दिवा खाजा : विद्यालयलाई निल्नु न ओकाल्नु « Khabarhub
Logo
९ बैशाख २०७८, बिहीबार

दिवा खाजा : विद्यालयलाई निल्नु न ओकाल्नु



काठमाडौँ— नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा पढ्ने बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम चलाएको छ ।

सरकारी तथ्यांकअनुसार खाजा पाउने विद्यार्थीको संख्या करिब २८ लाख रहेको छ । खाजा खान पाउने भएपछि विद्यार्थीको उपस्थिति बढेको सरकारी भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ सम्म ४३ जिल्लाका सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम लागु भएको थियो । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा सबै सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

यसका लागि ७ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यता अधिकांश विद्यालयहरूका लागि दिवा खाजा कार्यक्रम निल्नु न ओकाल्नु भएको छ ।

सरकारले खाजा बाहेकको खर्चका बारे ध्यान नदिएकाले समस्या परेको विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ ।

विद्यार्थीलाई खाजा खुवाउन आवश्यक जनशक्ति र अन्य अन्य भौतिक व्यवस्थापन नगरी खाजा खुवाउनमात्रै निर्देशन दिएकाले समस्या उत्पन्न भएको राजधानी काठमाडौँस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलको भनाइ छ ।

उनले भने, ‘विद्यार्थीलाई दिवाखाजा भनेर स्थानीय तहले विद्यार्थीको हाँजिरी हेरेर प्रतिविद्यार्थी १५ रुपैयाँ दिन्छ, यसबाहेक अरू कुनै पनि खर्च बेहोर्दैन ।’

प्रधानाध्यापक कँडेलका अनुसार विश्व निकेतन माविमा बालविकास कक्षादेखि पाँच सम्म ५०० जनाभन्दा बढी विद्यार्थी छन् । तिनका लागि खाजा पकाउन कम्तीमा ३ जना कर्मचारी चाहिन्छ । तीन जनालाई सरकारले तोकेको न्युनतम तलब दिँदा पनि मासिक ४० हजार रुपैयाँ लाग्छ ।

‘दिवा खाजाको कार्यक्रम राम्रो छ’ । यसले विद्यार्थीको उपस्थिति केही हदसम्म बढाएको पनि छ तर सरकारले जनशक्ति व्यवस्थापनमा ध्यान नदिएका कारण समस्या देखिएको छ,’ उनले भने, ‘सरकारको यो कार्यक्रम विद्यालयका लागि निल्नु न ओकाल्नु भएको छ ।’ उनका अनुसार यस्ता समस्याका कारण विद्यालयले हालसम्म विद्यार्थीलाई खाजा खुवाउन सकेको छैन ।

उनले भने, ‘खाजा खुवाउनको लागि समिति गठन गरेर काम थालेको छौँ तर अहिलेसम्म शुरू गर्न सकिएको छैन ।’

काठमाडौँकै बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले पनि हालसम्म विद्यार्थीहरूलाई खाजा खुवाउन सकेको छैन । प्रधानाध्यापक नातिकाजी मर्हजनका अनुसार खाजा खाने विद्यार्थीको संख्या करिब ७०० सय छ ।

सात सय विद्यार्थीका लागि दैनिक किनमेल गर्ने र पकाउने जनशक्तिको अभाव भएका कारण खाजा खुवाउन नसकेको प्रधानाध्यापक महर्जनले बताए । उनले भने, ‘खाजा बनाएर खुवाउने मानिस खोजिरहेका छौँ, अहिलेसम्म भेटेका छैनौँ ।’

विद्यार्थीहरूलाई खाजा खुवाउन पठनपाठनको काम छोडेर शिक्षक नै लाग्नुपर्ने अवस्था आएको महर्जनले बताए । उनले भने, ‘थोरै विद्यार्थी हुँदा सजिलो हुने भए पनि धेरै विद्यार्थी भएका विद्यालयमा खाजा कार्यक्रम असहज भएको छ ।’

खाजा खुवाउने कार्यक्रम राम्रो भए पनि आवश्यक पूर्वाधारको व्यवस्था नगर्दा विद्याललाई थप भार परेको उनले बताए ।

सरकारले विद्यालयमार्फत विद्यार्थीका अभिभावकलाई पैसा दिने र घरमै खाजा बनाएर ल्याउने व्यवस्था गर्दा सहज हुने उनको भनाइ छ ।

प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक नारायणप्रसाद गौतमको भनाइ पनि उस्तै छ । उनले भने, ‘आफ्नो आयस्रोत नभएका विद्यालयलाई दिवा खाजा कार्यक्रम चलाउन मुश्किल पर्छ ।’

विद्यालयले सरकारले दिएको १५ रुपैयाँमा ५ रुपैयाँ थपेर प्रतिविद्यार्थी २० रुपैयाँमा खाजा खुवाउन एक जनालाई जिम्मा दिएको उनले बताए । विद्यार्थीले प्लेट र चम्चा घरबाटै ल्याउने गरेका छन् । सरकारले भनेअनुसार १५ रुपैयाँले हप्तामा एकपटक मासुचिउरा खुवाउन नसकिने पनि उनले बताए ।

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माले पनि विद्यार्थीलाई १५ रुपैयाँमा खाजा खुवाउन मुश्किल पर्ने बताए । उनले भने, ‘खाजा खुवाउनु ठूलो कुरा होइन तर १५ रुपैयाँले कति खुवाउने भन्ने मुख्य कुरा हो ।’

पूर्वाधार नभएका र नेपाल सरकारले कार्यालय सहयोगी नदिएका विद्यालयहरूलाई दिवा खाजा खुवाउन समस्या भएको उनको भनाइ छ ।

उनका अनुसार अहिलेको बजारभाउमा १५ रुपैयाँमा सरकारले तोकेको खाजा तालिका अनुसार कुनै पनि विद्यालयले विद्यार्थीलाई खाजा खुवाउन सक्दैन ।

उनले विद्यालयको आफ्नै चमेना गृह भएकोले केही सहज भए पनि १५ रुपैयाँले खाजा खुवाउन नसकिने बताए ।

सरकारले कर्णालीका पाँच जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालिकोटमा प्रतिविद्यार्थी २० रुपैयाँ दिएको छ ।

शिक्षकले पकाएर दिनुपर्छ

हुम्ला जिल्लाको ताँजाकोट गाँउपालिका–३, रामा स्थित रामदेव आधारभूत विद्यालयका प्रधानाध्यापक काशीचन्द्र जैशी कर्मचारी नहुँदा दिवा खाजा सञ्चालन गर्न समस्या भएको बताउँछन् । त्यहाँ शिक्षकले खाजा पकाएर खुवाउनुपर्ने अवस्था छ ।

खाजा पकाउन कोठा, भाँडाकुडा लगायत सामग्रीको अभाव छ । खाजा खाने दैनिक १३० जना छन् । एक जना कार्यालय सहयोगीले विद्यालयका अरू काम पनि गर्नुपर्छ । सरकारले खाजा पकाउने कर्मचारी पनि दिनुपर्ने उनको भनाइ छ ।

उता दार्चुला जिल्लाको लेकम गाँउपालिका–४ को तमेराज आधारभूत विद्यालयका प्रधानाध्यापक देवराज गिरी खाजा पकाउन कोठा, इन्धन, कर्मचारी अभाव लगायत अनेक समस्या रहेको बताउँछन् ।

उनले खबरहबसँग भने, ‘दाउरा खोज्न को जाने, विद्यालयमा पानी आउँदैन, पानी कसले ल्याने, गाँउमा गाडी आउँदै ढुवानीको पनि समस्या छ ।

