चिकित्सा विज्ञानको कोशेढुङ्गा मलेरिया भ्याक्सिन « Khabarhub
Logo
१ कार्तिक २०७८, सोमबार

चिकित्सा विज्ञानको कोशेढुङ्गा मलेरिया भ्याक्सिन



विश्व स्वास्थ्य सङ्गठनले मलेरियाको पहिलो भ्याक्सिनलाई मान्यता दिएको छ । चिकित्सा क्षेत्रको यो उपलव्धिले अफ्रिकी महादेशमा हरेक वर्ष हजारौँ बालबालिकाको ज्यान जोगाउने छ । घातक संक्रामक रोग मलेरियाका कारण संसारमा हरेक वर्ष ५ लाख भन्दा बढी बालबालिकाको ज्यान जाने गरेको छ । यीमध्ये आधाभन्दा बढी अफ्रिकाको सबसहारा क्षेत्रका छन् । मर्नेमा धेरैजसो ५ वर्षमुनिका बालबालिका हुने गरेका छन् ।

ग्लाक्सो स्मिथ क्लाइनले विकास तयार गरेको यो नयाँ भ्याक्सिनले इम्युनिटी सक्रिय बनाउने छ जसले मलेरियाका कारण उत्पन्न हुने घातक रसायनको उत्पादन बढ्नबाट रोक्नेछ ।

परीक्षणमा पहिलो वर्षमा मलेरियाको प्रभाव ५५ प्रतिशत देखिए पनि चार वर्षमा यो शून्यमा पुगेको पाइयो । विज्ञहरूका अनुसार खोपको व्यापक वितरण भएमा वर्षमा ५४ लाख व्यक्तिमा हुने संक्रमण कम गर्न सकिन्छ । साथै ५ वर्षमुनिका २३ हजार जनाको मृत्यु घटाउन सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका मलेरिया परियोजना निर्देशक डा. पेड्रो अलान्सोले भ्याक्सिन सुरक्षित र प्रभावकारी भएकोले वितरण तीव्र पार्ने बताएका छन् । उनले भाइरस वा ब्याक्टेरियाभन्दा परजीवीहरू बढी घातक हुने भएकाले मलेरिया भ्याक्सिनका लागि सय वर्ष लागेको बताए । यो भ्याक्सिन अन्य परजीवीजन्य रोगका लागि पनि उपयोग हुन सक्ने जनाइएको छ ।

मोस्क्युरिक्स नामको यो भ्याक्सिन पाँच वर्ष भित्रमा नै १७ महिनाको अन्तरालमा तीन मात्रा दिइनेछ । चौथो मात्रा यसको १८ महिनापछि दिइनेछ ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मादिसटिसो मोइटीले भ्याक्सिन लगाएपछि अफ्रिकाका बाबालिकाहरू स्वस्थ हुने बताएका छन् ।

मलेरियाको असर संसारका विकसित देशमा थोरै छ । अमेरिकामा गत वर्ष दुई हजार जनामा यो रोग देखिएको थियो । तीमध्ये धेरै मलेरियाको प्रकोप धेरै भएको देशमा यात्रा गरेर फर्कनेहरू थिए । अफ्रिकाका कतिपय देशमा त बालबालिकालाई वर्षमा छ पटकसम्म मलेरियाको लक्षण देखिने गरेको छ । लगातार यसको संक्रमण भएपछि शरीरका अङ्गहरूमा बिस्तारै क्षति पुग्दै गएर लामो समय असर रहने गरेको छ ।

भ्याक्सिनभन्दा अघि लामखुट्टेको झुल नै मलेरियाबाट बच्ने सबैभन्दा प्रचलित उपाय मानिन्थ्यो । यसले २० प्रतिशतसम्म संक्रमण घटाउने गरेको थियो ।

मलेरियाविरुद्धको भ्याक्सिनको अभ्यास धेरै वर्ष देखिको हो । यसरी धेरै वर्षपछि प्राप्त एक भ्याक्सिनको सफलताले अब थप प्रभावकारी भ्याक्सिनको बाटो खुलेको विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरू बताउँछन् । पछिल्लो पाँच–छ वर्ष भने भ्याक्सिनसम्बन्धी अध्ययन र विकासको क्रमले गति लिएको थियो ।

अहिले तीन देशमा २३ लाख मात्रा उपयोग गरिएको छ । केन्या, मलावी र घानामा व्यापकरूपमा मलेरियाको भ्याक्सिन दिइएको छ । पहिलो चरणमा ८ लाखलाई यो भ्याक्सिन दिइएको छ ।

भ्याक्सिन वितरणमा संलग्न डा. हामेलले वितरणमा कुनै असमानता नहुने धेरै जोखिम भएका देशमा चाँडो भ्याक्सिन पु¥याउने जनाएका छन् । उत्पादक कम्पनीले वितरण प्रणाली चुस्त र प्रभावकारी बनाएपछि यसले अफ्रिकी महादेशमा नयाँ आयाम नै थपेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. डा. टेड्रोसले मलेरियाको भ्याक्सिनमा अझै धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएका छन् । भ्याक्सिनको विश्वव्यापी सञ्जाल जाभीका लागि भने संसारभरमा यो वितरण गर्ने चुनौती थपिएको छ ।

जाभीले नै भ्याक्सिन खरिद गर्दै विभिन्न देशमा लैजान पनि सक्छ तर जाभीले काम सुरु गर्न अझ एक वर्ष लाग्न सक्छ । जाभी मलेरिया भ्याक्सिनको कामको नेतृत्व गरी रहेका डा. दीपाली पटेल कोरोना महामारीका कारण अन्य रोगको भ्याक्सिनको काममा पनि ढिलाइ भएको बताउँछिन् । उनका अनुसार जाभीको ध्यान पनि कोरोना महामारीमै केन्द्रित भयो ।

केही समय संसारको सबै स्थानमा कोरोनाको भ्याक्सिन सहज उपलब्ध हुने र जाभी मलेरियाको भ्याक्सिन वितरणमा केन्द्रित हुने जनाइएको छ । अर्को वर्ष महामारी कुन रूपमा अघि बढ्ने हो, त्यस आधारमा नयाँ योजना बनोउने पटेलको भनाइ छ ।

यो भ्याक्सिनको परीक्षण मलेरियाको प्रकोप धेरै भएको सिजनमा भएको थियो । संक्रमण रोक्न मात्र नभएर संक्रमितमा गम्भीर असर नपर्न पनि भ्याक्सिन प्रभावकारी ठहरिएको छ । यसले धेरैको ज्यान जोगाउने आशा गरिएको हो ।

त्यसो त अक्सफोर्ड विश्वविद्यालयले पनि मलेरियाको भ्याक्सिन परीक्षण गरिरहेको छ । केही महिनामा यो तयार हुने जनाइएको छ । अक्सफोर्डको भ्याक्सिन अझ धेरै प्रभावकारी हुन सक्ने अहिलेसम्म भएका परीक्षणले देखाएको छ । यसको पहिलो परीक्षण बुर्कीना फासोमा भएको थियो । यसपछि ५ महिनादेखि ३ वर्षसम्म उमेरका ५ हजार जनामा यसको परीक्षण गरिएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर आड्रियन हिल ७५ प्रतिशत प्रभावकारी बनाउन सकेमा यसले धेरै फड्को मार्ने बताउँछन् ।

कोभिड–१९ सुरु हुनु धेरै अघि अक्सफोर्ड विश्वविद्यालयमा मलेरिया भ्याक्सिनबारे अध्ययन भइरहेको थियो । कोभिड महामारी सुरु भएपछि यस विश्व विद्यालयले अस्ट्राजेनेकासँग मिलेर बनाएको भ्याक्सिनसँगै मलेरियाको भ्याक्सिन बनाउन गरेको अध्ययनले धेरै सहयोग गरेको थियो ।

कोरोनाको भन्दा मलेरियाको भ्याक्सिन विकास हुन समय लाग्नुका केही वैज्ञानिक कारण छन् । कोरोना भाइरसका दर्जनको हाराहारीमा जिन हुन्छन् भने मलेरियाको हकमा यो हजारौँ हुन सक्छ । यसकारण मलेरियासँग लड्न लागि धेरै एन्टीबडी आवश्यक हुन्छ । प्राध्यापक हिल यही कठिनाइका कारण अन्य धेरै भ्याक्सिनले काम नगरेको बताउँछन् ।

भाइरस र ब्याक्टेरियाभन्दा परजीवीहरू बढी घातक हुने भएकाले मलेरियाको भ्याक्सिन बनाउन सय वर्ष लाग्यो । यो भ्याक्सिन अन्य परजीवीजन्य रोगमा पनि उपयोगी हुनसक्ने विश्वास छ । मलेरियाको असर विकसित देशमा निकै बढी छ ।

लान्सेटमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार मे महिनामा भएको परीक्षणमा उच्च मात्रा र न्यून मात्रा दिइएको थियो । उच्च मात्रा दिइएकामा ७७ तथा न्यून मात्रा दिइएकोमा ७१ प्रतिशत प्रभावकारी पाइएको थियो ।

बुर्कीना फासोमा भ्याक्सिन परीक्षण नियालिरहेका परजीवी विज्ञ प्रोफेसर हालिडोउ टिन्टो पनि अहिले देखिएको प्रभावकारिता उत्साहजनक भएको बताउँछन् । अफ्रिकामा गत वर्ष कोरोना भाइरसबाट भन्दा बढी व्यक्तिको ज्यान मलेरियाबाट गएको थियो । यो भ्याक्सिन पनि भारतको सेरम इन्स्टिच्युटले बनाइरहेको छ ।

अर्को बायो टेक्नोलोजी कम्पनी नोभाभ्याक्सको पनि मरेरिया भ्याक्सिन उत्पादनमा सहयोगी भूमिका छ ।

मलेरिया लामखुट्टेको टोकाइबाट एक अर्कामा सर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा २२ करोड ९० लाख मानिसमा मलेरिया संक्रमण थियो ।

सुरुमा सामान्य रुघाखोकी र ज्वरो हुने यो रोगको समयै उपचार नभएमा कलेजो र रगतको नसामा समस्या उत्पन्न भएर ज्यान जान सक्ने जोखिम हुन्छ ।

मलेरियाको लक्षण परजीवी प्रवेश गरेको १० देखि १५ दिनमा देखिन सुरु गर्छ । प्लाज्मोडियम समूहको एक सेलको माइक्रो अर्गानिजमबाट यो रोग लाग्ने गर्छ । संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । लामखुट्टेको ठोकाइसँगै यो रोगको कीटाणु मान्छेको रगतमा सर्छ ।

यस्तो परजीवी परिपक्व भएपछि मान्छेको कलेजोमा प्रवेश गर्छ र त्यहीँ प्रजनन सुरु गर्छ । मान्छेमा ५ किसिमको मलेरिया परजीवीको असर हुन्छ । यीमध्ये ‘पी फल्किपरम’ सबैभन्दा घातक हो । घरको सरसफाइ गर्नु र घरवरिपरि पानी जम्न नदिनु नै मलेरियाबाट बच्ने उपाय हो ।

मलेरियाका कारण मानिसको शरीरमा धेरै जटिलता हुन सक्छ । मलेरिया भएका २५ प्रतिशत वयस्कमा श्वासप्रश्वासमा समस्या हुन्छ । यही समस्या ४० प्रतिशत बालबालिका देखिन्छ ।

गर्भवतीलाई मलेरिया भएमा बढी जोखिम हुन्छ । एचआइभी भएकाहरूमा यो संक्रमण भए झन बढी समस्या हुन्छ । मिर्गौलामा पनि गम्भीर समस्या हुन सक्छ ।

मलेरियाले च्यापेपछि लगातार रगत बग्ने समस्या हुन सक्छ । गर्भवती महिलामा यो समस्याले ज्यान जाने जोखिम हुन्छट । बच्चा पनि कम तौलको जन्मन सक्छ ।

सबै भन्दा घातक ‘पी फल्किपरम’ मलेरिया गुरिल्लाबाट विकसित भएको अनुमान छ । दश हजार वर्षअघिसम्म यो रोग यति धेरै फैलिएको थिएन । आवधिक ज्वरो आउने क्रम कुनै समय रोम शासनमा पनि देखिएको थियो । यसले रोमन साम्राज्यलाई नै संकटमा पारेको थियो । यसकारण मलेरियाको ज्वरो ‘रोमन ज्वरो’ नामले पनि चिनिन्छ ।

यो लामो इतिहास भएको मलेरियाको भ्याक्सिन र उपचारका नयाँ विधि प्रयोग भएको सय वर्ष भइसकेको छ ।

पछिल्लो शताब्दीमा अफ्रिकी महादेशमा कहालीलाग्दो बनेको मलेरिया रोग निवारणका लागि भ्याक्सिन वितरण एउटा महत्वपूर्ण आयाम हो । आशा गरौँ, अबको केही वर्षमा भ्याक्सिनले बालबालिकाको ज्यान जाने क्रम अन्त्य हुनेछ ।

एजेन्सीहरूको सहयोगमा

 

 

 

 

 

 


भर्खर

0