हुलाकी सडकको दिशा र दशा | Khabarhub Khabarhub

हुलाकी सडकको दिशा र दशा



नेपाल एउटा कृषि प्रधान देश भनिन्छ । कुनै बेला दुनियाँमा चामल निर्यात गर्ने मुलुकमा नेपालको पाँचौँ स्थान थियो जसमा तराईको योगदान सर्वाधिक थियो । त्यसैले तराई भूभागलाई अन्नको भकारी पनि भनिएको हो । अहिले पनि तराई अन्नकै भण्डार हो ।

तराईका किसानहरू हुलाकी सडकको माध्यमबाट आफ्नो उत्पादन सजिलै बजारसम्म पुर्‍याउने गर्दथे । यो सडक तराईमा आर्थिक उन्नति र विकासको जीवनमार्ग थियो । पञ्चायती शासनको तीन दशकमा व्यापक उपेक्षाका कारण यस सडकको विकास हुन सकेन । निर्माण कार्य रोकियो । नेपालको कृषि तथा औद्यौगिक विकासमा पनि हुलाकी सडकको भूमिका सहयोगी सावित हुन सक्थ्यो तर सत्ताले त्यता ध्यान दिएन ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्ने पूर्वपश्चिम हुलाकी सडकको अपेक्षित विकास हुन नसकेका कारण पनि राष्ट्रको विकास गति मन्द भएको हो । विगत केही वर्षयता दक्षिणी छिमेकी भारतको सहयोग तथा नेपाल सरकार समेतको प्रयासमा यसको निर्माणले तिव्रता पाएको छ । पूर्णरूपमा चालु भएपछि नेपालको आर्थिक विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

अहिलेको जस्तो पूर्णरूपमा बस्ती विकास नभइसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौं पहिले यो हुलाकी बाटो अस्तित्वमा आएको थियो । चिठीपत्र बोक्ने हुलाकी हिँड्न र एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्सांकन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो । जङ्गल, झाडी, पर्ती जमिन र बुट्यानका बीच बनाइएको हुलाकी सडक यात्रुको चापसँगै विस्तारै फराकिलो हुँदै गयो ।

बस्ती विकास र यातायातको सुविधा भएपछि कतिपय हुलाकी सडकहरू पक्की सडकमा परिणत भए । अधिकांश त अस्तित्व नामेट भएर इतिहास बनिसकेका छन् । कतिपय ठाउँका सडकहरू अस्तित्व रक्षा खोजिरहेका छन् । तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामहरूलाई छुने हुलाकी सडक ‘पदम रोड’ पनि भनिन्छ ।

हुलाकी सडक आज पनि कतिपय जिल्लामा निरन्तर रूपमा प्रयोगमा आइरहेको छ । अहिले पनि कतिपय जिल्लाको विकासमा हुलाकी सडकको भूमिका महत्वपूर्ण रहिआएको छ । तराईका जिल्लाहरूमा जुन ठाउँमा हुलाकी सडकको निर्माण भएको छ, त्यहाँका जनताको अनुहारमा खुसीयाली हेर्न सकिन्छ ।

हुलाकी सडकको मर्मत, निर्माण एवं सुसञ्चालनबाट सर्वाधिक फाइदा तराईका किसानहरूलाई हुनेछ । नेपाली किसानहरू आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन एउटा समुचित सडक मार्गको खोजीमा व्यग्र छन् ।

आवश्यक हेरचाह, मर्मत र निर्माण तथा सरकारी सहयोगको अभावमा यस ऐतिहासिक सडकले आफ्नो अस्तित्व र इतिहास पनि गुमाउने अवस्था आइपुगेको थियो । हुलाकी सडकको विकासका नाउँमा नेपाल सरकारले छुट्याउने बजेटको मात्रा साह्रै न्यून हुने गरेको कारण यसको उपयोग कहाँ, कति र कसरी गर्ने भन्ने प्रश्न प्राविधिकहरूसमक्ष उठ्नु अस्वाभाविक थिएन ।

कतिपय कारणले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको अवस्थामा यो हुलाकी सडकले राष्ट्र र जनताका आवश्यकता सजिलै पूर्ति गर्न सक्छ । यसबाट मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा मिल्न सक्छ ।

कतिपय जिल्लामा आज पनि हुलाकी सडकको विकल्पमा अर्को मार्ग रहेको छैन । निर्विकल्प अवस्थामा रहेको यस सडकको निर्माण तथा मर्मत सम्भारततर्फ पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता छ । विगतमा हुलाकी सडकको विकासमा बढी ध्यान दिनुपर्नेमा जङ्गलको मध्य भएर अर्को सडक बनाइएका कारण हुलाकी सडकको विकास त अवरुद्ध भयो नै यसले मुलुकको अर्थतन्त्रलाई पनि कमजोर बनायो ।

जङ्गलको मध्य भएर राजमार्गको निर्माण भएको कारण यसले एकतिर वन विनाशलाई प्रोत्साहन गर्‍यो भने अर्कोतिर यसबाट भूक्षय र भूस्खलन भई नदी नालाहरूका उब्जाउ ममिलो माटोको सट्टा बालुवाले कृषियोग्य जग्गामा पुरिन लागेकोले तराईका विभिन्न भाग मरुभूमिमा परिणत हुँदैछन् । यसबाट कृषि क्षेत्रको उत्पादकत्वमा अप्रत्यासितरूपमा कमी आएको छ ।

पूर्णपश्चिम राजमार्ग अहिले जुन ठाउँमा छ त्यसको सट्टामा तराईको दक्षिणमा हुलाकी सडकको ठाउँमा भएको भए वन विनाश पनि रोक्न सकिन्थ्यो र यसबाट पर्यावरण पनि अनुकूल रहन सक्ने थियो । तराई क्षेत्रको अर्थव्यवस्था पनि यति खराब हुने थिएन ।

वर्तमान अवस्थामा महेन्द्र राजमार्गको भूमिका पनि कम महत्वको छैन, तथापि हुलाकी सडकको समुचित सदुपयोग गर्न सकिए राष्ट्र र जनताको आर्थिक समृद्धिमा कोसेढुङ्गा सावित हुन सक्नेछ । हुलाकी राजमार्ग पूर्ण क्षमतामा प्रयोगमा आएपछि तराईको पिछडिएको दक्षिणी भूभाग पनि प्रदीप्त हुनेछ ।

मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भएको झण्डै तीन दशकमा अस्तित्वमा आएका सरकारहरूले हुलाकी सडकको विकासमा खासै ध्यान दिएनन् । फलस्वरूप तराईको अर्थव्यवस्थाको साथै समग्र मुलुककै आर्थिक प्रगति पनि अवरुद्ध हुँदै आएको देखियो । हुलाकी सडकको मर्मत एवं निर्माणका लागि र यसको सुचारु सञ्चालनका लागि वर्षौदेखि स्थानीय जनताले आवाज उठाउँदै आएका छन् ।

नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएको छिमेकी राष्ट्र भारतले हुलाकी सडकको विकास निर्माणमा पनि सहयोग गर्नु स्वाभाविकै हो । नेपाल सरकार एवं भारत सरकारबीच भएको सहमति अनुसार झण्डै पन्ध्र सय किलोमिटर लामो हुलाकी सडक निर्माण भारत सरकारले गर्ने भएको छ । नेपाल सरकारले हुलाकी सडकमा पर्ने नदी र खोलाहरूमा पुल निर्माण गर्ने भएको छ । अन्य अवरोधहरू पनि नेपाल सरकारले हटाउने छ ।

यस दिशामा सन्तोषजनक काम भएको देखिन्छ । बाँकी काम पनि प्रगतिमा रहेको देखिन्छ । धनुषा, बारा, महोत्तरी, मोरङ, सप्तरी, सिरहा, दाङ तथा पर्सा र पश्चिमका कतिपय जिल्लामा समेत हुलाकी सडकको निर्माण कार्यले गति लिएको छ ।

झन्डै दुई हजार किलोमिटर लामो यस पूर्वपश्चिम हुलाकी सडकको मर्मत एवं निर्माण कार्यमा पर्याप्त ध्यान दिई यसको सुसञ्चालन हुनु आवश्यक भएको छ । यसमा जति ढिलो हुन्छ, मुलुकको आर्थिक उन्नति पनि उति ढिलो हुन्छ । हुलाकी सडकले देशको आर्थिक विकासमा ठूलो भूमिकाको निर्वाह गर्न सक्छ ।

पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने ८१७ किमिका ३२ वठा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०७४ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६३/६३ को परिवर्तनपछि भारतले नेपालको ४४० किलोमिटर सडकको डिजाइन, सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरेको थियो ।

सम्झौताअनुसार सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने तथा जग्गा अधिग्रहण गर्ने, पोल र रुख हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानमा समझदारी भएको थियो । विभिन्न राजनीतिक उतारचढावका कारण हुलाकी सडक निर्माणको काम बीचमै रोकिएको थियो । नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर छ ।

हुलाकी सडकको मर्मत, निर्माण एवं सुसञ्चालनबाट सर्वाधिक फाइदा तराईका किसानहरूलाई हुनेछ । नेपाली किसानहरू आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन एउटा समुचित सडक मार्गको खोजीमा व्यग्र छन् । उनीहरूको यस उद्देश्यमा हुलाकी सडक नै महत्वपूर्ण सावित हुन सक्छ । तराईका प्रायःजसो जिल्ला सदरमुकामहरू दक्षिण भेगमा छन् र हुलाकी सडक पनि ती जिल्ला सदरमुकामहरूको नजिकबाट गएका कारण पनि यहाँका किसानहरूले मिहिनेत गरेर उब्जाएका खाद्यान्न, तरकारी र फलफूल आदिको समुचित मूल्य प्राप्तिका लागि स्थानीय बजारमा सजिलै पुर्‍याउन सक्छ ।

वर्तमान अवस्थामा किसानहरूले आफ्नो उत्पादनको समुचित मूल्य पाउन नसकेका कारण कृषि पेशाप्रति नै उदासीन भएका देखिन्छन् । मुलुकलाई अन्न खुवाउने किसान अर्थात अन्नदाताले नै यसरी आफ्नो पेशाबाट विमुख भई अन्यत्र ध्यान केन्द्रित गर्दा राष्ट्रसामु थुप्रै समस्या उत्पन्न हुन सक्छ । तसर्थ, नेपाली किसानको समस्यामाथि गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ ।

झन्डै दुई हजार किलोमिटर लामो यस पूर्वपश्चिम हुलाकी सडकको मर्मत एवं निर्माण कार्यमा पर्याप्त ध्यान दिई यसको सुसञ्चालन हुनु आवश्यक भएको छ । यसमा जति ढिलो हुन्छ, मुलुकको आर्थिक उन्नति पनि उति ढिलो हुन्छ । हुलाकी सडकले देशको आर्थिक विकासमा ठूलो भूमिकाको निर्वाह गर्न सक्छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ३० बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन