वनभोजले थेग्ला आन्तरिक पर्यटन ? | Khabarhub Khabarhub

वनभोजले थेग्ला आन्तरिक पर्यटन ?



झापा– कोरोना भाइरसको महामारीपछि अर्थतन्त्रका हरेक क्षेत्रहरु शिथिल बने ।

महामारी नियन्त्रणमा आएसँगै औद्योगिक तथा व्यावसायिक गतिविधि क्रमश: चलायमान बनेका छन् । तर नेपाली अर्थतन्त्रको बलियो सहयोगी क्षेत्र मानिएको पर्यटन क्षेत्र अझै शिथिल नै छ ।

कोरोना महामारीकै कारण संघारमा नै आइसकेको नेपाल भ्रमण वर्ष २०२० पनि सरकारले स्थगित गर्‍यो । गत वर्षको चैत ११ गतेदेखि लकडाउन घोषणापछि त बाह्य पर्यटन ठप्पै भयो भने आन्तरिक पर्यटनसमेत संकुचित बन्यो । तर महामारी ठप्पै भइसकेको र पुनः आउन सक्ने सम्भावना पनि नभएझै गरेर राजनीतिक गतिविधि उच्च भइरहेका बेला पर्यटन क्षेत्र भने चम्किन सकेको छैन ।

प्याकेजको खाँचो

नेपाल भ्रमणमा आउन रुचाउने विदेशीहरु अझै पनि ढुक्क भएर आउन सक्ने अवस्था छैन । अमेरिका, युरोपलगायतका क्षेत्रमा महामारी कोरोनाको जोखिम कायमै रहेकाले ती देशबाट पूर्ववत् अवस्थामा पर्यटक नेपाल आइहाल्ने अवस्था नरहेको नेपाल पर्यटन वोर्डका प्रबन्धक सूर्य थपलिया बताउँछन् ।

बाह्य पर्यटक आउने वातावरण बनाउन संघीय सरकार क्रियाशील रहेकाले पर्यटन क्षेत्रलाई गतिशील बनाइराख्न तत्कालका लागि आन्तरिक पर्यटनका प्याकेजको विकास गर्नु पर्ने उनको धारणा छ ।

उनले भने, ‘नेपालमा महामारीको अवस्था धेरै हदसम्म नियन्त्रणमा आएको छ, त्यसैले यस्तो बेलामा हामीले सावधानीपूर्वक आन्तरिक पर्यटन प्रवर्द्धनका  प्याकेजहरु विकास गर्न सक्यौं भने पर्यटन क्षेत्रलाई जीवन दिन सकिन्छ ।’

विभिन्न स्थानमा रहेका निकुञ्ज, आरक्ष, संरक्षण केन्द्र, सिमसार, होमस्टे जस्ता पर्यटकहरुले रुचाउने गन्तव्यसम्म पुग्न र सहज घुमघामको वातावरण बनाउन नेपाली पर्यटन व्यवसायीहरुले प्याकेजको विकास गर्न सक्ने उनको सुझाव छ ।

हाल वाह्य पर्यटक कम हुने समयमा आन्तरिक पर्यटनको जग बसाल्न सके यसले नेपाली पर्यटनमा दीर्घकालीन रुपमा फाईदा पुर्‍याउन सक्ने उनी बताउँछन् ।

वनभोजमै सीमित आन्तरिक पर्यटन

पूर्वका पर्यटन व्यवसायीहरु भने लकडाउन पछि र महामारी नियन्त्रणको अवस्थामा रहेका बेलामा समेत नेपाली पर्यटन क्षेत्र वनभोजमै सीमित रहेको बताउँछन् ।

मेची पर्यटन करिडोरका अध्यक्ष राजन दंगाल हरेक वर्ष हिउँदमा विभिन्न संघ, संस्था तथा समूहहरु वनभोजमा जाने चलनभन्दा अहिले कुनै नयाँ काम हुन नसकेको बताउँछन् । सरकारले पनि पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न आश्वासन दिए पनि साना पर्यटन व्यवसायीले प्रोत्साहनका कुनै पनि कार्यक्रम भेट्न नसकेको उनको भनाइ छ ।

आन्तरिक पर्यटनका लागि छोटो अवधीका प्याकेजको विकास गर्न सकिने भए पनि सबै पर्यटन व्यवसायीमा यसको अभ्यास नभएकाले तुरुन्तै कार्यान्वयन हुने अवस्था नरहेको उनले बताए ।

विभिन्न विद्यालय, कलेज, सहकारी अन्य व्यावसायिक संघ संस्थाहरुले समेत आफ्नै ढंगबाट एक–दुई दिनदेखि एक साताभन्दा लामो घुमघामका कार्यक्रम सञ्चालन गर्ने गरेकाले निजी अभ्यास व्यावसायिक कर्ममा तुरुन्तै रुपान्तरण हुन नसक्ने उनको भनाइ छ ।

भारतीयलाई सहज बनाउन जोड

तेस्रो मुलुकका पर्यटक तत्काल साविक सरह आउन नसक्ने भएकाले भारतीय पर्यटकहरुलाई सहज आवतजावतको व्यवस्था मिलाइनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । भारतबाट आउने पर्यटकलाई विभिन्न काजगात र प्रक्रियामा अल्झाउने गरेकाले उनीहरुसमेत नेपाल आउन नसकी रहेको ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले बताए ।

पूर्वीनाकाबाट नजिकै रहेका भारतका ठूला राज्यहरु विहार, पश्चिम बंगाल, सिक्किम तथा पूर्वोत्तर भारतका अन्य राज्यबाट भारतीय पर्यटक भित्र्याउन सकिने प्रशस्त अवसर रहेको उनी बताउँछन् ।

धेरै त नेपालीभाषी समेत रहेका र नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धले पनि भारतीय पर्यटक नेपालको पर्यटन क्षेत्रको दिगो स्रोतको रुपमा रहेको उनको ठम्याइ छ । त्यसैले भारतीय पर्यटकलाई उपेक्षा गरेर नेपाली पर्यटन क्षेत्र बलियो बन्न नसक्ने उनी बताउँछन् ।

यस्तै मेची पर्यटन करिडोरका अध्यक्ष राजेन दंगालसमेत प्रदेश १ मा रहेका धार्मिक तथा सांस्कृतिक गन्तव्यसम्म भारतीय पर्यटक पुर्‍याउन सके पूर्वी नेपालको पर्यटनले गति लिन सक्ने बताउँछन् । नेपाली पर्यटन व्यवसायी प्रतिकूलताका बीचमा पनि पूर्वाधार विकासमा जुटिरहेकाले व्यावसायिक ऊर्जालाई निराशमा बदलिने अवस्था आउन नदिन अब सरकारले छिमेकी मूलकबाट नेपाल घुम्न आउने पर्यटकलाई सहज वातावरण बनाउनुपर्ने बताउँछन् ।

सांस्कृतिक पक्षलाई अवमूल्यन

नेपाली पर्यटन प्रवर्द्धनको बलियो आधार सांस्कृतिक पक्ष पनि हो । नेपाल–भारतको सांस्कृतिक समरुपताकाकै कारण ठुलो संख्यामा वर्षेनी भारतीय पर्यटकहरु नेपाल आउने गरेको धर्म संस्कृतिका अध्येताहरु बताउँछन् । तर कोरोना भाइरसको महामारीको कारण देखाउँदै नेपालमा सांस्कृतिक पक्षलाई अवमूल्यन गरिएको धर्म-संस्कृति अध्येता आचार्य चक्रपाणि गौतम बताउँछन् ।

सरकारकै प्रधानमन्त्री तथा मन्त्रीहरुले हजारौं नागरिक सहभागी गराउँदै सभा सम्मेलन गर्ने तर नेपाली संस्कार र संस्कृति माथि कोरोनाको ‘हाउगुजी’ देखाएर संकुचन गराउने प्रयास गरिएको उनको आरोप छ ।

‘दिनहुँ जसो राजनीतिक दलका जुलुश र सभा भइरहेका छन्, प्रधानमन्त्री तथा मन्त्रीहरु नै ती कार्यक्रममा पुग्ने गरेका छन्’ गौतमले भने, ‘तर कोरोनाको डर देखाउँदै हाम्रा संस्कृतिहरु मनाउन दिइएको छैन, धार्मिक–सांस्कृतिक मेलाहरु लगाउन बन्द गरिएको छ, हुँदा हुँदा स्वस्थानीमा नदीमा नुहाउन पनि बाधा खडा गरिएको छ । हजारौं नागरिक जम्मा पारेर नेता जाँदा कोरोना नलाग्ने अनि परम्परादेखि चलिआएका चाडपर्व मनाउँदा कोरोना लाग्ने ? यो त नेपाली संस्कृतिको गला निमोठ्ने काम भयो नि ।’

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  २ : ३२ बजे

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको