तीजका ५ रोचक तथ्य : व्रत कथादेखि गीत विवादसम्म | Khabarhub Khabarhub

तीजका ५ रोचक तथ्य : व्रत कथादेखि गीत विवादसम्म



हरेक वर्ष भाद्र शुक्लपक्ष तृतियाका दिन महिलाहरूले हरितालिका तीजको व्रत बस्ने गर्छन्। विशेष गरेर हिन्दू महिलाले यो व्रत बस्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ ।

विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन् । त्यस्तै विवाह नभइसकेका महिलाले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन् । तर पवित्र धार्मीक आस्था र भगवान शिवको आराधना गरेर मनाइने तीजमा केही रोचक र विवादका घटनाहरु भएका छन् ।

१. निराहार व्रतको रोचक प्रसंग
तीजमा पानीसमेत नखाई निराहार व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यसो हुनुमा तीजसम्बन्धी पौरणिक कथा माथिको विश्वास हो ।

कथा अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको भएपनि पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीहरुलाई समस्या सुनाएकी थिइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय विश्वास छ । पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई ‘हरितालिका’ व्रत भनिएको स्कन्द पुराणमा उल्लेख छ ।

२. कहिल्यै नमरेको तीज गीत ‘तीजको लहर आयो बरिलै’

तीजका अवसरमा हरेक वर्ष नयाँ नयाँ गीत र यसका भिडियो सार्वजनिक हुन्छ । तर नयाँ हुन् वा पुराना वा रिमिक्स भर्सनमामा आएका तीज गीत नै किन नहुन् अहिलेसम्म तीज गीत भनेर धेरैले रुचाएको र एकक्षत्र राज गरेको गीत भनेको चाहिँ चलचित्र कन्यादानको ‘तीजको लहर आयो बरिलै’ मात्र रहेको छ ।

यस गीतले नेपाली हिन्दू महिलाकालागि तीज महत्वपूर्ण पर्व भएको भाव व्यक्त गर्छ । तीजसँग सम्बन्धित यो पुरानो गीत मात्र नभएर नेपाली समाजमा सर्वाधिक रुचाइएको गीत हो । नायिका गौरी मल्लको अभिनय रहेको यो गीतमा वर्षौंपछि भेट भएका दिदीबहिनी एकअर्कालाई खुलेर नाच्न भनको भाव छ । सन् १९९१ मा बनेको यो गीतको मर्म अहिले पनि उस्तै छ ।

३. भड्किलो तीज गीत
तीजमा हरेक वर्ष नयाँ नयाँ गीत निस्कने क्रमले यस वर्ष पनि निरन्तरता पायो । पछिल्लो समय तीजमा निस्केका केही भड्किलो गीतले यसको महत्व माथि प्रश्न उठाएको भनेर आलोचना भएको छ । कतिपय तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न समेत नसकिने भनेर धेरैले यस प्रकारका गीतको आलोचना गरेका छन् ।

उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय पनि त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था नभएकोले यस्ता गीतले तीजको मर्म मारेको एकथरीको आंकलन छ । यस्ता गीतको सुरुवात कोमल वलीयको ‘पोइल जान पाम्’ गीत चर्चित भएपछि भएको थियो ।

‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ लगायत तीजमा दरको साटो रक्सी खाइन्छ जस्ता गीत समेत बने । दुर्गेस थापाले हरेक वर्ष निकाल्ने तीज गीतमा, बिच बिचमादेखि ख्यास्स पुतलीसम्म विवादमा परे ।

४. नो व्रत प्लिजको विवाद

गायिका सोफिया थापाले गत वर्ष गाएको ‘अबको तीज नो ब्रत प्लिज’ बोलको तीज गीत विवादमा परेको थियो । यूट्युबमा सार्वजनिक भएलगत्तै यस गीतले चर्को प्रतिक्रिया सामना गर्नुपरेको थियो । गीतका शब्दहरुले तीजको मर्म र हिन्दू महिलाहरुको भावनामा ठेस पुर्‍याएको टिप्पणी धेरैले गरेपछि सो गीत युट्युबबाट हटाइएको थियो ।

५. यस वर्षका भाइरल गीत

यस वर्ष निस्केका दर्जनौ तीज गीतमा केवल दुई गीतको दबदबा रह्यो । लोकदोहोरी गायिका विष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ बोलको तीज गीतको म्युजिक भिडियोले यस वर्ष सर्वाधिक चर्चामा रह्यो ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीतमा सुन्दरमणी अधिकारीको शब्द/संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ । यस गीतले युट्युबमा विभिन्न रेकर्डलाई उछिनेको छ । यस गीतले अहिलेसम्म करीब २ करोड भ्यु पाएको छ ।

यस्तै यस वर्ष सर्वाधिक चर्चामा रहेको अर्को तीज गीत हो, संगीतकार बीबी अनुरागीकी ७७ बर्षिया आमा पवित्रा रसाइलीले गाएको उहिले उहिलेको तीजको गीत बोलको गीत । परम्परागत लयमा गाइएको यस गीतको शब्द रचना र संगीत संयोजन अनुरागीकै रहेको छ । यो गीत टिकटकमा सर्वाधिक चर्चामा छ । यस गीतले अहिलेसम्म युट्युबमा १७ लाख भ्यु पाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०