उच्च रक्तचापको जीवनशैली उपचार « Khabarhub
Logo
१४ माघ २०७८, शुक्रबार

उच्च रक्तचापको जीवनशैली उपचार



के हो रक्तचाप ?

रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भनिन्छ । क्रियात्मक रूपले स्वास्थ व्यक्तिमा सिस्टोलक १००– १३० एम्.एम्.एच्.जी. सम्म हुन्छ भने डाएस्टोलिक ६०– ८५ एम्.एम्.एच्.जी.सम्म रहन्छ । यदी रक्तचापले यी मानविन्दुहरू नाघेमा रक्तचापको समस्या भएको मानिन्छ । सामान्यतया सिस्टोलिक १२० र डाएस्टोलिक ८० लाई आर्दश रक्तचाप मानिन्छ ।

उच्च रक्तचाप

मुटु तथा कोरोनरी धमीनीजस्ता रोगको मुख्य कारक, मस्तिष्क घात, मिर्गौला फेलिएर र दृष्टिनाश जस्ता समस्याहरूको मूलजरोका नामले सम्बोधन गरिएको यो रोग प्रत्येक वर्ष ९० लाख मानिसहरूको मृत्युको कारण पनि हो । आज संसारभर तीनमध्ये एक जना मानिसमा उच्च रक्तचापको समस्या छ भने करोडौँ मानिस यही रोगको कारणले उत्पादक मूलक जीवन जीउन बञ्चित छन् ।

उच्च रक्तचापका प्रकारः

उच्च रक्तचापलाई प्राथमिक/प्राइमरी र द्वितीय/सेकेन्डरी गरेर दुई समूहमा बाँडिएको छ । रोगको कारक तत्वहरूको एकिन नभएका हुँनाले प्राइमरी रक्तचापलाई कारण रहित (ईडीओपेथिक)उच्च रक्तचाप पनि भनिन्छ । रोगका खास कारणहरू नभए पनि यो रोग आनुवांशिकता, वातावरणीय अन्तरसम्बन्ध, जीवनशैली र व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको उपज हो । खास गरी ज्यादा तौल भएका, नुन ज्यादा खाने, श्रम तथा व्यायाम नगर्ने, सूर्तीजन्य तथा अन्य नशालु पदार्थहरूको सेवन गर्ने, जाँड–रक्सी जस्ता मादक पदार्थहरुको सेवन गर्ने क्लोरेस्टेरोलका समस्या भएकाहरू, खानामा रेसा र चोक्कर नलिनेहरु, टायप ए व्यक्तित्व भएकाहरु, तनाव, चिन्ता, भय र उदासिनता भएकाहरूमा ज्यादा देखिएको छ । धेरै कम प्रतिशतमा पाइने सेकेन्डरी उच्च रक्तचापको भने निश्चित कारणहरु हुन्छन् । ६ प्रतिशत मध्ये ४ प्रतिशत मिर्गौला तथा रक्तनलीहरुको खरावीका कारणले, १ प्रतिशत अन्तश्रावी ग्रन्थी तथा हरमोनहरुको गडबढीको कारणले र बाँकी १ प्रतिशत औषधिहरुको साइड इफेक्टका कारणले हुने गर्दछ ।

लक्षणहरुः

उच्च रक्तचाप भएकाहरुलाई लगातार टाँउको दुख्ने (खास गरी पछाडीको भागमा) रिङ्गटा चल्ने, चाँडै रिस उठ्ने, छात्ती दुख्ने – पोल्ने, चक्कर लाग्ने, कान बज्ने, दृष्य धमिलिने, श्वास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्री फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षणहरु देखिन्छ ।

जोखिमहरुः

उच्च रक्तचाप आफैँमा कुनै रोग होइन तर सयौँ रोगहरुको जननी हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात (दृष्टि गुम्नु) मुटु सुन्निने, रक्तनलीहरु तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थताजस्ता समस्याहरु आउन सक्छ ।

उपचारः

सेकेन्डरी उच्च रक्तचाप नियन्त्रण गर्नको लागि यसका कारणहरु पत्ता लगाएर आवश्यक मेडिकल वा सर्जिकल विधि अपनाउनु पर्ने हुन्छ । प्राइमरी उच्च रक्तचाप भएकाहरुले जीवन शैली परिर्वतन गर्ने तथा मुटुरोग विशेषज्ञको परामर्शमा रक्तचाप नियन्त्रक औषधिहरु खानु पर्ने हुन्छ । जीवनशैली परिवर्तन नगरी औषधिमात्र लिँदा पनि रक्तचापलाई दीर्घकालीनरुपमा नियन्त्रण गर्न सकिएको छैन । तसर्थ उच्च रक्तचापका रोगीहरुले जीवन शैलीमा परिवर्तन गर्न नितान्त आवश्यक छ ।

जीवनशैली परिवर्तनः

जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको स्वास्थ्यमैत्री हुने गरी ठीक–ठीक समायोजन गर्नु हो ।

भोजन व्यवस्थापन

उच्च रक्तचाप तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनको मात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रीय र मौसमी खाद्यान्नहरु उच्च रक्तचाप तथा मुटुरोगका लागि राम्रो मानिन्छ । चामल, गहुँ, मकै, आलु, पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलीय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१. घिउ, तेल, नौनी, छाली, वटर र वोसोजस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुँदैन । खाना पकाउन अत्यन्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ । शुद्ध तोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।

२. उच्च रक्तचाप भएकाहरुले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुरजस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।

३. नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदार्थ उच्च रक्तचापको लागि राम्रो होइन ।

५. पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालीन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिको सुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाँडै पच्ने खाना खाने गरौँ ।

७. खानामा नुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु तथा रक्तचाप मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्य पदार्थले मुटु तथा रक्तचाप रोगको जोखिम बढाउँछ ।

८. खानामा रेसा र चोकरयुक्त खाद्यान्नहरुको समायोजन हुन जरुरी छ । सलाद, हरियो सागसब्जी, चोकरयूक्त पीठो, रातोचामल, सग्ला अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरियो कलिला मौसमी साग, अंकुरीत गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ ।

व्यायाम व्यवस्थापन

१. मुटु तथा रक्तचापका रोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुँदैन । अंग ब्यायाम, रिढ ब्यायाम, शिथिलीकरण ब्यायाम, प्रातः ग्रमणजस्ता हल्का ब्यायाम नियमित गर्नुपर्छ ।

२. दक्ष योग गुरुबाट मुटु तथा रक्तचापका रोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले रक्तचापको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।

३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।

बिश्राम व्यवस्थापन

१. मुटु तथा रक्तचापकारोगीका लागि बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ, राति चाँडै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नुपर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भए पनि सुत्ने प्रयास गरौं । दिउFसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखाने बित्तिकै सुत्ने बानी मुटु तथा रक्तचाप रोगमा खतरनाक मानिन्छ ।

२. शारीरिक तथा मानसिकरुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक, प्राणिक इनरजाईजीङ्ग टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक, डिप रिल्याक्सेसन् टेक्निक, क्विक रिल्याक्सेसन टेक्निक, ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निकजस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३.सम्पूर्ण शरीरको मालिस, तैल अभ्यङ्ग, वाष्प स्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ तर यी उपचार पद्धतिहरु चिकित्सकीय परामर्शमा मात्र गर्नुपर्छ ।

विचार व्यवस्थापन

१. मुटु तथा रक्तचापका रोगवाट बच्न अव्यावहारिक र पूरा नहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुसँग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पत्ति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफूलाई तिरोहित गर्नु हुँदैन ।

२. सकारात्मक चिन्तन मुटु तथा रक्तचापका जस्ता रोगको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुरोग तथा रक्तचाप नियन्त्रणका लागि राम्रो हो ।

३. विहान वेलुकी कम्तीमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थाना, वा एकान्तबासजस्ता साधना नियमपूर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौँ यसले तनाब कम गर्न सहयोग गर्छ ।

४. तनाब व्यवस्थापनको नाममा चुरोट, सूर्ती, जाड रक्सी वा अन्य नसालु पदार्थको सेवन गरेर आफूलाई भुलाउन नखोजौँ  ।

ब्यबहार व्यवस्थापन

१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी) अगाडिदेखि (घाम झुल्किदासम्मको समय) उठिसक्ने, उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझL व्यायामको लागि तयार हुनुपर्छ ।

२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यवस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य व्यवस्थापन सुचारु भई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छदेखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टापछि मात्र सुत्न जाने गर्नुपर्छ ।

४.नाम र दामको पछाडि मरीहत्ते गर्ने बानी मुटु तथा रक्तचापका लागि राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्यसैमा सन्तोष गर्ने गरौं ।

५. आफ्नो ब्यक्तित्वलाई लचकदार र सर्वप्रीय बनाउँ । अहंकार, घमण्ड र मपाईत्वलाई प्रश्रय नदिउँ । सानालाई माया र ठूलालाई आदार गरौँ । दुःखीहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदिता राखौँ भने दुर्जनहरुको वास्तै नगरौँ ।

६. आफ्ना गल्ती तथा भुलहरुलाई फेरि नगर्ने संकल्पका साथ भुलौँ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौँ । ईखलिने, बैरत्व राख्ने, मनमा लागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्यक्ति उच्च रक्तचापको सिकार हुन सक्छ ।


भर्खर

0