१९ वर्षीया किशोरीको राजनीतिक उडान | Khabarhub Khabarhub

१९ वर्षीया किशोरीको राजनीतिक उडान

दैलेखको सीमा नाघेर काठमाडौँमा चर्चा



काठमाडौँ– देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ । देशभरका वडाहरूमा अहिले वडा अधिवेशन चलिरहेको छ ।

गत शुक्रबार देशका ३५ जिल्लाका वडाहरूमा अधिवेशन हुँदा दैलेखकी एक किशोरी पार्टीको वडा सभापति निर्विविरोध निर्वाचित भइन् । यससँगै दैलेखको सीमाना काटेर उनको चर्चा देशको राजधानी काठमाडौँमा समेत भएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापति चुनिएपछि १९ वर्षीया स्वस्तिका महतलाई अहिले काठमाडौँबाट केन्द्रीय नेताहरूको समेत बधाईको ओइरो लागेको छ । आइतबार बिहानमात्र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफूलाई फोन गरेर बधाई दिएको स्वस्तिकाले खबरहबलाई फोनमा बताइन् ।

उनले भनिन्, ‘जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधि र प्रवक्ता विश्वप्रकाश शर्माले पनि मलाई फोन गरेर बधाई दिनुभयो ।’ प्रवक्ता शर्माले राजनीतिमा अगाडि बढ्न सहयोग गर्ने वचन दिएको उनले बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत, उनलाई कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आर्जु देउवाले पनि बधाई दिइन् । महिला संघकी अध्यक्ष तथा सांसद डा. डिला संग्रौलाले पनि स्वस्तिकालाई बधाई दिइन् ।

उनलाई अन्य दलका नेताहरूले पनि बधाई दिएका छन् । कर्णाली प्रदेशका पूर्वसांसद तथा एमाले कर्णाली प्रदेशका सचिव धर्मराज रेग्मीले पनि उनलाई फेसबुकमार्फत बधाई दिएका छन् ।

यी सबै बधाईमा एउटा विषय भने समान छ– युवा त्यो पनि महिलाले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाएको ।

कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकाले स्वाभाविकरूपमा यो पार्टीका धेरैजसो नेताहरू ७० वर्षमाथिका छन् । केन्द्रमा मात्र होइन, जिल्ला र स्थानीय तहमा पनि पाको उमेरकै नेताहरूको वर्चस्व छ । त्यसमाथि महत्वपूर्ण पदहरूमा महिलाको उपस्थिति निकै कम छ ।

यस्तो परिस्थितिमा १९ वर्षीया किशोरीले कांग्रेसको प्रारम्भिक इकाइ प्रमुखको जिम्मेवारीमा पुगेकी छन् । भर्खर हेल्थ असिस्टेन्टको पढाइ सकेकी उनी जागिर खान छाडेर राजनीतिमा लागेकी हुन् ।

स्वस्तिकाका बाबु भूपेन्द्र महत कांग्रेस दैलेख जिल्ला समितिका उपसभापति थिए । पदमा रहँदै उनको निधन भएको थियो । घरको वातावरण राजनीतिक नै थियो । घरमा नेताहरूको आउजाउ भइरने र बाबु राजनीतिमा सक्रिय भएका कारणले उनले सानै उमेरदेखि राजनीतिक कुरा सुनेकी थिइन् । उनले सक्रिय राजनीतिमा प्रवेश गरिहाल्ने सोचेकी थिइनन् । अचानक बुबा गुमाएपछि बाबुको सपना पूरा गर्न राजनीतिमा आएको उनले बताइन् ।

राजनीतिमा आउन चाहे पनि स्वस्तिकालाई त्यति सजिलो भने भएन । उनकी आमा अरुण महत भन्छिन्, ‘घरकी जेठी छोरी, पढाइ सकेर जागिर खाओस् भन्ने थियो । राजनीति नगरोस् भन्ने नै थियो तर उसले हामी सबैलाई मनाई ।’

स्वस्तिकाले राजनीतिमा चालेको यो पहिलो पाइला हो । उनले अझै कैयौँ यात्रा गर्नुपर्नेछ । त्यसमा उनले कस्तो सफलता पाउलिन्, भविष्यले नै बताउला तर उनी वडा सभापति भएसँगै देशभर एक किसिमको तरङ्ग भने आएको छ । कांग्रेस ‘बुढाहरूको पार्टी’ भनिने र राजनीतिमा युवाहरूको आकर्षण घट्दै गएको बेला उनले देखाएको हिम्मतले उनी रोलमोडल बन्ने सक्नेछिन् ।

स्वस्तिमा भन्छिन्, ‘घर परिवार, आफन्त सबैलाई मनाएर राजनीतिमा आउने निर्णय लिएकी हुँ । वडा सभापति बनेपछि म खुसी भएकी छु, तर जिम्मेवारी कति छ र मबाट कति आशा छ भन्ने पनि आभास भएको छ ।’

युवाहरूले राजनीतिप्रति नकरात्मक सोच राखिरहेकाले आफूलाई सबैभन्दा ठूलो चुनौती नै त्यस्तो सोचमा परिवर्तन ल्याउनु रहेको उनले बताइन् । उनले भनिन्, ‘सिक्दै छु तर जिम्मेवारी पूरा नगर्ने र निराश हुने छुट मलाई छैन ।’

 

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : १५ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने