दुई शताब्दीपछि अमेरिकी संसदमा हमला, विश्वभरबाट निन्दा | Khabarhub Khabarhub

दुई शताब्दीपछि अमेरिकी संसदमा हमला, विश्वभरबाट निन्दा

पूर्वराष्ट्रपतिहरू भन्छन्- अमेरिकीलाई लज्जित बनायो


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक हमला भएको छ ।

यो हमला  सन् १८१२ को युद्धपछिको पहिलो भएको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो ।

तर, अहिलेको हमला कुनै फौज वा बाह्य शक्तिबाट नभई राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थकबाट भएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन नभइ ट्रम्प नै विजयी भएको घोषणा हुनुपर्ने मागसहित उनका समर्थक संसद भवनमा हुलदुंगा गर्न पुगेका थिए ।

सोक्रममा भएका झडपमा चार जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन्  ।

अमेरिकीलाई लज्जित बनायो

घटनापछि अमेरिका पूर्वराष्ट्रपतिहरूले चुनावमा पराजय हुन नचाहेका ट्रम्प र उनका समर्थकले गरेका कामले अमेरिकालाई लज्जित बनाएको बताएका छन् ।

‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्,’ पूर्व राष्ट्रपति बाराक ओबामाले भने,’ यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ।’

पूर्वराष्ट्रपति विल क्लिन्टनले अमेरिकी संसदमा बुधबार भएको हमला जबरजस्ती फैलाइएको गलत सूचनाको उपज भएको बताएका छन् ।

‘जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने यो हमलाले  अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ,’क्लिन्टनले भने ।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले चुनावी नतिजाको यस्तो विवाद अस्थिर राजनीतिमा मात्र हुने बताए । ‘बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा यस्तो हुन्छ,’ बुसले भने, ‘हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन… यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो।’

विश्वभरबाट निन्दा

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरबाटै निन्दा भएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई ‘अन-अमेरिकन’ अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो भएको बताएका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।

युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको टिप्पणी गरेका छन् ।

यस्तै आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीक नै गरिएको लोकतन्त्रमाथिको हमलाको संज्ञा दिएका छन्।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भन्दै त्यसबाट ‘क्यानेडियालीहरू विक्षिप्त भएको’ बताएका छन्।

ट्रम्पको जिम्मेवारी खोसिन सक्ने

संसदमा भएको हमलासँगै ट्रम्पलाई जनवरी २० सत्ता हस्तान्तरण अगावै पनि हटाउन सक्ने चर्चा चुलिएका छन् ।

ट्रम्पकै मन्त्रिपरिषद्ले संविधानको २५औँ संशोधनलाई ब्युँताउन सक्ने चर्चा चुलिएका छन् ।

बीबीसीका अनुसार राष्ट्रपतिले आफ्ना जिम्मेवारी वहन गर्न नसकेको अवस्थामा उनको जिम्मेवारी अन्तै सारेर उनलाई जिम्मेवारीविहिन बनाउन सक्ने व्यवस्था छ ।

तर, यस्तो गर्न बहुमत मन्त्रीहरू र उपराष्ट्रपति माइक पेन्सले संसद्का नेताहरूलाई पत्र लेखेर ट्रम्प अक्षम रहेको घोषणा गर्न सक्नुपर्छ । यस्तो अवस्थामा उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बनाउन सक्ने प्रावधान रहेको छ । यस्तो व्यवस्था अमेरिकामा सन् १९६७ यता ब्युँताइएको छैन ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १२ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०