वर्षभरि केही पनि खरिद नगर्ने प्रतिबद्धता « Khabarhub
Logo
१४ माघ २०७७, बुधबार

वर्षभरि केही पनि खरिद नगर्ने प्रतिबद्धता



एलिजावेथ चाईले सन् २०२० मा केही पनि नकिन्ने निर्णय गरिन् । यसमा खाद्य सामग्री, कफी, ट्वाइलेटमा आवश्यक पर्ने सामान र कपाल काट्नेजस्ता काम अपवादमा पर्थे ।

उनले कपडा र घरमा समान किन्नबाट आफूलाई नियन्त्रण गरिन् । किन्नुको सट्टा आफैँसँग भएको सामानबाट काम चलाउने र खाँचै परेको अवस्थामा सापट लिने काम गरिन् । यसरी उनले सन् २०२० मा केही सामान नकिन्ने आफ्नो लक्ष्य पूरा गरिन् ।

उनले ‘केही नकिन्न’ गरेको प्रतिबद्धता हामी बस्ने ग्रहलाई हाम्रो अनावश्यक आवश्यकता पूर्ति गर्ने नाममा असर पुर्‍याउनु हुन्न भन्ने मान्यताबाट प्रभावित थियो र आफूसँग भएका सामानको सम्मान गर्नुपर्छ भन्ने विश्वासबाट प्रेरित थियो ।

प्रतिबद्धतामा अडिग रहन नसकेर सामान किनी पो हालिन्छ कि भनेर उनले केही साथीलाई आफ्नो प्रतिबद्धताका विषयमा बताइन् । यसले आफ्नो प्रतिबद्धतामा केन्द्रित रहन उनलाई सहयोग पुग्यो ।

उनको यो प्रतिबद्धता कोरोनाका कारण विश्वलाई नै करिब वर्षभरि आफ्नै घरभित्र बाध्ने स्थिति आउनुअघिको थियो ।

चालीस वर्षीया चाई, पोट्ल्याण्ड, ओरे कम्पनीमा ग्राफिक डिजाइनर छिन् । तीन महिनाको यस्तो अनुभवले उनलाई आफूसँग भएका सामानसँग खुशी हुन सिकायो । महत्वपूर्ण कुरा नयाँ सामान खरिद नगर्दा पनि सामान्य जीवनयापन गर्न खास गाह्रो हुँदो रहेनछ भन्ने बोध भयो ।

एकातर्फ उनी आफ्नो प्रतिबद्धतामा कायम रहिन् । अर्कोतिर आफूलाई आवश्यक नपर्ने केही सामान दान गर्न थालिन् केही केही बेच्न । नयाँ सामान किन्ने लोभ नियन्त्रण गरिन् । नयाँ सामान किन्नभन्दा त्यसको सूची बनाउन थालिन् ।

यो सूचीमध्ये उनलाई केही सामान अत्यन्तै आवश्यक भएको अवस्थामा सम्भवतः सन् २०२१ मा किन्ने उनको मनसाय छ । योबीचमा उनले प्रलोभन भनेको छोटो समयमा नै क्षिण हुने चिज रहेछ भन्ने महसुस गरिन् ।

कोभिड–१९ का कारण भएको लकडाउनको सुरुवाती चरणमा, उपभोक्ताले गर्ने खर्चमा निकै कमी आए पनि यो अवधिमा अनलाइन व्यवसाय भने निकै फस्टायो । लकडाउनसँगै मानिसले जागिर गुमाउने क्रम र आर्थिक असुरक्षा निरन्तर बढ्दै गयो ।

यसका बाबजुद पनि जनवरीदेखि सप्टेम्बरसम्मको अवधिमा मानिसले आफूलाई चाहिने सामग्री खरिद गरे, जुन अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले वृद्धि भएको देखिन्छ । शयनकक्षमा लगाउने कपडा, व्यायाम सामग्री, रोबर्ट भ्याक्युम, भाइब्रेटर जस्ता सामान वर्षभरि नै राम्रो बिक्री भए ।

केही उपभोक्ताले यो अवधिमा हैरानी भोग्नु र ठगिनु परेको अनुभव गरे । उपभोक्ताले उपभोग्य सामानको गलत प्रयोग गर्दा जलवायु परिर्वतनमा त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरा जान्ने अवसर पाउँदै गर्दा व्यवसायप्रति भने केही मानिसको आक्रोश बढेको पाइएको छ । केही व्यवसायी दिन प्रतिदिन धनी हुँदा समाजका अधिकांश तप्काले जीवनयापनमै संर्घष गर्नु परेकोले पनि उनीहरूको आक्रोश बढेको हो ।

महामारीले मानिसलाई सामान खरिद गर्दा अरूलाई असर नपुग्ने सामान खरिद गर्न शिक्षा दिएको छ ।

यसले गर्दा आफूसँग पहिले नै भएका सामान पुनः खरिद गर्न भने मानिसलाई नैतिक समस्या निम्तिएको छ । महामारीले मानिसलाई सामान खरिद गर्दा अरूलाई असर नपुग्ने सामान खरिद गर्न शिक्षा दिएको छ ।

