तरकारी किन्न घरमै गाडी पुगेपछि कृषकलाई राहत | Khabarhub Khabarhub

तरकारी किन्न घरमै गाडी पुगेपछि कृषकलाई राहत


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरकी भगवता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमीचौरको बाँसखर्क आए । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो ।

नगरपालिकाले तोकेको भाउअनुसार आधा किलो खुर्सानीको उनले रु ७० पाउने भए । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले भने, “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।”

आफूहरुले तरकारी बिक्री गरेर मासिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उनले बताए । श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमानको आस गर्नुनपर्ने उनको अनुभव छ ।

सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउँछन् । नगरपालिकाको गाडी आउँदा प्रत्येकपटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घर खर्च चलाउन सहज भएको उनको बुझाइ छ ।

“पहिले–पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाँदैन थियौँ”, उनले भने, “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।”

नगरपालिकाले पिडालु प्रतिकिलो रु ५० र अदुवा प्रतिकिलो रु ९० मा खरिद गर्ने गरेको उनले बताए । पिडालु, गिठ्ठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उनले बताए ।

नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । नगरपालिकाले २०७६ कात्तिक २३ गतेदेखि हाटबजार सञ्चालन गरेको छ तर कोरोना महामारी शुरु भएसँगै गत चैतबाट बन्द भएको थियो ।

त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा–४ अर्खले, वडा नं १० सिमीचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ ।

बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा छन् । घरमा दुई छोरी र आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उनी बताउँछन् ।

पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डेका लागि अहिले तरकारी लिन घरमै गाडी आउँछ । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीयवासी कृषकको समयको बचत, सबै तरकारी बिक्री तथा तत्काल भुक्तानी पाइनेजस्ता फाइदा रहेको उनले सुनाए । उनले भने, “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।”

यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्यै नसोचेको बताए । डोकोमा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरीका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरूपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उनको अनुभव छ ।

स्थानीयवासी ५१ वर्षीय खेतबहादुर कुँवरले तरकारी खेतीका लागि पानीको समस्या भएको बताए । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उनले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गरे । कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटबजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ ।

लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागोभी, धनियालगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औसतमा सागको मुठा रु तीन, अदुवा प्रतिकिलो रु ९०, टमाटर प्रतिकिलो रु ५५, प्याज प्रतिकिलो रु ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताए । उनुभयो ।

हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा–१ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्लाबाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिए । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०