सेलिब्रेटीले यसरी मनाउदैछन् तिहार | Khabarhub Khabarhub

सेलिब्रेटीले यसरी मनाउदैछन् तिहार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ । आमसर्वसाधारणझँै फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् ।

यसपालीको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् ?

यसपाली देउसी खेल्न जाने मन छ
भुवन केसी, अभिनेता
यसपालि अलि रौनक छ । चाडपर्व आएजस्तो लागेको छ । तर, पनि सावधानी भने अपनाउनुपर्छ । घरमा देउसीभैलो खेल्न आउनेहरूसँग नाचगान गर्न र उनीहरूले दिएको आशिष लिन बडो आनन्द लाग्छ । मैले आफैँ देउसीभैलो नखेलेको त वर्षाैं भयो । नजिकका साथीहरू मिले भने यसपाली चाहिँ देउसी खेल्न जान मन लागेको छ । हेरौं, माहौल कस्तो बन्छ ।

मेरी एउटी बहिनी छे, ऊसँग टीका लगाउँछु । घरमा सबैजना भेला हुन्छौँ । त्यो निकै रमाइलो पक्ष हो । तिहारपछि ‘पारस’ फिल्मको सुटिङ गर्ने योजना छ । त्यसको तयारी पनि चलिरहेको छ । संसारभरका दाजुभाइ दिदीबहिनीलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

काठमाडौंमै मेरो भाइटीका
रेखा थापा, अभिनेत्री
यसपाली कोरानाभाइरस संक्रमण घट्दै गएकाले अघिल्लो वर्षको भन्दा जनजीवन सामान्य हुँदै गइरहेको छ । त्यसैले यसपालि तिहार अलि खुलेर मनाउन पाइँदै छ । तर, पनि हामीले सजकता भने अपनाउनै पर्छ । मलाई रंगोली बनाउन आउँदैन । यसपालि लक्ष्मीपूजामा ‘ट्राइ’ गर्छु । मम्मीसँग मिलेर सेल पकाउने, घरमा बत्ती लगाउने, फूलहरू सजाउने गर्छु ।

मलाई देउसीभैलो खेलेको हेर्न बडो आनन्द लाग्छ । सानोमा त खुब खेल्थेँ । अचेल त हेर्न रमाइलो लाग्छ । यसपालिको भाइटीका पनि काठमाडौंमै मनाउँछु । मेरा दुई जना दाइ हुनुहुन्छ, विराटनगरबाट एक जना दाइ टीका लगाउन आउनु हुन्छ । मैले टीका लगाउने गरेका कतिपय दाइभाइहरू बाहिर छन् । त्यसैले यसपालि सबैसँग टीका हुन्न होला ।

विराटनगर जान्छु
दीपाश्री निरौला, निर्देशक
तिहारको झिलिमिली मलाई एकदम मनपर्छ । काग, कुुकुर, लक्ष्मीदेखि लिएर भाइसम्मको पूजा गर्न पाइने पर्व एकदम गजब लाग्छ मलाई । यसपालि भने खुलेरै तिहार मनाउने प्लान छ । त्यसका लागि म मूलघर विराटनगर जादै छु । दाजुभाइलाई टीका लगाएर, मागेर आशीर्वाद लिन्छु । सेल पकाउने, घर झिलिमिली बनाउने, घरमा देउसीभैलो खेल्न आएकाहरूसँग नाच्ने, नचाउने, निकै रमाइलो लाग्छ ।

सानोमा त देउसीभैलो भट्याउन आफैँ हिड्ने गर्थें । रातभरि भैली खेलेर जम्मा भएको पैसा र चामल लिएर घर नजिकै वनभोज खान जान्थ्यौँ । निकै रमाइलो हुन्थ्यो बच्चा बेलाको तिहार । सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई ह्याप्पी तिहार भन्न चाहन्छु ।

सुटिङमै मनाइन्छ तिहार
दयाहाङ राई, अभिनेता
उज्यालोको पर्व तिहार मलाई बडो रमाइलो लाग्छ । कोरोनाका कारण गत वर्ष चाडपर्व मनाउने माहौल थिएन । तर, यसपालि स्थिति सहज हुँदै गइरहेको छ । त्यसैले दसैँलगतै ‘कबड्डी–४’ सुटिङ सुरु भयो । अहिले म सुटिङका क्रममा मुस्ताङमा छु । मेरो तिहार सुटिङ मै बित्छ ।

यसपालि मेरो भाइटीका छैन । तर, पनि खाइपिइ रमाइलो चाहिँ गरिन्छ । देउसीभैलो रातिमा खेल्न रमाइलो हुन्छ । यहाँ सुटिङमा भाइहरू देउसी खेल्ने प्लान बनाइरहेका छन् । यहाँ एकदम जाडो छ । त्यसैले म चाहिँ आराम गर्छु होला ।

तिहारमा आफैँ घर सफा गर्छु
जीतु नेपाल, हाँस्य कलाकार
गत वर्षभन्दा यसपालि जनजीवन अलि सहज छ । त्यसैले अलि खुलेर चाडपर्व मनाउन पाइएको छ । मलाई तिहार विशेष मनपर्ने पर्व हो । अरु बेलामा जसोतसो चलिहाल्छ, तिहारमा भने घर सफा पार्ने काम आफैँ गर्छु । झ्याल, ढोकामा झिलिमिली बत्ती बाल्ने, फूलहरूले सजाउने, देउसी भैलो खेल्न आउनेलाई दक्षिणा दिन बडो रमाइलो हुन्छ ।

पहिला नरेफाँटमा बस्दा, त्यहाँ वरपरको सबैजना मिलेर एउटा गुठी टाइपको बनाएका थियौँ । हरेक वर्षको तिहारमा हामीहरू त्यहीँबाट तीन चार घण्टा देउसीभैलो खेल्ने गरेका छौँ । यसपालि पनि देउसी खेलिन्छ । हामी छ जना दाजुभाइकी एक दिदी र एक बहिनी छिन्, उनीहरूबाट टीका लगाएर आशीर्वाद लिन्छु ।

साथीभाइका कार्यक्रममा उपस्थित हुन्छु
राजेशपायल राई, गायक
तिहार मलाई मनपर्ने पर्व हो । सधैँ भागदौडको जिन्दगीमा चाडपर्वमा घरपरिवार, आफन्तसँग भेट्घाट गर्न पाइन्छ । त्यसमाथि तिहारमा जताततै झिलिमिली बत्ती, फूलहरू र सेलको सुगन्ध, वातावरण बडो रमाइलो लाग्छ । मेरो दसैँतिहार प्रायःजसो विदेशमा बित्ने गरेको छ । यसपालि भने घरमै मनाउँछु भन्ने सोचेको थिएँ । तर, फुपुका कारण यसपटक मेरो भाइटीका छैन ।

टीका नभए पनि म साथीभाइले आयोजना गर्ने तिहारजन्य कार्यक्रमहरूमा भने उपस्थिति हुन्छु । अरु बेलामा काममै व्यस्त भइन्छ । तिहारको बेलामा भने साथीभाइहरूसँग सम्बन्ध ‘रिन्यू’ गर्ने अवसर पाइन्छ ।

वर्कसपले गर्दा योजना बनाउन पाएको छैन
पुष्प खड्का, अभिनेता
तिहार रमाइलोसँग मनाउने मन छ । तर, के–के गर्ने भन्ने योजना बनाउन पाएको छैन । अचेल म फेब्रुअरीमा सुटिङ हुने ‘एक्स–९’ फिल्मको वर्कसपमा व्यस्त छु । त्यसैले अरु कुराहरू सोच्न पाएको छैन ।

बहिनी यतै छिन्, त्यसैले यसपालि काठमाडौमै तिहार मनाउँछु । देउसीभैलो खेल्ने चाहना त छ । तर, भ्याइएलाजस्तो लागेको छैन । साथीभाइ, परिवारसँग बसेर खाइपिइ गर्दै तिहार मनाउनु पर्ला ।

धुमधामसँग मनाउँछु
वर्षा सिवाकोटी, अभिनेत्री
चाडपर्वमध्येमा तिहार सबैभन्दा रमाइलो लाग्छ । बत्तीको झिलिमिली, फूलहरूको सुगन्ध, पशुपन्छीसमेतलाई पूजा गर्ने पर्वको महत्व नै बेग्लै छ । तिहार म धुमधामसँग मनाउने गर्दछु । यसपालि पनि देउसीभैलो खेल्न आउनेहरूसँग नाच्ने, भाइटीका लगाउने योजना छ । गत वर्ष कोरोना संक्रमणको त्रासले खासै खुलेर पर्वहरू मनाउन पाइएन । यसपाली भने वातावरण सामान्य बन्दै गइरहेकाले मन खुसी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : २५ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द