सिएटलमा बसोबास गर्ने निवी अचता विशेष गरी असल उपभोक्ता कसरी हुन सकिन्छ भन्ने विषयमा उत्सुक छिन् । सन् २०१७ बाट एउटा टेक कम्पनीमा सल्लाहकारको काम गर्दै आएकी उनले गत अगस्टमा जागिर गुमाएसँगै आफ्नो खर्च गर्ने बानी पुनः मूल्याकन गर्न थालेकी छन् ।

उनको लागि यो पहिलो जागिर थियो जुन उनले कलेजको पढाइ सकिएपछि सुरु गरेकी थिइन् । आम्दानी पनि राम्रै थियो । २५ वर्षीया निवी आफ्नो कामबाट भने हतास थिइन् । कम्पनीले निर्धारण गरेको मूल्यमान्यता र उनको प्राथमिकतामा सामञ्जस्य नहुँदा उनी हतास थिइन् ।

कुरा गर्दा सामाजिक विषय कसरी उठाउने भनेर छलफल गर्ने कम्पनी व्यवहारमा भने नाफामा बढी जोड दिन्थ्यो । उनी भन्छिन्, ‘मैले धनी मान्छेलाई अझ धनी बनाउँदै थिएँ ।’

निवीले त्यतिबेला निर्णय गरिन्, पहिला पैसा कमाउने र पछिमात्रै सुधारको काम गर्ने । तर, जागिर गुमाएपछि उनको त्यो सोच बदलिएको छ । सेप्टेम्बरमा उनले द सोपबक्स प्रोजेक्टमा काम गर्न थालेकी छन् । यो यस्तो मञ्च हो, जहाँबाट उनले सामाजिक न्यायका लागि अरूलाई सचेत बनाउन सक्छिन् ।

सोपबक्स प्राजेक्टमा प्रकाशित निवीको आलेखमा उनी पर्यावरणमैत्री उपभोक्ता कसरी बन्ने भनेर लेख्दिनन् बरु उनी ‘दीर्घकालसम्म पर्यावरण जोगाउन अनावश्यक सामान खरिद नै नगर्ने हो’, भनेर लेख्छिन् । उनी डिजिटल सामग्री प्रयोग गर्न सुझाब पनि दिन्छिन् ।

चाहे आफ्नो सुझाब आर्थिकरूपमा आफूलाई फाइदा हुनेवाला होओस् वा नहोओस् सोपबक्स प्रोजेक्टको माध्यमबाट निवी आफ्ना पाठकहरूलाई पृथ्वी अनावश्यक प्रभावबाट कसरी जोगाउन सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिने प्रयासमा छिन् ।

उदाहरणका लागि, उनी धेरै जसो ‘सेकेण्ड ह्याण्ड’ सामान खरिद गर्न जोड दिन्छिन् । उनी भन्छिन्, ‘म आफैँ पनि यो सुझाब अवलम्बन गरिरहेकी छु । यसो गर्दा पर्यावरण र हाम्रो आर्थिक अवस्था दुवै सुरक्षित हुन्छ ।’

चाई साझा हिसाबमा सामानको प्रयोग गर्ने विषयमा समाजलाई अभ्यस्त बनाउन सकिने कुरामा विश्वास गर्छिन् । उनले यो वर्ष आफूले कमाइ गरेको पैसामा यति ध्यान दिइन् कि, जागिर गुमाएका कारण घर भाडा तिर्न नसकेका आफ्ना प्रिय व्यक्तिहरूलाई आर्थिक सहयोग गर्न सकिन् ।

जर्ज फ्लाँयडको हत्यापछि अमेरिकामा भट्किएको आन्दोलनका क्रममा जेल परेकालाई छुटाउन उनले पैसा समेत तिरेकी थिइन् । उनी भन्छिन्, ‘मैले पैसा तिर्नका लागि दुई पटक सोच्नु परेन ।’

केही पनि नकिन्ने प्रतिबद्धताका बाबजुद उनले साना व्यवसायीबाट कफी, खाद्यान्न खरिद गरेर सहयोग पनि पु¥याएकी छन् । अथवा, सामान खरिद नै नगरे पनि आर्थिक सहयोग गर्छिन् ।

जब एक भिडियोग्राफर साथीले उनको केही पनि सामान खरिद नगर्ने प्रतिबद्धताका विषयमा भिडियो बनाएर इन्स्टाग्राममा पोस्ट गरे, तब त्यस्तै इच्छा राख्ने धेरै मानिसबाट चाईलाई कसरी प्रतिबद्ध रहन सकिन्छ भनेर जिज्ञासासहितको धेरै प्रश्न आउने गरेको छ ।

ती मानिससँग चाईले आफूले बनाएको लिस्ट नै साझा गर्ने गरिकी छिन् । किन्न हुने सामान : कफी फिल्टर, प्राविधिक सामान यदि आवश्यक छ र बिग्रिएको छ भने, किन्न नहुने समान : भाडाकुँडा, भाण्डारण गरेर राखिने समान, कापीहरू । उनी भन्छिन्, ‘यो एकदम रचनात्मक कुरा हो, मैले बनाएको नियम प्रायः मसँग मात्रै सम्बन्धित हुन सक्छ ।’

(रोविन्सनको यो लेख डिसेम्बर २८, २०२० मा द न्यूर्योक टाइम्समा प्रकाशित भएको थियो । यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)  


भर्खर

0