८२ वर्षको उमेरमा एउटा दुर्लभ क्षणको प्रतिक्षा | Khabarhub Khabarhub

८२ वर्षको उमेरमा एउटा दुर्लभ क्षणको प्रतिक्षा


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्तरिक्ष यात्राको आकाङ्क्षामा आधा शताब्दी तयारी गरेपछि अन्ततः वेली फन्कको जीवनमा महत्वपूर्ण क्षण आइपुगेको छ ।

अन्तरिक्षको यात्रा गर्ने धोकोसहित आधा शताब्दीअघि फन्कले नासाको ‘मर्करी १३’ मार्फत प्रशिक्षण लिन थालेकी थिइन् । नासाले भने आफ्नो कुनै पनि अन्तरिक्षयात्रा योजनामा फन्कलाई समावेश गरेन । यस पटक भने २० जुलाईमा अन्तरीक्षयात्रामा निस्कने टोलीमा संसारका केही प्रसिद्ध व्यक्तिको साथमा फन्क पनि छानिएका छिन् ।

१२ अप्रिल १९६१ मा ‘भास्टक वान’ मा उडेर युरी गागरिनले पहिलो अन्तरीक्षयात्रीको कीर्तिमान बनाए । यसपछि अनेक व्यक्तिले अन्तरिक्षयात्राको प्रयास गरे । कतिले चाँडै सफलता पाए, कतिले लामो समय प्रतिक्षा गरे । यसैमध्येका केही उत्साही व्यक्तिहरू जुलाईमा अन्तरिक्ष यात्राको तयारीमा छन् ।

अमेजनका संस्थापक, संसारकै धनी व्यक्ति जेफ बेजोसका साथमा यो यात्रामा उनका भाइ मार्क बेजोसले र फन्क रहने निश्चित भएको छ । अक्सनबाट छानिने एक व्यक्तिको नाम सार्वजनिक हुन बाँकी छ । जेफले फन्कलाई अन्तरिक्ष यात्राप्रति उनको तीव्र लगावका कारण छनोट गरेका हुन् ।

बेजोसकै स्पेस कम्पनी ब्लु ओरिजिनले फन्क यात्रा टोलीमा रहने औपचारिक जानकारी गराएको हो । अक्सनबाट त्यसतर्फ प्रस्थानका लागि छनोट हुनेले २ करोड ५० लाख डलर तिर्नुपर्छ ।

बेजोसले इन्स्ट्राग्राममा फन्क सम्मानित अतिथिको रूपमा आफ्नो टोलीमा रहने जानकारी गराएका छन् । अहिले सम्मानस्वरूप अन्तरिक्षयात्रामा जान लागेका फन्कको ८२ वर्षे जीवनकथामा धेरै रोमाञ्चक मोड देखियो ।

सन् १९६१ मै ‘मर्करी १३’ को नामबाट महिलाहरूलाई अन्तरिक्षयात्रा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा फन्क उत्कृष्ट ठहरिएकी थिइन् तर उक्त यात्राको परियोजना रद्द भयो । यसबाट फन्कको सपनामा ठूलो आघात पर्‍यो तैपनि नासासँग सम्पर्क र सहकार्य छाडिनन् ।

उक्त समयमा १३ जनामध्ये फन्क सबैभन्दा कान्छी थिइन् । छिटो समयमा सिक्ने प्रशिक्षार्थी पनि उनै थिइन् । ‘मर्करी १३’ यानको परीक्षणमा उनले चर्चित अन्तरिक्ष यात्री जोन ग्लेनलाई पछि पारेकी थिइन् । हालसम्म सबैभन्दा बढी उमेरमा अन्तरिक्षयात्राको कीर्तिमान ग्लेनकै नाममा छ ।

फन्कका अनुसार अन्तरिक्षमा जाने उनको मौका नासाले चार पटक स्थगन गरिदियो । यसबाट उनको आशा कमजोर हुँदै गएको थियो । आफूले सधैँ युवाको जस्तो गरी प्रयास जारी राखेकाले अहिले अवसर पाएको उनको प्रतिक्रिया छ ।

एयरक्राफ्ट पाइलटको रूपमा फन्कले १९ हजार ६०० घण्टा उडान गरेकी छन्, ३ हजार जनालाई व्यावसायिक र व्यक्तिगत उडानको प्रशिक्षण दिएकी छन् । उनीसँग नियामक संस्था एफएएको लाइसेन्स छ । ब्लु स्पेसको न्यु सेपर्डमा विश्वका यी धनाढ्यसँगको यात्राका लागि उनलाई यी सबै अनुभव आवश्यक थिएन । पश्चिमी टेक्ससमा ब्लु ओरिजिनको कार्यालयमा केही घण्टाको सुरक्षा प्रशिक्षण लिएपछि यो पूर्ण स्वतन्त्र स्पेसक्राफ्ट तथा रकेट सिस्टममा अन्तरिक्ष यात्री हुनसक्ने प्रावधान छ ।

न्यु सेपर्ड २ हजार ३०० माइल प्रतिघण्टाको दरले उडेपछि इन्धन नसकिएसम्म सिधा माथि गइरहनेछ अनि मानिसहरू बसेको भाग रकेटबाट छुट्नेछ । माथिल्लो उचाइमा पुगेपछि गुरुत्वाकर्षण नै नभएको अनौठो अनुभव यात्रीले गर्नेछन् । बिस्तारै उनीहरू तलतिर आउनेछन् । केही समयपछि गुरुत्वाकर्षण र आफ्नो तौलको अनुभव गर्नेछन् । यसपछि ढिलो गतिमा अवतरण गर्ने छन् ।

यात्रीहरू बसेको यानको सानो टुक्रो जमिनमा फर्कंदा भने २० माइल प्रतिघण्टा भन्दा कमको गति लिँदै पृथ्वीको सतहमा आइपुग्नेछ । उनीहरू नथर्किने सिटमा बस्ने भएकाले पृथ्वीमा ओर्लिंदा यहाँको गुरुत्वाकर्षणले धक्का महसुस हुँदैन ।

यसअघि फन्कले भर्जिन गालाटिकको टिकट लिएकी थिइन् । अहिले फन्क लगायतले यात्रा गर्ने ब्लु ओरिजिनले भने कहिले व्यावसायिक उडान शुरू गर्छ भन्ने एकिन भएको छैन ।

त्यसो त यी ८२ वर्षीया वृद्धाको जीवनमा अनेक आरोह–अवरोह देखापरे परन्तु हार नमानी निरन्तर आफ्नो अभियानमा लागिरहिन् । सन् १९३९ मा लस भेगासमा जन्मिएकी फन्कका अभिभावक कलाका सौखिन थिए । सामान्य पसल चलाएर उनका अभिभावकले कलाकारसँग उनीहरूको चित्रकला किनेर बेच्ने काम पनि गरे ।

उनी एक वर्षकी हुँदा आमाबाबुसँग न्यु मेक्सिको विमानस्थल पुगेकी थिइन् । उनको नजिकैबाट विमान उडेको थियो । यही घटनाबाट विमानबारे उनमा कौतुहल शुरू भएको थियो । सात वर्षको उमेरमा उनले काठको खेलौना विमान बनाइन् । नौ वर्षकी हुँदा उडानबारे जानकारी लिन थालेकी थिइन् । चौध वर्षको उमेरमा उनी स्की खेल र राइफल प्रहारमा निपुण थिइन् ।

उनको रुचिसँग नमिलेपछि फन्कले हाई स्कुल छाडेकी थिइन् । उनी १४ वर्षकी मात्र भएका कारण विमानसम्बन्धी अध्ययन गर्न पाइनन् । सोह्र वर्षको उमेरमा कलेज पुगेपछि उनले आफ्नो इच्छाअनुसारको अध्ययन थालिन् । सन् १९५८ मा उनी पाइलट भइन्, १९६४ सम्ममा त उनले अन्तरिक्षयात्रा, उडान र यानका विषयमा अवार्ड पाउन थालिन् । त्यस वेलासम्ममा उनी अमेरिकामा नामी विमान चालक भइसकेकी थिइन् ।

फन्क २० वर्षको उमेरमा सैनिकलाई विमान चालकको प्रशिक्षण दिने गैरसैनिक चालक थिइन् । अमेरिकी सेनालाई यस्तो प्रशिक्षण दिने पहिलो महिला पनि उनै थिइन् ।

फन्कले लामो समय सेना र अन्यत्र पाइलट र प्रशिक्षकको रूपमा काम गरिन् । उनको अन्तरिक्षयात्राको मोह भने कहिल्यै भङ्ग भएन । सन् १९७० देखि नासासँग निरन्तर सम्पर्कमा थिइन् । टेस्ट पाइलटको रूपमा इन्जिनियरिङ पृष्ठभूमि नभएका कारण उनले बारम्बार अवसर गुमाउनुपर्‍यो ।

