कोरोनाको मार : किसानलाई ऋणमाथि ऋणको भार | Khabarhub Khabarhub

कोरोनाको मार : किसानलाई ऋणमाथि ऋणको भार



झापा– किसानहरू लगातारको निषेधाज्ञाका कारण कृषि उपजले बजार नपाउँदा ऋणको भार थपिने चिन्तामा पर्न थालेका छन्।

बजार सहज नभएपछि वर्षे धान, मकै र तरकारी बिक्न सकेको छैन । व्यावसायिक किसानले उत्पादन गरेको दूध पनि खेर गइरहेको छ । बैंक र सहकारी संस्थाहरूबाट ऋण लिएर गरेको खेतीको उत्पादनले नपाउँदा ऋणमाथि ऋण थपिने चिन्ता कृषकहरूलाई छ ।

धानमा लागत उठाउनै मुश्किल

धान उत्पादनको सुपरजोन समेत रहेको झापामा बहुसंख्यक किसानले वर्षे धान समेत गरेका छन् । वर्षे धान किसानको ‘नगदेबाली’ बालीको रूपमा विकास भइरहेको छ । तर लागत अनुसारको मूल्य नपाएपछि फलेको धान पनि ‘निल्नु न ओकल्नु’ भएको छ ।

वर्षे धानमा पानीको मात्र बढी हुने भएकाले नसुकाई लामो समय भण्डारण गर्न मिल्दैन । वर्षा याममा झरी परिरहने हुँदा घामका भरमा सुकाउन पनि सम्भव हुँदैन । कमल–६ का किसान खेमप्रसाद आचार्यले भन्छन्, ‘ऋण लिएर मल र बिउमा लगानी गरियो, अहिले धान फलेपछि बिक्ने अवस्था छैन । भण्डार गरेर राखौँ कुहिने डर, बिक्री गरौँ पशु आहारा भन्दा सस्तो दाम ।’

यस्तै गुनासो छ, दमक–१० का किसान नगेन्द्र न्यौपानेको पनि । उनी भन्छन्, ‘पशुलाई खुवाउने चोकर र दाना प्रतिकेजी ५० रुपैयाँ पर्छ, हामीले फलाएको धानले २० रुपैयाँ पनि पाउँदैन । यस्तो खेतीले किसानलाई झन गरिब बनाउन र ऋण बोकाउन बाहेक के गर्न सक्छ र !’

हाल उत्पादित धानको मुख्य प्रतिक्विन्टल १ हजार ७५० रुपैयाँ हाराहारी अर्थात प्रतिकेजी साढे १७ रुपैयाँ छ । किसानसँग वर्षे धान सुकाउने प्रविधि नभएका कारण जति मूल्य पाए पनि बेच्नै पर्ने बाध्यता छ ।

अहिले चैते धान थन्क्याउन र हिउँदे धानको बिउ राख्न धमाधम छ ।

मकैको पनि भाउ छैन

मकै जोनको रूपमा विस्तार हुँदै गएको झापाका किसानहरूको आम्दानीको अर्को स्रोत मकै खेती हो । जिल्लाका अधिकांश स्थानीय तहमा किसानहरूले व्यावसायिकरूपमा मकै खेती गर्ने गरेका छन् ।

स्थानीय सरकारहरूले समेत कृषि क्षेत्रमा लाग्न विभिन्न कार्यक्रम ल्याएसँगै व्यावसायिक खेती गर्नेको संख्या बढ्दो क्रमा छ । बजार व्यवस्थापन हुन नसक्दा खेतीको क्षेत्रफल विस्तार भए पनि फाइदा लिन नसकेको किसानहरूको गुनासो छ ।

निषेधाज्ञा शुरू हुनुअघि किसानले मकै बिक्रीबाट प्रतिकेजी २४ रुपैयाँ पाएका थिए । अहिले प्रतिकेजी १९ रुपैयाँमा झरेको किसानहरूको भनाइ छ । जिल्लाका गौरादह, कनकाई, कचनकवल, बाह्रदशी, झापा लगायतका स्थानीय तहमा मकै पकेट र जोन विस्तार भएसँगै यी क्षेत्रमा मकै खेती हुने गरेको छ ।

खेतीको क्षेत्रफल बढे पनि किसानले पाउने लाभ नबढेको गौरादह–१ का किसान दिनेश थापाको भनाइ छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लाको करिब ४० हजार हेक्टरमा व्यावसायिक मकै खेती भएकोमा २ लाख ४० हजारा मेट्रिक टन मकै उत्पादन भएको अनुमान गरिएको छ ।

महँगो बिउ, कामदार र मलका लागि ऋण लगानी गरेका किसान घट्दो बजार मूल्यका कारण लागत उठाउन नसक्ने अवस्थामा छन् ।

खाडीमा च्याउ, बगरमा खरबुजा

निषेधाज्ञाका कारण बजार नपाएपछि व्यावसायिक च्याउले पनि बजार पाउन सकेन । सुकाउने प्रविधिको अभावका कारण उत्पादित च्याउ त्यसै नष्ट हुन थालेको किसानहरूको गुनासो छ ।

बजारमा लान नसकेको र लगातारको झरीका कारण सुकाउनका नपाएकाले च्याउ मल खाडीमा हाल्नु परेको गौरादहस्थित ‘सीता च्याउ उद्योग’ का नलबहादुर खड्काले बताए ।

तीन बिगाहा जमिन लिजमा लिएर व्यावसायिक खेती गर्दै आएका नलबहादुर दैनिक २ हजार केजीसम्म च्याउ उत्पादन गर्छन् ।

तराईको उच्च गर्मीका बेला अधिक माग हुने खरबुजाले समेत बजार पाउन सकेको छैन । मेचीनगर–७ का दीपक खत्रीले बजार नपाएकै कारण लाखौँको खरबुझा बगरमै कुहिएको बताए ।

चार लाख रुपैयाँ खर्च गरेर दुई बिगाहा क्षेत्रफलमा खरबुजा खेती गरेको तर निषेधाज्ञाका कारण बजार बन्द हुँदा लगानी समेत उठ्न कठिन भएको उनको गुनासो छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त