यसरी गुम्दैछ ‘आदिवासी जनजाति रङ्गशाला’ | Khabarhub Khabarhub

यसरी गुम्दैछ ‘आदिवासी जनजाति रङ्गशाला’


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— झापाको दमक नगरपालिका–३ मा रङ्गशाला बन्ने कुराले अहिले पूर्वी नेपालमा चर्चा पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर भएकाले पनि सर्वसाधारणको चासो बढेको हो ।

चर्चा र चासोको कारण भने यतिमात्रै होइन । प्रधानमन्त्रीकै गृहक्षेत्र झापा क्षेत्र नं. ५ को दमक नजिकै पर्ने कमल गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण शुरू भएको थियो । यही क्रममा रङ्गशालाको नामसम्बन्धी विवाद सिर्जना भयो । यही विवादले निर्माण अलपत्र परेको छ ।

अहिले नयाँ रङ्गशाला निर्माण हुने भनिएको छ तर कहाँ भन्ने हो टुङ्गो लागेको छैन । रङ्गशाला अन्यत्रै सारिने हो कि भन्ने आशंकामा बहस गर्माएको छ ।

यसरी रोकियो निर्माण

तत्कालीन लखनपुर गाविस–१, हालको कमल गाउँपालिका–५ मा २०६६ सालमा रङ्गशाला निर्माणको प्रक्रिया थालिएको थियो ।

सशस्त्र प्रहरी बलको पाथिभरा गणनजिकै, पूर्वपश्चिम राजमार्गसँगै रहेको रतुवामाई वृक्षरोपण आयोजनाको ३० विगाहा जमिनमा रङ्गशाला निर्माण थालिएको थियो ।

त्यो स्थान विभिन्न जातजातिका व्यक्तिहरूको समाधिस्थल पनि थियो, खास गरी आदिवासी जनजाति समुदायहरूको । त्यहाँ समाधि संरचना हटाउन गणका तत्कालीन प्रमुख एसपी गणेश ठागामगर क्रियाशील भए । स्थानीयवासीहरू पनि आदिवासी समुदायको पहिचान रहने गरी अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बन्ने भएपछि समाधि स्थल छाड्न सहमत भए । सोहीअनुसार त्यहाँका ७४५ समाधि संरचनाहरू हटाइए ।

२०६७ वैशाखमा रङ्गशालाको शिलान्यास भयो, तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीबाट । आर्थिक वर्ष २०६७/६८ मा सरकारले १ करोड रुपैयाँ दिएपछि जमिन सम्याउने काम शुरू भयो । निर्माणमा सहजीकरण गर्न स्थानीयवासीको तर्फबाट ‘आदिवासी रङ्गशाला तथा स्मृति पार्क समिति’ गठन भयो ।

आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा समेत रङ्गशालाका लागि केही बजेट विनियोजन भयो । जमिन सम्याउने, समाधि भत्काइएका व्यक्तिहरूको विवरण राख्ने स्मृतिस्तम्भ निर्माण लगायतको काम थालियो ।

ठिक यसै बेला रङ्गशालाको नाम परिवर्तन गर्ने प्रयास शुरू भयो । स्थानीय आदिवासीहरूले विरोध जनाए । अनि थला पर्‍यो निर्माणाधीन रङ्गशाला ।

नाम परिवर्तनको विवाद

सोही क्षेत्रबाट संसदमा निर्वाचित हुँदै आएका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रङ्गशालाको नाम ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला’ राख्न चाहन्थे ।

अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन विदेशी सहायतासमेत लिन जरुरी हुने र मदन भण्डारीको नाम राख्दा सहायता प्राप्तिमा सहज हुने ओलीको तर्क थियो । ओलीको तर्कमा स्थानीय समितिका पदाधिकारीहरू मन्जुर थिएनन् । आफन्तहरूको चिहान भत्काएर विकासका लागि आफूहरूले समर्पण गरेकाले पितृहरूको चिहानमाथि ‘खेलबाड’ गर्न नदिने उनीहरूको अडान थियो, जो अद्यापि कायम छ ।

नामको विवाद सार्वजनिक कार्यक्रमहरूमा पनि उठ्न थाल्यो । तत्कालीन एमाले नेतृत्वले ‘मदन भण्डारी रङ्गशाला’ हुने भएमात्रै बजेट निकाशामा सहयोग गर्ने नीति लियो । यसपछि निकाशा भएको रकमसमेत खर्च हुन सकेन । तीन वर्षपछि बजेट आउनै छोड्यो । शुरूमा बनेका संरचनाहरू अहिले खण्डहर भएका छन् ।

राजनीतिक एजेण्डा

रङ्गशाला विकासको विषयमा सीमित रहेन । यस विषयमा तत्कालीन नेकपा एमाले र अन्य दलहरू विभाजित देखिए । तत्कालीन एमालेका केन्द्रीयदेखि स्थानीयस्तरका नेता मदन भण्डारीकै नाममा रङ्गशाला बनाउने अडानमा रहे भने नेपाली कांग्रेस लगायत अन्य दलहरू त्यस नाममा सहमत हुन सकेनन् ।

विवाद अझै यथावत छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका झापाका कांग्रेस नेताहरूले रङ्गशाला आदिवासीकै नाममा बन्नुपर्ने अडान राखेका छन् ।

विवाद यतिसम्म पुग्यो कि, २०७३ पुसमा दमकमा आकासे पुल उद्घाटन कार्यक्रम थियो । प्रमुख अतिथि थिए ओली । सभामा उनले नामको विवाद भएमा रङ्गशाला निर्माणमा कठिनाइ हुने र ‘मदन भण्डारी रङ्गशाला’ नाम कायम गरेर अघि बढ्दा सजिलै बन्ने बताए ।

कार्यक्रमकी अतिथि नेपाली कांग्रेसकी समानुपातिक सांसद महेन्द्राकुमारी लिम्बूले कार्यक्रम सकिएपछि उद्घोषकको माइक खोसिन् र ओलीको अभिव्यक्तिको चर्को आलोचना गरिन् । दमककै स्थायी बासिन्दा लिम्बू र ओली बीच चुनावी प्रतिस्पर्धाको बेला ‘दाजु–बहिनी’ सम्बन्ध थियो । चुनावी मैदानमा दुवैले एक अर्काको आलोचना गरेनन् । एक अर्काको प्रशंसा गर्थे । रङ्गशालाको विषयमा भने विवाद भयो ।

यसरी फेरियो नाम

आर्थिक वर्ष २०७१/७२ मा एमाले प्रमुख प्रतिपक्षी थियो । सरकारको नेतृत्वमा नेपाली कांग्रेस थियो । अर्थमन्त्री थिए डा.रामशरण महत । सरकारको नीति कार्यक्रम र बजेट संसदबाट पारित गराउन एमाले निर्णायक शक्ति थियो । त्यस बेला एमालेकै अडानका कारण ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला’ उल्लेख गरियो ।

यसको बदलामा कांग्रेसले पनि आफ्ना केही नेताहरूको नाममा पूर्वाधारका योजनाहरूको नामकरण गरेको थियो ।

विवाद समाधानको प्रयास

नामका कारण महत्त्वपूर्ण योजना गुम्ने भएपछि समाधानको प्रयास पनि भएको छ । स्थानीय समितिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निर्माणाधीन रङ्गशाला परिसरमा लगेर योजनाका बारेमा ध्यानाकर्षण पनि गराएको हो । समितिले पत्रकार सम्मेलन गरेर नामका कारण विकास योजना गुम्न दिन नहुने बताएको थियो ।

बजेट विनियोजन गर्न ध्यानाकर्षण गराउँदै प्रदेश सरकार तथा अन्य निकायमा पनि स्थानीय समितिका अध्यक्ष हुकुमसिंह राईसहितको टोली पुगेको थियो । नाम टुङ्गो नलागेकोले काम अघि बढ्न सकेको छैन ।

२०७५ सालको फागुनमा तत्कालीन एमाले नेता देवेन्द्र दाहाल (हाल, राष्ट्रिय सभा सदस्य) को संयोजकत्वमा आदिवासी जनजाति अगुवा, स्थानीय समिति तथा स्थानीय सरकारका प्रतिनिधिहरू बीच छलफल भएको थियो ।

