चीन तियानमेनको इतिहास पुनर्लेखन गर्न चाहन्छ « Khabarhub
Logo
३१ जेठ २०७८, सोमबार

चीन तियानमेनको इतिहास पुनर्लेखन गर्न चाहन्छ



सप्ताहन्तमा पहेँलो रङको छाता ओडेर ‘३२, ४, जुनको तियानमेन विलाप’ लेखेर घरमै बनाइएको प्लाकार्ड बोकेर एक वृद्धा सडकमा उत्रिन् । सेतो कपाल भएकी ती वृद्धालाई गैरकानूनी सभामा सहभागी भएको आरोपमा पक्राउ परिन् ।

यस्तो हृदयविदारक दृश्य चीनको होइन हङकङको हो । आन्दोलनमा उत्रिएकी ६५ वर्षीया महिला एलेक्जेन्डा फिङ यिऊले हङकङमा बेइजिङको उदण्डता तीव्र गतिमा बढ्दै गएको बताएकी छन् । सन् १९८९ मा बेइजिङस्थित तियानमेन स्क्वायरमा भएको आन्दोलनको सम्झनामा दुई वर्षअघि करिब एक लाख ८० हजार मानिस हङकङको सडकमा उत्रिएका थिए ।

यस वर्ष हङकङमा प्रदर्शनमा बन्देज लगाइएको छ । भिक्टोरिया पार्कमा आयोजना हुने भनिएको प्रदर्शनमा सहभागी जो कोहीलाई पनि पाँच वर्षसम्मको काराबास हुने चेतावनी दिइएको छ । हङकङको नयाँ राष्ट्रिय सुरक्षा नीतिअनुसार यस प्रदर्शनको पक्षमा केही लेखेको वा प्रशारण गरेको पाइएमा ती संस्था वा व्यक्तिलाई पनि जेल सजाय हुनसक्ने बताइएको छ ।

गत वर्ष हङकङमा प्रजातन्त्रका पक्षमा भएको व्यापक प्रदर्शनपछि चीन सरकारले उक्त राष्ट्रिय सुरक्षा नीति लागु गरेको हो । तियानमेनमा भएको घटनाको सार्वजनिक कार्यक्रमका माध्यमबाट स्मरण गर्न पनि हङकङमा निकै अप्ठेरो अवस्था छ ।

त्यहाँको एक स्थानीय पत्रिकारले उक्त घटनालाई सम्झन लाइटका स्वीचमा ‘६४’ लेख्न आग्रह गरेको छ । जसले गर्दा लाइट अन–अफ गर्दा पनि त्यो दिनको सम्झना हुने पत्रिकाको तर्क छ ।

यो घटनाले सार्वजनिक सम्झनाको खतरनाक तस्वीर देखाउँछ । यसले ३२ वर्षअघि भएको घटना सम्झिँदै चिनियाँ कम्युनिस्ट पार्टीको नैतिकता कता छ भन्ने प्रश्न समेत गरेको छ ।

यस्तो कडाइ गत वर्ष हङकङमा भएको प्रदर्शन जस्तै प्रदर्शन यो वर्ष नहोस् भन्ने उद्देश्य राखेर भएको हो । गत वर्ष कोभिडको महामारीबीच हजारौँको संख्यामा हङकङवासी प्रदर्शनमा सहभागी भएर सामाजिक दूरीको पालना गर्दै तियानमेन घटनाको सम्झनामा मैनबत्ती बालेका थिए । प्रदर्शनमा सहभागी भएको निहुँमा करिब दुई दर्जन मानिसलाई स्थानीय सरकारले १० महीनासम्मको कैद सजाय सुनाएको थियो ।

यस्तो सजाय पाउनेमा स्थानीय एक पत्रिकाका प्रकाशक जिमी लाई र अभियानकर्मी जोसुवा वङ पनि थिए । अभियान्ताहरूलाई दोषी ठहर्‍याएपछि स्थानीय राजनीतिकर्मी, वकिल, पत्रकार, संघसंस्थाका कर्मचारीदेखि लिएर अन्य व्यक्तिले अदालतको बाटो हुँदै प्रदर्शन गरेका थिए । प्रदर्शनमार्फत उनीहरूले अदालतलाई दबाब दिने प्रयास गरेका थिए ।