सन् १९९५ मा लेफ्टिनेन्ट कर्णेल एलेन कोलिन्स स्पेस यान चलाउने पहिलो महिला अन्तरिक्षयात्री बनेकी थिइन् ।

‘मर्करी १३’ परियोजनामा फन्कसहित अन्य १२ जना महिला केनेडी स्पेस सेन्टरको उद्घाटन समारोहमा अतिथिका रूपमा निम्त्याइएका थिए । यो सम्मानले उनमा उत्साह र जाँगर कायम राखेको थियो । टेक्ससमा बस्ने फन्क अहिले पनि हरेक शनिबार प्रशिक्षकका रूपमा विमान उडाउँछिन् ।

उनले सन् १९६४ मा ‘अल्मुनिया एचिभमेन्ट अवार्ड’ पाइन् । सन् १९६५ मा उनी अमेरिकाकी आउट स्ट्यान्डिङ युवाको रूपमा चयन भइन् । सन् २०१२ मा उनको जीवनीमा आधारित फिल्म बन्यो ।

फन्क पृथ्वीबाट अन्तरिक्षतर्फ प्रस्थान नगरेसम्म सबैभन्दा बढी उमेरमा अन्तरिक्षयात्राको कीर्तिमान अमेरिकी अन्तरिक्षयात्री जोन हर्सेल ग्लेन जुनियरको नाममा रहनेछ । उनी अन्तरिक्षमा पुग्ने तेस्रो र पृथ्वीको कक्ष परिक्रमा गर्ने पहिलो अमेरिकी हुन् । उनले सन् १९६२ मा तीन पटक पृथ्वी परिक्रमा गरेका थिए ।

अद्भूत क्षमतामा धनी ती अन्तरिक्षयात्री सन् १९७४ देखि १९९९ सम्म ओहायो राज्यको प्रतिनिधिका रूपमा अमेरिकी सिनेटमा सदस्य थिए । सिनेटमा भएकै समयमा सन् १९८८ मा ७७ वर्षका उनले फेरि अन्तरिक्षयात्रा गरे अनि उनको कीर्तिमान बन्यो ।
नासामा आबद्ध हुनुअघि ग्लेन दोस्रो विश्व युद्धमा फाइटर प्लेनका चालक थिए । विश्व युद्धमा देखाएको बहादुरीका लागि उनले सन् १९५७ मा अनेक अवार्ड पाएका थिए ।

सन् १९५७ मा नासाले तयार गरेको ‘मर्करी सेभेन’ अन्तरिक्षयात्री समूहमा ग्लेन पनि समावेश थिए । उनले सन् १९६२ फेब्रुअरी २० मा ‘फ्रेन्डसिप सेभेन’ मार्फत अन्तरिक्षयात्रा गरे । योसँगै उनी अन्तरिक्षमा पुग्ने तेस्रो अमेरिकी तथा विश्वका पाँचौँ व्यक्ति भए ।
सन् १९६२ मा ग्लेनले नासाबाट ‘डिस्टिङगुइस्ट सर्भिस’ मेडल पाए । सन् १९७८ मा उनले ‘कंग्रेसनल स्पेस मेडल अफ अनर’ तथा १९९० मा ‘युएस एस्ट्रोनट हल अफ फेम’ अवार्ड पाए । सन् २०१२ मा ‘प्रेसिडेन्ट मेडल अफ फ्रिडम’ भए ।

ग्लेनले सन् १९६४ मा नासाबाट राजीनामा दिए अनि १९७४ मा पहिलो पटक डेमोक्रेटिक पार्टीबाट अमेरिकी संसदमा चुनिए । उनी २४ वर्ष सिनेट सदस्य रहे । सन् १९९८ मा संसद् सदस्य रहेकै समयमा ग्लेनले ‘स्पेस सटल डिस्कभरि यान’ मार्फत उडान गरे । यसमा ७७ वर्ष उमेरको कीर्तिमान यथावत छ । ‘मर्करी सेभेन’ परियोजनाका अन्तिम जीवित पात्र ग्लेनको पनि सन् २०१६ मा ९५ वर्षको उमेरमा निधन भयो ।

अबका केही वर्षमा अन्तरिक्ष पर्यटनको विकास हुने अपेक्षा छ । यसलाई व्यापक बनाउन थुप्रै कम्पनीहरू लागिपरेका छन् । यसपछि अन्तरिक्षको यात्रा धेरै ठूलो कुरा नहुन सक्छ तर अन्तरिक्षमा मानवयात्राको इतिहासमा ग्लेन र फन्कको नाम स्वर्णिम अक्षरले लेखिनेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०१ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर