३२ वर्षपछि जब मेलम्चीको पानी सुन्दरीजलमा खस्यो | Khabarhub Khabarhub

३२ वर्षपछि जब मेलम्चीको पानी सुन्दरीजलमा खस्यो

बहुप्रतीक्षित मेलम्ची आयोजनाको कथा


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाबासीको तीन दशकभन्दा बढीको प्रतिक्षालाई अन्त्य गर्दै शनिबार पहिलोपटक सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा खसेको छ ।

१० फागुनमा हालिएको मेलम्ची खोलाको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै १२ दिनमा सुन्दरीजल आइपुगेको हो ।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो । अहिले सुरुङबाट आएको पानीलाई प्रशोधन केन्द्रमा नहाली वाग्मती नदीमा खसालिएको छ । शुरूको पानी फोहोरसहित आउने भएकाले वाग्मतीमा हालिएको हो ।

प्रधानमन्त्री ओलीले काठमाडौँबासीको घरघरमा अबको केही दिनमा मेलम्चीको पानी आउने ग्यारेन्टी गरे । उनले यो खुशीको दिन भएको प्रतिक्रिया दिँदै भने, ‘नेपालको इतिहासमा अत्यन्तै खुशीको दिन हो । ठूलो जनसंख्यालाई पानी खुवाउन प्रारम्भ गरिएको दिन हो ।’

डाँडापारिको अर्को खोला, अर्को प्रदेशमा जाने पानीलाई डाँडा छिचोलेर काठमाडौँ ल्याइएको बताउँदै उनले भने, ‘नेपालमा पहिलोपटक प्रयोग गरिएको प्रविधि, सफलतापूर्वक प्रयोग गरिएको प्रविधि मेलम्ची खानेपानी आयोजना हो ।’

प्रधानमन्त्री ओलीले खानेपानी मन्त्रालय, सम्बन्धित निकाय, ठेकेदार कम्पनी, प्राविधिक तथा कामदार र सिन्धुपाल्चोकका जनतालाई धन्यवाद पनि दिए ।

बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एण्ड पाटनर्सले काठमाडौं उपत्यकाबासीका लागि पानीको स्रोतका रुपमा मेलम्ची खोलालाई पहिचान गरेको ३२ वर्षपछि सुन्दरीजलमा पानी खसेको हो ।

उपत्यकामा पानी भित्र्याउने योजनासहित विकास समिति गठन र आयोजनाको समग्र भौतिक निर्माणको काम शुरू भएको २० वर्ष बितेको छ । साथै, आयोजनाको मुख्य संरचना सुरुङ निर्माणका लागि मात्रै १२ वर्ष खर्चिनुपर्‍यो ।

गत असारमा सुरुङमा पहिलोपटक पानी परीक्षणका क्रममा १७ नम्बरको गेट फुटेर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

हाल अस्थायी बाँधमार्फत पानी पथान्तरणको कार्य भइरहेपनि आगामी दुई महिनाभित्र स्थायी बाँधको निर्माण सम्पन्न हुने जानकारी दिइएको छ ।

साढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्रमा पानी प्रशोधन गरी विश्व स्वास्थ्य संगठन र नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डको पानी वितरण गरिने योजना छ ।

पानी वितरणका लागि नौ वटा पोखरीको निर्माण सम्पन्न भएको छ भने थप एउटा निर्माणको चरणमा रहेको छ ।

दुई सय किलोमिटर पानी वितरण गर्ने पाइपमा पानी परीक्षण भइसकेको जानकारी दिइएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल आउने छ । यसले लामो समयदेखि काकाकुल बनेका राजधानीबासीको पानीको आवश्यकतालाई पूर्ति गर्ने अपेक्षा गरिएको छ ।

देशमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तन, आयोजना स्थलका जनताको अवरोध तथा ठेकेदार कम्पनीका कारण मेलम्ची आयोजनाले पूर्णता पाउन बर्षौं लाग्यो ।

यद्यपि, अब भने मेलम्चीको पानी काठमाडौँ आउनेमा यहाँका जनतामा आशा जागेको छ । ढिलै भएपनि मेलम्ची खोलाको पानी परी झै मुस्कुराउँदै सुन्दरीजलसम्म आइपुगेको कतिपयको प्रतिक्रिया छ ।

२०४८ सालको चुनाव प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखालिदिने भन्दै भाषण गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री भट्टराईले मेलम्ची आयोजनालाई चुनावी प्रचारका साथै राजनीतिक रङ्ग दिएदेखि पछिल्लो तीन दशकसम्म राजनीतिक दलको चुनावी एजेन्डामा मेलम्ची प्राथमिकतामा पर्दै आएको थियो ।

भट्टराईले मेलम्चीका विषयमा बोलेपछि यसले राजधानीबासीको ध्यान तान्न थालेको थियो । तर, उनले चुनावी प्रचारका लागि बोल्नु अघिबाटै मेलम्ची आयोजनाको अध्ययन शुरू भएको थियो ।

मेलम्चीको उतार–चढावमा प्रत्यक्ष संलग्न इञ्जिनियर तथा पूर्वसचिव हरिप्रसाद शर्माका अनुसार मेलम्ची आयोजनाको अध्ययन २०४१ सालमै शुरू भएको थियो ।

सन् २००१ म एशियाली विकास बैंकद्वारा आयोजना लगानीमा सहमति जनाइ ऋण सम्झौता सम्पन्न भएको थियो । १ सय २० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना शुरू भएको थियो ।

त्यसपश्चात आयोजनाको काम शुरू गर्नु अगाडि गर्नुपर्ने जग्गा प्राप्ति, पुनर्वास एवं क्षतिपूर्ति, पहुँच सडक निर्माणलगायतका कार्य विभिन्न व्यवधानका कारण समयमा काम प्रारम्भ हुन सकेन ।

सन् २००७ मा काठमाडौं उपत्यकामा पानी भित्र्याउने लक्ष्य राखिएकोमा अन्य पूर्वाधार निर्माणको काम मात्र सकिएको थियो भने आयोजनाको मुख्य कार्य सुरुङ निर्माणको थालनी समेत हुन सकेको थिएन ।

१९ फेब्रुअरी २००९ (२०६५ फागुन ७) मा चिनियाँ कम्पनी चाइना रेल वे १५ ब्युरो ग्रुप जेभी (सीआरसीसी)सँग आयोजनाको हेडवर्क्स तथा सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो ।

२ सेप्टेम्बर २०१३ भित्र उक्त कार्य सम्पन्न गर्ने सम्झौता भएपनि विभिन्न कारण ढिलाइ हुँदा अप्रिल २०१० बाट मात्रै सुरुङ निर्माणको कार्य थालिएको थियो ।

सुरुङ निर्माणको औपचारिक शिलान्यास भने १९ साउन २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुन्दरीजलमा गरेका थिए ।

सीआरसीसीले सम्झौताअनुसार समयमै काम नसक्दा ९ असोज २०६९ मा सरकारले ठेक्का रद्ध गरेको थियो । त्यस अवधिसम्ममा अडिड टनेल, अम्बाथान फ्लसिङ टनेल, हेडवक्र्स एक्सेस टनेल र मुख्य सुरुङ गरी जम्मा ६ हजार ४ सय ४४ मिटर मात्रै सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो । तीन वर्षको अवधिमा उसले चार किमि मात्रै मुख्य सुरुङ निर्माण गर्‍यो ।

चिनियाँ कम्पनीसँगको ठेक्का रद्ध भएसँगै मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्य करिब एक वर्ष रोकिएको थियो । आयोजनालाई अगाडि बढाउन सरकारले नयाँ ठेक्का आव्हान गरेपछि इटालीयन कम्पनी सीएमसीसँग ३१ असार २०७० मा ठेक्का सम्झौता भएको थियो ।

तर, नयाँ निर्माण कम्पनीबाट प्रारम्भिक तयारी कार्यहरुमा लामो समय व्यतित हुँदा सम्झौता भएको करिब ६ महिनापछि मात्र सुन्दरीजलबाट निर्माण कार्य शुरू भएको थियो ।

२७ चैत २०७४ मा मेलम्ची सुरुङको ब्रेक थ्रु भएको थियो । अन्तिममा रहेको सिन्धु–ग्याल्थुम खण्डको साढे सात किलोमिटर सुरुङको ब्रेक थ्रु भएसँगै मेलम्ची खानेपानीका लागि साढे २६ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको थियो ।

१ पुस २०७५ मा सीएमसी एकतर्फी रूपमा सम्झौता तोडेर इटाली फर्किएपछि फेरि काम रोकियो । ०७६ असोजमा चीनको सिनो हाइड्रो कम्पनीलाई सुरुङ निर्माणको जिम्मेवारी दिइयो ।

आयोजनामा हालसम्म ४२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सुरुङमार्ग निर्माण र प्रशोधन केन्द्र निर्माणमा मात्रै २६ अर्ब ५४ करोड बढी खर्च भएको आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा लार्के, याङ्ग्री

मेलम्चीको पानी उपत्यकामा पुर्‍याएपछि दोस्रो चरणमा एउटै सुरुङमार्फत लार्के र याङ्ग्री खोलाको पानी ल्याउने सरकारको दीर्घकालीन योजना छ । दोस्रो चरणको प्रारम्भिक काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने लार्के र याङ्ग्रीसम्म पुग्ने पहूँचमार्ग निर्माण, जग्गा अधिग्रहण र क्षतिपूर्ति वितरणको काम भइरहेको छ । सरकारले बजेटमार्फत मेलम्ची आयोजनाको दोस्रो चरणको काम गर्न ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विनियोजित बजेटले बाँकी रहेका प्रारम्भिक काम अघि बढाइएको हो । लार्के र याङ्गीबाट मेलम्ची सुरुङमा १७/१७ करोड लिटर पानी थपिएपछि उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ ।

सबै तस्वीरहरू– गोरखापत्र अनलाइन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : २१ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।