यक्त गर्दै आएका छन् ।

७५ वर्षको इतिहासमा नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा सबैभन्दा कमजोर र भूमिकाशून्य भएको कार्यकाल देउवाकै हो । राजनेता बन्ने अवसरको सदुपयोग गर्न देउवाले सकेनन् ।

जुन बेला महाधिवेशनका लागि अत्यन्त अनुकूल अवस्था थियो, त्यो बेला देउवाले चासो देखाएनन्, उल्टै ‘काबु बाहिरको अपातकालीन परिस्थिति उत्पन्न भएकोले महाधिवेशन गर्न नसकिने’ भन्दै एक वर्ष म्याद थप गरे ।

महाधिवेशन हुनुपर्ने थियो २०७६ फागुनभित्र । त्यति वेला महाधिवेशन गर्न नसकिने गरी काबु बाहिरको परिस्थिति थिएन । बरु इतिहासमै सबैभन्दा सहज परिस्थिति थियो । पार्टी प्रतिपक्षमा थियो । पार्टीको सङ्गठन विस्तार बाहेक अरू काममा धेरै ध्यान दिनुपर्ने आवश्यकता थिएन ।

त्यति सहज अवस्थालाई ‘काबु बाहिरको आपतकालीन परिस्थिति’ भनेर गलत व्याख्या गर्दै देउवाले एक वर्ष कार्यकाल थपे । त्यसपछि भने कोरोना महामारीका कारण साँच्चै काबुबाहिरको परिस्थिति उत्पन्न भयो । त्यतिमात्रै होइन, सत्तारूढ नेकपा छिन्नभिन्न भई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको गोल हान्न थालेपछि कांग्रेसमाथि राष्ट्रिय राजनीतिमा थप भूमिका निर्वाह गर्नुपर्ने बाध्यता समेत आइपर्‍यो ।

अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गो लागेको छैन । यस्तो अवस्थामा आगामी भदौ २३ भित्र महाधिवेशन हुने सम्भावना लगभग छैन । सभापति देउवा कलंकको टीका लगाउँदिनँ भनिरहेका छन् । अध्यादेशबाट संविधान संशोधन गरेर कांग्रेसको मृत्यु जोगाउन सकिनेमा देउवा ढुक्क भएका हुन् कि भन्ने अनुमान पनि हुन थालेको छ । मागअनुसार सर्वोच्च अदालतले फैसला गरिदियो भने देउवा प्रधानमन्त्री हुनेछन् । आफैँ प्रधानमन्त्री भइसकेपछि अध्यादेशद्वारा म्याद थप्न देउवालाई कठिन हुनेछैन ।

ओलीले नै निरन्तरता पाए भने कांग्रेसको संकटको गाँठो फुकाइदेलान् त भन्ने चासो धेरैको छ । करिब दुई महीनाअघि बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूलाई यो आश्वसन दिँदै ढुक्क हुन आग्रह गरेका थिए । त्यति बेलासम्म ओली र देउवाबीच राम्रो सम्बन्ध थियो तर पछिल्लो घटनाक्रमले सम्बन्ध चिसिएको अनुमान गरिएको छ ।

नेपाली कांग्रेसको इतिहासमा महाधिवेशन समेत गराउन नसक्ने सभापतिका रूपमा आफ्नो नाम दर्ता नहोस् भन्नेतर्फ देउवा समयमै सचेत हुनुपर्थ्यो । विगतबाट पाठ सिक्नुपर्थ्यो। विगतमा नेवि संघको अध्यक्ष हुँदा देउवाले यस्तै कलंकको टीको लगाएका थिए ।

सातौँ सभापति देउवाले न कुनै ऐतिहासक काम गरेर कांग्रेसको साख वृद्धि गर्न सके न कांग्रेसको आन्तरिक लोकतन्त्र संस्थागत गर्न सके ।

२०२९ सालमा नेवि संघको अध्यक्ष भएका देउवाले २०३१ सालमा अधिवेशन गराइसक्नु पर्ने थियो तर २०३६ सालसम्म पनि नगराएपछि कांग्रेसले हस्तक्षेप गरेर बलबहादुर केसीलाई कार्यबहाक अध्यक्ष बनायो । केसीले ९ महिनाभित्रै तेस्रो अधिवेशन गराए ।

नेवि संघको अध्यक्ष रहँदा कलंकको टिको लगाउनुपरे पनि कांग्रेसको राजनीतिमा भने देउवा व्यक्तिगतरूपमा सफल भएका थिए । नेवि संघबाट पहिलो प्रधानमन्त्री र पहिलो पार्टी सभापतिको इतिहास देउवाले रचेका हुन् तर प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा उनले कांग्रेसको इतिहासमा गौरव थप्न सकेनन् । उल्टो उनकै कारण कतिपय मामिलामा कांग्रेसले कलंक बेहोनुपर्‍यो । पार्टी सभापतिका रूपमा देउवाले कांग्रेसको अविछिन्नता टुटाइदिन लागेका छन् ।

कांग्रेसका संस्थापक सभापति बीपी कोइराला राजनीतिक दर्शन दिएर ऐतिहासिक बनेका छन् । दोस्रो सभापति मातृकाप्रसाद कोइराला २००७ सालको जनक्रान्तिको कमाण्डरका रूपमा अमर छन् । तेस्रा सभापति सुवर्णशमशेर राणा कांग्रेसलाई समाजवादी बाटोमा लैजाने र मुलुकमा विर्ता तथा जमिनदारी प्रथा उन्मूलन गर्ने राजनेताका रूपमा अमर छन् ।

चौथो सभापति कृष्णप्रसाद भट्टराई पञ्चायत फलेर २०४७ सालको संविधान ल्याउने राजनेताका रूपमा अमर छन् । पाँचौँ सभापति गिरिजाप्रसाद कोइराला २४० वर्षको निरंकुश राजतन्त्र फाल्ने अभियानको नेतृत्व गरेर अमर छन् । छैठौँ सभापति सुशील कोइराला नेपालको इतिहासमै पहिलो पटक जनताको संविधान जारी गर्न सफल, निर्लोभी, त्यागी र निष्कलंक नेताका रूपमा इतिहासमा अमर भएका छन् ।

सातौँ सभापति देउवाले न कुनै ऐतिहासक काम गरेर कांग्रेसको साख वृद्धि गर्न सके न कांग्रेसको आन्तरिक लोकतन्त्र संस्थागत गर्न सके । ७५ वर्षको इतिहासमा नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा सबैभन्दा कमजोर र भूमिकाशून्य भएको कार्यकाल देउवाकै हो । राजनेता बन्ने अवसरको सदुपयोग गर्न देउवाले सकेनन् ।


भर्खर

0