कोरोनाअघिका यी विनाशकारी महामारीहरू « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

कोरोनाअघिका यी विनाशकारी महामारीहरू



नवलपुर– पाल्पाका ७९ वर्षीय नरमणि रिजाल युवा वयमा २०१७ सालमा बुटवल झरेका थिए ।

साथीहरूसँग मिलेर नुन लिन बुटवल झरेका उनी केही साथीहरूसँगै मधेशमा बसेर गाईपालन गर्ने योजनामा लागे । एक जना साथी अचनाक ज्वरो आएर थलिए । औलो लागेर मर्नुभन्दा पहाड नै राम्रो भनेर नरमणि उतै फर्किए ।

मधेशमा मलेरियाको प्रकोप फैलिएको बेलाका संस्मरणहरू नरमणि र उनीजस्ता थुप्रै वृद्धवृद्धाहरूसँग छन् ।

अहिले पनि नेपालमा मलेरियाबाट मृत्यु हुने गरेको छ । २०१५ सालमा यूएसओआईडी (तत्कालीन यूएसओएम) को सहयोगमा नेपालमा मलेरिया नियन्त्रण परियोजना शुरू गरिएको थियो । औलो उन्मूलन गर्ने उद्देश्यले २०१९ सालमा राष्ट्रिय मलेरिया उन्मूलन कार्यक्रम शुरू गरियो । मलेरिया उन्मुलन कार्यक्रमको अवधारणा २०३५ सालमा नियन्त्रण कार्यक्रममा फर्कियो ।

२०५५ सालमा मलेरिया नियन्त्रण कार्यक्रमहरूको पुनर्निर्माणको लागि डब्ल्यूएचओको आह्वानपछि मलेरियाको प्रसारण नियन्त्रण गर्न रोल बैंक मलेरिया (आरबीएम) पहल शुरू गरिएको थियो ।

७० प्रतिशतभन्दा बढी जिम्मेवार रहेको भित्री–तराई क्षेत्र अझै पनि मलेरियाको जोखिममा रहेको सरकारी तथ्यांक छ । कुनै समय वार्षिक २० लाख मानिस औलो रोगबाट हुने गरेका थिए ।

क्युलेक्स जातको पोथी लाखमुट्टेको टोकाइबाट मलेरिया लाग्ने गर्दछ । तराईका जिल्लाहरूमा लामखुट्टेको टोकाइबाट बच्न सरकारले अहिले पनि औषधियुक्त झुल वितरण गर्ने गरेको छ ।

औलोअघि बिफरको महामारी

खासगरी तराई क्षेत्रमा औलो रोगको महामारी शुरू हुनुभन्दा पनि अघि नेपालमा बिफरको महामारी थियो ।

बिफरभन्दा पनि प्लेगले नेपालमा अझै ठूलो महामारीको रूप लिएको थियो । प्लेगले विश्वमै महामारी निम्त्याएको थियो । विभिन्न किसिमका प्लेगले विश्वमा करोडौँ मानिसको मृत्यु भएको थियो ।

बिफरबाट १७२९ सालमा भक्तपुरका राजा जगतप्रकाश मल्ल, १७३६ सालमा प्रताप मल्लकी छोरी र उनका छोराछोरी र १७६३ सालमा पाटनका राजा लोकप्रकाश मल्लको मृत्यु भएको थियो ।

बिफरबाट बाँचेका काठमाडौँका राजा भास्कर मल्लको १७७९ सालमा प्लेगबाट मृत्यु भएको थियो । आदिमकालदेखि नै नेपालमा विभिन्न रोगको महामारी देखिएको इतिहासकारहरू बताउँछन् ।

ठूलो महामारी प्लेग

विश्वमै सबैभन्दा बढी मानिसको ज्यान लिएको प्लेगले नेपालमा पनि सबैभन्दा ठूलो महामारीको रूप लिएको थियो । नेपालमा १७७२ सालमा चैतदेखि १७७९ साल भदौसम्म प्लेग देखिएको थियो । इतिहासकार महेशराज पन्तकाअनुसार साढे ६ वर्षको महामारीमा १८ हजार ७१४ जनाको मृत्यु भएको थियो ।

