म्यानमारमा सैनिक शासनविरुद्ध साहसी महिला « Khabarhub
Logo
९ बैशाख २०७८, बिहीबार

म्यानमारमा सैनिक शासनविरुद्ध साहसी महिला



‘उनी यो देशकी नायक हुन्’, भन्छिन् मा चो नुवे । उनी कायल सिनकी नजिकी साथी हुन् । म्यानमारको सैनिकले जननिर्वाचित सरकार सैन्य कु मार्फत अपदस्थ गरेपछि उनीजस्तै मानिस सयौँको संख्यामा म्यानमारका शहरहरूमा भइरहेका प्रदर्शनमा सहभागी हुने गरेका छन् ।

नुवे भन्छिन्, ‘आन्दोलनमा सहभागी भएर हाम्रो पुस्ताका महिलाहरूले हामी पुरुषको तुलनामा केही कम छैनौँ भन्ने सन्देश दिएका छन् ।’

चुनौती र खतराका बाबजुद महिलाहरू म्यानमारमा भइरहेको प्रदर्शनको अग्रभागमा रहेका छन् । यसरी उनीहरूले पितृसत्तात्मक प्रवित्तिलाई बढावा दिँदै महिला नेतृलाई अपदस्थ गर्ने सैन्य शासकका विरुद्धमा सडकमा आवाज बुलन्द गरिरहेका छन् । उनीहरू यस्तो शासकका विरुद्धमा लड्दै छन्, जसले करिब आधा शताब्दी महिलालाई दमन गरेर राखेको थियो ।

सयौँ र हजारौँको संख्यामा उनीहरू दैनिक प्रदर्शनमा सहभागी हुने गरेका छन् । यसमा शिक्षण पेशाका संघसंस्थाका महिलाहरू, कपडा उद्योगमा काम गर्ने र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महिलाहरू सहभागी छन् । यी सबै क्षेत्रमा महिलाको वर्चस्व छ । प्रदर्शनको अग्रभागमा युवतीहरू देखिन्छन्, जसलाई सुरक्षाकर्मीले प्रदर्शनबाट बाहिर जान निर्देशन पनि दिन्छ ।

बुधबारको प्रर्दशनका क्रममा दुई महिलाको टाउकोमा गोली प्रहार भयो, अर्की एक महिलाको छातीमा । तीन गोलीले तीन महिलाको जीवनलीला समाप्त गरिदियो ।

यो हप्ताको शुरूवातमा, सैनिकले सञ्चालन गरेको टेलिभिजन च्यानलले सेनालाई कुनै पनि जोखिमयुक्त हातहतियारको प्रयोग नगर्न निर्देशन दिइएको बताएको थियो । आवश्यक परेको खण्डमा सेनाले आफ्नो रक्षाका लागि प्रदर्शनकारीको कम्मरभन्दा तलमात्रै गोली हान्ने कुरा निर्देशनमा बताइएको थियो ।

‘यो प्रदर्शनका क्रममा हामी केही नायकहरू गुमाउन सक्छौँ,’ म्यानमार ट्रेड युनियनकी सहायक महासचिव मा सेन्डर भन्छिन्, ‘हामी महिलाको रगत पनि रातो नै छ ।’ उनी आफू पनि प्रदर्शनमा सहभागी हुने गरेकी छन् ।

म्यानमारमा भएको सैन्य ‘कु’ पछि हुन थालेको प्रदर्शनका क्रममा बुधबारसम्म ५४ जना मारिएका छन् । यसले म्यानमारको सेना देशका आम निर्दोष मानिसको ज्यान लिन कुनै हिच्किचाहट मान्दैन भन्ने देखाउँछ ।

पछिल्लो महिना करिब तीन बालबालिकामाथि बन्दुक दागियो । सेनाको कु पछि भएको प्रदर्शनका क्रममा २० वर्षिय महिलाको ९ फेब्रुअरीमा गोली लागेर निधन भएको थियो । उनी नै यो प्रदशस्नको पहिलो शहीद हुन् ।

आन्दोलन शुरू भएपछिका हप्ताहरूमा महिला स्वास्थ्य स्वयं सेविकाहरूको समूहले सडक परिक्रममा गर्ने गरेको छ । उनीहरूले आन्दोलनका क्रममा घाइते भएका मानिसको उपचारमा ध्यान दिने गरेका छन् ।

प्रदर्शन र नागरिक अवज्ञाका कारण सैन्य सरकार अप्ठेरोमा परिरहेका बेला अर्कोतर्फ आन्दोलनमा महिलाहरूको ठूलो सहभागिताले सरकारलाई झनै अप्ठेरो परेको छ । यसले सरकारको ढाडमा प्रहार गरेको छ भने प्रदर्शनमा थप उत्साह दिएको छ ।

लैङ्गिक रुढीवादमा गाँजिएको यस्तो देशमा महिलाहरू प्रदर्शनमा सहभागी भएका छन्, जहाँ मानिसको तल्लो भाग छोप्ने महिला–पुरुषको लुगा सँगै धुन नहुने मान्यता छ । महिलाको आत्मबललाई दूषित करार गर्ने समाजमा भइरहेको प्रदर्शनमा महिला सहभागिता उत्साहजनक छ ।

रक्षात्मक रचनात्मकताका लागि मानिसले महिलाले कम्मरमुनि लगाउने एक प्रकारको कपडा (लुङ्गी) प्रदर्शन क्षेत्रमा झुन्ड्याएका छन् । यो सोच विचार गरेर चालिएको कदम हो । किनभने केही पुरुष यसरी झुन्ड्याइएको महिलाको कपडा मुनिबाट हिँड्न नहुने मानसिकताका छन् ।

‘यो आन्दोलनलाई युवतीहरूले नेतृत्व गरेका छन्, महिलामा मातृत्व चेत हुन्छ । आफ्नो आगामी पुस्तालाई आफूहरूले जस्तै संघर्ष गर्न नपरोस् भनेर महिलाहरू यो आन्दोलनमा ढटेर लागेका छन्’, २८ वर्षीया डाक्टर यीन यीन होङ भन्छिन्, ‘हामी हाम्रो जिन्दगीको पर्वाह गर्दैनौँ । हामीलाई हाम्रो भावी पुस्ताको चिन्ता छ ।’ उनले सोमबार सेनाले प्रहार गरेको गोली छलेकी थिइन् ।

सेनाको अमानवीय कार्य देशका साढे ५ करोड मासिनसम्म फैलिएको छ । सैन्य जनरलको यस्तो अमानवीय कार्यबाट सबैभन्दा बढी प्रभावित महिला नै हुने गरेका छन् । आङ सान सु चीको नागरिक सरकारसँगको पाँच वर्षका लागि सत्ता साझेदार गरेको सेनाले अहिले पूर्णरूपमा सत्ता आफ्नो हातमा लिएको छ ।

म्यानमारको शासन अहिले रुढीवादी विचारबाट ग्रस्त सेनाको हातमा छ । एउटी महिलाले आफूलाई सहज हुने कपडा लाउँदासमेत सेनाले त्यसमा चासो गर्छ ।

सेनाको उच्च तहमा महिलाहरू पनि छन् । यसका बाबजुद सैनिकले सीमान्तकृत र जनजाति महिलाहरूको बलात्कार गर्ने गरेका छन् । यो संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख भएको कुरा हो । म्यानमारमा प्रायः महिलालाई कमजोर र आश्रित बनाइन्छ । बुद्धिस्ट देश भए पनि प्राचीन एवं मान्दै आएको संस्कृतिमा महिलाहरू पुरुषको खुट्टा सहर मानिन्छन् ।

म्यानमारको सेना र गुम्बाको विषयमा मानिसहरू खासै केही बोल्न चाहँदैनन् । यहाँका महिला शिक्षित छन् भने अर्थतन्त्रको एउटा महत्त्वपूर्ण स्रोत समेत हुन् उनीहरू । उनीहरू खासगरी उत्पादनका क्षेत्रमा अथवा सरकारी सेवामा कार्यरत छन् । राजनीतिक रूपमा महिलाहरूको आवाज सुनिँदैछ । गत नोभेम्बरमा भएको निर्वाचनमा सबै पार्टीकातर्फबाट २० प्रतिशत महिला प्रतिनिधित्व गराइको थियो ।

सु चीको पार्टीले भारी मतले निर्वाचन जित्यो । जसले गर्दा लामो समय म्यानमारमा एकछत्र शासन गरेको सेनाले नागरिक सरकारको मातहतमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो ।

पछिल्लो दशकमा जब यहाँको सेनाले आफ्नो शक्ति प्रसारण गर्न थाल्यो त्यसपछि म्यानमारको विकासले एक प्रकारको फड्को मारेको थियो । एउटा देश जो पहिला सेना प्रमुखको दबदबामा थियो, खासगरी सन् १९६२ को कु पछि, अहिले त्यहाँका मानिस फेसबुक जस्ता साइटमा गएर मिम, इमोजी र लैङ्गिक राजनीतिका विषयमा बोल्न थालेका छन् ।

‘सडक रक्ताम्य भएको यो अवस्था पक्कै पनि राम्रो होइन तर यसैबीच महिलाहरू सडक प्रदर्शनमा उत्रिएको विषयले भने सकारात्मक बनाएको छ’ भन्छिन् बर्मिज–अमेरिकन डा. मिमी विन्न बर्ड ।

उनी अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेल पदबाट अवकाश प्राप्त गरेर हाल होनुलुलस्थित डैनियल क्याम्पसको एसिया प्यासिफिक केन्द्रमा प्राध्यापन गर्छिन् । उनी भन्छिन्, ‘म यो अवस्थामा महिलाहरूको विषयमा बाजी लगाउन सक्छु । उनीहरूको हातमा हतियार त छैन तर उनीहरू योद्धा हुन् ।’

सेनाले प्रदर्शनमा उत्रिएका मान्छेको ज्यानै लिएको भए पनि महिलाहरूको उत्साह देखेर सडक प्रदर्शनमा आउने मान्छेको संख्या बढ्दो छ ।

‘सैन्य कु विरुद्ध महिलाले सडक प्रदर्शनको अग्र मोर्चा समालेका छन् किनभने यो हाम्रो मुद्दा हो’ भन्छिन् राजनीतिक बन्दी समेत रहिसकेकी २७ वर्षिय मा ई थिनजर मौंग । उनीहरूको समूहले सैन्य कु भएको पाँचै दिनमा म्यानमारको शहर याङ्गुनमा ठूलो प्रदर्शन गरेको थियो ।

थिनजर र उनका अन्य प्रदर्शनकारी, यथर जे ने लगायतका साथीहरू दिनभर प्रदर्शनमा सहभागी हुन्छन् । राति लुकेर बस्छन् । सैन्य कु पछि हाल १५ सय प्रदर्शनकारी सरकारी सैन्य नियन्त्रणमा रहेको आन्दोलन अवलोकन गरिरहेको स्थानीय एक संस्थाले जनाएको छ ।

प्रदर्शन र नागरिक अवज्ञाका कारण सैन्य सरकार अप्ठेरोमा परिरहेका बेला आन्दोलनमा महिलाहरूको ठूलो सहभागिताले सरकार झनै अप्ठेरोमा परेको छ । यसले सरकारको ढाडमा प्रहार गरेको छ । प्रदर्शनमा थपिएको छ ।

थिनजर र यथर द्वयले सीमान्तकृत र जनजाति समुदायको हकहितका लागि उठाएको आवाज राज्यले राजनीतीकरण गरिदिएको थियो । यो त्यस बखतको कुरा हो, जब म्यानमारको सेना रोहिंग्या समुदायको नरसंहारमा लागेको थियो । त्यसविरुद्ध कसैले आवाज बुलन्द गर्न नसक्दा उनीहरूले आवाज उठाएका थिए । करीब एक तिहाई मुस्लिमलाई जनतातिको सूचीबाट बाहिर राखिएको छ । जसमध्ये केहीले सेनाविरुद्ध हतियार उठाएका छन् ।

फेबु्रअरी ६ मा केरेन जनजाति समूहले आयोजना गरेको प्रदर्शनमा दुई महिला सर्ट लगाएर सहभागी भएका थिए । यी महिलाहरूको गाउँ सेनाले तहसनहस पारेको छ । यथर जे न आफैँ भने अर्को जनजाति समुदाय काचिनको प्रतिनिधित्व गर्छिन् ।

सत्र वर्षको उमेरदेखि उनी एउटा क्याम्पमा हुर्किन्, जहाँ उनीजस्तै सैनिक ज्यादति खेपिरहेका अन्य मानिस पनि बस्थे । सेनाको विमान उनीहरूको क्याम्पमाथिबाट उठ्थ्यो । ती विमानले महिला र बालबालिकाको टाउकोमा लाग्ने गरी हातहतियार खसाल्ने गरेको उनी सम्झन्छिन् ।

 ‘त्यही बेलादेखि मैले सैन्य जुन्ता शासकविरुद्ध लड्ने प्रण गरेकी थिएँ’, उनी भन्छिन्, ‘आफू विरुद्ध भएको विभेदले कस्तो महसुस गराउँछ भन्ने कुरा एउटा सीमान्तकृत र जनजातिलाई मात्रै थाहा हुन्छ । अझ नारीलाई त यहाँ दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्छ ।’

त्यसैले गर्दा पनि अधिकार प्राप्तिका लागि महिलाहरू बढी प्रतिबद्ध देखिएका उनको निष्कर्ष ।

न्याशनल लिग फर डेमोक्रेसीको सुचीले नेतृत्व गरे पनि पार्टीका अधिकांश पद पुरुषले नै ओगटेका छन् । धेरै जनसंख्या रहेको जनजाति समुदाय बमारको पार्टीका महत्वपूर्ण पदमा हालिमुहाली छ ।

सडकमा प्रदर्शनकारीविरुद्ध सेनाले गोलीको वर्षा गरे पनि निहत्था प्रदर्शनकारीमा भने विविधता छ । प्रदर्शनमा बुद्धिस्ट, क्याथोलिक लगायतका अन्य समुदायबाट मानिस सहभागी भइरहेका छन् ।

‘जेनेरेशन जेड् निडर खालको पुस्ता छ’, भन्छिन् हनी आङ । उनकी बहिनी कवव नन्दर आङलाई सेनाले बुधबार टाउको गोली प्रहार गरेर मारिदियो । आङ भन्छिन्, ‘मेरी बहिनीले प्रदर्शन शुरू भए पछिका दिनमा सधैँ सक्रिय सहभागी भइन्, उनी तानाशाही प्रवृत्ति मन पराउँदैन थिइन् ।’

राज्यको मुखपत्रमा अघिल्लो हप्ता प्रकाशित भएको सम्बोधनमा सेना प्रमुख मिन आङ हाइङले प्रदर्शनकारीले म्यानमारको संस्कृति बिथोल्न खोजेको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरू विशेष गरी महिलाले लगाएको पाइन्टलाई इंगित गर्दै उनले प्रदर्शनकारीले म्यानमारको संस्कृति बिथोल्न खोजेको आरोप लगाए ।

हनी आङकी बहिनी कवव नन्दर आङलाई गोली हानिएको दिन उनले प्रदर्शनमा जुत्ता र फाटेको पाइन्ट लगाएर आन्दोलनको नेतृत्व गरेकी थिइन् ।

बुधबारको प्रदर्शनमा जब सेनाले अश्रु ग्यास प्रहार गर्दा नन्दर आङले आफ्नो आँखा पानीले पुछ्दै थिइन् । ‘यहाँबाट हामी भाग्ने छैनौँ’, उनले चिच्याउँदै भनेकी थिइन् । उनीसँगै रहेका अर्का प्रर्दशनकारीले खिचेको भिडियोमा यस्तो दृश्य देख्न सकिन्छ, जहाँ उनी भन्छिन्, ‘हाम्रा मानिसको रगत भुइँमा पर्नु हुँदैन ।’

‘उनी मैले मेरो जीवनमै देखेको निडर केटी थिइन्’ भन्छिन् फोटग्राफर को लू मा । उनले नन्दर आङको अन्तिम समयको फोटो खिच्ने अवसर पाइन् जहाँ उनी दृढताका साथ प्रदर्शनकारी अन्य साथीको हौसला बढाउने काम गर्दै थिइन् ।

नन्दर आङले आफूले लगाएको टिसर्टको तल तारा आकारको आकृति थियो । बर्मिज भाषामा उनको नामको अर्थ ‘स्वच्छ तारा’ भन्ने हुन्छ ।

शायद उनी भन्छिन् होला, ‘यददि तिमीले तारा देख्यौँ भने त्यो म हुनेछु’, उनकी साथी चो चुवे ऊ भन्छिन्, ‘म उसलाई सधैँ गर्वका साथ सम्झिनेछु ।’

(हन्ना बिच सन् २०१७ देखि द न्यूर्योक टाइम्सका लागि दक्षिण एसिया ब्युरो चिफका रूपमा बैंककबाट कार्यरत छिन् । न्यू योर्क टाइम्समा आबद्ध हुनुअघि उनले टाइम्स म्यागेजिनमा २० वर्ष काम गरिन् । ४ मार्च २०२१ मा द न्यू योर्क टाइम्समा प्रकशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0