काठमाडौँ– कपिलवस्तुको साविकको भिल्मी गाविस वडा नं. ४ स्थित सरस्वती आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
प्रधानाध्यापक विश्वकर्मासहित तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शकिल मियाँ र नरेन्द्र कुर्मी विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
सरकारले विभिन्न शीर्षकमा दिएको अनुदान रकमलाई आफूखुसी खर्च गरेको र विद्यालयमा शिक्षक भर्ना, पीसीएफ छात्रवृत्ति, पाठ्यपुस्तक, दिवाखाजालगायत शीर्षकमा आएको रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०६८/०६९ देखि २०७२/०७३ सम्म छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा निकासा भई खर्च हुन नसकेको रकममध्ये ३ लाख ७१ हजार ७०१ रुपैयाँ प्रधानाध्यापक विश्वकर्मा र अध्यक्ष मियाँको कार्यकालमा दरुपयोग भएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
त्यस्तै प्रधानाध्यापक विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अर्का अध्यक्ष नरेन्द्र कुर्मीको कार्यकालमा २२ हजार १४९ रुपैयाँ हिनामिना भएको पाइएको उनले बताए ।
आयोगले प्रधानाध्यापक विश्वकर्मासँग तीन लाख ९३ हजार ७५० रुपैयाँ, मियाँसँग तीन लाख ७१ हजार ७०१ रुपैयाँ र कुर्मीसँग २२ हजार १३९ रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया