नकीं छनोटमा भएको विवादले भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा | Khabarhub Khabarhub

नकीं छनोटमा भएको विवादले भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनोटमा विवाद हुँदा दुई पक्षबीच भएको झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएको छ ।

शुक्रबार साँझ दुई पक्षबीच भएको झडपले यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ ।

घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रबार नवदुर्गा द्योछेंमा जम्मा भएका देवगण र नवदुर्गा नाचका सरोकारवालाबीच नकीं छनोटमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो ।

झडपमा दुवै पक्षका केही सामान्य घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । उनले भने, “विवाद भएपछि प्रहरीले सुरक्षा दिएको हो, दुई पक्षबीच सामान्य झडप भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो ।”

नवदुर्गा देवगणको परम्पराअनुसार घण्टाकर्ण चतुदर्शीका दिन देवगण र नकींको पालो फेर्ने प्रचलन छ । त्यसका लागि केही दिनअघि पालोअनुसार देवगण र नकीं छनोट गरिन्छ । यस वर्ष देवगण छनोटमा विवाद नभए पनि नकीं छनोटमा भने विवाद भएको थियो ।

नवदुर्गा देवगणको नकींमा भक्तपुर नगरपालिका–७ का हरिगोविन्द वनमाला र कृष्णराम वनमालाको परिवारले दाबी गरेका थिए । नकींमा दुई परिवारको दाबी परेपछि विभिन्न चरणमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले हरिगोविन्दको परिवारलाई नकींको जिम्मेवारी तोकेको थियो । कृष्णरामको परिवारले परम्पराअनुसार आफ्नो परिवारको पालो भएको दाबी गर्दै पालो मिचिएको भन्दै असन्तुष्टि जनाएको थियो । उनले पाटन उच्च अदालतमा आफूलाई अन्याय गरेको र पालो मिचिएको भन्दै रिटसमेत दर्ता गरेका छन्, जुन विचाराधीन छ ।

नकीं छनोटमा विवाद उत्पन्न भएपछि नवदुर्गा द्योछें परिसरमा दर्जनौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीकै सामुन्ने दुई पक्षबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरी झडप साम्य पारेको थियो ।

नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य बालकृष्ण वनमालाले घण्टाकर्णको अन्तिम दिन नकीं छनोट भई पद हस्तान्तरण गर्ने बेलासम्म पनि छनोट हुन नसकेपछि विवाद र झडप भएको बताए । उनले विवादले नवदुर्गा देवगणको परम्परा नै बिथोलिएको जानकारी दिए ।

नवदुर्गा देवगणको परम्पराअनुसार घण्टाकर्ण चतुदर्शीको बेलुकी महादेव सिद्ध गर्ने, देवगणको मखुण्डो बनाउन निम्ता दिन जानुका साथै माटाको पूजा गर्नुपर्ने प्रचलन रहेको छ । त्यसैगरी तालक्वस्थित कुमाले टोलमा पुगेर देवगणले नवदुर्गा गणको जात्रा सञ्चालनका लागि आवश्यक भाँडाकुँडा बनाउन आग्रह गर्न जानुपर्ने परम्परा छ । झडपले ती सबै परम्परा बिथोलिएको बालकृष्णले बताए । घण्टाकर्ण चतुदर्शीको रातिदेखि नै देवगणको नाचको प्रशिक्षण शुरु हुने परम्परा रहेकोमा झडप र विवादले यस वर्ष सो परम्परा पनि बिथोलिएको छ ।

तत्काल विवाद समाधान नभए यस वर्ष नवदुर्गा देवगणको जात्रा नै सञ्चालन नहुने जोखिम बढेको उनले बताए । “दुई तीन दिनभित्र विवाद समाधान नभए यस वर्ष नवदुर्गा गण जात्राका कुनै पनि परम्परा सञ्चालन हुन सक्दैन”,उनले भने । उनले समितिका अध्यक्ष र देवगणका नाइकेसमेत रहेका ब्रिजेश वनमालाको दम्भ र पक्षपातपूर्ण व्यवहारले झडपको स्थिति आएको आरोपसमेत लगाए ।

स्रोतका अनुसार नवदुर्गा देवगणको नकींमा शेरबहादुर वनमाला र जयमल वनमालाको परिवारले १२/१२ वर्षमा पालो फेर्दै आएका थिए । विसं २०५४ मा नकीं छनोटमा हरिगोविन्द वनमालाको परिवारले पनि दाबी गरेको थियो । विसं २०२६ को पालो र नवदुर्गा देवगणको नामकरणको वंशावली तथा मूल लिखतको अध्ययनले हरिगोविन्दको पनि नकींमा दाबी पुगेको देखिएपछि २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा शेरबहादुर, जयमल र हरिगोविन्दबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सोही सहमतिअनुसार यस वर्ष हरि गोविन्दको परिवारको नकीं हुने पालो रहेको बताइन्छ । नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र देवगणको नायो ब्रिजेश वनमाला छन् । व्रिजेश शेरबहादुरका भतिजा हुन् । स्रोतका अनुसार शेरबहादुरले अन्तरजातीय विवाह गरी धर्मसमेत परिवर्तन गरेका कारण उनले भतिजलाई प्रयोग गरी विवाद सिर्जना गरेको वनमालो बताए । वनमाला समुदायले अन्तरजातीय विवाह गरेको खण्डमा उनीबाट जन्मेका सन्तान देवगणमा सामेल हुन नपाउने नियम छ ।

कृष्णरामको परिवारलाई नकींको जिम्मेवारी दिए नवदुर्गा देवगणमा पहिलो पटक एकै परिवारका नकीं र नायो बन्ने छन । तर नवदुर्गामा एकै परिवारका नकीं र नायो बनेको इतिहास नभएको वनमालाहरु बताउँछन । नवदुर्गाको वंशावलीमा समेत एकै परिवारलाई नकीं र नायो दिन नहुने उल्लेख गरेको वनमालाको दाबी रहेको छ ।

समितिका अध्यक्ष एवं नायो ब्रिजेशले कुनै पनि नियम मिचेर काम नगरेको बताए । उनले भने, “पालो नाइके र अध्यक्ष म भएकाले मैले शक्ति प्रयोग गर्‍यो भने तर मैले त्यस्तो केही गरेको छैन, धालापौ(बंशावली)अनुसार यसपाली श्री बहादुरको हो, त्योअनुसारै मेले मिलाएको हो ।”

उनले बंशावली वनमालाले पल्टाउन र हेर्न नहुने परम्परा रहेको जनाउँदै जोशी बजुले पल्टाएर हेर्ने र सोहीअनुसार पालो दिइएको बताए । उनले नकीं विवाद २०५४ सालदेखि भएको र त्यसबेला जिल्ला प्रशासन कार्यालयम गएर सहमति गरेर आएको जानकारी दिए । “मैले त्यस्तो कुनै पदको दुरुपयोग गरेको भए म पदबाटै राजीनामा दिन तयार छु”, उनले भने, “यही साउन १४ गते नै सबै देवगण र आठ नाइकेको रोहबरमा यो तय गरिएको थियो, नकींको तय पनि जोशीले बंशावली हेरेर गरेको हो मैले केही गरेको छैन, मलाई गुन्डा प्रवृति देखायो भनी आक्षेप लगाए ।”

नवदुर्गा द्योछेंको छनोट हुने नकींले नवदुर्गाको मन्दिरमा दैनिक नित्य पूजा, आरती गर्नाका साथै जात्रा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने परम्परा छ । नकींले कुनै तलब भत्ता पाउने व्यवस्था नभए पनि मन्दिरमा चढाएको भेटी, दान दक्षिणामा एकाधिकार राख्न पाउने परम्परा रहेको छ । – रासस

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०