पोखराको गगनगौडा र आसपासका बस्ती डुबानमा, फेवातालको ड्याम बगायो « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

पोखराको गगनगौडा र आसपासका बस्ती डुबानमा, फेवातालको ड्याम बगायो



पोखरा– लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको बाढीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् ।

लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिए ।

आफूहरूले यस सम्बन्धमा स्थानीय सरकारसमक्ष पनि जानकारी गराएको उनले बताए । तत्कालीन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उनले बताए ।

बाढीका कारण नहरमा आएको अनियन्त्रित पानीका कारण बाह्सय चौतारा एवं नवीन टोलमाथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै नहरको पानीले पक्की बाटो कटान गर्दै जान थालेपछि थप समस्या पर्ने देखिएको उनको भनाइ छ । उनका अनुसार बाढीका कारण स्थानीयवासीसहित शहरी स्वास्थ्य केन्द्रको भवनसमेत जोखिममा परेको छ ।

यस क्षेत्रमा बाढीका कारण पीडामा परेका जनताको समस्या समाधान गर्नुपर्ने जनाउँदै उनले राज्यले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदीखोला १ नं का बस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ ।

नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइजस्तो नभएर खहरे खोलाजस्तो बन्दा वर्षेनी समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालीन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायमा पहल गरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

फेवातालको ‘सिल्टेसन ड्याम’ बाढीले बगायो

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ । यसैगरी बाढीपछि नदीले धार परिर्वतन गर्दा छ घरपरिवार विस्थापित भएका छन् ।

पोखरा–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम गए रातिको बाढीले बगाएको र केही घरपरिवार विस्थापित भएका सोही वडाका वडाध्यक्ष विष्णु पराजुलीले जानकारी दिए ।

फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल पुरिँदै गएपछि नदीजन्य पदार्थ मिसिनबाट रोक्ने उद्देश्यले प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ड्याम तथा पोखरी निर्माण गरिएका थिए । फेवा जलाधार क्षेत्रका मुख्य चार नदीमा रु २८ करोड लागतमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको थियो । हर्पनमा निर्माण गरिएको ड्यामको लागत अनुमानित रु नौ करोड रहेको वडाध्यक्ष पराजुलीले बताए ।

हर्पनखोलामा निर्माण गरिएको ९० मिटर लामो ड्याममध्ये अन्दाजी १० मिटर जति बगाएको र अहिले पनि निरन्तर बगाउने क्रम जारी रहेको छ । ठूलाखेतका बाढीबाट विस्थापित परिवार आफन्तकामा गएर बसेका छन् ।

ड्याम भत्किएर नदीले पूर्ववत धार परिर्वतन गरेसँगै घरहरु जोखिममा परेपछि स्थानीयवासी घर छाडेर हिँडेका थिए । फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन ढुङ्गा, माटो, बालुवालगायतका गेग्रान तालमा मिसिने गरेको बताइन्छ । फेवामा आउने गेग्रान रोकेर ताल संरक्षण गर्न भन्दै मुख्य नदीमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको हो ।


भर्खर

0