महिला अधिकारको आन्दोलन : हिजोदेखि आजसम्म « Khabarhub
Logo
९ बैशाख २०७८, बिहीबार

महिला अधिकारको आन्दोलन : हिजोदेखि आजसम्म



महिलावादी हुनु भनेको सभ्यताको शुरूवातदेखि नै महिलाहरू पनि राजनीतिक, आर्थिक र सांस्कृतिकरूपमा पुरुषसरह समान थिए भन्ने सोच राख्नु हो । यस्तो सोचले शुरू भएको महिलावादी आन्दोलन तीन लहरमा विभाजित भयो । पहिलो लहर सम्पत्ति र मतदान अधिकारसँग सम्बन्धित छ ।

दोस्रो लहर समानता र भेदभावरहित व्यवहारसँग सम्बन्धित छ । सन् १९९० को दशकमा शुरू भएको तेस्रो लहरले दोस्रो लहरको आन्दोलनले स्थापित गर्न नसकेका मुद्दा निरूपण गर्ने उद्देश्य लिएको थियो ।

दोस्रो लहरको आन्दोलनले गोरा जातिका महिला र महिलालाई मात्रै लाई प्रदान गरेको अधिकारमाथि प्रश्न उठाउने काम गर्‍यो । (महिला अधिकारको आन्दोलनले तेस्रो लिङ्गलाई नसमेटेको आरोप थियो ।

प्राचीन ग्रीसदेखि महिलालाई मताधिकार, महिला मुक्ति आन्दोलन र मिटु आन्दोलनसम्म, महिला अधिकारको आन्दोलन जति लामो छ त्यति नै रोचक पनि छ ।

शुरूवाती महिला अधिकारवादी

ग्रीसका प्राचीन दार्शनिक प्लेटोले आफ्नो पुस्तक ‘रिपब्लिक’ मा महिलाको अधिकारका विषयमा वकालत गरेका छन् । जहाँ उनले भनेका छन्, ‘महिलासँग प्राकृतिक क्षमता हुन्छ जुन ग्रिसको शासन र रक्षाका लागि पुरुषको क्षमता समान छ ।’

प्लेटोसँग धेरै सहमत थिएनन् । रोमका महिलाहरू ‘ओपिअन ल’ ( हानिबल नामक योद्धासँग भएको युद्धमा पराजित भएपछि रोमले लिएको नीति) का विरुद्ध प्रदर्शनमा उत्रिए । ओपिअन ल ले महिलाहरूलाई बहुमूल्य सामान खरिदमा रोक लगाएको थियो ।

महिलाहरू प्रदर्शनमा उत्रिएपछि रोमका सल्लाहकार मार्कस पोर्सियस काटोले तर्क गरेका थिए, ‘जब महिलाहरू पुरष समान हुन्छन्, उनीहरू पुरुषभन्दा प्रभावशाली हुनेछन् ।’

‘सिटी अफ लेडिज’ नामक पुस्तकमा १५औँ शताब्दीकी लेखिका क्रिस्टिन डी पिजनाले मध्ययुगमा महिलाका साथ भएको दुर्व्यवहार र महिलाहरूकै भूमिकाका विषयमा आलोचना गरेकी छन् । त्यसको वर्षौंपछि पुनर्जागरणको युगमा लेखक तथा दार्शनिकहरू माग्य्रारेट क्याभेन्डिश, न्युकासल–ओभ–टाइन र ए विन्डिकेशन अफ वुमनकी लेखिका मेरी वुल्स्टनक्राफ्ट लगायतले महिलाका समानताको लागि वकालत गरेका थिए ।

अमेरिकाका दोस्रो राष्ट्रपति जोन एड्मकी श्रीमती अबिगइल एड्मले शिक्षा, सम्पत्ति र मताधिकारलाई महिला अधिकारको अभिन्न अङ्गका रूपमा बुझेकी थिइन् । आफ्ना श्रीमान्लाई लेखेको एउटा पत्रमा अबिगइल एड्मले चेतावनी दिँदै भनेकी थिइन्, ‘यदि महिलालाई उचित ध्यान दिइँदैन भने हामी विद्रोह गर्न कटिबद्ध छौँ । यस्तो गर्नु परेको अवस्थामा हाम्रो आवाज नै नसुन्ने कानून हामी पालना गर्ने छैनौँ ।’

जुन विद्रोहको एड्मले चेतावनी दिएकी थिइन् त्यो १९ औँ शताब्दीमा शुरू भयो । विद्रोहले महिला दासता अन्त्यको माग राखेको थियो । यो आन्दोलनमा सहभागी कतिपय महिलाले आफैँले अनुभव गर्न नपाएको अधिकार अफ्रिकी अमेरिकी महिलाले पाउनुपर्ने माग अस्थिर र विरोधाभासपूर्ण देखे ।

महिला आन्दोलनको पहिलो लहर

सन् १८४८ को सेनेका फल्स कन्भेन्सनमा एलिजाबेथ क्रिन्डी स्टेन्टन र ल्युक्रेटिया मोट जस्ता उन्मूलनवादी नेतृहरूले अहिले प्रख्यात भएको डिक्लेरेशन अफ सेन्टिमेन्टमा भनेका छन्, ‘महिला र पुरुष जन्मजात नै समान छन् भन्ने सत्यको हामी आफैँ साक्षी छौँ ।’ यो लहरको आन्दोलनमार्फत महिलाहरूले महिलालाई मताधिकार दिनुपर्ने माग राखेका थिए ।

त्यस समारोहमा उपस्थित धेरै व्यक्तिले महिलाले यस्तो अधिकार पाऊलान् भनेर सोचेका पनि थिएनन् । जब फेडेरिक डुगासले भने महिलाले यस्तो अधिकार पाउँदैनन् भने काला जातिका हिसाबमा मैले प्राप्त गरेको मताधिकारको प्रयोग गर्नेछैन ।

१९औँ संशोधन : महिलालाई मताधिकार

महिलालाई मताधिकारको माग विस्तारै सफल हुन थाल्यो । सन् १८९३ मा जब न्यूजिल्यान्डले पहिलो पटक महिलालाई मताधिकार अधिकार प्रत्याभूत ग¥यो । त्यस लगत्तै अस्ट्रेलियाले सन् १९०२ मा महिलालाई मताधिकारको हक दियो । फिनल्यान्डले सन् १९०६ मा दियो । बेलायतले ३० वर्ष पुगेका महिलालाई सन् १९१८ मा मताधिकारको अधिकार प्रदान गरेको थियो ।

पहिलो विश्व युद्धमा महिलाले पनि पुरुष सरह भाग लिएपछि त्यहाँको समाजले उनीहरू समानताको हकदार भएको महसुस गर्‍यो । जसले गर्दा १९२० मा अमेरिकाको संविधानको १९औँ संशोधन पारित भयो । त्यसपछि मात्रै अमेरिकी महिलाले मताधिकार पाए । यो अधिकार प्राप्त गरेपछि केही अधिकारवादीले भनेको जस्तै महिला आन्दोलनको दोस्रो लहर सकियो ।

रोजगारीमा महिला

विश्व आर्थिक बजारमा आएको पहिलो आर्थिक मन्दीसँगै ठूलो मात्रामा महिलाहरू रोजगारीमा जान थालेका थिए । आर्थिक मन्दीका कारण घरका पुरुषले जागिर गुमाएसँगै महिला घरको आवश्यकता पूरा गर्न घर बाहिर निस्किनु पर्ने अवस्था सिर्जना भयो ।

महिला रोजगारी बजारमा आए पनि उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा थोरै थियो । यद्यपि, पुरुषको तुलनामा महिला रोजगारी स्थायी प्रकृतिको थियो ।

दोस्रो विश्व युद्धका क्रममा धेरै महिला सेनामा सहभागी भए । केही महिला त्यसअघि पुरुषले ओगटेको उद्योगधन्दाको काममा सरिक भए । नागरिक अधिकारको आन्दोलनपछि महिलाहरू रोजगारीका क्षेत्रमा धेरै सहभागी हुन थाले । उनीहरूले आफ्नो मिहिनेतका आधारमा पुरुष सहकर्मी सरह बेतन पनि पाउन थाले ।

सन् १९६३ को समान तलब नीति यस्तो प्रयास थियो जुन आजका दिनसम्म पनि समय सापेक्ष छ ।

दोस्रो लहर : महिला उन्मुक्ति

धेरै प्रयासपछि केही सफलता हात परे पनि सांस्कृतिक अड्चन भने व्याप्त नै थियो । सन् १९६३ मा प्रकाशित भएको बेट्टी फ्रेडनको पुस्तक ‘द फेमिनाइन मिस्टिक’ मा महिलाहरूलाई घरायसी काम र बच्चा हुर्काउने काममा मात्रै सीमित राखिएको उनले तर्क गरिन् ।

त्यस बेलासम्म धेरै मानिसले महिला अधिकारको आन्दोलनलाई ‘महिला उन्मुक्तिको आन्दोलन’ को रूपमा व्याख्या गर्न थालेका थिए ।

सन् १९७१ मा महिला अधिकारवादी अभियन्ता गोरिया स्टेमिनले बेट्टी फ्रेडन र बेला अबजुगसँग मिलेर राष्ट्रिय महिला ककस गठन गरिन् ।

हालसम्म आइपुग्दा महिला आन्दोलनका तीन वटा लहर चलेका छन् । प्राचीन ग्रीसदेखि महिलालाई मताधिकार, महिला मुक्ति आन्दोलन र मिटु आन्दोलनसम्म, महिला अधिकारको आन्दोलन जति लामो छ त्यति नै रोचक पनि छ ।

स्टेमिनको मिस म्यागजिनले पहिलोपटक आफ्नो कभर पृष्ठमा महिला अधिकार झल्किने फोटो प्रकाशित गर्‍यो, सन् १९७६ मा । यसरी महिला अधिकारका विषयमा कुनै पत्रिकाले यसरी महत्त्व दिएर स्थान दिएको यो नै पहिलो घटना थियो ।

समान अधिकार संशोधनले लैङ्गिकताका आधारमा गर्ने विभेद अन्त्य गर्दै कानूनी हिसाबमा महिलालाई समान हैसियत दिने कानून बन्यो ।

सन् १९७२ को अमेरिकी कंग्रेसले यो नीति पारित गरेसँगै यो कानूनका रूपमा लागु भएको थियो । त्यसको एक वर्षपछि सर्वोच्च अदालतले महिलाहरूले आफ्नो इच्छाले गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गर्‍यो ।

तेस्रो लहर : फाइदामा को छ ?

आलोचकहरूले दोस्रो लहरको महिला आन्दोलनका कारण गोरा जातिका महिला, शिक्षित महिलाले बढी फाइदा लिएको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार महिला आन्दोलनले सीमान्तकृत, काला जातिका महिला, तेस्रो लिङ्गी, आप्रवासी महिला, र धार्मिकरूपमा अल्पसंख्यक महिलालाई खास फाइदा नभएको बताउँछन् ।

१९औँ शताब्दीमा पनि ‘सोजोनर ट्रुथ’ ले महिलाबीच नै भएको जातीय विभेदलाई लक्षित गर्दै ‘के म महिला होइन’ भन्ने प्रश्न गरेकी थिइन् । महिलाबीच समान अधिकार हुनुपर्ने उनको माग थियो । सन् १८५१ को ओहायोमा आयोजित महिला अधिकार सम्मेलनमा उनले जोडदार भाषण गर्दै भनेकी थिइन्—

के म महिला होइन ?’ मलाई हेर ! मैले जमिन जोतेकी छु र अन्न उब्जाएकी छु । मैले उब्जिएको अन्नलाई खलामा जम्मा गरेकी छु । मेरो कामको तीव्रतालाई कुनै पुरुषको भन्दा कम छैन ! के म महिला होइन ! म पुरुष सहर काम गर्न सक्छु र यदि मैले पाए भने उनीहरू सरह नै खान सक्छु ! के म महिला होइन ! मैले १३ सन्तान जन्माएकी छु र सबैलाई दासका रूपमा बेचिसकेकी छु । जब म मेरी आमाको शोकमा रोए, मेरो अवाज सुन्ने जिससभन्दा अर्को कोही थिएन ! के म महिला होइन ?

मिटु र महिला आन्दोलन

सन् २०१० को दशकसम्म आइपुग्दा महिला अधिकारवादीहरूले यौन उत्पीडन र कार्यालय क्षेत्रमा बढ्दै गएको बलात्कार संस्कृतितर्फ इशारा गर्दै महिला अधिकार र दुर्व्यवहारविरुद्ध महिलालाई सुरक्षित राख्न अझै काम गर्नुपर्ने बताए ।

सन् २०१७ को अक्टोबरमा जब न्यू योर्क टाइम्सले प्रसिद्ध फिल्म निर्माता हार्वे वेनस्टाइन विरुद्ध यौन दुराचार गरेको आरोपसहित समाचार प्रकाशित गर्‍यो, मिटु आन्दोलनले गति लियो ।

त्यसपछि धेरै महिलाले आफूविरुद्ध भएको यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउँदै शक्तिशाली व्यक्तिहरूलाई पनि आक्षेप लगाए । यसमा तत्कालीन अमेरिकी राष्ट्रपति रहेका डोनाड ट्रम्पको नाम पनि सामेल थियो ।

२१ जनवरी २०१७, अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको पहिलो दिन नै हजारौँको संख्यामा मानिसले वासिंटन डिसीमा आयोजित महिला आन्दोलनमा सहभागिता जनाए ।

आन्दोलनले अमेरिकाको नयाँ प्रशासनले प्रजनन, नागरिक र मानव अधिकारलाई चुनौती दिएको आरोप लगाएको थियो । यो आन्दोलन वासिंटनमा मात्रै सीमित रहेन । विश्वभर नै करिब ३० लाख महिलाले विश्वभरकै महिलालाई पुरुष समान पूर्ण अधिकारको प्रत्याभूत गर्नुपर्ने माग राखेको थियो ।

(२८ फेब्रुओरी २०१९ मा हिस्ट्रीडटकममा प्रकाशित भएको यो लेख ९ फेब्रुअरी २०२१ मा पुनः प्रकाशित भएको थियो । नारीदिवसका अवसर पारी खबरहबका लागि पुरुषोत्तम पौडेलले यो लेख भावानुवाद गरेका हुन् ।)


भर्खर

0