यस्तो छ जिल्लागत खाजा परिकार 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा पढ्ने ४ वर्षदेखि १२ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि ३० प्रतिशत पोषणयुक्त खाजाको तालिका तयार गरेको छ ।

केन्द्रले ७७ वटा जिल्लालाई १० वटा क्षेत्रमा राखेर खाजा तालिका बनाएको छ ।

उक्त तालिका अनुसार पूर्वी पहाडका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाका विद्यालयहरूमा पोसिलो जाउलो, मकैको खिर, तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी र आलुपनिर गरी ६ किसिमको खाजा परिकार खुवाउनुपर्छ ।

मध्य पहाडी जिल्ला सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, नवलपुर, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत र लमजुङका विद्यालयहरूले पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, चिउरामासु, क्वाँटी र मकैको खिर खुवाउनुपर्छ ।

पश्चिम पहाडका बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुम पूर्व, पश्चिम रुकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी, र डडेलधुरामा पोसिलो जाउलो, फापरको रोटी, मकैको खिर, क्वाँटी, ढिँडो र कोदोको पुवा खुवाउनुपर्छ ।

मध्य तराईका जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र पर्सामा खिचडी, छोलाचिउरा, गेडागुडी, मकैको लावा, गहुँको हलुवा र तरकारी खुवाउनु पर्छ ।

पूर्वी तराईका मोरङ, झापा, सुनसरी र उदयपुर जिल्लामा भुटेको भात, पुरी तरकारी, भुटेको अण्डा र चिउरा, खिरतरकारी, पानीरोटी, दही चिउरा र तरकारी खुवाउनुपर्छ ।

पश्चिम तराईका सेट १ अन्तर्गत चितवन, नवलपरासी (पश्चिम सुस्ता), रुपन्देही, कपिलवस्तु, दाङका लागि चिउरा मासु, जाउलो, मकैको भटमास, गेडागुडी, गहुँको हलुवा, भुटेको भात खुवाउनुपर्छ ।

पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा भुटेको अण्डा र भात, चना चिउरा, खिर, रोटी, गेडागुडी साँधेको, दही चिउरा र तरकारी तोकिएको छ ।

पूर्वी हिमाली जिल्लाहरू ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभामा जाउलो, मकैको खीर, आलु बदाम, फापरको ढिँडो, कोदोको पुवा र क्वाँटी खुवाउनपर्ने भनिएको छ ।

मध्य हिमाली जिल्लाहरू दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङमा जाउलो, कोदोको हलुवा, अण्डा भुजा, क्वाँटी, हरियो मकैको तरकारी, आलुदम खुवाउन भनिएको छ ।

पश्चिमी हिमाली जिल्लाहरू, जुम्ला, हुम्ला, मुग, डोल्पा, बझाङ, बाजुरा, दार्चुलामा जिल्लामा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, कला र सिमीको कोल, फापरको लगर, मकै भटमास र चिनोको खिर र तरकारी खुवाउन भनिएको छ ।

सरकार भन्छ : स्थानीय तहले पनि सघाउनुपर्छ

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल सरकारले चरणबद्धरूपमा थप व्यवस्थापन गर्दै जाने बताउँछन् ।

उनले भने, पहिलो चरणको कार्यक्रम भएकाले खाज पकाउने मान्छे, भाँडाकुँडा भनेर बजेट व्यवस्थापन गरिएको छैन । विद्यालयलाई विद्यार्थी गनेर पैसा दिएको हो ।’

उनले आफ्नो आर्थिक स्रोत भएका विद्यालयहरूले दिवा खाजामा खर्च गर्न सक्ने र पालिकाहरूले पनि सहयोग गर्न सक्ने बताए । उनले भने, ‘कतिपय पालिकाहरूले पनि सहजीकरण गरेको पाइन्छ । तीन तहका सरकारको रहेकोले स्थानीय तहले पनि सघाउन सक्छन् ।’


भर्खर

0