मुख्य संरचना रङ्गशालालाई ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला’ भन्ने, आदिवासी जनजातिको सम्मानका लागि पार्क र सङ्ग्रहालय बनाउने, समाधिस्थल भत्काइएका व्यक्तिहरूको विवरणसहितको स्मृति स्तम्भ र उद्यान बनाउने तथा आदिवासी जनजातिको संरक्षणमा रहने गरी धार्मिक वनका लागि केही जमिन छुट्याउने बारेमा छलफल भएको थियो ।

मदन भण्डारीका नाममा रङ्गशाला बनाउन चाहने पक्षले उल्लिखित बुँदाअनुसार सहमति भएको भन्ने गरेको छ । आदिवासीका नाममा बनाउन चाहने पक्षले छलफल भएको तर सहमति नभएको भन्ने गरेको छ । स्थानीय समितिका अध्यक्ष राईले नामको विषयमा सहमति नभएको सञ्चारमाध्यमलाई बताएका छन् ।

प्रधानमन्त्री ओलीकै उपस्थितिमा सहमतिको प्रयास भएको थियो । नामको विवाद नटुङ्गिने देखेपछि ओलीले जमिनको विकल्प खोज्न स्थानीय नेतृत्वलाई भनेका थिए ।

यस्तो छ विकल्प

ओलीकै गृहनगर दमक नगरपालिकामा वैकल्पिक ठाउँ खोजिएको छ । दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन तथा पहिले भुटानी शरणार्थीको बसोबास रहेको क्षेत्र रङ्गशाला निर्माणका लागि छनौट गरिएको छ ।

यहाँको २७ हेक्टर क्षेत्रफलमा रङ्गशाला निर्माण गर्ने प्रारम्भिक तयारी छ । यहाँ रङ्गशाला बनाउँदा रूख काट्ने विषयलाई लिएर आलोचना पनि हुन थालेको छ ।

सब डिभिजन वन कार्यालय, दमकका अनुसार २७ हेक्टर वनक्षेत्र रङ्गशाला निर्माणका लागि प्रयोग गर्ने भनिएको छ । सो क्षेत्रमा १ हजार ९२४ ओटा रूख रहेको र धेरैजसो टीक र सिसौ रहेको कार्यालय प्रमुख एकराज दाहालले बताए ।

सो वनक्षेत्र स्थानीय हम्सेदुम्से सामुदायिक वनले संरक्षण गरेको छ । सामुदायिक वनका अध्यक्ष हिमालय दाहालले कानूनी प्रक्रिया पूरा गरेर रङ्गशाला बनाउँदा आपत्ति नहुने बताएका छन् ।

वन फडानी नहुने दाबी

सामुदायिक वनक्षेत्रको जमिनमा रङ्गशाला बनाउँदा वन फडानी हुन्छ भन्ने तर्क सही नभएको स्थानीय सरकारको जिकिर छ ।

रङ्गशाला बन्ने भनिएको दमक–३ का वडाअध्यक्ष नवीन बराल भन्छन्, ‘यहाँ पहिलेदेखि नै उपयोगमा रहेको खेल मैदान र भुटानी शरणार्थीहरू बसेको क्षेत्र विस्तार गरेर रङ्गशाला बनाइने हो, जङ्गल मासेर नयाँ जमिन व्यवस्थापन गर्न खोजिएको होइन ।’

बरालका अनुसार २०५० सालअघिदेखि भुटानी शरणार्थीहरू वनक्षेत्रकै जमिनमा रहेका थिए । शरणार्थी पुनर्वासमा गएपछि शिविर रहेको जमिन खालि भएको छ । भुटानी शरणार्थीहरू वनको ६६ हेक्टर जमिनमा बसेका थिए । शिविर उठेपछि ४५ हेक्टरभन्दा बढी जमिन खाली भएको छ ।

यस्तै, २७ हेक्टरमा रङ्गशाला बन्ने भनिएकोमा १० हेक्टर जमिन पहिलेदेखि नै चुलाचुली आधारभूत विद्यालय र स्थानीय युवाले खेल मैदानको रूपमा उपयोग गर्दै आएका छन् । रङ्गशालाका लागि उपयोग हुने बाँकी १७ हेक्टर जमिन शरणार्थी शिविर बसको ठाउँ हो ।

शिविरको १७ हेक्टरभित्रका केही रूखविरुवा कटान गरे पनि शिविरको बाँकी करिब ३० हेक्टर जमिनमा वन विकास गर्न सकिने बरालको भनाइ छ ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ३० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को