प्लेगकै कारण १७७९ सालमा काठमाडौँका राजा भास्कर मल्लको ज्यान गएको थियो । प्लेग लागेका राजा मल्ल अहिलेजस्तै क्वारेन्टिनमा राखिएका थिए ।

प्लेगले २८ करोडको मृत्यु

युरोप लगायत विभिन्न देशमा फैलिएको प्लेगले मात्रै विश्वमा २८ करोडभन्दा बढी मानिसको मृत्यु भयो ।

सन् १३४६ मा एशियाबाट शुरू भई युरोप लगायत संसारभर फैलिएको ब्यूबोनिक प्लेग (अर्थात कालो मृत्यु) बाट मात्रै विश्वमा २० करोडभन्दा बढी मानिसको मृत्यु भयो । यो रोगबाट युरोपमा मात्रै २ करोडको ज्यान गएको थियो ।

सन् ५४१ देखि सन् ५४२ को एक वर्षमा स्तानबुलबाट फैलिएको जस्टिनियम प्लेग एशिया, उत्तर अफ्रिका, अरेबिया र युरोपसम्म फैलिएको थियो । यो रोगबाट मात्रै त्यतिबेला ५ करोड मानिसको मृत्यु भएको भनिन्छ ।

रोमन साम्राज्य शक्तिशाली भएका बेला ‘पार्थिया’ सँगको युद्धबाट फर्किएका रोमन सैनिकहरूबाट यो महामारी रोमन साम्राज्यमा फैलिएको थियो ।

सन् १५११ मा फैलिएको अमेरिकन प्लेगको महामारीबाट १ करोड ८० लाख मानिसको मृत्यु भएको अनुमान थियो । युरोपेली अन्वेषकहरूबाट अमेरिकी महादेशमा फैलिएको यो महामारी सन् १५३२ सम्म कायम थियो ।

सन् १५४५ मा मेक्सिकोबाट शुरू भएको कोकोलिज्टली नामक प्लेगको महामारीबाट पनि संसारभर एक करोड ८० लाख मानिसको मृत्यु भएको थियो ।

एन्टोनाइज प्लेग, रसियन प्लेग, ग्रेट प्लेग अफ मार्सेल लगायतका महामारीबाट लाखौं मानिसको मृत्यु भएको तथ्यांकहरू पाइन्छ ।

स्पेनिस फ्लुको ममारी

प्लेगजस्तै फैलिएको स्पेनिस फ्लुबाट विश्वका ५० करोड मानिस प्रभावित भए । यो फ्लुबाट झण्डै १० करोड मानिसको मृत्यु भएको थियो ।

सन् १९१८ देखि सन् १९२० को प्रथम विश्वयुद्ध सकिए लगतै स्पेनिश फ्लुको महामारी फैलिएको थियो ।

यो महामारीबाट भारतमा मात्रै एक करोड ८० लाख र चीनमा चीनमा ४० लाखदेखि ९४ लाख मानिसको मृत्यु भएको थियो ।

अफ्रिकामा इबोला महामारी

कोभिड–१९ संक्रमण हुनुअघि अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला महामारीले ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

दक्षिण पूर्वी गीनीको एउटा अन्त्येष्टि समारोहबाट इबोला संक्रमण फैलिएको थियो । सन् २०१३ देखि २०१६ सम्म अफ्रिकी मुलुक गिनीमा इबोला महामारी देखापरेको थियो ।

दक्षिण अफ्रिकामा इबोला महामारी अन्त्य भएको चार वर्ष भइसके पनि अफ्रिकी मुलुकहरूमा इबोला संक्रमणको जोखिम भने कामयै छ ।

विभिन्न रोगले विश्वभरि नै बेलाबेलामा महामारी निम्याउने गरेका छन् । यतिबेला कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त छ । गतवर्ष चीनबाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको थियो ।


भर्खर

0