चिनियाँ अपराधीको निशानामा नेपाल | Khabarhub Khabarhub

चिनियाँ अपराधीको निशानामा नेपाल



काठमाडौँ– केही दिनअघि काठमाडौँ प्रहरीलाई एउटा सूचना आयो– ज्याठास्थित एक होटलमा विदेशी नागरिकले शंकास्पद गतिविधि गर्दै छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोली सोमबार राति करिब साढे १० बजे ज्याठास्थित ‘च्याङक्हु खाचान’ होटलमा पुग्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार होटलमा छापा मार्दा दोस्रो तलाको एउटा कोठामा चार जना चिनियाँ नागरिक भेटिए । प्रहरीले उनीहरूलाई सोधपुछ गरेर होटलमा थप खानतलासी गर्‍यो ।

एसएसपी सिंहले भने, ‘उनीहरूको गतिविधि शंकास्पद लागेर सर्च गर्दा जुवा खेल्न प्रयोग गर्ने दुई वटा विद्युतीय टेबल फेला पर्‍यो, बुझ्दै जाँदा मिनी क्यासिनो चलेको भेटियो ।’

एसएसपी सिंहका अनुसार क्यासिनोकै शैलीमा चिनियाँ भाषामा ‘माजुङ’ भनिने गोटी राखेर खेल हुँदोरहेछ तर खेल्ने मानिस भने थिएनन् । प्रहरीले ती चार जना चिनियाँलाई पक्राउ गर्‍यो ।

खानतलासीका क्रममा बाघको छाला, दाँत र कस्तुरीको बिना फेला पर्‍यो । बुद्धचित्त, रुद्राक्ष दालचिनी, सिलाजित जस्ता जडीबुटी पनि भेटिए ।

खानलतासीमा फेला परेका दसीहरूबाट आफूहरू अचम्ममा परेको र अनुसन्धानको दायरा फराकिलो पारेको एसएसपी सिंहले बताए । उनले पाँच वर्षदेखि होटल भाडामा लिएर विलङ सी नामका चिनियाँ नागरिकले अबैध धन्दा चलाएको भेटिएको बताए ।

सञ्चालक भने फेला परेका छैनन् । प्रहरीले होटलबाट विभिन्न बैंकका ३५ थान एटीएम कार्ड, बैंक भौचर, बिल र ८ लाख नेपाली रुपैयाँ फेला पारेको छ ।

एसएपी सिंहले भने ‘वन्यजन्तुका अङ्ग, हातहतियार र बैंकिङ सामान समेत भेटिनुले उनीहरू धेरै अपराधमा संलग्न हुन सक्ने देखेर अनुसन्धान फराकिलो बनाएका छौँ ।’

यो घटना नेपालमा चिनियाँ नागरिको आपराधिक घटनाको पछिल्लो उदाहरण हो । सुन तस्करी, बंैक ह्याकिङ, वन्यजन्तु तस्करी, चोरी र झैझगडा जस्ता घटनामा चिनियाँ नागरिकहरूको संलग्नता हुने गरेको छ ।

अनुन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार २०६० साल आसपासदेखि नेपालमा अपराधमा चिनियाँ नागरिकहरूको संलग्नता हुन थालको हो । शुरुमा रक्तचन्दन र वन्यजन्तुका अङ्ग ओसारपसारमा संलग्न थिए । त्यो समय नेपालमा रक्तचन्दको अवैध कारोबार निकै फस्टाएको थियो । रक्तचन्दन भारतबाट नेपाल हुँदै चीनतर्फ तस्करी हुन्थ्यो ।

त्यसबेला नेपालीसँगै फाट्टफुट्ट चिनियाँ नागरिक संलग्न थिए । त्यसपछि डलर र सुनको अवैध कारोबारमा चिनियाँहरू देखिए ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल नेपालमा हुने अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्नुमा प्रविध र कानूनलाई मुख्य कारण ठान्छन् । आधुनिक प्रविधिमा पोख्त चिनियाँहरू नेपालमा अपराध गर्न सजिलो ठान्छन् ।

मल्लका अनुसार वन्यजन्तुको अङ्गको सबैभन्दा ठूलो बजार चीन हो । उनी भन्छन्, ‘चिनियाँहरूका लागि भारतबाट आउने वन्यजन्तुको अङ्ग चीन पुर्‍याउने बाटो भएको छ नेपाल ।’ चिनियाँहरूलाई नेपाली तस्करहरूले पनि सघाउने गरेको भेटिएको छ ।

पूर्वडीआईजी मल्ल चिनियाँ नागरिकबाट हुने अपराध नियन्त्रण गर्न उच्च प्रविधि र दक्ष जनशक्ति आवश्यक पर्ने बताउँछन् । उनी भन्छन्, ‘विश्वमा प्रविधिमा भएको प्रगतिको अनुपातमा नेपालले लगानी गर्न सकेको छैन । प्रहरीलाई उच्च प्रविधियुक्त बनाउनुपर्छ, सोही अनुसार प्रहरी जनशक्ति तयार पार्नुपर्छ ।’

नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी प्रहरी निगरानीको प्रणाली बलियो बनाउनुपर्ने बताउँछन् । बायोमेट्रिक प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

अधिकारी भन्छन्, ‘हाम्रो निगरानी प्रणाली कमजोर भएकाले नै चिनियाँहरूको अपराध बढेको हो ।’ विदेशीको गतिविधि र भिसाको म्याद निगरानी गर्ने संयन्त्र बलियो बनाउनु पर्ने उनको भनाइ छ । यसो गर्नु चिनियाँहरूको हकमा बढी आवश्यक रहेको उनले बताए ।