सात वर्षअघि, जब मैले बेइजिङले सन् १९८९ को प्रदर्शनका क्रममा निधन भएका व्यक्तिहरूको सम्झना मेटाउने प्रयास गर्दैछ भनेर पुस्तक लेखे, केही व्यक्तिले इतिहास भइसकेको धेरै वर्षअघिको घटना देशका लागि सान्दर्भिक नभएको तर्क गरेका थिए ।

पछिल्लो समय हङकङमा भएको प्रदर्शनले तियानमेन घटनाको स्मरण पहिलाभन्दा अहिले बढ्दै गएको देखाएको छ । तियानमेन घटनापछिको प्लेकबुक घटनाको निकटतासँग यसरी जोडिएको छ कि प्रदर्शनमा प्रयोग भएको दमन उल्लेख गर्न ‘ह्वाइट टेरर’ शब्द प्रयोग गरिन्छ ।

प्रदर्शनमा खासै ठूलो भूमिका नभएका व्यक्तिहरूले पनि लामो समय कैद साजय भोग्नु पर्‍यो । गत हप्ता बाटो छेक्न राखिएको पानी ट्याङ्कीमा क्यामेराले हिर्काउने एक विद्यार्थीलाई चार वर्षको कैद सजाय सुनाइएको छ ।

यो दृष्टान्त मात्रैले पनि पछिल्लो समय हङकङबासीले कतिसम्म पीडा सहेका छन् भन्ने कुरा बताउँछ । भाषा परिमार्जन गर्ने नाममा कम्युनिस्ट चीनले गरेको परिभाषाबाट उनीहरू पिल्सिएका छन् ।

तियानमेन घटनापछि चीनले लिएको रणनीति हङकङमा पनि अख्तियार गर्न खोजिएको छ । त्यसका लागि त्यस क्षेत्रका विश्वविद्यालय, सञ्चारमाध्यम, नागरिक समाज र सरकारी कर्मचारीलाई वैचारिक अभियानमा जुटाउन थालिएको छ ।

बेइजिङले यस्तो गैरकानूनी करार आफ्नो सीमाभन्दा बाहिर पनि निर्यात गरेको बुझ्न सकिन्छ । यो वर्ष कोही व्यक्तिले हङकङमा होस् कि विश्वको कुनै ठाउँमा, प्रतिबन्धित नारा लगाए उसले राष्ट्रिय कानून पालना नगरेको बुझिनेछ ।

यही समयमा १९८९ मा बेइजिङमा राष्ट्रवादी शिक्षाको ठाउँमा राष्ट्रिय सुरक्षा शिक्षा पढाउन थालिएको थियो । इतिहासका पुस्तक पुनर्लेखन गर्न थालिएको छ । यहाँसम्म कि रसायनशास्त्र र जीवविज्ञानका पाठ्यक्रममा समेत राष्ट्रिय सुरक्षाको सामग्री समावेश गर्न थालिएको छ ।

यस्तै, हङकङबाट प्रकाशित हुने समाचार पत्रहरूले पहिला तटस्थ रहेका सरकारी कर्मचारी अहिले सत्ताप्रति जवाफदेही भएको चित्रहरू प्रकाशन गर्न थालेका छन् ।

यहाँसम्म कि सरकारी सरसफाइका कर्मचारीले पनि वर्तमान कानून पालना गर्ने निष्ठा र प्रतिज्ञा गर्नुपर्छ भन्ने प्रकारका चित्र प्रकाशित हुने गरेका छन् ।

गत वर्ष १९८९ को तियानमेन प्रदर्शन र २०१९ को हङकङमा भएको प्रदर्शनलाई जोडेर पनि व्याख्या भएको थियो । म बस्ने मेलबोर्नका सडकमा रहेका ठूला ठूला पर्दाहरूमा तियानमेन घटना र हङकङ प्रदर्शनका दृश्य एकपछि अर्को गर्दै प्रदर्शन गरिएको थियो ।

राज्य दमनका विषयमा मानिसालाई जानकारी दिन यस्तो दृश्य देखाइएको थियो । यसरी प्रदर्शन गरिएको दृश्यमा मानिसहरू चिच्च्याइरहेका देखिन्थे । त्यसमा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको आन्दोलन हो’ भन्ने जस्ता नारा लागेको सुनिन्थ्यो । यो नारालाई राष्ट्रिय सुरक्षा नियमले गैरकानूनी करार गरेको छ ।

यसले बेइजिङले यस्तो गैरकानुनी करार आफ्नो सीमाभन्दा बाहिर पनि आयत गरेको बुझ्न सकिन्छ । यो वर्ष कोही व्यक्ति हङकङमा होस् वा विश्वको कुनै ठाउँमा, उसले प्रतिबन्धित नारा लगाएको अवस्थामा राष्ट्रिय कानून पालना नगरेको रूपमा बुझिनेछ ।

यसले नाटकीय रूपमा ४ जुनलाई सम्झिने वातावरण बनाएको छ । खास गरी विभिन्न देशमा रहको चिनियाँ कूटनीतिक नियोगले यस्ता क्रियाकलापको निगरानी गर्ने हुँदा पनि सार्वजनिक रूपमा ४ जुनलाई सम्झिने वातावरणमा वृद्धि आएको हो । विदेशमा कानून लागू गर्न सकिने अवस्था नभए पनि चीनले लिएको नीतिको प्रभाव भने देखिएको छ ।

विदेशमा रहेका हङकङवासीहरू प्रदर्शनमा सहभागी हुँदा साँझ घर फर्किन पाउनेमा निश्चित हुन सकेका छैनन् । आफ्नो क्रियाकलापका माध्यमबाट बेइजिङले इतिहास स्मरणको विषयलाई आफ्नो हतियारको रूपमा प्रयोग गरेको छ । यसले विश्वभर नै अभिव्यक्ति स्वतन्त्रतालाई ठूलो प्रभाव पार्नेछ ।

वैश्विक विश्वविद्यालयहरूमा अब हङकङको राजनीतिको विषयमा चर्चा गर्दा त्यो हङकङ र चिनियाँ विद्यार्थीका साथै प्राध्यापक समेतलाई अप्ठेरो हुनेछ । अमेरिकाको एक विश्वविद्यालयमा अध्यापन गर्ने मेरो एक साथीले चिनियाँ राजनीतिको विषयमा पठनपाठन गर्न नै छोडिदिएको बतायो । त्यसको बदलामा विद्यार्थी विशेषले जानकारी हासिल गर्न चाहेको अवस्थामा त्यस्तो जानकारी दिने गरेको बताउँछ ।

यसले विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्ने उसको विश्वास छ । यसले मलाई एक चिनियाँसँग गरेको छलफलको याद दिलायो । यस्तो छलफल गर्न उसले मलाई अग्लो ठाउँमा बोलायो, यसको उद्देश्य छलफलका क्रममा कोही आएको अवस्थामा देख्न सकियोस् भन्ने थियो । यस्तो विषयम धेरै व्यक्तिका अगाडि छलफल गर्नु खतरनाक पनि छ, त्यसको एउटै कारण विषयको संवेदनशीलता हो ।

यस्तै परिस्थिति विश्वका अन्य कक्षाकोठामा पनि देखिन थालेको छ । डर देखाएरै किन नहोस्, चीन आफूले बन्द गर्न चाहेको छलफल पश्चिमा विश्वविद्यालयमा निषेध गर्न सफल भएको देखिन्छ ।

चीनको यो अभियान ४ जुनमा आयोजना हुने सार्वजनिक स्मरणलाई मात्रै बन्द गरेर सन्तुष्ट हुने देखिँदैन । तीन दशकअघि गरिएको क्रियाकलापको अध्ययन गर्ने हो भने सन् २०१९ मा हङकङमा भएको प्रदर्शनका क्रममा प्रयोग भएको दमनलाई विदेशी शक्तिको घुसपेटका कारण निम्तिएको घटनाका रूपमा व्याख्या गरिनेछ ।

पश्चिमा देशले जति हङकङको समस्यालाई आफ्नो समस्या होइन जस्तो गर्छन्, त्यति नै बेइजिङलाई पुरानो इतिहास मात्रै होइन, हालैको इतिहास पनि पुनर्लेखन गर्ने अवसर मिल्नेछ ।

(लुईसा लिम मेलबर्न विश्वविद्यालयमा अडियो भिजुअल पत्रकारिताको वरिष्ठ शिक्षिका हुन् । ४ जुन २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0