अध्याममन, प्रहरी र पर्यटक सम्बन्धी सरोकारवाल निकायहरूबीच समन्वय बढाउनुपर्ने पनि अधिकारीको भनाइ छ ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर अपराध रोक्न प्रहरी हरप्रहर तयार रहेको बताउँछन् ।

एटीएम ह्याकिङमा चिनियाँ

गत चैत १७ गते साँझ प्रहरीले काठमाडौँको ज्याठास्थित मेघा बैंकको एटीएम ह्याक गरी रकम निकाल्ने प्रयास गरेको अवस्थामा चिनियाँ नागरिक २९ वर्षीय वाङ सिआओलङलाई समातेको थियो । प्रहरीले उनको साथबाट १० थान एटीएम कार्ड, इन्टरनेट कनेक्टर, पेनड्राइभ, गुप्त क्यामरा, ड्रिल मेसिन, चाइनिज युआन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरेको थियो ।

उनी चीनबाट काठमाडौँ विमानस्थलमा अवतरण गरेको केही घण्टामै एटीएम बुथमा पुगेका थिए ।

२०७६ भदौ १५ गते काठमाडौँका केही बैंकका एटीएम बुथबाट अस्वाभाविक रूपमा रकम निकालिएको सूचना प्रहरीमा पुग्यो । सूचना पाएकै दिन प्रहरीले ५ जना चिनियाँ नागरिकलाई एटीएमको पिन ह्याक गरी रकम चोर्दै गर्दा पक्राउ गरेको थियो । भोलिपल्ट अर्का एकजना चिनियाँ समातिए ।

नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान । फाइल तस्वीर ।

उक्त घटनामा सहयोग गरेको आरोपमा केही नेपाली पनि समातिएका थिए । एटीएम ह्याक गरेर पैसा निकाल्ने मुख्य व्यक्ति चिनियाँ थिए ।

२०७६ पुस ७ गते प्रहरीले काठमाडौँका विभिन्न स्थानमा छापा मारी १२२ जना चिनियाँलाई पक्राउ गर्‍यो । उनीहरू अवैधरूपमा बसेर आर्थिक अपराधमा संलग्न थिए ।

चीनको गृहमन्त्रालय (मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी) का निर्देशक वाङवाङ होको प्रत्यक्ष निगरानीमा नेपाल प्रहरीको टोलीले बालाजु, महाराजगञ्ज र बुढानीलकण्ठका ९ वटा घरमा छापा मारेर उनीहरूलाई समातेको थियो ।

यी घटनाअघि पनि दरबारमार्ग, ठमेल, लाजिम्पाट लगायतका क्षेत्रबाट एटीएम ह्याक गरेको अभियोगमा केही चिनियाँ नागरिक समातिएका थिए ।

अनेक अपराध

२०७७ पुस १९ गते काठमाडौँको गौशलास्थित एक होटलमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि झियाङजिङ अपहरणमा परे । पाँच दिनपछि प्रहरीले सिन्धुपाल्चोकको मार्मिङबाट दुई जनालाई सकुशल उद्धार गर्‍यो, घटनामा संलग्न चारजना पक्राउ परे जसमा दुई नेपाली र दुई चिनियाँ थिए ।

प्रहरी अनुसन्धानबाट चिनियाँकै योजनामा अपहरण भएको खुलासा भयो ।

२०७६ फागुन ३० गते ठमेलमको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ ग्याङले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गर्‍यो । चिनियाँको व्यवहारबाट वर्षौंदेखि आजित ठमेलका व्यापारी र बटुवाहरूले ती चिनियाँको प्रतिकार गरेका थिए ।

उक्त घटना प्रहरीले वाङ युन फेङ नामका चिनियाँ व्यापारीलाई पक्राउ गरे पनि पछि त्यसै छाडिए ।

२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन जना चिनियाँलाई पक्राउ गर्‍यो । २०७६ साउन २० गते हङकङबाट आएका चिनियाँ नागरिक लि निङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए ।२०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा दुई चिनियाँ पक्राउ परेका थिए । २०७५ मंसिरमा हङकङ उड्न लागेकी ५० वर्षीया चिनियाँ नागरिक मिङ जाङ झन्डै ३५ हजार अमेरिकी डलर, ३ लाख २७ हजार कोरियन बन र १ हजार ८५ पाउन्ड स्टर्लिङसहित पक्राउ परेकी थिइन् ।

२०७५ भदौ ४ गते प्रहरीले समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँलाई ठमेलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काठमाडौँ वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्वाङ पनि थिए ।

प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम समुद्री घोडा, ९० ग्राम यार्सागुम्बा, ३३० ग्राम सुनाखरी र साढे ६ किलो विभिन्न प्रकारका जडीबुटी बरामद गरको थियो ।

पाँच वर्षमा २ सय पक्राउ

प्रहरी प्रधान कार्यालयले कति चिनियाँ नागरिक नेपालमा आएर अपराधमा संलग्न भए भनेर ठक्याकै तथ्याङ्क नराखे पनि पछिल्लो पाँच वर्षमा विभिन्न अपराधमा दुई सयभन्दा धेरै चिनियाँ पक्राउ परेका छन् । उनीहरू ह्याकिङ, डलर तस्करी, सुन तस्करी, वन्यजन्तुका अङ्ग र जडीबुटी तस्करी, अवैध चिकित्सकीय अभ्यास लगायतका अपराधमा मुछिएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीका अनुसार गत जेठ मसान्तसम्ममा नेपालका कारागारमा ५ जना चिनियाँ कैदीबन्दी छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ५० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही